वैकल्पिक राजनीति र नयाँ पार्टीको भविष्य

पपुलिज्म र राष्ट्रवादको लहर अल्पकालीन हुन्छ । किनभने पपुलिज्म समाधान होइन, समस्या हो । पपुलिस्ट पार्टी वा नेतासँग समस्याको फेहरिस्त हुन्छ, समाधान हुँदैन । त्यसैले नेपालमा पनि पपुलिस्ट, दक्षिणपन्थी, राष्ट्रवादी तथा अनुदारवादी पार्टीको भविष्य छैन ।

Jan 14, 2025 - 06:14
 0
वैकल्पिक राजनीति र नयाँ पार्टीको भविष्य

विगत केही समयदेखि वैकल्पिक राजनीति र नयाँ पार्टीको आवश्यकता र भविष्यबारे गहन छलफल र बहस हुँदै आएको छ । शक्तिकेन्द्रदेखि जनस्तरसम्म तथा मूलधारका सञ्चारमाध्यमदेखि वैकल्पिक मिडियासम्म ‘पटकपटक अवसर पाएर पनि पुराना पार्टीले जनअपेक्षाअनुसार राज्य सञ्चालन गरेनन्, नयाँले केही गर्छन् कि ?’ भन्ने प्रचलित भाष्य कर्णप्रिय हुँदै आएको देखिन्छ । 

विशेषगरी फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता वैकल्पिक मिडिया, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालले यस्तो भाष्यलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्दै आएका छन् । यसैगरी रास्वपा र जनमत पार्टी, काठमाडौंका मेयर बालेन्द्र शाह, केही बौद्धिक तथा व्यावसायिक समुदायले यस्तो भाष्य निर्माणमा विशेष भूमिका निर्वाह गर्दै आएको देखिन्छ । त्यसैले सरकार, संस्थापन, मूलधारका पार्टी र शीर्ष नेतृत्व पङ्क्ति प्रचलित बहसमा प्रतिरक्षात्मक हुँदै आएको देखिन्छ । 

के राजनीतिक यथार्थता अहिलेको प्रचलित भाष्य जस्तै हो ? पुराना पार्टीको भविष्य र सान्दर्भिकतामाथि प्रश्न उठेकै हो ? के स्थापना मितिको आधारमा पुरानो हुँदैमा सबै पार्टी असफल र असान्दर्भिक तथा नयाँ हुँदैमा सबै पार्टी असल र सान्दर्भिक हुन्छन् ? के पुराना पार्टीको सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर भएकै हो ? पुराना पार्टीका चुनौती कस्ता छन् र नयाँ पार्टीको भविष्य कस्तो छ ? भन्ने जस्ता ज्वलन्त प्रश्न उठेका छन् । यिनै प्रचलित भाष्य, प्रश्न र प्रतिप्रश्नको आधारमा वैकल्पिक राजनीति र नयाँ पार्टीको भविष्यको बारेमा वस्तुनिष्‍ठ विश्लेषण गर्ने प्रयास गरिएको छ । 

वैकल्पिक राजनीति र पार्टीको उद्देश्य ?

वैकल्पिक राजनीतिको अवधारणा र उद्देश्य भनेको विचार, सिद्धान्त र आदर्शको राजनीति हो, सुसंस्कृत राजनीति हो र डेलिभरीको राजनीति हो । मूलधारको राजनीतिभन्दा वैकल्पिक राजनीति र मूलधारका पार्टीभन्दा वैकल्पिक पार्टी पृथक हुन्छन् । देशका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक समस्या समाधान गर्ने स्पष्ट वैकल्पिक दृष्टिकोण र मार्गचित्र वैकल्पिक पार्टीसँग हुन्छ । 

यिनै मूल्यमान्यता, सिद्धान्त, भिजन र नीतिलाई अनुसरण गर्ने वैकल्पिक पार्टी हुन्, नेपालको प्रचलित भाष्य र शब्दावलीमा नयाँ पार्टी हुन् । वैकल्पिक राजनीति र वैकल्पिक पार्टी भिजन, नीति, नेतृत्व, कार्यसम्पादन र कार्यशैलीका दृष्टिले विशिष्ट तथा श्रेष्ठ हुन्छन् । यही विशिष्‍टता तथा श्रेष्‍ठताको आधारमा जनसमर्थन हासिल गरी स्थापित हुन्छन् । वैकल्पिक राजनीतिको सिद्धान्त र वैकल्पिक पार्टी निर्माणको प्रक्रिया यही हो । 

