अन्तिम भोज !

अराजकता अनैतिक राजनीति, भ्रष्ट सत्ता र अहङ्कारी नेतृत्वको सहउत्पादन हो । जब राजनीति उल्टो घुम्छ, अराजकता बढ्दै जान्छ । त्यसैले अराजकताको अन्त्य गर्ने हो भने राज्य र राजनीतिलाई सुल्टो बनाउ ।

Nov 30, 2024 - 07:47
 0
अन्तिम भोज !

कुरा मंसिर ७ गते सुरु हुन्छ । जतिबेला एमालेले दरबारमार्गमा सभा गरिरहेको थियो, त्यसैबेला एकजना मित्रले मलाई सम्झायो कथाकार विजय मल्लको कथा– ‘अन्तिम भोज’ ।

कुनै बेला आफूले पनि चाख दिएर पढेको त्यो कथा मेरो दिमागमा धमिलो गरी बसेको थियो । त्यही कथाको मधुरो स्मृतिबाट यो लेखको सुरुवात गर्छु ।

कथाको आशय कस्तो छ भने भोजको आयोजना गरिएको हुन्छ । जहाँ सुरम्य, जादुगरी र झकिझकाउ हुन्छ सजावट । र, भोजमा अनेक व्यञ्जन, मिष्ठान्न र सोमरसको प्रबन्ध गरिएको हुन्छ । त्यहाँ अनायास एउटा भोको पथिक आइपुग्छ र कथा अगाडि बढ्छ ।

अलमल अलमलमा परेको त्यो पथिकलाई एकजना सुन्दरीले भन्छे–यो अन्तिम भोज हो ।

त्यसपछि त्यो सुन्दरीले जे भन्छे, त्यो निकै आश्चर्यजनक हुन्छ । उसले भन्छे (आशयमा)- आज यहाँ सहभागी संसारभरका राष्ट्र प्रमुख, सरकार प्रमुखले आफूसँग भएका विष्फोटक हतियार एकै पटक पड्काएर पृथ्वीमाथि विजय गर्नेछन् । पृथ्वी टुक्रा-टुक्रा हुनेछ र ब्रह्माण्डमा मिसिने छ । त्यसपछि पृथ्वीमा कहिल्यै रात पर्ने छैन ।

उ भन्छे (आशयमा)- यो अद्भुत रात हो महासय । विजयको रात । मान्छेले पृथ्वीमाथि विजय प्राप्त गरेको रात । तिमी यहाँ जुन भोज देखिरहेका छौ, यो त्यही विजयको महान् उत्सव हो । अर्थात् हो, पृथ्वीको अन्तिम भोज । प्रिय पथिक भोजको आनन्द लेउ र मान्छेले हासिल गरेको सामर्थ्यले गदगद बन ।

आफू उभिएरको प्रिय धर्तीलाई जित्ने र नष्ट गर्ने उन्मादको साक्षी हुनुजति दुखदायी कुरा के हुन्छ ?

यो कथालाई हाम्रो राजनीतिसँग जोड्दा लाग्छ, आज नेपालमा पनि लोकतन्त्रको अन्तिम भोज हुँदैछ । लोकतन्त्रमाथि दलतन्त्रको विजयको महाभोज । सुशासनमाथि भ्रष्टाचारको विजयको उत्सव । नागरिक सपनामाथि सर्वसत्तावादको विजयको रामरमाइलो । आफैँ मुकुट लगाउने दौडमा रहेका गणतन्त्रवादी नेताहरूले हासिल गरेको सामर्थ्यको महाभोज ।

र, यस्तो लाग्छ, आज हामी नागरिक त्यही भोजको साक्षी बनेर आफ्नो दुर्भाग्यमा आँसु झारिरहेका छौँ । कहाँ छ त्यो भोज ? कतै हामी समस्यालाई बढाइचढाइ त गर्दै छैनौँ ? प्रश्न आउन सक्छ । तर, हेरी नियाल्दा देखिन्छ, अहिले लोकतन्त्रको अन्तिम भोज दुई ठाँउमा आयोजना भइरहेको छ ।

