अल-जुलानी : जसले अन्त्य गरे असदको २४ वर्षे शासन

काठमाडौं । सिरियाका विद्रोही देश कब्जा गरेकाे छ । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ । सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले […]

Dec 8, 2024 - 06:18
 0
अल-जुलानी : जसले अन्त्य गरे असदको २४ वर्षे शासन

काठमाडौं । सिरियाका विद्रोही देश कब्जा गरेकाे छ । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् ।

विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट दमास्कस छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन ।

विद्रोही समूह एचटीएएसले दमास्कसतर्फ अघि बढिरहेको भन्दै असदले राजधानी छोडेको खबर आएको हो । यसबीच एचटीएएस प्रमुख अबु मोहम्मद अल-जुलानी को हुन् भन्ने जिज्ञासा बढेको छ ।

अबु मोहम्मद अल-जुलानी उनको उपनाम हो । उनको वास्तविक नाम र उमेर विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल-जुलानीसँग अन्तर्वार्ता लिएका थिए ।

त्यसबेला जुलानीले आफ्नो जन्मजात नाम अहमद अल-शारा रहेको र उनी सिरियाली भएको बताएका थिए । उनको परिवार गोलान क्षेत्रबाट आएको थियो ।

उनले आफ्नो जन्म साउदी अरेबियाको राजधानी रियादमा भएको बताएका थिए, जहाँ उनका बुवा काम गर्थे । तर, उनी सिरियाको राजधानी दमास्कसमा हुर्केका हुन् ।

यद्यपि, केही रिपोर्टमा उनको जन्म पूर्वी सिरियाको देइर एज-जोरमा भएको बताइएको छ र त्यहाँ पनि अफवाहहरू छन् कि उनले इस्लामिक चरमपन्थी हुनुअघि चिकित्सा अध्ययन गरेका छन् ।

संयुक्त राष्ट्र संघ र युरोपेली संघको रिपोर्टअनुसार उनको जन्म सन् १९७५ र १९७९ को बीचमा भएको थियो । उनको जन्म सन् १९७९ मा भएको इन्टरपोलले जनाएको छ । जबकि अस-सफिरको रिपोर्टमा उनको जन्म मिति १९८१ उल्लेख गरिएको छ ।

उनी कसरी बने इस्लामिक समूहको नेता ?

सन् २००३ मा अमेरिकी र गठबन्धन सेनाले इराकमा गरेको आक्रमणपछि अल जुलानी त्यहाँ रहेको जिहादी समूह अल–कायदामा सामेल भएको विश्वास गरिन्छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटायो तर, विभिन्न चरमपन्थी समूहहरूको प्रतिरोधको सामना गर्‍यो ।

सन् २०१० मा इराकमा अमेरिकी सेनाले अल जुलानीलाई गिरफ्तार गरी कुवेत नजिकैको जेल शिविर बुकामा बन्दी बनाएको थियो ।

यहाँ उनले इस्लामिक स्टेट (आईएस) समूह बनाएका जिहादीहरूलाई भेटेको हुनसक्ने अनुमान गरिन्छ । यहाँ उनले अबु बकर अल-बग्दादीलाई पनि भेटेका हुनसक्छन्, जो पछि इराकमा आईएसका नेता बनेका थिए ।

अल-जुलानीले सन् २०११ मा सिरियामा राष्ट्रपति बसर अल-असदविरुद्ध सशस्त्र द्वन्द्व सुरु हुँदा अल-बग्दादीले समूहको शाखा खोल्न उनलाई त्यहाँ पठाउने व्यवस्था गरेको बताएका थिए ।

अल-जुलानी त्यसपछि नुस्रा फ्रन्ट (वा जबात अल-नुसरा) को कमाण्डर बने, जो इस्लामिक राज्यसँग गोप्य सम्बन्ध भएको सशस्त्र समूह हो । यसले युद्धको मैदानमा धेरै सफलता हासिल गर्यो ।

सन् २०१३ मा अल-जुलानीले आईएससँग नुस्रा फ्रन्टको सम्बन्ध तोडेर यसलाई अल-कायदाको नियन्त्रणमा ल्याए । तर, सन् २०१६ मा उनले रेकर्ड गरिएको सन्देशमा अलकायदाबाट अलग भएको घोषणा गरेका थिए ।

सन् २०१७ मा अल-जुलानीले उनका लडाकु अन्य सिरियाली विद्रोही समूहहरूसँग विलय भएकाे बताएका थिए । त्यसपछि हयात तहरीर अल-शाम (HTS) गठन गरेका थिए ।

अल-जुलानीले यो सम्पूर्ण समूहलाई आदेश दिन्छन् ।

अल-जुलानी कस्तो नेता हुन् ?

