भीम रावलले फालेको कम्युनिज्मको खोल

देउवाको राजनीति बिसौनीतिर पुगेको, सुदूरपश्चिममा अर्को राजनीतिक व्यक्तित्व रावललाई चुनौती दिने गरि विकास नभएको र सुपले आफूलाई सीमान्तकृत ठानेको सन्दर्भमा रावलले केही समयका लागि राजनीतिको भोक मेट्ने शक्ति आर्जन गर्न सक्छन् ।

Jan 1, 2025 - 11:29
 0
भीम रावलले फालेको कम्युनिज्मको खोल

भीम रावलबारे पनि कुनै दिन टिप्पणी लेख्नुपर्ला भनेर कहिल्यै सोचिएको थिएन । नियमित लेख्नुपर्ने दुःख नहुँदो हो त यी मनुवाका बारेमा कलम चलाउने जस्तो लबस्तरो काम गरिन्नथ्यो पनि ।

शहरमा जे जसको चर्चा छ, त्यसमै मत व्यक्त गर्ने व्यसन र जीविकाको लागि टिप्पणी लेखिरहनुपर्ने पेशा लिएपछि भीम रावलको बारेमा पनि लेख्ने दुःख आइलाग्यो । लेख्नुपर्नाको कारण चैँ त्यत्ति हो । र, यो लेख्ने अवसर उनैले जुराइदिएका हुन् । उनीसँग उहिले नै सङ्गठन र राजनीतिको सालनाल नजोडिएको हुँदो हो त यति लेख्ने मसला पनि मिल्दैनथ्यो । नयाँ दल खोल्न हिँडेकालाई शुभकामना दिनु नदिनु औपचारिकताको विषय हो तर, उनको बहिर्गमन चैँ टिप्पणी गर्न लायक नै छ ।

भीम रावललाई मैले चिन्न थालेको विक्रम संवत २०३६ चैत्रमा भएको अनेरास्ववियुको पाँचौँ राष्ट्रिय सम्मेलनपछि केन्द्रीय कमिटीमा उनले काम गर्न थालेदेखि हो । म अखिलको साधारण सदस्य र नेकपा मालेको रेडगार्ड अर्गनाइजेशनमा सङ्गठित हुँदाको कुरा हो । उनी अनेरास्ववियुको केन्द्रीय प्रचार विभाग प्रमुख थिए, मैले सम्झेसम्म अनेरास्ववियुको मुखपत्र विद्यार्थी आवाज र विद्यार्थी समाचारको सम्पादक थिए ।

सङ्गठन निर्माणमा त्यतिबेला हाम्रो मुख्य बाधक अनेरास्ववियु (छैटौँ) अर्थात् नेकपाको चौथो महाधिवेशन समूहको विद्यार्थी सङ्गठन थियो । केही अर्थहीन विषय घनघोर बहस र विवादका रुपमा आएका थिए । जस्तो अनेरास्ववियु लेख्दा हरेक अक्षरपछि थोप्लो राख्ने कि एउटै शब्द बनाउने (अ.ने.रा.स्व.वि.यू. लेख्ने कि अनेरास्ववियु) भन्ने विषय अथवा विद्यार्थी सम्मेलन भारतमा गर्न हुन्थ्यो कि हुन्नथ्यो अनि जनवादी लेख्ने कि जनतान्त्रिक भन्ने जस्ता वाहियातका बहसमा हाम्रो धेरै समय खेर गइरहन्थ्यो । विद्यार्थी आवाजमा यस्ता विषयमा विपक्षीलाई तर्कपूर्ण र तथ्यमा आधारित भएर लेख आउने भएकोले पनि यो पढेर हामीले आफ्नो धारणा बनाउँथ्यौँ ।

छैटौँ सम्मेलनपछि रावल विद्यार्थी सङ्गठनमा रहेजस्तो लागेन । पार्टीको बुद्धिजीवी फाँटमा सक्रिय रहे । त्यसैबीचमा उनले लेखेको पुस्तक ‘नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास’ हाम्रा लागि सबैभन्दा महत्त्वको पाठ्यपुस्तक या प्रशिक्षण सामग्री बन्यो । यसले पनि नभेटिएका रावल हाम्रा साथीजस्ता भइरहे ।