नेपालको सन्दर्भमा निराशाको खेती र भ्रमको व्यापार गरेर नयाँनयाँ पपुलिस्ट पार्टी, पात्र र प्रवृत्तिहरू उदाएका छन् । नयाँ पार्टीका नेतादेखि कार्यकर्ता पङ्क्तिसम्मले पुराना पार्टी जस्ता नभएको दाबी गर्दै वैकल्पिक सोच, संस्कार र नीति अनुसरण गरेको दाबी पनि गर्दै आएका छन्, अतिरञ्जित शैली र चर्को स्वरमा प्रोपोगण्डा गर्दै आएका छन् । 

तर, २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनको मितिदेखि हालसम्मका गैरजिम्मेवार तथा उत्तेजक अभिव्यक्ति, रहस्यमय गतिविधि, दृश्य-अदृश्य रूपमा गरिएका सत्ताको सौदाबाजी र अस्थिर प्रवृत्तिको आधारमा विश्लेषण गर्दा मूलधारका पार्टी भन्दा पनि स्खलित हुँदै गएको देखिन्छ । गोयबल्स शैलीमा अतिरञ्जित प्रोपोगण्डाको कोलाहल मच्चाएर सत्तामा पुग्नु वा सत्ताको दलाली गर्नु वैकल्पिक राजनीति पनि होइन, नयाँ पार्टीको चरित्र र चिन्तन पनि होइन । 

वास्तविकता के हो भने स्थापना मितिको आधारमा नयाँ हुँदैमा कुनै पार्टी वैकल्पिक पनि हुँदैन । रास्वपा, जनमत, नागरिक उन्मुक्ति नयाँ पार्टी हुन् । तर वैकल्पिक पार्टी होइनन् । वैकल्पिक राजनीति र वैकल्पिक पार्टीमा हुनु पर्ने सिद्धान्त, संस्कार, नीति, नेतृत्व र कार्यशैली यी पार्टीसँग छैन । 

विरोध, आक्रोश र निन्दा बाहेक नयाँ भनिने पार्टीहरूसँग देशका विद्यमान समस्या समाधान गर्ने कुनै भिजन र नीति छैन । नयाँ भनिएका पार्टीका साइन बोर्ड र पात्र मात्र नयाँ भए । तर प्रवृत्ति र संस्कार उस्तै । के वैकल्पिक राजनीति भनेको एकदुई थान नयाँ पार्टी र एकदुई थान नयाँ अनुहार मात्रै हो ? वैकल्पिक राजनीति भनेको भिजन, सिद्धान्त, विचार, सुसंस्कृत राजनीति होइन ?

आज नयाँ पार्टी र नयाँ नेतृत्वको नकारात्मक बिम्ब नै लामिछाने भएका छन् । यदि आज कसैको कारणले वैकल्पिक राजनीति र नयाँ पार्टी कमजोर र अलोकप्रिय भएको छ भने सबैभन्दा बढी लामिछानेको कारणले भएको छ । वैकल्पिक राजनीति र नयाँ पार्टीका लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ? 

व्यक्तिगत स्वार्थका लागि सत्ताको संरक्षण खोज्ने प्रवृत्ति नयाँ भनिएका पार्टीमा झन् बढी देखियो । प्रारम्भमा नयाँ पार्टीप्रति जनताले शङ्काको सुविधा दिएको कारणले केही अपेक्षा पनि थियो । तर, रास्वपा सभापति रवि लामिछानेको बहुचर्चित तथा बहुविवादास्पद सहकारी ठगी प्रकरण पर्दाफास भएपछि तथा पटकपटक ‘बार्गेनिङ’ गरी लामिछाने गृहमन्त्री भएपछि लामिछाने र रास्वपाको नियत र चरित्र घाम जत्तिकै छर्लङ्ग भयो । 

२०७९ को निर्वाचनमा करिब १२ लाख मत र प्रतिनिधिसभामा २० सिट हासिल गरी चौथो शक्ति भएपछि वैकल्पिक राजनीति, नयाँ पार्टी र नयाँ नेतृत्व भनेकै रवि लामिछाने र रास्वपा भन्ने प्रायोजित भाष्य र ‘फेक मेटाफोर’ बनाइएको थियो । बाबुराम भट्टराई, मुमाराम खनाल, केशव दाहाल, डम्बर खतिवडाहरूले गरेको वैकल्पिक राजनीतिको सैद्धान्तिकरण र उज्ज्वल थापा, मिलन पाण्डे, रञ्जु दर्शनाहरूले बनाएको साङ्गठनिक आधारको अपहरण गर्न लामिछाने सफल भएका थिए । 

