डलरको दाउमा बालकको बलिदान, दाताको सहयोग हिनामिनापछि सचिनको दुःखद् अवसान !

सचिनको गीत र अन्तरवार्ताबाट लाखौँ डलर कमाउने युट्युबरले उपचारमा एक रुपैयाँ पनि खर्च गरेनन्, बरु उनकै नाम बेचेर चन्दा उठाएर खाए । जब सचिनले संसार छोडे, तिनै युट्युबर अस्पतालदेखि आर्यघाटसम्म ‘लाइभ’ गरेर डलर कमाउनमै मस्त देखिए । मान्छेको मृत्युमा पनि उनीहरूले केवल ‘कन्टेन्ट’ र ‘डलर’ देखे ।

Jan 2, 2025 - 13:29
 0
डलरको दाउमा बालकको बलिदान, दाताको सहयोग हिनामिनापछि सचिनको दुःखद् अवसान !

काठमाडौं । भाइरल बालगायक सचिन परियार, जसले आफ्नो बाल्यकालमै असाधारण प्रतिभा प्रस्तुत गरेर लाखौँ नेपालीको मन जितेका थिए, आज यो संसारमा छैनन् ।

उनको जीवनको अन्त्य मात्र दुःखद भएन त्यसअघि बिताएका दिनहरू अझै पीडादायी थिए । सचिनले आफ्नो गायन र मिठो र फरक लवजमा बोल्ने शैलीमार्फत् सामाजिक सञ्जालमा धेरैको मन जितेका थिए । तर १३ औँ वसन्तको बाल्यकालमै जीवनको पर्दा खस्यो ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा उनले अन्तिम सास फेरे । रोगले थलिएका सचिन पटक–पटक अस्पताल भर्ना हुने गर्थे ।

तर आर्थिक अभावका कारण उनको उपचार कहिल्यै पूर्ण र प्रभावकारी हुन सकेन । पैसा नभएपछि उनलाई अस्पतालबाट घर फर्काउनुको विकल्प थिएन ।

दुई वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो, जतिबेला उनी भाइरलकै शिखरमा थिए । उनका बुवा तेजेन्द्र परियारले छोराको उपचार खर्च भन्दै सामाजिक सञ्जालमार्फत् सहयोग मागेका थिए ।

देश विदेशबाट उनको उपचारको लागि रकम नउठेको होइन । संकलित रकमले उपचारमा खर्च गर्नुको सट्टा पैसा उठाउने युट्युबर व्यवस्थापनले ती रकम हिनामिना गरेका विषय बाहिर आइरहन्थ्यो ।

सचिनको उमेर अनुसार शारीरिक वृद्धि थिएन । कारण, गम्भीर रोगको सिकार थिए । मस्तिष्कमा पानी जम्ने समस्या थियो । चिकित्सकका अनुसार उनलाई डाइबिटिज इन्सिपिडसको भएको थियो । त्यो भनेको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गथ्र्याे ।

उनलाई ६ महिनाअघि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो ।

तर, उपचार खर्चको अभावमा पूर्ण निको नहुँदै घर फर्काइयो । अहिले सोही समस्याकै उपचार भइरहेकै समयमा उनलाई बचाउन सकिएन । किनकि निकै ढिलो अस्पताल लगियो ।

यदि उनको नाममा उठेको चन्दा सही सदुपयोग भएर समयमै उपचार पाएको भए बाँच्न सक्ने चिकित्सकहरू बताउँछन् ।

स्वार्थी युट्युबर, चन्दा हिनामिना गर्ने मध्यस्थकर्ता र आफ्नै बुबाको गैरजिम्मेवारीका कारण उपचारबाट सचिन वञ्चित भए । अन्ततः बाँच्न सक्ने सम्भावना हुँदाहुँदै उनलाई बाल्यकालमै धर्ती छाड्न विवश बनाइयो ।

भाइरलको सुरुआत

सचिनको जीवनको कथा गुल्मीको एक सानो गाउँबाट सुरु भयो । एक विपन्न दलित परिवारका थिए, उनी । बाबुको किचकिचका कारण आमाले घर छाडेर हिँडेकी थिइन् ।

आमाको माया नपाएका सचिनको बाल्यकाल नै दुःखले भरिएको थियो । बाबु तेजेन्द्र दैनिक ज्यालादारी गरेर परिवार पाल्थे । सचिन बाटोबाटोमा गीत गाउँदै पैसा माग्थे ।