उनलाई सार्वजनिक जीवनमा देख्न थालेको चैँ २०४६ सालको परिवर्तनपछि नेकपा मालेका नेता कमरेड झलनाथ खनाल अन्तरिम सरकारको मन्त्री हुँदा सल्लाहकारका रुपमा नियुक्ति पाएदेखि हो । त्यस यता (२०७९ को संसदीय निर्वाचन अगाडिसम्म) उनले राजनीतिक भूमिकामा कहिल्यै पछि फर्केर हेर्नुपरेको थिएन । उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्री, पर्यटनमन्त्री, धेरैपटकका निर्वाचित सांसद र पार्टीको उपाध्यक्षसम्म । सुदूरपश्चमको टिकट उनैले बाँड्ने, अछाममा सधैँ उठ्न पाउने, हारेपनि जितेपनि नेता भइरहने अवसर पाएकै हुन् । पार्टीमा जो नेता हुन्छ उसैको समर्थन गर्‍यो र, अवसर हत्यायो, नभए घुर्की र धम्की दियो फेरि अवसर हात पार्‍यो । सुदूरपश्चिमको अछाममा जन्मेको लाभ यिनले लिइरहे । पाइरहे । अनेरास्ववियुका समकालीन नेताहरू राजनीतिको सीनबाटै हराउँदा पनि उनी भने सिँढी चढेको चढ्यै थिए ।

त्यतिका वर्ष मन्त्री उपप्रधानमन्त्री भएर पनि रावलमाथि भ्रष्टाचारको आरोप लागेको सुनिएको छैन । भ्रष्टाचारको यो जगजगीमा पनि आफूलाई बचाउन सक्नु भने उनको निकै सकारात्मक पक्ष मान्नुपर्छ ।

उपरोक्त कुरा उनले पाएको, लिन सकेको, लिने योग्यता भएकोले दिइएको जे भने पनि उनको व्यक्तिगत उपलब्धीको विषय हो । प्रसंङ्गवश यहाँ लेखिएपनि यो खासै महत्त्वको विषय चैँ होइन होला । तर, उनको सार्वजनिक जीवन र चरित्रका केही पक्षहरू यसैबाट निर्मित भएकोले यसलाई उल्लेख गर्नुपरेको हो ।

रावलको राजनीति

पछिल्लो समयका भीम रावललाई म नेपाली समाजको उच्च पहाडे खसआर्य समाजको पश्चगामी विचारको प्रतिनिधिका रुपमा चिन्छु । राजनीतिक रुपमा कम्युनिष्ट पार्टीमा सङ्गठित भएर जेल जीवन व्यहोरेका, पचास वर्षभन्दा बढी उमेर कम्युनिष्ट पार्टीको झन्डामुनी बिताएका भएपनि उनको विचार अन्धराष्ट्रवादी र जातिवादी छ । पुरुष ‘अहँ’ले ग्रस्त पितृसत्ताको पक्षधर छन् । बहुभाषिक बहुसांस्कृतिक समाजको चरित्रलाई स्वीकार गर्न सक्दैनन् र उनी क्षेत्रीयतावादी पनि छन् । यस अर्थमा उनी राजनीतिक रुपमा प्रगतिशील या लोकतान्त्रिक खाले विचारको प्रतिनिधित्व गर्ने व्यक्ति नभएर महेन्द्रीय राष्ट्रवादका प्रवक्ता हुन् । उनी एमालेमा हुँदा होस् या अब अर्को पार्टीमा लाग्दा (या नयाँ दल खोल्दा) होस् उनको विचारको आधार यहि नै हो । यसबारे थप चर्चा गरौँ ।

सार्वजनिक भएका सूचना र समाचारअनुसार एमालेको सदस्य खोसिएपछि ६९ वर्षको उमेरमा उनी नयाँ पार्टी खोल्न कस्सिएका छन् । ग्रिगोरीयन पात्रो अनुसारको नयाँ वर्षकै दिन उनले पत्रकार सम्मेलनमा सदस्यता नै नरहेपछि विकल्पको बाटो खोज्न बाध्य भएको तथा देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै त्यसतर्फ प्रष्ट सङ्केत गरेका छन् । उनका विश्वासपात्रमार्फत रावलले गैर कम्युनिष्ट पार्टी खोल्ने बताएको पनि सुन्नमा आएको छ । यसका लागि उनलाई धन्यवाद दिनुपर्छ ।