तर, आज नयाँ पार्टी र नयाँ नेतृत्वको नकारात्मक बिम्ब नै लामिछाने भएका छन् । यदि आज कसैको कारणले वैकल्पिक राजनीति र नयाँ पार्टी कमजोर र अलोकप्रिय भएको छ भने सबैभन्दा बढी लामिछानेको कारणले भएको छ । वैकल्पिक राजनीति र नयाँ पार्टीका लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ? 

सत्तामा भए पनि नभए पनि राजनीतिक संरक्षणका लागि जसरी उनले ‘बार्गेनिङ’ गरे, रास्वपालामिछानेप्रतिको जनताको भ्रम २ वर्ष पनि नपुग्दै समाप्त भयो । जुन गतिमा अप्रत्याशित रूपमा रास्वपाको उदय भएको थियो, त्यही नै गतिमा अवसानको दिशातर्फ उन्मुख हुँदै गएको छ । 

रास्वपा र लामिछानेले राजनीतिलाई जादुगर, अवतार र चमत्कार जस्तो गरी प्रोपोगण्डा गरेका छन् । तर प्रचलित समकालीन भाष्य जस्तो राजनीति अर्थात् लोकतान्त्रिक प्रणाली भनेको चमत्कार होइन र नेता भनेको जादुगर, अवतार र ‘हिरोइज्म’ होइन । यो त प्रणाली हो, प्रक्रिया हो र जवाफदेहिता हो । 

यही वर्षको अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका ‘ह्वाइ नेसन्स फेल’ भन्ने बहुचर्चित पुस्तकका लेखक द्वय डारेन आसेमोग्लु र जेम्स रोविन्सनले पनि लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्थाहरू सबल, सक्षम र प्रभावकारी हुनु पर्ने पक्षमा जोड दिएका छन् । 

पुराना कि मूलधारका पार्टी ?

नेपालका प्रमुख शक्तिहरू काङ्ग्रेस २००३ र एमाले २००६ मा स्थापना भएका पार्टी हुन् । विभाजन र एकीकरणको आरोह-अवरोहपूर्ण इतिहास भएको माओवादी २०५१ मा स्थापित भएको थियो । २०४७ पछि पूर्व पञ्चहरूले राप्रपा गठन गरेका थिए भने रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको इतिहास तीन वर्ष भन्दा लामो छैन । तराई-मधेसकेन्द्रित जसपालोसपा पनि २०६३ पछि स्थापना भएका पार्टी हुन् । सम्भवत मेयर बालेन्द्र शाहले पनि निकट भविष्यमा अर्को नयाँ पार्टी घोषणा गर्लान् ।

स्थापना मितिको आधारमा गणितीय दृष्टिले कुनै पार्टी नयाँ वा पुरानो हुनसक्छ । तर, राजनीतिक दृष्टिले पार्टीको सिद्धान्त, विचार र नीतिको आधारमा विश्लेषण गरिन्छ । नयाँ वा पुरानो भन्दा पनि लोकतन्त्रवादी हो कि गैरलोकतन्त्रवादी हो ? उदारवादी हो कि अनुदारवादी हो ? प्रगतिशील हो कि पपुलिस्ट हो ? आधुनिक हो कि कन्जरभेटिभ हो ? भन्ने राजनीति शास्त्रसम्मत बहसको विषय हो । 

काङ्ग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरू पुराना होइनन्, मूलधारका पार्टी हुन् । यी पनि वैकल्पिक हुँदै मूलधारका पार्टीका रूपमा स्थापित भएका हुन् । तर, अहिले अलोकप्रिय भएका छन्, त्यो पृथक बहसको विषय हो । 

