ट्रम्पको अवैध आप्रवासन नीतिलाई चुनौती दिने गुरिल्ला पृष्ठभूमिका पेट्रो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको अवैध आप्रवासन नीतिका कारण विश्वभर हलचल पैदा भएकाे छ । राष्ट्रपतिको चुनावी अभियानका दौरान पटक/पटक यस नीतिलाई कार्यान्वयनमा ल्याउने बताएका ट्रम्पले यही जनवरी २० मा राष्ट्रपतिको शपथ ग्रहण गरेलगत्तै अघि बढाएका छन् । उनले आफ्ना देशमा आएका विश्वभरका आप्रवासीलाई सम्बन्धित देश आफैँले फिर्ता लैजान आग्रह गरेका छन् । […]

Jan 28, 2025 - 12:18
 0
ट्रम्पको अवैध आप्रवासन नीतिलाई चुनौती दिने गुरिल्ला पृष्ठभूमिका पेट्रो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको अवैध आप्रवासन नीतिका कारण विश्वभर हलचल पैदा भएकाे छ ।

राष्ट्रपतिको चुनावी अभियानका दौरान पटक/पटक यस नीतिलाई कार्यान्वयनमा ल्याउने बताएका ट्रम्पले यही जनवरी २० मा राष्ट्रपतिको शपथ ग्रहण गरेलगत्तै अघि बढाएका छन् ।

उनले आफ्ना देशमा आएका विश्वभरका आप्रवासीलाई सम्बन्धित देश आफैँले फिर्ता लैजान आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एक प्रेस रिलिज निकाल्दै ट्रम्पको पालामा अमेरिकालाई कसैले पनि ‘ठग्न र फाइदा लिन’ नसक्ने बताएका छन् ।

तर, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भने ट्रम्पलाई चुनौती दिएका छन् । महाशक्ति अमेरिकालाई  आप्रवासीको स्वाभिमान हनन् नगर्न उनको चुनौती  छ । पेट्रो यत्तिकैमा रोकिएका छैनन् । ट्रम्पलाई ‘श्वेत व्यापारीको गुलाम’ भन्दै उनीसँग कुनै सहकार्य नगर्ने घोषणासमेत गरेका छन् ।  कोलम्बिया स्वतन्त्र जीवन र मानवताको निर्माता भएकाले यसमाथिको विध्वंस सह्य नहुने पेट्रोको भनाइ छ ।

गैरकानूनी आप्रवासीविरुद्ध कडा नीति लिएका ट्रम्पले हजारौँ आप्रवासीलाई निष्कासन सुरु गरेका छन् । त्यही क्रममा  कोलम्बियन आप्रवासीलाइ निष्कासन गरी अमेरिकाले सैन्य विमानमार्फत मुलुक पठाउँदै थियो । आप्रवासी बोकेको विमानलाइ पेट्रोले अवतरण गर्न दिएनन् ।

पेट्रोले भने – ‘आप्रवासीहरू माथिको अमानवीय व्यवहार स्वीकार्य छैन । हाम्रा नागरिलाई स्वागत गर्न तयार छौँ । उनीहरूको स्वाभिमानको अपमान हामीलाई  स्वीकार्य छैन । अमेरिकाले सैन्य विमानमा होइन, साधारण विमानमा हाम्रा नागरिक पठाओस् ।’

आप्रवासीमाथि अमेरिकाले निकै अमानवीय व्यवहार गरेको उनको भनाइ छ । आप्रवासीमाथि ट्रम्पको  व्यवहार निकै निकृष्ट रहेको र यसले मानवजातीमाथि सङ्कट थप्ने उनले बताएका छन् ।

ट्रम्पको यो व्यवहार आफूलाई  फिटिक्कै चित्त नबुझेको उनको भनाइ छ । यो विषयमा कुनै दिन ट्रम्पसँग छलफल गर्ने इच्छा पेट्रोको छ । तर, यसमा ट्रम्पको व्यवहार नै बाधक रहने उनले पत्रमा उल्लेख गरेका छन् ।

