“फर्पिङ दक्षिणकाली पुस्तिका (बुक लेट)” सार्वजनिक

काठमाडौँ। दक्षिणकाली क्षेत्रको विविध धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाबारे लेखिएको “फर्पिङ दक्षिणकाली पुस्तिका (बुक लेट)” सार्वजनिक भएको छ । सुकुण्डा ल्याय्म्ह पुचःद्वारा शनिवार आयोजित कार्यक्रममा दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले बुकलेटको लोकार्पण गरेका हुन् । उनले यस पुस्तिकामार्फत दक्षिणकाली नगरको पहिचानका रुपमा रहेका धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदाहरुबारे प्रचार हुने र आन्तरीक पर्यर्टन भित्र्याउन योगदान […]

Dec 23, 2024 - 17:04
 0
“फर्पिङ दक्षिणकाली पुस्तिका (बुक लेट)” सार्वजनिक

काठमाडौँ।

दक्षिणकाली क्षेत्रको विविध धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाबारे लेखिएको “फर्पिङ दक्षिणकाली पुस्तिका (बुक लेट)” सार्वजनिक भएको छ ।

सुकुण्डा ल्याय्म्ह पुचःद्वारा शनिवार आयोजित कार्यक्रममा दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले बुकलेटको लोकार्पण गरेका हुन् ।

उनले यस पुस्तिकामार्फत दक्षिणकाली नगरको पहिचानका रुपमा रहेका धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदाहरुबारे प्रचार हुने र आन्तरीक पर्यर्टन भित्र्याउन योगदान पुग्ने विचार व्यक्त गरे ।

नगर प्रमुख बस्नेतले दक्षिणकाली नगरमा दक्षिणकाली मन्दिर मात्र छैनन्, दिनभर घुम्न पुग्ने चर्चित स्थानहरु पनि छन्, जस्को प्रचार गर्नुपर्ने आवश्यकता रहेकोमा पुस्तिकामा उल्लेख र चर्चाले नगरका सम्पदालाई चिनाउने विश्वास व्यक्त गरे ।

अन्वेषक पदम श्रेष्ठले लेखेको बुकलेटमा दक्षिणकाली क्षेत्रको धार्मिक र ऐतिहासिक विभिन्न मठ, मन्दिर, विहार, स्तुपा,गुफालगायतको विस्तृत विवरण समावेश गरिएको छ ।

सुकुण्डा ल्याय्म्ह पुचःका अध्यक्ष ध्रुव श्रेष्ठले सो पुस्तिकामा धार्मिक सम्पदा, स्थानीय कृषिजन्य उत्पादन, खाना, पदमार्ग, जात्रापर्वको समेत चर्चा गरिएकोले दक्षिणकाली मन्दिरको दर्शन गरेर दिनभर नगरमा घुम्न मिल्ने स्थानहरुबारे उजागर भएको बताए ।

सो अवसरमा पुख्र्यौली जमिन नबेचौं,कृषि पर्यटनको प्रवद्र्धन गरौं भन्ने अभियन्ता प्रेमराज बासुकलाले फर्पिङ बस्ती भित्रका ७ टोलमा रञ्जना लिपिको ढुङगे स्तम्भ स्थापना गर्न ३२ हजार रुपियाँ प्रदान गरे ।

सोही अवसरमा फर्पिङ क्षेत्रमा रही विभिन्न रचनात्मक कार्य समाजसेवा गर्दै आएका गणित विषयका शिक्षक ध्रुव श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

लेखक पदम श्रेष्ठले २२ वर्ष अगाडि सम्पदा संस्कृति बारेको लेख सङ्कलन गरी लेखिएको पुस्तक नेपाल मण्डल सम्पदा पुस्तकबाट पर्यटन प्रवद्र्धनका लागि फर्पिङ दक्षिणकाली बुकलेट प्रकाशन गरिएको जानकारी दिए ।

प्रख्यात दक्षिणकाली माताको दर्शनका लागि आउने भक्तजनहरुलाई यस क्षेत्रमा रहेका अन्य धार्मिक सम्पदास्थल भ्रमण गराउने लक्ष्य राखिएको छ ।

सो पुस्तिकामा गोपालकालिन सम्पदास्थल गोपालेश्वर र नजिकै आदिवासी राजा बाणासुर र उनकी छोरी उषा मैयाँको दरवारको भग्नावशेष, नेपालकै पहिलो र दक्षिण एसियाको दोस्रो जलविधुत पावर हाउस चन्द्र नहर पोखरीबारे लेखिएको छ । त्यसैगरी फर्पिङबासीलाई असाध्य रोग लाग्नबाट बचाउने बज्रयानी धर्म गुरु ओदियानाचार्यद्धारा स्थापित बज्रयोगिनी मन्दिर, गुरु गोरखनाथको पदचिन्ह ,असुरा गुफा र त्यो भन्दा माथि प्राचीन दक्षिणकालीको भव्य सम्पदास्थल भ्रमणका लागि सचित्र बर्णन गरिएको छ ।

फर्पिङ देश भित्रै किरातकालिन राजा पब्बि अर्थात पचली भैरबको दरवार , ३३ कोटी देवी देवताको संयुक्त स्वरुपको मन्दिर झसु भम्केश्वरी र फर्पिङकै सबैभन्दा पुरानो बसु बर्माकालिन शिलापत्र अन्नपुर्ण भगवती मन्दिरको एक कुनामा र अर्को कुनामा राजा जयस्थिति मल्लका छोरा राजा धर्म मल्लको शिलापत्र समेटिएका छन् । फर्पिङलाई ऐतिहासिक ,पुरातात्विक ,सास्कृतिक र आर्थिक उत्थानमा टेवा पुर्याउने उदेश्य राखिएको बुक लेटभित्र फर्पिङबाट ३ कि.मी.मात्र पुर्वोत्तर वलामी झाक्रीद्धारा स्थापित दक्षिण मनकामना ,लिच्छविकालमा उपत्यकाको चार भञ्ज्याङमा स्थापित चार नारायाण मध्ये एक शेष नारायण र संगै दोस्रो बुद्धका रुपमा लिईने महायानी धर्म गुरु पद्मसंभवले समेत सिद्धता प्राप्त गरेको असुरा गुफा रहेको तथ्य सार्वजनिक गरिएको छ ।

फर्पिङको डल्लुमा एक सय ८ फिट अग्लो महायानी धर्मगुरु पद्मसम्भवको विशालकाय मुर्ती र सयौ कोठाका ध्यानागार गुम्वाको चर्चा गरिएको छ ।

फर्पिङ क्षेत्रका विज्ञ कार्तिक नाच प्रवन्ध समितिका सचिव भरत वलामी , फपिं पर्यटन समितिका अध्यक्ष श्रीकृष्ण मानन्धर ,फर्पिङ जात्रापर्वका जिम्वाल सुरेन्द्र मानन्धरको समेत सुझाव, सम्पादन रहेको सो बुकलेट विमोचन समारोहमा शिखरापुर कलेजका प्रिन्सिपल निरोज श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा उपमेयर बसन्ती डङगोल तामाङ वडा ९ का अध्यक्ष अमृका बलामी, वडा ५ अध्यक्ष श्यामबहादुर खत्रीको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register