पहिलो भोज छ, सत्ताको सिंहदरबारमा । दोश्रो छ, सडकमा । दुबैतिर लोकतन्त्रमाथि अन्तिम प्रहार हुँदैछ र छियाछिया भएको लोकतन्त्रलाई हेरेर शासकहरू उन्मादले नाचिरहेका छन् ।

को हुन् लोकतन्त्रको अन्तिम भोज आयोजना गर्नेहरू ? यसमा देखिन्छन् दुईखाले मान्छेहरू । पहिलो खाले मान्छे तिनै हुन्, जो सत्ता र सरकारको सिंहासनमा बस्छन् । जो राजनीतिको ठेक्कापट्टा मिलाउँछन् । जो दलालीमा मग्न छन् र छन् बेपरवाह भ्रष्टाचारमा ।

उनीहरूका लागि चकाचक छ सर्वत्र । उनीहरूका लागि चञ्चलाश्री छ सर्वत्र । उनीहरूको संसारमा उज्यालो छ सर्वत्र । तरह-तरहका व्यञ्जन छन् खानलाई । जस्तो, भोजन गर्न उनीहरूका लागि आकासमा उड्ने जहाज छन् । भुइँमा सरकारी जमिन छन् । खोला छन् । बन छन् । विश्वविद्यालय छन् । अस्पताल छन् । अनेक परियोजना छन् । मद छ र मदहोस छन् सबै ।

खानलाई विशेष व्यञ्जन पाक्दैछ, लोकतन्त्रको । र, त्यसमा मस्त छन् सत्तासीनहरू ।

अर्काथरी छन् सडकमा, जो अराजकताको दुन्दुभी बजाएर निर्लज्ज उफ्रँदै छन् । उनीहरूलाई सक्दो हो-हल्ला गर्नुछ । भाँडभौलो गर्नुछ । संरचनाहरू भत्काउनु छ । व्यवस्थालाई बदनाम गर्नुछ । वस्तुतः लोकतन्त्रलाई मौलोमा बाँधेर पर्सिनु छ, काट्नु छ, पकाउनु छ, खानु छ र रमाउनु छ । आश्चर्य के भने दुबैतिर दम्भको रजगज छ । र, छ स्वयम् आफ्नै मृत्युको शोकमा रोइरहेको अभागी लोकतन्त्र ।

अर्थात्, अहिले सत्ता र सडक दुबैतिरबाट मार हानिँदै छ लोकतन्त्रको । र, अन्तिम भोजको रसानन्दमा दुबैतिर उत्सव चलिरहेको छ । सत्तामा भ्रष्टाचार नृत्य गर्दैछ, सडकमा नारा लगाउँदैछ अराजकता ।

मुख्य प्रश्न

सत्ता र सडक दुबैतिरबाट जसरी लोकतन्त्रमाथि तरबार हानिँदै छ, के लोकतन्त्र सग्लो रहला ?

फेरि मेरो साथीकै कुरा गरौँ । जब एमालेले मंसिर ७ गते अराजकताविरुद्ध आमसभा गर्‍यो, मेरो साथी भन्दै थियो- अराजकतालाई प्रतिवाद गर्ने नाममा अर्को अराजकता देखाउँदै छ एमाले । भ्रष्टसत्ता स्वयम् अराजकता र निरासाको खेती गर्दैछ, त सत्ताका मुखिलाले चर्को बोल्दैमा के अराजकता सकिन्छ ?

मेरो साथी कवितात्मक शैलीमा थप्छ- अराजकतालाई ठेगान लगाउन महाराजकहरू नारा लगाउँदै सडकमा दौडिएको दृश्य आजको एक भद्दा दृश्य हो !