‘मलाई आप्रवासीप्रतिको तिम्रो चिन्तन र व्यवहार फिटिक्कै चित्त बुझेको छैन । तिम्रो यो व्यवहार मानव जातीका लागि निकै घातक छ । ग्याष्ट्रिक भएता पनि म वाइन पिउँछु । वाइन पिएर कुनैदिन तिमीसँग यस विषयमा बहस गर्न मन छ । यो संवाद तिम्रै कारणले सम्भव हुनेछैन । किनभने तिमीले मलाई आम कोलम्बियनझैँ निकै तल्लो वर्गको भन्ठान्छौँ,’ पेट्रोले ट्रम्पलाई भने ।

सैन्य र आर्थिक शक्तिको उन्मादमा ट्रम्पले व्यक्तिको स्वाभिमानमा गरेको प्रहार स्वीकार्य नहुने उनको भनाइ छ ।

कोलम्बियाका आप्रवासीलाई अमेरिकाले गरेको व्यवहारप्रति असहमति जनाउँदै उनले अमेरिकी  सैन्य विमान आफ्नो भूमीमा अवतरण गर्न दिएनन् । त्यसको प्रतिकारमा अमेरकाले कोलम्बियाका सामानमा कर बढाउने घोषणा गरे । ट्रम्प यत्तिमा मात्रै रोकिएनन् । कोलम्बियालाई आर्थिक नाकाबन्दी गर्ने र कोलम्बियाका सरकारी अधिकारीलाई प्रवेशाज्ञा नदिने चुनौती दिए ।

ट्रम्पको यो चुनौतीलाई पेट्रोले असहज माने । यही मामिलालाई लिएर आफूमाथि अमेरिकाले सत्ताच्युतसम्म गर्नसक्ने उनको भनाइ छ । मानव स्वतन्त्रता र स्वाभिमानको वकालतमा जस्तासुकै दबाब र यातना सहन तयार रहेको उनको पत्रमा उल्लेख छ ।

‘आर्थिक र सैन्य उन्मादमा तिमीले कूको समेत प्रयत्न गर्न सक्छौ । दबाब र यातनाको तहमा पनि उत्रिन सक्छौ । यस्ता धेरै दबाब र तनाव झेलेर म यहाँ आइपुगेको हुँ । म तिम्रा दबाब र तनाव पनि झेल्न तयार छु,’ उनको पत्रमा उल्लेख व्यहोरालाई उद्धृत गर्दे अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

कोलम्बिया स्वतन्त्रताप्रेमी भएकाले कसैको दास नबन्ने र कुनैपनि दासलाई स्वीकार नगर्ने उनको भनाइ छ ।

कोलम्बियन लेखक ग्याब्रियल ग्र्यासिया मार्खेजको प्रख्यात उपन्यास ‘वान हन्ड्रेड एयर्स अफ सोलिट्युड’का पात्र औरिल्यान्यो वेलिन्डासँग पेट्रोले आफूलाई तुलना गरेका छन् ।

‘म शान्तिपूर्ण जीवन बाँचेर पनि मानिसको स्वतन्त्रताका निम्ति भएको सशस्त्र सङ्घर्षमा होमिएको औरिल्यान्यो जस्तै मान्छे हुँ । मानिसको स्वाभिमान र स्वतन्त्रताका लागि लड्न म सधैँ तयार छु,’ पत्रमा उनले लेखेका छन् ।

उनले ट्रम्पलाई कोलम्बिया र आफ्ना नागरिकको स्वतन्त्रताको सम्मान गर्न भनेका छन् । कोलम्बियासँग सहकार्य गर्ने भए ‘श्वेतहरूको गुलाम’ नबन्न पेट्रोको ट्रम्पलाई चुनौती छ । आफू लिङ्कन पक्षधर स्वतन्त्रतावादी र स्वतन्त्रताको पक्षमा लड्दा जीवन गुमाएका स्वेत र अश्वेत किसानका चिहानअघि बाहेक कुनैपनि अमेरिकीसामु नझुक्ने पेट्रोको भनाइ छ ।

‘हाम्रो स्वतन्त्रताको सम्मान नगर्ने श्वेतका दाससँग म हात मिलाउने छैन ।  म स्वतन्त्रतावादी लिङ्कन पक्षधर वा उनका उत्तराधिकारी वा स्वतन्त्रताका पक्षमा लड्दा जीवन गुमाएका श्वेत वा अश्वेत योद्दाका चिहानअघि बाहेक कुनैपनि अमेरिकीसामु झुक्नेछैन,’ उनले भने ।

को हुन् पेट्रो ?

