दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय, राजीनामा नदिएसम्म आम हड्ताल गर्ने श्रमिक सङ्घको घोषणा

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए । विपक्षीले बुधबार राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्। चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक […]

Dec 5, 2024 - 04:18
 0
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय, राजीनामा नदिएसम्म आम हड्ताल गर्ने श्रमिक सङ्घको घोषणा

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए । विपक्षीले बुधबार राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्।

चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो । कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ।

सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्वसरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ ।

दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन् ।

विपक्षी डेमोक्रेयाटिक पार्टी (डीपी)का नेता किम योङ मिनले भने, ‘हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौं ।’

उनीहरूले राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ । उच्च पदस्थ विपक्षी नेताहरूले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन् ।

दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन । यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदकोे दलबदल आवश्यक छ।

यसअघि डीपीले युन, उनका रक्षा तथा आन्तरिक मामिलामन्त्री, सैन्य कानुनका कमान्डर र प्रहरी प्रमुखलगायतका अधिकारीविरूद्ध राज्य विद्रोह (कू)को मुद्दा दायर गर्ने बताएको थियो ।

यसैबीच, पछिल्लो घटनाक्रमलाई लिएर देशको सबैभन्दा ठूलो छाता श्रमिक सङ्घले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन आम हड्तालको आह्वान गरेको छ ।

युनको आफ्नै सत्तारुढ दलका नेताले समेत राष्ट्रपतिको यो कदमलाई ‘दुःखद’ भन्दै घटनामा संलग्नलाई जवाफदेही बनाउन माग गरेका छन्।

युनले उत्तर कोरिया र ‘राज्यविरोधी शक्ति’को खतराको हवाला दिँदै मङ्गलबार राति टेलिभिजनमा सैनिक शासन लागू गरिएको घोषणा गरेका थिए ।

राष्ट्रपतिको उक्त कदमपछि २४ वटा हेलिकप्टरको सहयोगमा २८० भन्दा बढी सैनिक संसद भवन पुगेका थिए ।

तर, १९० जना सांसदले राइफल बोकेका सैनिकको धज्जी उडाउँदै संसद भवनभित्र पसेर त्यसको विपक्षमा मतदान गरेका थिए ।

यसले युनसँग आफ्नो निर्णय फिर्ता लिन बाध्य बनायो । उनका लागि स्थानीय समयअनुसार मङ्गलबार बिहान ४ः३० बजे अर्को टेलिभिजन सम्बोधन गरी सेनालाई फिर्ता बोलाउनुबाहेक अर्को विकल्प थिएन ।

कोरियाली संविधानअनुसार संसदमा बहुमतले माग गर्दा सैनिक शासन हटाउनुपर्ने प्रावधान छ ।

युनका लागि काम गर्ने वरिष्ठ सहयोगीहरूले बुधबार सैनिक शासन घोषणाको विरोधमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए।

यो समाचार तयार पार्दासम्म पनि युन फेरि सार्वजनिक रूपमा देखा परेका छैनन् ।

राष्ट्रपति युन सुक योल ।

घोषणा फिर्ता गर्ने राष्ट्रपतिको निर्णयपछि संसद बाहिर झण्डा फहराइरहेका प्रदर्शनकारीहरू बीच खुशीयाली छाएको थियो । उनीहरूले युनको सैन्य शासन घोषणाको अवज्ञा गर्दै रातभर सतर्कता अपनाउन चिसो तापक्रममा प्रदर्शन गरेका थिए ।

एएफपीसँग कुरा गर्दै प्रदर्शनमा सहभागीमध्ये ५५ वर्षीय एक अगुवा कार्यकर्ता लिम मियोङ–पानले अब युनले बिदा लिनैपर्ने बताए ।

लिमले एएफपीसँगको कुराकानीमा भने, ‘वैध कारणबिना नै सैन्य शासनको घोषणा गर्नु युनको आफैंमा गम्भीर अपराध हो । उनले यसबाट महाभियोगको मार्ग प्रशस्त गरेका छन् ।’

थप विरोध प्रदर्शन हुने अनुमान गरिएकाले बुधबार दिउँसो ठूलो सङ्ख्यामा प्रहरीले मुख्य स्थानहरूमा गस्ती गरिरहेका थिए।

अर्का सहभागी ५० वर्षीय किम मिन–होले बुधबार महासभामा आयोजित नयाँ प्रदर्शनमा एएफपीसँग भने, ‘म यति क्रोधित भएँ कि हिजो राति म एक पल पनि निदाउन सकिनँ ।’

युनले उत्तर कोरियाको कम्युनिष्ट शक्तिले निम्त्याएको खतराबाट उदार दक्षिण कोरियालाई जोगाउन र जनताको स्वतन्त्रता र खुशी लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न सैनिक शासनको लागू गरेको बताएका थिए ।

युनले उत्तर कोरियाको खतराबारे विस्तृत जानकारी नदिए पनि आणविक शक्ति सम्पन्न प्योङयाङसँग प्राविधिक रूपमा दक्षिण कोरिया युद्धमा छ ।

‘हाम्रो संसद् (नेसनल एसेम्ब्ली) अपराधीहरूको आश्रयस्थल बनेको छ, विधायिकी तानाशाहीको अखडा बनेको छ जसले न्यायिक र प्रशासनिक प्रणालीलाई पंगु बनाउन र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्छ,’ युनले घोषणामा भनेका थिए ।

दक्षिण कोरियाको निकट सहयोगी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीलाई ‘दक्षिण कोरियाली राष्ट्रपतिलाई सत्ता अपदस्थ गर्न उद्दत राष्ट्रविरोधी शक्ति’को संज्ञा दिएका छन् ।

हालैका हप्ताहरूमा युन र उनको पिपुल्स पावर पार्टीले अर्को वर्षको बजेटलाई लिएर विपक्षीहरूसँग कडा मतभेदहरूको सामना गरेका छन् ।

विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत बजेट योजना पारित गरेका थिए जसले युनको खर्च योजनामा कटौती गरेको थियो।

गत हप्ता ‘ग्यालप’को पछिल्लो सर्वेक्षणमा राष्ट्रपतिको अनुमोदन दर १९ प्रतिशतमा झरेको थियो । मतदाताहरू अर्थव्यवस्थाको अवस्था र उनकी पत्नी किम किन हीसँग सम्बन्धित विवादहरूलाई लिएर आक्रोशित भएका देखिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register