‘त्यसोभए अराजकताको अन्त्य कसरी हुन्छ ?’ मेरो प्रश्नको उत्तर दिँदै साथी भन्छ- अराजकतालाई निर्मूल गर्न नागरिकमा आशा भर्नुपर्छ । युगका सपनाहरूको सम्बोधन गर्नुपर्छ । मान्छेमा राज्य, सरकार र प्रणालिप्रति विश्वासको जगेर्ना गर्नुपर्छ र युवा पुस्तालाई भविष्यप्रति आश्वस्त बनाउनुपर्छ । मुख्यतः सरकारले काम गर्नुपर्छ, परिणाम निकाल्नुपर्छ । अन्यथा अराजकता रोकिँदैन ।

जब, राज्य र राजनीतिले आजका मुद्दाहरू सम्बोधन गर्छ, अराजकता स्वतः सम्बोधन हुन्छ । अन्यथा, निराश मान्छे अराजक हुन्छ र त्यो चर्को बोल्दै जान्छ । आजको सत्य यही नै हो ।

मुद्दाहरूको सम्बोधन

आज यसकारण हाम्रो समाजमा अराजकता प्रबल हुँदैछ कि राजनीति बर्गेलिएको छ । जब राजनीति बर्गेलिन्छ स्वभावतः अराजकता एक धन्दा बन्छ । अतः अराजकतालाई सम्बोधन गर्न राजनीतिलाई सम्हाल्नु पर्छ र सुल्टो फर्काउनु पर्छ । वस्तुतः राजनीतिले नागरिकका मुद्दा सम्बोधन नगर्ने हो भने अराजकता रोकिँदैन, अझ प्रबल बन्छ ।

के छन् त आजका मुद्दाहरू ? र, कसरी बर्गेलिँदैछन् ? यो प्रश्नमा प्रवेश गर्न एउटा काल्पनिक गाउँको सङ्कथन निर्माण गरौँ । जस्तो कि एउटा मध्यमस्तरको पछौटे गाउँ छ । गाउँमा गरिबी छ, त्यसैले अविकास पनि छ । मान्छे भोकै छन् । भन्ट्याङ्गभुन्टुङ्ग छन् बच्चाहरू । शरीरमा लुगा छैन । झुप्रो चुहिन्छ । रोजगारी छैन । दुःखको भारीले ज्यान थिलथिलो छ ।

त्यो गाउँमा कुनै बिहान एउटा ‘प्रभु भक्त’ आइपुग्छ र सोध्छ, तिमीहरू किन भोकै छौँ थाहा छ ? ऊ प्रभुका अनेकन् लिलाहरू सुनाउँछ । प्रभुको अलौकिक शक्तिको महिमा गाउँछ । भन्छ, ‘मुर्ख मनुवाहरू विलम्ब नगर, आउ प्रभुको शरणमा । तिम्रा सबै दुःख हरण हुनेछन् ।

त्यसपछि मान्छेले आफूलाई प्रभुको शरणमा अर्पण गरिदिन्छन् । खुसीले गदगद हुँदै भक्त गुनगुनाउँछ ‘आमीन’ !

त्यही गाउँमा अर्को दिन गेरुरङ्गको घोती बेरेर नयाँ अनुहार प्रवेश गर्छ । ऊ भन्छ- ए निर्धाहरू हो, लौ बित्यास पर्‍यो । हाम्रो सभ्यता, संस्कार र संस्कृति सबै सखाप भयो । धर्म नासियो । त्यसैले सर्वत्र वर्वाद छ । यो वर्वादीबाट उन्मुक्ति पाउने उपाय गर । आउ दरबारको गजुरमा पहेलो झण्डा चढाउँ र धर्मराज्य स्थापना गरौँ ।

सबै मख्ख । मान्छेहरू गाउँछन् ‘हरहर महादेव’ ।

वस्तीमा भाग्यविधाताहरू आउने र जाने क्रम चलिरहन्छ । कहिले कम्युनिष्टहरू आउँछन् । बूढा मार्क्सको तस्वीर देखाउँदै ‘लालसलाम’ गर्न सिकाउँछन् । अर्को दिन आफूलाई प्रजातन्त्रवादी भन्नेहरू आउँछन् र मुस्कुराउँदै आफैँलाई भोट हाल्न सिकाउँछन् ।

फेरि मधेसवादी आउँछन् । पहाडवादी आउँछन् । वामपन्थी आउँछन् । दक्षिणपन्थी आउँछन् । सबैले आ-आफ्नो कुराको ‘जादु’ देखाउँछन् ।