आइफोनको नयाँ मोडेल निश्चित रूपमा पुरानो भन्दा राम्रो, आकर्षक र उपभोक्तामैत्री हुन्छ । तर नयाँ पार्टी हुँदैमा राम्रो हुन्छ भन्ने दावी र भाष्य राजनीति शास्त्रसम्मत पनि होइन, सिद्धान्तसम्मत पनि होइन । किनभने कुनै पार्टी नयाँ भएर पनि गैरलोकतन्त्रवादी, अनुदारवादी, कन्जरभेटिभ, पपुलिस्ट, उग्रराष्ट्रवादी, दक्षिणपन्थी, सत्तामुखी हुनसक्छ । यसैगरी कुनै पार्टी पुरानो भएर पनि लोकतन्त्रवादी, उदारवादी, बहुलवादी, प्रगतिशील र जनतामुखी हुनसक्छ । त्यसैले अहिलेको प्रचलित भाष्य नै भ्रामक र आग्रहपूर्ण छ । 

बेलायत, अमेरिका, भारत समृद्ध लोकतान्त्रिक प्रणाली भएका देश हुन् । बेलायत र अमेरिका दुबै देशमा प्रमुख रूपमा दुईटा पार्टी छन् । अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन तथा बेलायतमा कन्जरभेटिभ र लेबर पार्टीले विगत दुई शताब्दीदेखि राज्य सञ्चालन गर्दै आएका छन् । त्यसैले बहुदलीय प्रणाली अनुसरण गरे पनि दुई दलीय प्रणाली भनी राजनीतिक व्यङ्ग्य समेत गरिन्छ । 

अमेरिकाको डेमोक्रेटिक सन् १८२८ र रिपब्लिकन सन् १८५४ मा स्थापित भएका थिए भने बेलायतको कन्जरभेटिभ सन् १८३४ र लेबर सन् १९०० मा । यसैगरी भारतका दुई प्रमुख पार्टीहरू भारतीय काङ्ग्रेस सन् १८८५ र भाजपा सन् १९८० मा स्थापना भएका थिए । भारतमा धेरै पार्टी भए पनि निर्णायक शक्ति भाजपा र काङ्ग्रेस नै हुन् । बेलायत, अमेरिका, भारतमा धेरै पार्टीहरू जन्मे । तर, सैद्धान्तिक, वैचारिक तथा साङ्गठनिक दृष्टिले टिक्न सकेनन् । के अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन, बेलायतका कन्जरभेटिभ र लेबर पार्टी तथा भारतका भाजपा र काङ्ग्रेसलाई पुराना, असफल र असान्दर्भिक पार्टी भन्ने ?

नेपालको सन्दर्भमा प्रजापरिषद् सबैभन्दा पुरानो पार्टी हो । तर, सैद्धान्तिक, वैचारिक र नेतृत्वको दृष्टिले प्रजापरिषद् सान्दर्भिक भएन । त्यसैले पार्टी नै विघटन भयो । २०४८ पछि देवेन्द्रराज पाण्डे नेतृत्वको लोकदल तथा २०६३ पछि उज्जवल थापा नेतृत्वको विवेकशील, रवीन्द्र मिश्र नेतृत्वको साझा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलगायत धेरै पार्टी स्थापना गरिए । तर, कुनै पनि पार्टी स्थापित हुन सकेनन् । 

काङ्ग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरू पुराना होइनन्, मूलधारका पार्टी हुन् । यी पनि वैकल्पिक हुँदै मूलधारका पार्टीका रूपमा स्थापित भएका हुन् । तर, अहिले अलोकप्रिय भएका छन्, त्यो पृथक बहसको विषय हो । 

यदि वैचारिक, नीतिगत र नेतृत्वको दृष्टिले विकल्प दियो भने मूलधारका पार्टी नै वैकल्पिक पार्टीका रूपमा रूपान्तरित हुन सक्छन् । यदि रूपान्तरण भयो, नेतृत्व परिवर्तन भयो र सुसंस्कृत र डेलिभरीको राजनीति गर्यो भने मूलधारका पार्टीले  नै पुनर्जीवन पाएर लोकप्रिय हुने सम्भावना छ । किनभने अहिले पनि नेपाली जनताको पहिलो प्राथमिकता मूलधारका पार्टीको सुधार, रूपान्तरण र पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण हो । जुन वास्तविकताको पुष्टि निर्वाचन परिणाममार्फत हुँदै आएको छ । 

पार्टी निर्माणका आधार

पार्टी निर्माणका प्रमुख आधार सिद्धान्त, विचार, सङ्गठन र नेतृत्व हुन् । राज्यसत्ता सञ्चालनका दृष्टिले अलोकप्रिय भए पनि काङ्ग्रेस, एमाले, माओवादीको सैद्धान्तिक, वैचारिक, वर्गीय र साङ्गठनिक आधार अहिले पनि कमजोर छैन । लोकतान्त्रिक प्रणाली, स्वतन्त्र प्रेस र सामाजिक सञ्जालको कारणले विकसित भएको सशक्त बौद्धिक समुदाय, नागरिक समाज र क्रिटिकल जनमतले आलोचनात्मक नै भए पनि हालसम्म काङ्ग्रेस, एमाले, माओवादीलाई नै समर्थन गर्दै आइरहेका छन् ।

