‘सन् २०२४ मा अर्बपतिको सम्पत्ति तीन गुणा छिटो बढ्यो’

काठमाडौं । विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ । विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा […]

Jan 20, 2025 - 11:48
 0
‘सन् २०२४ मा अर्बपतिको सम्पत्ति तीन गुणा छिटो बढ्यो’

काठमाडौं । विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ ।

विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ ।

एक वर्षअघि समूहले त्यो समयमा एक मात्र खर्बपति देखापर्ने पूर्वानुमान गरेको थियो ।

अक्सफामको अनुसन्धानले निवर्तमान राष्ट्रपति जो बाइडनले गत हप्ता दिनभएको ‘थोरै अति–धनी व्यक्तिहरूको हातमा शक्तिको खतरनाक केन्द्रीकरण’ को चेतावनीलाई थप बल दिएको छ ।

समूहको ‘टेकर्स नट मेकर्स’ शीर्षकको तीखो रिपोर्टले पनि सन् १९९० देखि गरिबीमा परेका मानिसहरूको सङ्ख्यामा मुस्किलले परिवर्तन भएको बताएको छ ।

विश्व आर्थिक मञ्चले डाभोसको अल्पाइन गाउँमा हुने वार्षिक बैठकमा व्यापारिक अधिकारी, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समूहका नेताहरूसहित करिब तीन हजार सहभागी हुने अपेक्षा गरेको छ ।

चिन्ताको विषय के हो ?

आफ्नो पहिलो कार्यकालमा दुई पटक डाभोसको भ्रमण गरेका र सोमबार पदको शपथ लिने तयारी गरेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भिडिओमार्फत मञ्चको कार्यक्रममा भाग लिने अपेक्षा गरिएको छ ।

उनले आफ्नोसहित लामो समयदेखि सम्पत्ति सञ्चयको वकालत गर्दै आएका छन् र अर्बपति इलोन मस्कलाई प्रमुख सल्लाहकारको रूपमा गणना गरेका छन् ।

“तपाईंले अहिले के देख्नुभएको छ भने आज एक अर्बपति राष्ट्रपतिले सबैभन्दा धनी व्यक्तिको समर्थनमा शपथ लिइरहेका छन् । त्यसैले यो विश्वव्यापी कुलीन वर्गको मुकुटको गहना हो”, अक्सफाम इन्टरनेसनलका कार्यकारी निर्देशक अमिताभ बेहरले ट्रम्प र मस्कलाई उल्लेख गर्दै एक अन्तर्वार्तामा भने, “यो एक विशेष व्यक्तिको बारेमा होइन । यो हामीले सिर्जना गरेको आर्थिक प्रणाली हो जहाँ अर्बपतिहरू अहिले आर्थिक नीतिहरू, सामाजिक नीतिहरूलाई आकार दिन सक्षम छन्, जसले अन्ततः उनीहरूलाई बढीभन्दा बढी नाफा दिन्छ ।”

बाइडनको अमेरिकी कर संहितामार्फत अर्बपतिहरूलाई ‘उनीहरूको उचित हिस्सा तिर्न सुरु गर्न’को आह्वान जस्तै वैश्विक वकालत समूह अक्सफामले असमानता र अत्यधिक सम्पत्ति घटाउन सबैभन्दा धनीमाथि कर लगाउन र ‘नयाँ कुलीनतन्त्र विघटन गर्न’ सरकारहरूलाई आह्वान गरेको छ ।

समूहले एकाधिकार तोड्ने, सीईओको तलब सीमित गर्ने र कर्पोरेशनहरूलाई कामदारहरूलाई ‘जीवनयापन ज्याला’ तिर्न सुनिश्चित गर्न नियमन गर्ने जस्ता कदमहरूको आह्वान गरेको छ ।

सबैभन्दा गरिबहरूको अवस्था कस्तो छ ?

शीर्ष टेक कम्पनीहरू र एस एन्ड पी ५०० जस्ता स्टक–मार्केट सूचकाङ्कहरूका साथै सुनको मूल्य र बिटक्वाइन जस्ता क्रिप्टोकरन्सीहरूको लागि बलियो प्रदर्शनका कारण धेरै लगानीकर्ताहरूले २०२४ मा बलियो लाभ उठाए ।

गत वर्ष अर्बपतिको सम्पत्ति दुई खर्ब डलरले बढेको अक्सफामले जनाएको छ । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो र दैनिक पाँच अर्ब ७० करोड डलर हो ।