वस्तीलाई चाहिएको छ खाना, नाना र छाना । कृपानिदानहरू बढ्छन् ‘धर्म, जात र राष्ट्रवाद’ पुरिया । खासमा सोच्नुपर्ने कुरा एउटा छ, ख्वामितहरू सोच्छन् अर्कै । गाउनुपर्ने लय र गीत एउटा छ, प्रभुहरू शब्द भट्याउँछन् अर्कै र लय हाल्छन् अर्कै । नाच्नुपर्ने चाल एउटा छ, नेताहरू दोष लाउछन् आँगनलाई र खुट्टा हल्लाउँछन् अर्कै ।

दुर्भाग्य, त्यहाँ कसैले भोकको कुरा गर्दैन । कसैले रोगको कुरा गर्दैन । कसैले रोजगारीको कुरा गर्दैन । कसैले चुहिने छानोको कुरा गर्दैन । न त विकासको कुरा, न त न्याय र समृद्धिको कुरा । यसरी नै समय बित्दै जान्छ र कालान्तरमा त्यो वस्तीको आफ्नो भोक, रोग र गरिब बिर्सिन्छ ।

अर्थात्, आफ्नो मुद्दा बिर्सिन्छ र बर्गेलिन्छ ।

जब गाँउमा मुद्दा बर्गेलिन्छ, तब अराजकता धन्दा बन्न पुग्छ । त्यसपछि कसैले कसैको कुरा सुन्दैन । कोही कसैसँग विश्वस्त हुँदैन । सर्वत्र निराशा । सर्वत्र अविश्वास । सर्वत्र भ्रष्टाचार । सर्वत्र बेथिति । त्यसपछि छिमेकी आउँछ र कानेखुसी गर्छ । ऊ गरिबको आँगन हुँदै घर, ढिकुटी र कोठाचोटा पुग्छ । एउटाले बाउ उचाल्छ । अर्कोले छोरो ।

त्यसपछि गाँउमा सबै कुरा चौपट हुन्छ । र, पूरा गाँउ अमर्यादित र अराजक बन्दै जान्छ ।

मेरो साथी ठोकुवा गरेर भन्छ- आजको हाम्रो दूर्दशा यही नै हो ।

आर्थिक न्याय

गर्नुपर्ने के हो त ? सत्ताले ध्यान दिएर सुनोस्, आज अराजकताको अन्त्य गर्न गर्नुपर्ने पहिलो काम हो, आर्थिक सङ्कटहरूको सम्बोधन । भन्न पर्दैन कि आर्थिक न्यायलाई लोकतन्त्रको आधार मानिन्छ । यसका लागि किसान, मजदुर, सिमान्तकृत समुदाय, न्यून वेतनधारी वर्ग र ग्रामीण जीवनलाई आर्थिक न्याय आवश्यक छ । अन्यथा गरिबी अराजकताको रङ्गभूमि हो । आर्थिक न्याय भएन भने अराजकता अझ चर्को भएर जानेछ र त्यो सामाजिक र राजनीतिक तहसम्म फैलिने छ ।

आर्थिक न्यायलाई सुनिश्चित गर्न गर्नैपर्ने केही कामहरू छन् । जस्तो किसानलाई सरल कृषि अनुदानको व्यवस्था, भूमिसुधार, आवासको ग्यारेण्टी, ग्रामीण अर्थतन्त्रको उद्धेलन, राष्ट्रिय उत्पादन वृद्धि र उत्पादनमुखी पुँजीको विकास अनि रोजगारी सृजना ।

विज्ञहरू भन्छन् कि राज्यले थोरै मात्र सहजीकरण गर्ने हो भने कृषि, उद्योग, पर्यटन, पूर्वाधार र सेवा क्षेत्रमा वार्षिक १० लाख नयाँ रोजगारी सृजना गर्न सकिन्छ । राष्ट्रिय उत्पादन बढाउने र युवा पुस्तालाई काम दिने हो भने मान्छे भविष्यप्रति विश्वस्त बन्छ ।