लोकतन्त्रप्रेमी जनता र करिव ४० प्रतिशत मध्यम तथा निम्न मध्यम वर्ग भएकाले लोकतन्त्रवादी, उदारवादी, मध्यमार्गी र बहुलवादी पार्टी काङ्ग्रेसको आधार बलियो देखिन्छ । अन्तर्राष्ट्रिय राजनीति प्रतिरक्षात्मक भएपनि ४० प्रतिशत भन्दा बढी वामपन्थी मत भएकाले वामपन्थी पार्टीको आधार पनि नेपालको सन्दर्भमा कमजोर छैन । 

निर्वाचनमा जनमतको प्रमुख आधार नयाँ पार्टीप्रतिको आशा र अपेक्षा भन्दा पनि पुराना पार्टीप्रतिको असन्तुष्टि, आक्रोश र वितृष्णा हो । नयाँ पार्टीले सकारात्मक भन्दा पनि नकारात्मक मत बढी पाएका हुन् । त्यसैले यो अल्पकालीन, क्षणिक र प्रतिक्रियात्मक हो । 

रास्वपा, जनमत, नागरिक उन्मुक्तिलगायतका नयाँ पार्टीको सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर र अस्पष्ट मात्रै होइन, कतिपय सन्दर्भमा अन्तरविरोधपूर्ण समेत देखिन्छ । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, अर्थनीति, विदेश नीतिलगायतका ज्वलन्त राजनीतिक तथा आर्थिक मुद्दामा नयाँ पार्टीको दृष्टिकोण स्पष्ट छैन । यी विषयमा दृष्टिकोण स्पष्ट नभएसम्म यी पार्टीबारे चर्चा र बहस गर्नु निरर्थक छ ।

जसपालोसपाको अलोकप्रियताको कारणले जनमत क्षेत्रीयताको आधारमा तथा नागरिक उन्मुक्ति जातीयताको आधारमा स्थापित भएका दुवै पार्टीको सैद्धान्तिक र वैचारिक आधार कमजोर छ । रास्वपाले वाद, सिद्धान्त र विचारधाराको माला जपेर देश नबन्ने दाबी गर्दै आइरहेको छ । रास्वपाले रवि लामिछाने, जनमतले सीके राउत तथा नागरिक उन्मुक्तिले रेशम चौधरीलाई देवत्वकरण गरी पार्टी स्थापित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ । 

तर, तत्कालका लागि यो रणनीतिले आंशिक सफलता हासिल गरे पनि पार्टीको संस्थागत विकासका दृष्टिले अन्तत: आत्मघाती हुनेछ । किनभने सुदूर भविष्यसम्म पनि ती पार्टी विधिसम्मत र संस्थागत रूपमा सञ्चालित हुने सम्भावना क्षीण देखिन्छ । 

पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका मूलधारका पार्टी र शीर्ष नेतृत्व पङ्क्तिप्रति जनताको व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा भएको कारणले नयाँ पार्टीले प्रतिक्रियात्मक राजनीतिक लाभांश पाएका हुन् । मूलधारका पार्टीको असफलता तथा अलोकप्रियताबाट सृजित जनआक्रोशको मनोवैज्ञानिक शोषण गरी निराशाको खेती र भ्रमको व्यापार गर्दा उनीहरु आफैँले अपेक्षा गरेको भन्दा पनि राम्रो निर्वाचन परिणाम हासिल गर्न सफल भए ।

तर, निर्वाचनमा जनमतको प्रमुख आधार नयाँ पार्टीप्रतिको आशा र अपेक्षा भन्दा पनि पुराना पार्टीप्रतिको असन्तुष्टि, आक्रोश र वितृष्णा हो । नयाँ पार्टीले सकारात्मक भन्दा पनि नकारात्मक मत बढी पाएका हुन् । त्यसैले यो अल्पकालीन, क्षणिक र प्रतिक्रियात्मक हो । 

