रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ । मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरिएकाले उनीविरुद्ध आजै अभियोजन दर्ता गरिने तयारी गििरएको सरकारी […]

Dec 20, 2024 - 02:53
 0
रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरिएकाले उनीविरुद्ध आजै अभियोजन दर्ता गरिने तयारी गििरएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई आठौँ पटक म्याद थपिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने ६ असोजमा पक्राउ परेका थिए ।

जोशीसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको पनि म्याद मिलान गरिएका कारण आजसम्ममा अभियोगपत्र दायर गरिसक्नुपर्ने छ ।

शनिबार बिदा परेका कारण थुनछेक बहस भने आइतबारदेखि सुरु हुनसक्ने बताइएको छ ।

प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी प्रावधान छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक जोशी पक्राउ परेको असोज ६ गतेबाटै उक्त अवधि गणना हुने कानुनी प्रावधान छ ।

सोहीअनुसार ९० दिनमै अभियोजन हुन लागेको हो । प्रहरीले जोशीसहित फरार रहेका मुख्य अभियुक्त जीबी राई समूहका अन्य कर्मचारी एवं सहकारीसँग जोडिएका व्यक्तिहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ ।

कास्की प्रहरीले सोमबार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रहरीको प्रतिवेदनमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्न सुझाव दिइएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धानमा कास्की प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सघाएको थियो ।

रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । हिरासतमा उनी सुतिरहेको अवस्थाको तस्वीर बाहिरिएपछि यसले तरंग पैदा गरेको छ ।
तस्वीर सार्वजनिक भएको घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register