राजीनामा गर्न किन बाध्य भए क्यानडाली प्रधानमन्त्री ट्रुडो ?

ट्रम्पले जनवरी २० मा अमेरिकामा राष्ट्रपतिको पद बहाल गर्नेछन् । सम्भावित तनाव मध्यनजर गर्दै ट्रुडोले भने ट्रम्पको पदबहाली अगाडि नै राजीनामा गर्दिएका छन् । क्यानडाले यो स्तरमा राष्ट्रको अपमान र सार्वभौमत्ताको जोखिम अहिलेसम्म व्यहोर्नु परेको थिएन ।

Jan 7, 2025 - 10:53
 0
राजीनामा गर्न किन बाध्य भए क्यानडाली प्रधानमन्त्री ट्रुडो ?

काठमाडौं क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार देशको राजधानी ओटावास्थित आफ्नो सरकारी निवासबाहिर पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामाको घोषणा गरे । उनले सत्तारुढ लिबरल पार्टीको नेताबाट समेत आफू बाहिरिने बताए । साथै, यो प्रष्ट गरे कि पार्टी नेता र प्रधानमन्त्री दुवै पदमा नयाँ उत्तराधिकारीको छनोट नहुन्जेलसम्म कार्यवाहकका रुपमा उनैले यी पद सम्हाल्नेछन् ।

पदबाट राजीनामाको घोषणा गर्दै उनले भने – अब सबै फेरि एकपटक ‘रिसेट’ गर्नु पर्ने बेला आएको छ । र, त्यसका लागि आफ्नो नेतृत्व देश र पार्टीका लागि उपयुक्त रहेन ।

अब लिबरल पार्टीको नयाँ नेतृत्व देशव्यापी आन्तरिक निर्वाचनबाट चयन हुने छ भने देशमा अक्टोबरभित्र नयाँ आम निर्वाचन हुनुपर्ने छ । ट्रुडोको राजीनामाले सत्तारुढ लिबरल पार्टीले नयाँ नेताको छनोट गरेर आम निर्वाचन सामना गर्ने अवसर पाएको छ ।

प्रधानमन्त्री ट्रुडो केही महिनायता आन्तरिक तथा बाह्य राजनीतिक घेराबन्दीमा थिए । डिसेम्बरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले पदबाट राजीनामा दिएकी थिइन् । उनी पार्टी र सरकारमा प्रभावशाली थिइन् । उनको राजीनामालाई पार्टी र सरकारभित्र बढ्दो असन्तुष्टिको सङ्केत मानिएको थियो ।

छिमेकी देश अमेरिकामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जितपछि ट्रुडोले अस्वाभाविक बाह्य दबाब समाना गर्नुपरेको थियो । राष्ट्रपति निर्वाचित भएसँगै ट्रम्पले क्यानडाबाट अमेरिकामा हुने निर्यातमा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए ।

ट्रम्पको घोषणा यत्तिमै सीमित रहेन । उनले ‘बहुमत क्यानडाली जनता अमेरिकाको ५१औं राज्य हुन चाहन्छन्’, त्यसो गर्दा ‘क्यानडाको रक्षा खर्चमा ठूलो बचत’ हुने छ, ट्रुडो ‘एक सार्वभौम देशका प्रधानमन्त्री नभएर अमेरिकी राज्यका गभर्नर मात्रै हुन्’ जस्ता आपत्तिजनक र क्यानडाली सार्वभौमसत्तालाई खलल पुर्‍याउने अभिव्यक्ति पनि दिए ।

ट्रम्पको पहिलो कार्यकालमा पनि अमेरिका–क्यानडा सम्बन्ध खासै राम्रो थिएन । क्यानडा र अमेरिका रुसपछिको क्षेत्रफलमा विश्वकै क्रमशः दोस्रो र तेस्रो ठूला देश हुन् । यी दुई देशले संसारकै सबैभन्दा लामो जमीन सीमा साझेदारी गर्छन् । क्यानडा–अमेरिका सीमा ८ हजार ८९१ किलोमिटर लामो छ । यसले अमेरिकाका १३ राज्य र ८ क्यानडियन राज्यलाई छुन्छ ।

सीमा व्यवस्थापन र अवैध आप्रवासन अमेरिका–क्यानडा तनावको मुख्य विषय हो । क्यानडा अमेरिकाको उत्तरी सीमामा पर्दछ र दक्षिणमा मेक्सिको । यी दुवै देशको सीमाले अमेरिकामा अवैध आप्रवासन समस्यालाई चर्को बनाएको ट्रम्पको आरोप छ । तसर्थ, क्यानडा र मेक्सिको दुवै देशलाई सीमा व्यवस्थापन गर्न नसकेको वा नचाहेको दण्डस्वरूप शुल्क लगाउने ट्रम्पको घोषणा छ ।

ट्रम्पले जनवरी २० मा अमेरिकामा राष्ट्रपतिको पद बहाल गर्ने छन् । सम्भावित तनाव मध्यनजर गर्दै ट्रुडोले भने ट्रम्पको पदबहाली अगाडि नै राजीनामा गर्दिएका छन् । मेक्सिकोले भने अहिलेसम्म यो विवादमा आफ्नो धारणा प्रष्ट गरेको छैन, मौन बस्दै आएको छ ।

ट्रम्पको शुल्क थोपर्ने घोषणापछि ट्रुडोले सम्बन्ध सामान्यीकरणको प्रयास गरेका थिए । ट्रम्प निर्वाचित हुनेबित्तिकै उनलाई अमेरिकी राज्य फ्लोरिडामा भेटेर यसबारे छलफल पनि गरेका थिए । ट्रम्पसँगको भेटपछि देश फर्किएर ट्रुडोले सीमा व्यवस्थापन थप प्रभावकारी बनाउन १ बिलियन अमेरिकी डलर बराबरको सैन्य खर्च बढाउने घोषणा गरेका थिए ।