अन्यथा, भविष्य नभएको मान्छे या त निराश हुन्छ, या त अराजक ।

यसैगरी अहिले आन्तरिक तथा बाह्य आप्रवासन तीव्र भएको छ । गाँउ रित्तो हुँदैछन् । सहर भरिँदै छन् । औद्योगिकरणको अभाव, उत्सादनमा सुस्तता, कृषिबाट नयाँ पुस्ताको पलायन, जनसाङ्ख्यिक असन्तुलन, अव्यवस्थित बसोबास र पर्यावरणमा आएको सङ्कट विकराल समस्या बन्दै गएका छन् ।

एकातिर महङ्गो ब्याजमा विदेशी ऋण लिएर बनाइएका योजनाहरू अपुरै छन् । अर्कोतिर राष्ट्रिय गौरवका योजनाहरूको गति र गुणस्तर पनि कमजोर छ । चर्को ब्याजले उद्यमी, व्यवसायीको ढाँड सेकेको छ । तर, राज्यसँग औद्योगिकरणको कुनै योजना छैन । आम नागरिकको औसत ज्याला, तलब र आय बढेको छैन । तर, उपभोग्य वस्तु तथा सेवाको बजारभाउ अकासिँदो छ ।

के यावत् सङ्कटहरू जस्ताको तस्तै राखेर हामी मान्छेलाई सभ्य बन भनेर भन्न सक्छौँ ? जब मान्छे बिस्तार बोल्दा राज्यले सुन्दैन, तब ऊ चर्को हुँदै जान्छ । र, अन्त्यमा त्यो स्वर अराजकतातिर मोडिन्छ । आशा हराएको मान्छेलाई भाषण गरेर विश्वस्त गर्न सकिँदैन ।

भ्रष्टाचारको अन्त्य र सुशासन

लोकतन्त्रलाई परिणाममुखी बनाउने महत्त्वपूर्ण कडी हो– सुशासन । भ्रष्टाचारमा शून्य सहनशीलता, सेवा प्रवाहमा सुधार, कानुनी शासनको प्रत्याभूति आदि पनि । यसैका लागि हामीसँग अख्तियार, सम्पत्ति शुद्धीकरण र सतर्कता केन्द्र जस्ता महत्त्वपूर्ण अङ्गहरू छन् । तर, यी अङ्गहरूमाथि जनताको विश्वास घट्दो छ ।

यसलाई स्वायत्त र विश्वासिलो नबनाई नागरिकमा नवीन आशा सृजना हुँदैन । अहिले लगातार एकपछि अर्का ठूला भ्रष्ट्राचारका दर्जनौं काण्ड सतहमा आइरहेका छन् । तर, तीनको कुनै निष्पक्ष, तटस्थ र विश्वसनीय छानबिन हुन सक्ने देखिँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायलाई राजनीतिक भागबन्डाका आधारमा पङ्गु बनाइएको छ । मान्छेको आरोप छ कि तिनले भ्रष्टाचारीलाई कारबाही हैन, जोगाउने काम गरिहेका छन् ।

जब समाजमा भ्रष्टहरू रजगज गरेर हिँड्छन् र इमान्दारहरू अपहेलित हुन्छन्, तब लोकतन्त्रमाथि मान्छेको विश्वास हट्छ । हेरौँ त अहिले के भइरहेको छ ? अहिले राजनीति स्वयम् भ्रष्टाचारको संरक्षक बन्दै छ । नेताहरू दर्जनौं काण्डमा मुछिएका छन् र दलाली राजनीतिको आम चरित्र बनेको छ ।

सबैलाई थाहा छ, आज दलतन्त्रले लोकतन्त्रमाथि शासन गरिरहेको छ । क्षमता हुनेहरू पाखामा छन् र चाकरी गर्नेसँग छ राज्यको चाबी । राज्यबाट वेतन लिने कर्मचारी, शिक्षक र प्राध्यापकहरू दलीय संरक्षणमा पार्टी पूर्वाग्रहको खोतिपाती गरिरहेका छन् ।

के यो सबै निराशा, विश्वासहीनता र अराजकताका लागि पर्याप्त छैन ?