माओवादी र प्रचण्डको उत्थान र अवसानको इतिहास नयाँ पार्टीलाई शिक्षाप्रद हुनसक्छ । २०६२/०६३ को जनआन्दोलन सफल भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि माओवादी क्रान्ति र परिवर्तनको शक्तिशाली ‘मेटाफोर’ बनेको थियो । एक दशक लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका प्रचण्ड क्रान्तिका मिथक जस्तै बनेका थिए । सशस्त्र द्वन्द्वकालमा माओवादीले समानान्तर सत्ताको अभ्यास मात्रै गरेको थिएन, वैकल्पिक सेना समेत बनाएको थियो । 

तर पहिलो संविधानसभा निर्वाचनमार्फत शक्तिशाली र निर्णायक शक्तिको रूपमा स्थापित भएको माओवादी दोस्रो संविधानसभा निर्वाचनमा जनताबाट कसरी तिरस्कृत भएको थियो ? त्यसपछि कहिले काङ्ग्रेससँग, कहिले एमालेसँग चुनावी गठबन्धन गरी सत्ताको सौदाबाजी गरे पनि माओवादीको सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर हुँदै गइरहेको देखिन्छ । प्रचण्डले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरी मौलिक सुधार र रूपान्तरण नगरे माओवादी पार्टी थप कमजोर हुने देखिन्छ। 

पपुलिज्मको आधारमा उदाएको रास्वपा 

पपुलिज्मको लहर एक्काईसौँ शताब्दीको प्रारम्भदेखि युरोप-अमेरिकाको आर्थिक सङ्कटसँगै सुरु भएको देखिन्छ । सन् २००५ पछि जति पनि पार्टीहरू स्थापित भएका छन्, प्राय: सबै दक्षिणपन्थी, राष्ट्रवादी, पपुलिस्ट, अनुदारवादी भएको देखिन्छ । सन् २००५ पछि कि दक्षिणपन्थी, राष्ट्रवादी, पपुलिस्ट, अनुदारवादी पार्टीहरू स्थापित भए, कि मूलधारका पार्टीमा पनि दक्षिणपन्थी, राष्ट्रवादी, पपुलिस्ट, अनुदारवादीहरू नेतृत्वमा पुग्न सफल भए ।

अमेरिकामा डोनाल्ड ट्रम्प, बेलायतमा बोरिस जोनसन, भारतमा नरेन्द्र मोदी, ब्राजिलमा बोल्सोनारो, टर्कीमा रिसेप तय्यप यर्दोगान, हङ्गेरीमा भिक्टर अर्वानलगायतका प्रियतावादी नेताहरू मूलधारका पार्टीको नेतृत्वमा पुगी सत्तामा पुग्न समेत सफल भए । तर, जब उनीहरु सत्तामा पुगे, सबैभन्दा पहिलो आक्रमण लोकतान्त्रिक प्रणाली र संस्था, संविधान, नागरिक स्वतन्त्रता, विधिको शासन र मानव अधिकारमाथि गर्दै आएका छन् । त्यसैले पपुलिज्म र अनुदारवाद लोकतन्त्रको सबैभन्दा प्रमुख चुनौतीको रूपमा उदय भएको देखिन्छ । 

सन् २०१६ मा स्थापित फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको एन मार्स र सन् २०१२ मा स्थापित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको आम आदमी पार्टी मात्रै अपवादस्वरूप लोकतन्त्रवादी, प्रगतिशील, उदारवादी, मध्यमार्गी, बहुलवादी पार्टीका रूपमा स्थापित भएका हुन् । पार्टी स्थापना गरेको एक वर्ष भित्रै म्याक्रोँ राष्ट्रपति मात्रै निर्वाचित भएनन्, फ्रान्सको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गर्न समेत सफल भए । भ्रष्टाचार विरोधी अभियानबाट स्थापित भएको तथा सुशासन र डेलिभरीलाई प्रमुख प्राथमिकता दिएको आम आदमी पार्टीले भाजपा र काङ्ग्रेसलाई चुनौती दिइरहेको देखिन्छ । 

रास्वपा पार्टीगत रूपमा प्रोपोगण्डा र नेतृत्वमा स्टन्ट गरी भाइरल हुने प्रवृत्तिले ग्रसित भएको देखिन्छ । लामो समय अमेरिका बसेर नेपाल फर्किएका लामिछानेले ट्रम्पले जस्तै वैकल्पिक मिडिया, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत मूलधारका पार्टी र सञ्चारमाध्यमलाई आक्रमण गर्दै आफू स्थापित हुने रणनीति सफल भएको देखिन्छ । 