गुस्ताभो पेट्रो कोलम्बियाको गाउँ सेनागा ओरोमा सन् १९६० मा जन्मिएका थिए ।  ६२ वर्षको उमेरमा उनी कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति बने ।

अर्बपति  रोडोल्फो हर्नान्डिजलाई पराजित गर्दै उनी सन् २०२२ मा राष्ट्रपति भएका थिए । २१ वर्षको उमेरमा उनी सशस्त्र सङ्घर्षमा होमिएका थिए ।

गुरिल्ला समूह एम-१९ मा होमिँदा उनले डेढ वर्ष जेल जीवनसमेत बिताउनुपरेको थियो । सन् २०१० मा सांसद भएका उनी सन् २०१० मा बोगटाको मेयरसमेत चुनिए ।

सन् २०२२ मा राष्ट्रपतिमा चयन हुनुअघि उनी तीनपटक त्यस पदका प्रत्यासी थिए । सशस्त्र सङ्घर्षलाई शान्तिपूर्ण अवतरणका लागि उनले विशेष भूमिका निर्वाह गरेका थिए ।

सन् २०१६ को शान्ति सम्झौतामार्फत फार्क विद्रोहीको पाँच दशक लामो सशस्त्र सङ्घर्ष टुङ्गिएको थियो । त्यस सम्झौतालाई कार्यान्वयन गर्न उनले विशेष भूमिका निभाए ।

वामपन्थी पृष्ठभूमिका पेट्रो मुलुकको कार्यकारी प्रमुख बनेसँगै बोगटासँग वासिङ्टनको सम्बन्धमा दरार आउने आकलन उतिबेलै गरिएको थियो । पेट्रो राष्ट्रपति भएको तीन वर्षपछि दरार झाँगिने अवस्था आइपुगेको छ । किनभने उनले अब वासिङ्टनलाई मात्रै प्राथामिकता नदिने घोषणा गरिसकेका छन् । अमेरिकी थिचोमिचो नसहने उनको घोषणा छ ।

‘हामी अब उत्तरतर्फ मात्रै हेर्नेछैनौँ । हाम्रो धमिनीमा  ल्याटिन रोमदेखि एथेन्ससम्म लोकतान्त्रिक गणराज्य स्थापित गर्ने सभ्यताको रगत बग्छ । त्यसैले तिमीले हामीमाथि वर्चश्व जमाउन सक्नेछैनौँ,’ उनले भने ।

अमेरिकाको कुनैपनि धम्कीदेखि आफू नडराउने उनको सन्देश छ । अबदेखि कोलम्बियाले मानवता र स्वतन्त्रताप्रेमीलाई मात्रै अँगाल्ने उनले बताएका छन् ।

‘नाकाबन्दीको तिम्रो धम्कीले मलाई रत्तिभर पनि डर लागेको छैन । कोलम्बिया सुन्दरताले भरिपूर्ण मुलुकमात्रै होइन । यो मुलुक विश्वको मुटु पनि हो । तिमीले सौन्दर्यताको प्रेम गरेमात्रै मीठो प्रतिफल प्राप्त गर्नेछौ । आजबाट कोलम्बिया  वासिङ्टनका लागि मात्रै होइन विश्वका लागि  लागि खुला छ । हामी स्वतन्त्र जीवन र मानवताका निर्माता हौँ । यो माथिको विध्वंस हामी सहनेछैनौँ ।,’ पेट्रोले पत्र टुङ्ग्याएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register