वास्तवमा अरु धेरै नेताहरू जस्तै रावल पनि कम्युनिष्ट हुन छाडेको त धेरै भइसकेको थियो । अहिलेसम्म सत्ता र शक्तिका लागि एमालेमा बसेर कम्युनिष्टको पातलो बर्को ओढिरहेका थिए । अब चैँ त्यो बर्को फालेर आफ्नो असली चरित्रअनुसार दल खोल्न सक्रिय भएछन् । यसरी डबल स्ट्यान्डर्ड चरित्र बोकेर जीवनमा अरुलाई ढाँटीरहनुभन्दा असलीयत देखाउनु निकै प्रशंसनीय हो । यसका लागि उनलाई धन्यवाद दिनुपर्ने हुन्छ । उनले आफ्नो वास्तविक चरित्रअनुरूपको दल खोल्न या रोज्न लाग्नु वास्तवमै असल कुरा हो, अरुले पनि अनुकरण गरे हुने खालको उदाहरण हो ।

मैले बुझेको मार्क्सवाद या कम्युनिज्मले समाजका हरेक अन्तरविरोधमा न्यायको पक्ष लिन्छ, अन्यायको विपक्षमा उभिन्छ । शोषण र थिचोमिचोको विपक्षमा उभिन्छ । यसको जन्म नै पूँजीपतिवर्गले श्रमिकवर्गको अतिरिक्त श्रम शोषण गर्ने भएकोले त्यो अन्यायपूर्ण अवस्था बदल्न उत्पादनका साधनमाथिको निजी नियन्त्रण समाप्त गर्नुपर्छ भन्दै औद्योगिक क्रान्तिपछिको युरोपेली समाजको अन्तरविरोध हल गर्ने उपायको खोजीका क्रममा भएको हो ।

वर्ग सङ्घर्षलाई केन्द्रमा राखेर सबैखाले शोषण र विभेदको समाप्तिको कारकका रुपमा उत्पादनका साधनमाथिको निजी स्वामित्वलाई मानेर त्यसको निशेषको माग गर्छ कम्युनिज्मले । राज्यसत्ताले खास वर्गको स्वार्थको रक्षा गर्ने भएकोले सम्पूर्ण रुपमा राज्यसत्ताको विलोपले मात्र सबैखाले विभेद र शोषण समाप्त गर्न सकिन्छ र त्यसपछि मात्रै हरेक व्यक्ति स्वतन्त्र बन्न सम्भव छ भन्ने यसको आधारभूत मान्यता हो ।

त्यसैले वर्गीय शोषणका विपक्षमा उभिनु, वर्गीय विभेदको आधारका रुपमा रहेका साम्राज्यवाद, उपनिवेशवाद, सामन्तवाद, जातिवाद, रङ्गभेद, पितृसत्ताले महिलामाथि थोपरेका विभेद, लैङ्गिक विभेद, धर्मका नाममा गरिने विभेद, एउटै देशभित्र भिन्न भिन्न क्षेत्रीय अवस्थितिमा रहनेलाई अवसरमा गरिने विभेद लगायत सबैखाले शोषणका रूपहरूको विरोध गर्ने मात्रै मार्क्सवादी हुनसक्छ । कम्युनिष्ट हुनसक्छ । अनेक शब्दजाल बुनेर विभेदलाई टिकाउन मलजल गर्ने, खास समूह या समुदाय या क्षेत्रमाथि विभेद गर्ने सबैखाले विचार र राजनीति या शक्तिको अभ्यास खारेज योग्य छन् । कम्युनिष्टका नाममा यस्तो विभेदको पक्षमा कोही उभिन्छ भने त्यो निलो रङ्ग पोतेको विभेदकारी स्याल नै हो । रावल यसका एकजना प्रतिनिधि पात्र हुन् । पक्का हो उनीमात्रै निलो स्याल हैनन् ।