विसं २०७७ तिर ८–९ वर्षका हुँदा सचिनले गाउँको बाटोमा गाएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उनको मिठो स्वर र बोल्ने शैलीले युट्युब र टिकटकमा धमाल मच्चायो ।

उनका ‘के छ हजुर ? ठिक छ हजुर !’ भन्ने डायलग र गीतका टुक्काहरू टिकटकमा ट्रेन्ड बने । सामाजिक सञ्जालको बढ्दो लोकप्रियतामा सचिनको गायन प्रतिभा फक्रँदै गयो ।

उनका बोलेका संवादहरू सोसल मिडियामा छिट्टै चर्चामा आए । फेसबुकको रील्सदेखि टिकटकमा मानिसहरूले उनको शैलीमा संवाद दोहोर्‍याउँदै भिडिओ बनाउन थाले । गीत सङ्गीतका भिडिओ अभिनयदेखि टेलिशृंखलामा अभिनय गर्ने अवसर पाए ।

महानायक राजेश हमालसँग अभिनयसमेत गर्ने अवसर पाए । बाल गायिका कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको ‘वरको छायाँले’ बोलको गीतमा सचिनले हमालसँग अभिनय गरेका छन् ।

‘ओठ खोलेर’ बोलको गीतको म्युजिक भिडिओमा सचिनको स्वर र अभिनय छ । जुन गीत झन्डै २ करोड पटक हेरिएको छ । सचिनको थेगो ‘के छ र हजुर ?’ भन्ने गीत नै बन्यो । जहाँ उनले चल्तीकी गायिका अस्मिता अधिकारीसँग स्वर मिसाउने मौका पाए ।

सचिन भाइरल र चर्चित बन्दै जाँदा प्रतिभाको फाइदा उठाउने होड चल्यो । युट्युबर र सङ्गीत निर्माताहरूले उनको प्रतिभा प्रयोग गरेर लाखौँ कमाए । उनलाई अभिनय गराएर धेरैले लाखौँ डलर कमाए ।

सचिनलाई महोत्सव लगेर बिचौलियाले पैसा कुम्ल्याउँथ्यो । उनलाई खाली हात फर्काइन्थ्यो । युट्युबमा लाइभ दोहोरीमा पनि भ्यूज बटुल्ने साधन मात्र बनाइयो ।

सामाजिक सञ्जालमा भाइरल हुँदाताका कतिपयले सचिनप्रति अनावश्यक दबाब सिर्जना गरेर दुरुपयोग गरेको भन्दै आलोचना समेत हुन्थ्यो ।

उनका बुवा स्वयंले बिरामी सचिनमाथि व्यापक श्रम शोषण गरेको आरोप लागेको थियो । भाइरल सचिनको नाम बेचेर बुबा तेजेन्द्रले पैसा उठाउँथे । रात्रिक्लब र दोहोरीमा गएर पैसा उडाउँथे, ती भिडिओहरू अहिले पनि सामाजिक सञ्जालमा देखिन्छ ।

सचिनको रोगी शरीरले धान्दा नधान्दै कहिले दोहोरीमा पुर्‍याइयो, कहिले कहाँ । हुँदा हुँदा झाँक्रीकहाँ लगेर उपचार गरेको भिडिओ भाइरल गराएर युट्युबरले डलर कमाए ।

बाँचुन्जेल उनी नाचेको, हाँसेको, रोएको, बिरामी भएको, बाटोमा मागेर हिँडेको विषयलाई ‘भाइरल कन्टेन्ट’ बनाइयो, डलर कमाउनकै लागि ।

सचिन भाइरल हुँदा उनको कलालाई युट्युबर र गीत निर्माताहरूले खुबै प्रयोग गरे । उनका गीत र अन्तर्वार्ताले युट्युबरलाई लाखौँ भ्यूज र डलर दिलायो ।

नाम र दाम कमाउने ती सबैका लागि सचिन मात्र एउटा साधन बने । तर, जब उनी गम्भीर बिरामी भएर थलिए, उनलाई उपचारका लागि केही हजार रुपैयाँसम्म कसैले दिएन ।

अबोध बालक सचिनलाई भाइरल बनाउने समाजले थकान र पीडा मात्र दियो । उनको शरीर र सपनाहरू भाइरलको रूपमा दुरुपयोग गरेर चुकाइयो ।

बाल प्रतिभाको बली, दुःखान्त गाथा !

