युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन : संयुक्त राष्ट्रसंघ

नैरोबी । अहिलेसम्म १० लाखभन्दा बढी मानिस सुडानको युद्धबाट छिमेकी देश दक्षिण सुडानमा भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यस तथ्याङ्कले मानवीय संकटलाई चित्रण गरेको राष्ट्रसंघले बताएको छ । सन् २०२३ अप्रिलमा सुडानको सेना र प्रतिद्वन्द्वी अर्धसैनिक समूहबीच द्वन्द्व सुरु भएयता दशौँ हजारको मृत्यु भएको छ र एक करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका […]

Jan 22, 2025 - 13:31
 0
युद्धबाट दक्षिण सुडानमा १० लाख मानिस पलायन : संयुक्त राष्ट्रसंघ

नैरोबी । अहिलेसम्म १० लाखभन्दा बढी मानिस सुडानको युद्धबाट छिमेकी देश दक्षिण सुडानमा भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यस तथ्याङ्कले मानवीय संकटलाई चित्रण गरेको राष्ट्रसंघले बताएको छ ।

सन् २०२३ अप्रिलमा सुडानको सेना र प्रतिद्वन्द्वी अर्धसैनिक समूहबीच द्वन्द्व सुरु भएयता दशौँ हजारको मृत्यु भएको छ र एक करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रसंघको नयाँ तथ्याङ्कअनुसार पछिल्लो २१ महिनामा जोडा सीमा नाकाबाट ७७ हजारभन्दा बढी मानिस भागेका छन् र अन्य स्थानबाट पनि दशौँ हजार मानिस दक्षिण सुडान प्रवेश गरेका छन् । यो पलायनले कूल सङ्ख्या १० लाख पुर्‍याएको छ ।

राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसिआरका अनुसार सीमा पार गर्ने १० लाख मानिसमध्ये अधिकांश दक्षिण सुडानी नागरिकहरू हुन् । उनीहरू विश्वको सबैभन्दा नयाँ देशमा भएको गृहयुद्धबाट पहिले नै भागेका थिए ।

“दक्षिण सुडानमा १० लाखभन्दा बढी मानिसको आगमन एउटा स्पष्ट र गम्भीर तथ्याङ्क हो र यसले वास्तवमा यो सङ्कटको बढ्दो परिमाणलाई देखाउँछ”, युएनएचसिआरका साना अब्दुल्ला ओमरले भने, “दक्षिण सुडानका जनताले असाधारण उदारता देखाउँदै छन्, आवश्यकतामा परेकाहरूलाई स्वागत गर्दै र आफूसँग भएका सीमित स्रोतहरू बाँड्दै छन्, तर उनीहरूले यो विशाल जिम्मेवारी एक्लै बोक्न सक्दैनन् ।”

संयुक्त राष्ट्रसङ्घको संयुक्त वक्तव्यले दक्षिण सुडानमा स्वास्थ्य सेवा, पानी र आश्रय जस्ता स्रोतहरू ‘खतरनाक रूपमा अत्यधिक तनावग्रस्त’ भएको चेतावनी दिँदै विस्थापित मानिसहरू र उनीहरूलाई आश्रय दिने समुदायहरू दुवैका लागि थप सहयोगको आह्वान गरेको छ ।

दक्षिण सुडानको उत्तरी सिमानामा रहेको रेन्क काउन्टीमा दुई ट्रान्जिट केन्द्र पाँच हजारभन्दा कम मानिसका लागि डिजाइन गरिएको थियो तर अहिले १६ हजारभन्दा बढी मानिसलाई राखिरहेको वक्तव्यमा उल्लेख छ ।

प्रहरीका अनुसार गत हप्ता दक्षिण सुडानमा सुडानी नागरिक विरोधी प्रदर्शन लुटपाट र हिंसामा परिणत भएपछि १६ जना सुडानी नागरिक मारिएका थिए । सुडान विश्वको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटबाट गुज्रिरहेको छ र देशका केही भागमा अनिकाल घोषणा गरिएको छ ।

युद्धले सुडानी सेना प्रमुख अब्देल फत्तह अल–बुरहान र उहाँका पूर्व उप–प्रमुख मोहम्मद हमदान दागलोबीच द्वन्द्व निम्त्याएको छ । दागलोले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को कमान्ड गर्नुहुन्छ । दुवै पक्षलाई युद्ध अपराधको आरोप लागेको छ, जसमा नागरिकहरूलाई लक्षित गर्ने र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोलाबारी गर्ने समावेश छन् ।

आरएसएफलाई विशेष गरी जातीय सफाया, व्यवस्थित यौन हिंसा र सम्पूर्ण सहरमा घेराबन्दी गरेको आरोप लगाइएको छ । नोभेम्बरमा गरिएको एक अनुसन्धानले रोग र भोकमरीलगायत सबै कारणबाट भएका मृत्युलाई समावेश गर्दा युद्धको पहिलो १४ महिनामा ६१ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेको थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register