राष्ट्रवाद, पपुलिज्म, अनुदारवाद, दक्षिणपन्थको लहर नेपालमा पनि आयो । त्यस्तो लहरले २०७० को चुनावमा राप्रपा लाभान्वित भएको थियो । राष्ट्रवाद, पपुलिज्म, अनुदारवादकै सहारामा केपी ओली एमालेको अध्यक्ष मात्रै भएनन्, २०७४ को निर्वाचनबाट प्रचण्ड बहुमतका साथ सत्तामा पुग्न समेत सफल भए । त्यसपछि नयाँ शक्ति, विवेकशील साझालगायतका पार्टीले पपुलिज्मको बैशाखी टेकेर स्थापित हुने प्रयास गरेका थिए । तर, असफल भए । 

तर, जनतामा व्याप्त निराशाको व्यापार तथा पपुलिस्ट प्रोपोगण्डाको कारणले रास्वपा भने अप्रत्याशितरूपमा स्थापित भयो । रास्वपाले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण, सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रको रुपमा प्रयोग गर्दै आएको छ । रास्वपा पार्टीगत रूपमा प्रोपोगण्डा र नेतृत्वमा स्टन्ट गरी भाइरल हुने प्रवृत्तिले ग्रसित भएको देखिन्छ । लामो समय अमेरिका बसेर नेपाल फर्किएका लामिछानेले ट्रम्पले जस्तै वैकल्पिक मिडिया, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत मूलधारका पार्टी र सञ्चारमाध्यमलाई आक्रमण गर्दै आफू स्थापित हुने रणनीति सफल भएको देखिन्छ । 

रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले आफूसँग असहमत पार्टी, विचारप्रति जसरी असहिष्णु र अराजक टिप्पणी गर्दै आएका छन्, त्यस आधारमा विश्लेषण गर्दा लोकतान्त्रिक, उदारवादी र सहिष्णु पार्टी हुने सम्भावना छैन । हालसम्मको नेतृत्वको अभिव्यक्ति, प्रवृत्ति र मनोवृत्तिको समीचीन मीमांसा गर्दा थप पपुलिस्ट, अनुदारवादी, दक्षिणपन्थी र असहिष्णु धारतर्फ उन्मुख हुँदै गएको देखिन्छ । 

तर पपुलिज्म र राष्ट्रवादको लहर अल्पकालीन हुन्छ । किनभने पपुलिज्म समाधान होइन, समस्या हो । पपुलिस्ट पार्टी वा नेतासँग समस्याको फेहरिस्त हुन्छ, समाधान हुँदैन । त्यसैले नेपालमा पनि पपुलिस्ट, दक्षिणपन्थी, राष्ट्रवादी तथा अनुदारवादी पार्टीको भविष्य छैन । 

निष्कर्ष

न कुनै पार्टीको भविष्य निरपेक्ष रूपमा उज्जल छ, न कुनै पार्टीको निरपेक्ष रूपमा अन्धकार । न कामना र प्रार्थनाले कुनै पार्टीको भविष्य उज्यालो हुनेछ, न कुनै पार्टीको भविष्य समाप्त । न कुनै पार्टी पुरानो हुँदैमा निरपेक्ष रूपमा असफल र असान्दर्भिक हुन्छ न नयाँ हुँदैमा निरपेक्ष रूपमा सान्दर्भिक र सफल । किनभने कुनै पनि पार्टीको सान्दर्भिकता, औचित्य र भविष्य उक्त पार्टीको सिद्धान्त, विचार, नीति र नेतृत्वमा निर्भर रहन्छ । 

लोकतान्त्रिक प्रणालीमा निर्विकल्प केही हुँदैन । प्रणालीको पनि विकल्प हुन्छ, संविधानको पनि विकल्प हुन्छ, सरकारको पनि विकल्प हुन्छ, पार्टीको पनि विकल्प हुन्छ, नेतृत्वको पनि विकल्प हुन्छ, मूलधारको पनि विकल्प हुन्छ र वैकल्पिक राजनीति तथा वैकल्पिक पार्टीको पनि विकल्प हुन्छ । त्यसैले उदारवादी समाज र लोकतान्त्रिक प्रणालीमा संवाद, बहस, सुधार, रूपान्तरण र विकल्पको अन्त्य हुँदैन । 

@GejaWagle

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register