२०७२ सालमा संविधान निर्माणको ठिक्क अगाडि सुदूरपश्चिमको कैलालीमा टीकापुर घटना घट्यो । उक्त घटना मूलतः थरूहटको मागविरुद्ध सुदूरपश्चिम पहाडका खस आर्यहरूको एउटा शक्तिले गरेको दमनका कारण भएको थियो । त्यसलाई काठमाडौंको सत्ताले साथ दिएको थियो । यो समूहले राज्यसत्ताको सहयोगमा रैथाने थारूहरूको जमिन कब्जा गरेर, उनीहरूलाई नै कमारा या कम्लहरी बनाएर पुस्तौँदेखि दमन र शोषण गर्दै आएको थियो ।

सुपको पहाडबाट झरेर यता राजनीतिक, प्रशासनिक, सांस्कृतिक र आर्थिक वर्चस्व जमाएको खस आर्य समूह पहाड र मधेसलाई अलग्याउँदा अन्तरसम्बन्धित जस्तो रहेका सांस्कृतिक राजनीतिक सम्बन्धहरू खल्बलिने र आफ्नो राजनीतिक वर्चस्व गुम्न सक्ने भयले ग्रस्त थियो । थरुहटका पक्षमा पूर्वतिरका मधेसी पहिचानवादीहरू सक्रिय भएको जस्तै – सुपको पहाड र कैलाली कञ्चनपुरको पहाडेबस्तीको एउटा हिस्सा यो आन्दोलन दमन गर्न सक्रिय थियो । सबै मुख्य स्थापित दलका पहाडे समुदायका केही नेता थरुहटका विपक्षमा सक्रिय थिए (यहाँ थरूहट आवश्यक थियो थिएन भन्ने बहस गर्न लागिएको होइन, त्यो अलग बहसको विषय हो)

त्यसबेलाका अभिव्यक्ति हेर्दा त्यसमा भूमिका खेल्नेमध्येका एकजना भीम रावल पनि थिए भन्ने सबैलाई थाहा छ (त्यतिबेला भनिन्थ्यो सुपमा काङ्ग्रेस, एमाले र माओवादी सबै दलका पहाडे मूलका नेताहरू यस मामिलामा एउटै मोर्चामा सक्रिय थिए) । यस पक्षबाट हेर्दा उनी पहाडे खस आर्य वर्चस्ववादी विचारका हुन् भन्न सकिन्छ । यो विचार नै महेन्द्रीय राष्ट्रवादको जग हो । त्यसैले रावलले बनाउने नयाँ पार्टी पनि अल्पसङ्ख्यकहरू र जनजातीहरूका अधिकारका पक्षमा रहने छैन भन्ने अहिले नै ठोकुवा गर्न सकिन्छ । यसले अन्ततः नेपालको राष्ट्रिय एकतालाई खण्डित गर्छ ।

उनको राजनीतिको दोस्रो पक्ष पुरुष वर्चस्ववादका पक्षमा छ । नयाँ संविधानपछि बनाउन लागिएको नागरिकता कानूनका विषयमा हुने बहसमा संसद्‌भित्र र बाहिर पनि अर्को देशबाट बिहे गरेर यता आएका महिला या यहाँका महिलासँग बिहे गरेर यतै बस्न चाहने पुरुषले नागरिकता पाउने विषयमा रावलका अडान विडम्वनापूर्ण थिए । नागरिकको वैयक्तिक अधिकार कमजोर बनाउने र खासगरी महिलालाई पुरुषसरह जो कसैसँग स्वेच्छाले बिहे गरेर घरजम गर्ने हकका सम्बन्धमा विभेदकारी प्रावधान राख्न यी पनि सक्रिय थिए ।

रावल प्रष्ट वक्ता जस्ता देखिन्छन् । आफूलाई लागेका कुरा मज्जाले भन्छन् । अरुले के भन्छन् भन्नेमा उनमा खासै चिन्ता देखिँदैन । उनले आफूलाई कथित राष्ट्रवादी देशभक्त देखाउन नै नागरिकताको सवालमा बवाल मच्चाउन खोजेका थिए । जसले उनको अन्तर्यमा रहेको मण्डले राष्ट्रवादको दुर्गन्ध चिनाउँथ्यो । यस्तो चरित्र उनले एमसीसी प्रकरणमा पनि देखाएका थिए ।