सत्ताले भ्रष्टहरूको संरक्षण गर्ने र देशमा यसरी नै बेथितिको रजगज चलिरहने हो भने अराजकता अझ पन्पिने छ । अतः हामी अराजकता रोक्न चाहन्छौँ भने आर्थिक अनुशासन अनिवार्य छ । अन्यथा, राज्य भ्रष्ट र अनौतिक हुँदै जाने र नागरिक नैतिक हुनुपर्ने यो असम्भव छ ।

संरचनागत मुद्दा

हामीले भोगिरहेको अर्को समस्या हो, स्वशासन, प्रादेशिक स्वायत्तता र शक्ति निक्षेपणको अभाव । सङ्घीयताले परिणाम दिन नसक्दा न त पहिचान र अधिकारका आवाजहरू नै सम्बोधन हुन सके, न त वित्तीय तथा प्रशासनिक सङ्घीयता नै लागू भयो । न सिमान्तकृत मुद्दाहरू सम्बोधन भयो, न त समावेशिता नै मूर्त बन्यो ।

यसले के गर्‍यो ? नागरिकले पटक-पटक गरेका आन्दोलनहरू परिणामविहीन भए । आन्दोलनका समयमा देखिएका सपनाहरू पूरा भएनन् । पटक-पटक सङ्घर्ष गरेको मान्छेले जब आफ्ना सपनाहरू कचेल्टिएको अनुभव गर्‍यो । ऊ दुःखले अत्तालियो ।

यो यस्तो अवस्था हो, जसले सामाजिक तथा राजनीतिक अराजकता र विग्रहलाई प्रोत्साहित गर्छ । यसलाई सम्बोधन नगरी अराजकताको सम्बोधन हुन्छ कसरी ?

सार्वभौमिकताको प्रवर्द्धन

आज देशको सार्वभौमसत्ता, स्वाधीनता र आत्मसम्मानमा क्षयीकरण भइरहेको छ । राज्य र राजनीतिक नेतृत्वसँग विश्वको समकालीन शक्ति सम्बन्ध र भूराजनीतिक जटिलताबीच यथोचित, समन्वयात्मक, सन्तुलित गर्ने विवेक, सामर्थ्य र क्षमता छैन । उल्टो दलहरू छिमेक नीतिलाई सत्ता राजनीतिको रङ्गले पोतिरहेका छन् ।

परिणाम, देश भूराजनीतिक स्वार्थ र टकरावमा फस्दै छ । यसलाई सम्बोधन नगर्ने हो भने हाम्रो राज्यहीनता र अराजकतामा खेल्न अनेक स्वार्थ समूहहरू प्रकट हुनेछन् । यसो भयो भने अराजकता बढ्नेछ, रोकिने छैन ।

अतः हामी अराजकताको अन्त्य चाहन्छौँ भने सत्तामा बसेर भड्किलो आमसभा नगरौँ । जुहारी नखेलौँ । हामी साँच्चै अराजकतालाई सम्बोधन गर्न चाहन्छौँ भने बहसलाई ठीक ठाँउमा केन्द्रित गरौँ । मुद्दाहरू ठीक समातौँ । लोकतन्त्रलाई गहिरो र व्यापक बनाऔँ र मान्छेका सपनाहरू पूरा गरौँ ।

राज्य, राजनीति र राजकाज जति सभ्य, नैतिक र परिणाममुखी हुन्छ, त्यति नै समाज सभ्य बन्छ र अराजकताको धन्दा सकिन्छ । किनभने जगजाहेर छ, अराजकता अनैतिक राजनीति, भ्रष्ट सत्ता र अहङ्कारी नेतृत्वको सहउत्पादन हो । जब राजनीति उल्टो घुम्छ, अराजकता बढ्दै जान्छ । त्यसैले अराजकताको अन्त्य गर्ने हो भने राज्य र राजनीतिलाई सुल्टो बनाउ ।

मान्यवरहरू ! लोकतन्त्र हामी उभिएको जमिन हो ।

त्यही जमिनमा खाल्डो पर्‍यो भने कहाँ उभिने ? विचार गरौँ ।

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register