अल-जुलानीको नेतृत्वमा एचटीएस उत्तरपश्चिमी सिरियाको इदलिब र वरपरका क्षेत्रहरूमा सक्रिय विद्रोही समूह बन्यो ।

युद्धअघि यस सहरको जनसंख्या २७ लाख थियो । कतिपय अनुमानअनुसार विस्थापितको आगमनले शहरको जनसंख्या एक समय ४० लाख पुगेको थियो ।

यो समूहले इदलिब प्रान्तमा ‘साल्भेसन गभर्नमेन्ट’ नियन्त्रण गर्छ । यसले स्वास्थ्य, शिक्षा र आन्तरिक सुरक्षामा स्थानीय प्रशासन जस्तै काम गर्छ ।

सन् २०२१ मा अल-जुलानीले पीबीएसलाई भनेका थिए कि उनले अल-कायदाको विश्वव्यापी जिहादको रणनीतिलाई पछ्याएनन् ।

उनले आफ्नो मुख्य उद्देश्य सिरियाली राष्ट्रपति बसर अल-असदलाई सत्ताबाट हटाउनु रहेको र ‘अमेरिका र पश्चिमा राष्ट्रको पनि यही उद्देश्य रहेको’ बताए ।

उनले भनेका थिए, ‘यो क्षेत्र युरोप र अमेरिकाको सुरक्षाका लागि खतरा होइन । यो क्षेत्र विदेशी जिहाद गर्ने मञ्च होइन ।’

सन् २०२० मा एचटीएसले इडलिबमा अल-कायदाका आधारहरू बन्द गर्‍यो, हतियार जफत गर्‍यो र यसका केही नेतालाई जेल हाल्यो ।

यसले इदलिबमा इस्लामिक स्टेटको गतिविधिलाई पनि रोकेको छ । एचटीएसले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरूमा इस्लामिक कानुन लागू गरेको छ । तर, यो अन्य जिहादी समूहहरूको तुलनामा कम कडा छ ।

यसले इसाई र गैर-मुस्लिमहरूसँग सार्वजनिक रूपमा अन्तरक्रिया गर्दछ । आफ्नो ‘अधिक’ उदारवादी अडानका लागि जिहादी समूहहरूबाट आलोचनाको लक्ष्य बनेको छ ।

यद्यपि, मानवअधिकार सङ्गठनहरूले एचटीएसलाई सार्वजनिक विरोध र मानवअधिकार उल्लङ्घनलाई दबाएको आरोप लगाएका छन् । अल-जुलानीले यी आरोपहरू अस्वीकार गरेका छन् ।

एचटीएसलाई पश्चिम र मध्य पूर्वका सरकारहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्‌द्वारा अतिवादी सङ्गठनको रूपमा वर्गीकृत गरिएको छ ।

किनभने अल-जुलानीको विगत अल कायदासँग जोडिएको छ । अमेरिकी सरकारले उनलाई गिरफ्तार गराउने सूचना दिनेलाई १० मिलियन डलर पुरस्कार तोकेको छ ।

असदको २४ वर्षको शासनको अन्त्य

वास्तवमा बशर अल-असद विगत २४ वर्षदेखि सिरियामा शासन गरिरहेका थिए । उनले सिरियामा सत्ता विरासतमा पाएका थिए ।

उनका बुबा अल-असद हाफेजले सिरियामा २९ वर्ष शासन गरेका थिए । रुस र अन्य देशको सहयोगमा उनको सरकार चलिरहेको थियो । तर, यसपटक उनको सरकार अबु जुलानीको आँधीले ध्वस्त भयो ।

उनी सन् २००० मा राष्ट्रपति बनेका थिए । असदको जन्म ११ सेप्टेम्बर १९६५ मा दमास्कसमा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register