यी दुई कुराका कारण भीम रावल कम्युनिष्ट, प्रगतिशील या जनवादी केही पनि लाग्दैनन् । त्यसैले उनले गैर कम्युनिष्ट पार्टी खोल्ने चर्चा गर्नु अनौठो लागेन बरु यो नै सही बाटो रोजे भन्ने लाग्छ ।

राजनीतिक भविष्य

एमालेबाट निष्कासित हुनु अगाडिका तीन वर्ष उनले पार्टीलाई धम्क्याएरै पद हत्याउन मरिहत्ते गरेका थिए । उनले पार्टीको आठौँ महाधिवेशनपछिको समयमा पनि यस्तै घुर्की धम्कीले मन्त्री पद हत्याएका थिए । पार्टी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भइसकेपछि उनले उक्त परिणामलाई स्वीकार गर्नुपर्थ्यो । महाधिवेशनको प्रतिनिधि छनोट र निर्वाचन प्रक्रियामा धाँधली या शक्तिको दुरुपयोग भएको थियो भने त्यसलाई नै किटेर आलोचना गर्नुपर्थ्यो र पार्टीले दिएको जिम्मेवारी पनि पूरा गर्दै जानुपर्थ्यो ।

हैन पार्टीमा अन्याय नै भयो, बस्न सकिन्न भन्ने लागेको अवस्थामा खुला रुपमा कुरा राखेर हिँड्दा पनि हुन्थ्यो । तर, उनले तीनवर्ष भरी सार्वजनिक नभएका तर, पदको बार्गेनिङ गरेका अनेक सन्दर्भहरू छन्, चुहिँदै मैले पनि सुन्न पाएँ । त्यसको अधिकारिकता एमालेले सार्वजनिक गरेछ भने कुनैदिन पुष्टि होला । ती प्रसङ्गले पनि उनी जनवादी चरित्र बोकेका व्यक्ति हैनन् भन्ने पुष्टि गर्छन् । यो तीन वर्ष उनको राजनीतिक जीवन (यहाँ उनको कारबाहीका सम्बन्धमा अध्यक्ष ओली या नेकपा एमालेले ठीकबेठीक के गर्‍यो भन्ने विषयमा प्रवेश गर्नुको औचित्य पनि रहेन । इतिहासले यस मामिलाको मूल्याङ्कन गर्ने नै छ) उनैका लागि जीवनभर उत्तर दिनुपर्ने प्रश्न बोकेर रहिरहनेछ ।

उनी कानून र राजनीतिशास्त्रका विद्यार्थीका रुपमा एकजना बौद्धिक व्यक्तित्व हुन् । तर, उनले आफ्नो ज्ञानको प्रयोग प्राय वाक्छल, वाक्पटुता र कपटपूर्ण भाषामा खेर फालेका छन् । परस्पर घृणा फैलाउन द्वेषपूर्ण शब्दहरू प्रयोग गर्न उनले आफ्नो बौद्धिकताको दुरुपयोग गरेका छन् । त्यसको प्रयोग गरेर केही समय केही मानिसलाई आफ्नो पक्षमा बहकाउन पनि सक्छन् ।

सुदूरपश्चिमको राजनीतिका आफ्नै केही विशेषता र चरित्र छन् । जाति, थर र जिल्लाका प्रभावहरू अरुतिरभन्दा यहाँ अलि बढी निर्णायक रुपमा उपस्थित छन्, राजनीतिक अवयवका रुपमा । अछामको प्रभाव कैलालीमा पनि उत्तिकै छ ।