सचिन भाइरल भएपछि पढ्नबाट वञ्चित भए । उनको प्रतिभा दुरुपयोगमै समय खर्चियो । ‘मलाई पढ्न पनि मन छ, गाउन पनि मन छ । तर, मलाई बिरामी हुँदा पनि गाउन लगाउनुहुन्छ’ एक अन्तर्वार्तामा सचिनले भनेका थिए ।

तर उनको यो पीडा कसैले सुनेन । समयसँगै नयाँनयाँ भाइरल मानिसहरू थपिँदै गए । सचिन भने बिस्तारै छायामा पर्न थाले । थोरै हात परिरहेको उनको कमाइ पनि बन्द भयो ।

बाबु तेजेन्द्रले छोराको नाममा जम्मा भएको सहयोग रकम आफ्नै विलासिताका लागि प्रयोग गर्न छाडेनन् । अभिभावकको यस्तो गैर जिम्मेवारीले सचिनप्रतिको सहयोग र सहानुभूति घट्दै गयो ।

फलतः जीवनयापन गर्न सचिनलाई भीख मागेर ज्यान पाल्नुपर्ने बाध्यता समेत आयो । वर्ष दिनअघि काठमाडौं बानियाँटारस्थित महादेव खोलानजिक पैसा र खानेकुरा माग्दै हिँडेको भेटिए । त्यो भिडिओ भाइरल भयो ।

भिडिओ देख्नेहरूलेउनलाई गाली गरे । उनको मागेको भिडिओमा ‘नाटकबाज’, ‘बाउजस्तै छोरो’ जस्ता अपमानजनक शब्दहरूले कमेन्ट लेख्दै खिल्ली उडाइयो । उनीप्रति दया भाव साटिएन ।

भाइरलको चमक पछाडि अन्धकार

भाइरल बनाउन खप्पिस समाजले सचिनलाई चाँडै चर्चामा ल्यायो । तर जब उनको स्वास्थ्य बिग्रियो सहयोग गर्नेहरूको कमी देखियो । सुरुसुरुमा त राम्रै उपचार रकम संकलन भए ।

तर चन्दा रकम दुरुपयोग भएपछि उनलाई सहयोग गर्नेहरू घट्दै गए । उपचारका लागि सङ्कलित रकमको अपारदर्शिता कै कारण सचिनलाई सहयोग गर्नेहरू घट्दै गए । अर्कोतर्फ सचिनको बुवा तेजेन्द्र परियारको गैर जिम्मेवारीपनले पनि उनीप्रति सहयोग र आस्था घटाउँदै लग्यो ।

पढ्ने र खेल्ने उमेरमा सचिनले भोक, अपमान र पीडा सहनुपर्‍यो । बिरामी अवस्थामा समेत कार्यक्रममा गाउन बाध्य बनाइयो । कहिले माग्न जानुपर्‍यो, कहिले अपमान सहनुपर्‍यो । तनाव र पीडाले ग्रसित जीवन बिताउनुपर्‍यो ।

सयौँ युट्युबहरूले सचिनलाई केवल ‘कन्टेन्ट’का रूपमा प्रयोग गरे । उनका गीत र अभिव्यक्ति अन्तरवार्ताबाट लाखौँ डलर कमाउने उनीहरूले उपचारमा एक रुपैयाँ पनि सहयोग गरेनन् ।

उल्टै उनकै नाम बेचेर चन्दा उठाएर खाए । जब सचिन संसार छोड्न बाध्य भए, तिनै युट्युबरहरू अस्पतालदेखि आर्यघाटसम्म ‘लाइभ’ गरेर डलर कमाउनमै मस्त देखिए । सचिनको मृत्युमा पनि उनीहरूले केवल ‘कन्टेन्ट’ र ‘डलर’ देखे ।

सचिनले छोटो उमेरमै मरेर गए, प्रश्न सँगै छोडेर गए – ‘ अबोधहरूलाई भाइरल बनाएर पैसा कमाउने र त्यसपछि उसलाई मर्न बाध्य बनाउने क्रम कहिलेसम्म चलिरहने हो ?’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register