अर्बपतिहरूको सङ्ख्या २०४ ले बढेर दुई हजार ७६९ पुगेको छ र १० धनी व्यक्तिहरूको सम्पत्ति औसतमा एक दिनमा लगभग १० करोड डलर बढेको छ ।

विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै उक्त समूहले सन् १९९० देखि दैनिक छ दशमलव ८५ डलरभन्दा कम आयमा जीवनयापन गर्ने मानिसहरूको सङ्ख्यामा ‘मुस्किलले परिवर्तन’ भएको भन्दै लामो समयसम्म चलेको गरिबीलाई औँल्याएको छ ।

अक्सफामले अति–धनीहरूको तथ्याङ्कका लागि नोभेम्बरको अन्त्यसम्मको फोर्ब्सको ‘रियल–टाइम बिलियनेयर लिस्ट’ प्रयोग गरेको छ ।

यसको विपरीत सन् २०२४ मा प्रत्येक हप्ता कम्तीमा चार नयाँ अर्बपति ‘टकमरी (अत्यन्त धनी)’ भएका थिए र अर्बपति सम्पत्तिको तीन–पाँचौँ भाग उत्तराधिकार, एकाधिकार शक्ति वा ‘क्रोनी कनेक्सन’ बाट आउँछ ।

औसतमा अक्सफामले कम र मध्यम आय भएका देशहरूले आफ्नो राष्ट्रिय बजेटको लगभग आधा ऋण भुक्तानीमा खर्च गरिरहेको बताएको छ ।

साथै समूहले युरोपमा ७९ वर्ष भन्दा बढीको तुलनामा अफ्रिकामा आयु ६४ वर्ष भन्दा कम रहेको बताएको छ ।

के यो वर्ष डाभोसमा फेरि सामान्य जस्तै व्यापार हुनेछ ?

केही पश्चिमी देशहरूमा बलियो नेताहरूको उदय भइरहेको र व्यवसाय जगत्मा विविधता र जलवायु परिवर्तन जस्ता प्रगतिशील मुद्दाहरू कमजोर हुँदै गएको अवस्थामा अति धनी र गरिबबीचको बढ्दो खाडलका बावजुद मङ्गलबारदेखि औपचारिक रूपमा सुरु हुने वार्षिक डाभोस सम्मेलनले यस वर्ष पनि पैसा कमाउने र सम्झौता गर्नेमा ध्यान केन्द्रित गर्ने सम्भावना छ ।

धेरै क्षेत्रमा एआईले धेरै सेतो–कलर रोजगारहरू बढाउन सक्छ र उद्योगहरूको शृङ्खलामा कामदारहरूलाई विस्थापित गर्न सक्छ भन्ने चिन्ताका बावजुद अधिक दक्षता प्राप्त गर्न व्यवसायका लागि उपकरणका रूपमा कृत्रिम बुद्धिमत्ताको निरन्तर वृद्धि पनि डाभोसमा फेरि एउटा केन्द्रीय विषय हुनेछ ।

दोस्रो कार्यकालका लागि ट्रम्पको पुनरागमन सम्भवतः डाभोसमा धेरै मुखहरूमा हुनेछ । साथै युक्रेन र सुडानमा युद्ध लगायत जारी द्वन्द्वहरू र गाजामा उनीहरूको विनाशकारी १५ महिने युद्धलाई रोक्दै आइतबार हमास र इजरायलबीच सुरु भएको युद्धविरामको निरन्तरताको आशाहरू पनि चर्चामा हुनेछन् ।

मञ्चका आयोजकहरूले गत हप्ता नौ सय विशेषज्ञबीच गरिएको ‘ग्लोबल रिस्क्स रिपोर्ट’ को सर्वेक्षण जारी गरेका थिए । रिपोर्टमा देशहरूबीचको द्वन्द्व सबैभन्दा ठूलो चिन्ताको विषय रहेको, त्यसपछि चरम मौसम, आर्थिक टकराव, गलत सूचना र दुष्प्रचार र ‘सामाजिक ध्रुवीकरण’ – धनी र गरिबबीचको खाडलको सङ्केत – रहेको पाइएको थियो ।

विगतका वर्षहरूमा जस्तै बढी आर्थिक समानता, धनीहरूमाथि कर र अन्य मागहरूका लागि आह्वान गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए ।

केहीले डाभोसको सडकहरू अवरुद्ध गरे, केही ठाउँमा ट्राफिक अवरोध गरे र शुक्रबारसम्म चल्ने कार्यक्रममा केही सहभागीहरूको यात्रामा ढिलाइ गराए । एपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register