रावल २०३१ देखि वामपन्थी राजनीतिमा लागेका पुराना नेता हुन् । धेरै वर्ष शक्तिमा रहेकाले देशका अरु भागमा पनि एकाध मान्छे त उनले पनि पाउलान् । शक्तिमा रहनुको प्रभाव सुपमा नै बढी छ । धेरथोर कर्णालीमा होला । सुदूरपश्चिमको एमाले निर्माणको मुख्य जस पनि उनैलाई जान्छ । उनी दल सञ्चालनमा निरङ्कुश शैली अपनाउँथे र सामन्तवादी चरित्र बोक्थे भन्ने सुपका एमालेबाट सुनिन्थ्यो । त्यसक्रममा आफूलाई मन नपरेकाहरूलाई किनारा लगाउने, राजनीति सिध्याइदिने चरित्र उनमा छ । बन्दुके कमरेड भनेर यसै उनी बदनाम भएका होइनन् । उनले अहिले एमाले अध्यक्ष ओलीलाई जेजे भनेर आरोप लगाउँछन्, त्यसमध्ये घटना विशेषका फरक अर्थ होलान् बाँकी त उनी स्वयंको चरित्रमा छ भन्छन् सुपका एमालेहरू ।

त्यसरी राजनीति गर्दा उनको विरोधी बनेकाहरू एमालेमा रहेपनि उनले संरक्षण गरेकाहरूको एउटा हिस्साले भने साथ दिन सक्छ । पहाडे राष्ट्रवादको धङधङी बोक्नेहरू, दरबारको सोझो चिताउने र महेन्द्रीय राष्ट्रवादका पक्षधर राजावादीहरूको एउटा हिस्सा, एकीकृत समाजवादीमा पुगेर पनि भविष्य अनिश्चित भएको देखेर निराश भएको एउटा कित्ता र काङ्ग्रेसबाट असन्तुष्ट समेतको एउटा हिस्सालाई रावलले केही समय आकर्षित गर्न सक्छन् । नेपाल हो, समाजको अधकल्चो सङ्क्रमणको चरित्रका कारण हल्ला गरेपछि दुर्गा प्रसाईंको पछि लाग्ने मान्छे पनि पाइन्छन् भने रावल त कम्तीमा ५० वर्षको निरन्तर राजनीतिको इतिहास बोकेका र वाक्छलमा निपूर्ण छन् ।

रावलको राजनीतिक दलले अरुलाई के कस्तो असर पार्छ भन्ने कुरा गरिहाल्न समय भएको छैन । देशका अरु भागतिर कुद्दै समय खेर फाल्नभन्दा सुदूरपश्चिम केन्द्रित भएर काम गर्दा उनको राजनीतिक भविष्य केही हदसम्म बच्न सक्छ ।

देउवाको राजनीति बिसौनीतिर पुगेको, सुदूरपश्चिममा अर्को राजनीतिक व्यक्तित्व रावललाई चुनौती दिने गरि विकास नभएको र सुपले आफूलाई सीमान्तकृत ठानेको सन्दर्भमा रावलले केही समयका लागि राजनीतिको भोक मेट्ने शक्ति आर्जन गर्न सक्छन् । बाँकी कुरा त त्यस्तै हो, नयाँ खोलमा पश्चगामी राजनीतिक विचारको प्रतिनिधित्व गर्ने थप एकथान राजनीतिक दलको नाम नेपालीले केही वर्ष सुन्नुपर्नेछ । राजनीतिको नयाँ बाटो खन्छु भन्दै हिँडेका अनेकौँ स्थापित पुराना अनुहारहरूको हविगत चैँ धेरै देखियो फेरि अर्को नयाँ जोगीको शङ्ख बजेको सुन्दिँदैमा हामीलाई के फरक पर्ला र ?

अन्तिममा रावललाई एउटा प्रश्न – तपाईं २०४७ यता निरन्तर राज्यसत्ता र शक्तिमा हुनुहुन्छ । निर्णय गर्ने ठाउँमा बस्नुभयो । नीति बनाउने ठाउँमा पुग्नुभयो । आज देशमा अविकास र कुशासनका समस्या छन् भने गरिबी र श्रम आप्रवासनका बाध्यता छन् भने तपाईंले त्यसको नैतिक जिम्मेवारी लिनुपर्दैन ? अनि यी प्रश्नको उत्तर नदिइकनै नयाँ पार्टी बनाउन तपाईंसँग नयाँ र विश्वसनीय कार्यसूची चैँ के हुन्छन् हँ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register