तर, ट्रम्पले पदबहाल नगर्दै कूटनीतिक मर्यादाविपरित भेटघाट गरेको र ट्रम्पको धम्कीको प्रतिक्रियास्वरूप सैन्य खर्च वृद्धिको घोषणा गरेको कारण क्यानडामा ट्रुडोको लोकप्रियतामा थप ह्रास आयो । अर्थमन्त्री फ्रिल्यान्डले राजीनामाको एउटा कारण यसैलाई बनाइन् । उनले क्यानडाले ट्रम्पको दोस्रो कार्यकाललाई सामना गर्ने वस्तुसङ्गत र दीर्घकालीन योजना र रणनीति बनाउनु पर्ने भन्दै यस कार्यमा प्रधानमन्त्रीको रुचि नभएको आरोप लगाएकी थिइन् ।

फ्रिल्यान्डको राजीनामापछि सत्तारुढ पार्टीभित्र ट्रुडोको लोकप्रियता र स्वीकार्यता एकाएक कमजोर भएको थियो । पार्टीकै सांसदहरूले राजीनामा माग्न थालेका थिए । ट्रुडोको नेतृत्वमा पार्टी चुनावमा गए हार हुन सक्नेभन्दै उनीविरुद्धको आवाज चर्को भएको थियो । सर्वेक्षणहरूले सत्तारुढ लिबरल पार्टीभन्दा विपक्षी कन्जर्भेटिभ पार्टीको लोकप्रियता बढिरहेको देखाउन थालेका थिए ।

क्यानडाको अर्थतन्त्र धेरै हदसम्म अमेरिका निर्यातमा आधारित छ । ट्रम्पको २५ प्रतिशत शुल्कको घोषणाले क्यानडाको अर्थतन्त्रलाई निक्कै ठूलो असर पर्ने ठानिएको छ । पछिल्ला महिनामा क्यानडामा बेरोजगारी समेत बढ्न थालेको छ । बेरोजगारी दर ६ प्रतिशतभन्दा माथि पुगेको आर्थिक तथ्याङ्कले देखाएका छन् ।

ट्रुडोको राजीनामापछि ट्रम्पले तुरुन्तै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् – क्यानडा अमेरिकामा मर्ज हुन राजी होस्, न रक्षा खर्च लाग्ने छ, न शुल्क बढ्ने छ, बरु नागरिकको करसमेत कटौती हुने छ ।

क्यानडाले यो स्तरमा राष्ट्रको अपमान र सार्वभौमत्ताको जोखिम अहिलेसम्म व्यहोर्नु परेको थिएन । विश्वकै सबैभन्दा ठूलो देश रुसले छिमेकी युक्रेनमाथि २ वर्षभन्दा लामो युद्ध जारी राखेका बखत ट्रम्पको क्यानडालाई अमेरिकामा विलय गराउने धम्कीले विश्व नै तरङ्गित भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ‘फेक नेशन’ भनेजस्तै ट्रम्पले क्यानडालाई ‘वास्तविक राष्ट्र नभएर अमेरिकाको ५१औं राज्य’ मात्र भएको बयान बारम्बार दोहोर्‍याउन थालेका छन् ।

५३ वर्षीय ट्रुडो करिब १ दशकअघि एक चामत्कारिक नेताका रुपमा उदाएका थिए । करिब १ दशक लामो शासनकालमा ट्रुडोले एक प्रगतिशील र उदार राजनीतिज्ञको छवि बनाएका थिए । उनले आप्रवासी, शरणार्थी, आदिवासीमैत्री, वातावरणवादी तथा महिलावादी प्रधानमन्त्रीको छवि बनाए ।

सिख समुदायका क्यानडाली नागरिक हरदीप सिंह निज्जरको हत्या प्रकरणमा उनले भारतसँग ठूलो प्रतिवाद गरेका थिए । खालिस्तान आन्दोलनलाई समर्थन गरेको निहुँमा निज्जरको हत्या भारतले गुप्तचरमार्फत गराएको ट्रुडोको आरोप थियो । यस सवालमा ट्रुडोले भारतीय कूटनीतिज्ञलाई देश निकालासमेत गरेका थिए ।

जस्टिन क्यानडाका १५औं प्रधानमन्त्री पियरे ट्रुडोका छोरा हुन् । सन् २००८ मा उनी ३६ वर्षको उमेरमा पहिलोपटक संसद् सदस्य निर्वाचित भएका थिए । सन् २०१३ मा उनी लिबरल पार्टीको नेता र सन् २०१५ मा देशको प्रधानमन्त्री निर्वाचित भएका थिए ।

ट्रम्पले पहिलो कार्यकालमा केही इस्लामिक देशका नागरिकलाई अमेरिकी भिसा प्रतिबन्ध लगाउने भनि गरेको निर्णयको ट्रुडोले खुलेर विरोध गरेका थिए ।

ट्रुडोको लिबरल पार्टी सन् १८५७ मा स्थापित एक पुरानो दल हो । ट्रुडोका पिता यसै पार्टीबाट करिब १५ वर्ष देशको प्रधानमन्त्री भएका थिए । सन् २०१३ मा ट्रुडोले लिबरल पार्टीको नेतृत्व हासिल गर्दा सत्ताभन्दा बाहिर धकेलिएको १ दशकभन्दा बढी भइसकेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register