शैलुङमा भीमसेन तरबार शिला पूजाको तयारी

दोलखा। हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरबार शिला पूजाको तयारी गरिएको छ । दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ८ ले भीमसेन तरबार शिला पूजाको तयारी गरेको वडा अध्यक्ष धनबहादुर तमाङले बताए ।  दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा पर्ने सयवटा थुम्का भएको शैलुङ डाँडामा भीमेसेनको तरबार भएको शिला […]

Feb 3, 2025 - 07:08
 0
शैलुङमा भीमसेन तरबार शिला पूजाको तयारी

दोलखा।

हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरबार शिला पूजाको तयारी गरिएको छ । दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ८ ले भीमसेन तरबार शिला पूजाको तयारी गरेको वडा अध्यक्ष धनबहादुर तमाङले बताए । 

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा पर्ने सयवटा थुम्का भएको शैलुङ डाँडामा भीमेसेनको तरबार भएको शिला रहेको छ । किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार त्यही छोडिएको हो । 

अर्कोथरी किंवदन्ती अनुसार भीमसेनले आफ्नो जारलाई लखेट्दै गएर शैलुङ डाँडामा तरबार (खड्ग) प्रहार गरी काटेका थिए । जार काटेपछि भीमसेनले उक्त तरबार अशुद्ध भएको ठानी त्यही छोडेको र त्यसैलाई जारकाटे ढुङ्गा ( भीमसेन तरबार शिला) भनिएको शैलुङ गाँउपालिकाका पूर्व अध्यक्ष भरत दुलाल बताउँछन् । 

संस्कृतविद् डा. जगमान गुरुङ दोलखाको प्रसिद्ध भीमेश्वरको दर्शन गर्न जाने दर्शनार्थीहरुले पहिले भीमसेनले तरबार (खड्ग) छोडेको शैलुङ डाँडामा रहेको उक्त भीमसेन तरबार शिलाको दर्शन गर्दा फल प्राप्त हुने बताउँछन् ।

दोलखाका स्थानीय समाजसेवी शोभित उप्रेती शैलुङ डाँडामा रहेको भीमसेन तरबार शिलाको धार्मिक एवम् पुरातात्वीक महत्वलाई आत्मसाथ गर्दै वडा नम्बर– ८ को पहलमा माघ २६ गते भीमा एकादशीको दिन भीमसेन तरबार शिला पूजाको तयारी भएको बताउँछन् । भीमसेन तरबार शिला पूजाको अवसरमा दोलखाका अलवा काठमाडौँ तथा अन्य ठाँउहरु बाट समेत धार्मिक पर्यटक, सञ्चारकर्मी, संस्कृतविद् लगायतको सहभागिता रहने समाजसेवी शोभित उप्रेतीले बताए । 

वडाको आयोजनामा हुने भीमसेन तरबार शिला पूजालाई व्यवस्थित बनाउन वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, स्थानीय युवा समाजसेवीहरु प्रवीण प्रसाद थपलिया, नवराज खड्का लगायतले समन्वय गरिरहेका छन् । 

तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तमाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाँउमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय ज्येष्ठ नागरीकहरु बताउँछन् । 

शैलुङमा हरेक बाह्र बर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर जादैन भन्छन् स्थानीय । महादेव मन्दिरसंगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कण गरिरहेका हुन्छन् । भनिन्छ, धर्मात्माहरु ले सजिलै धर्मढोका पार गर्नसक्छन् तर पापीले त्यो सौभाग्य पाउन सक्दैनन् । 

महयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङ्मायाको किम्बदन्ति सुनाउदै स्थानीय जेष्ठजनहरु भन्छन् – गुरु पद्यसम्भवले नेपालको उच्च तथा हिमाली श्रृङ्खलाका साथै तिब्बतका बोत (झाँक्री) धर्म गुरुहरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । यो क्रममा धर्मचक्र राजाकी छोरीसंग विवाह गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरु समेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउदा मानेश्वर ल्हो (माने) शैलुङ बसेका थिए । त्यसैले यो पवित्र र धार्मिक मित्र भूमि पनि मानिन्छ । 

गौरीशङ्कर हिमश्रङ्खला लगायत थुप्रै हिमश्रृङ्खलाहरु देखिने शैलुङमा गाँउपालिकाको पहलमा निर्माण भएको मिनि ग्रेटवाल समेत आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय विशेषगरी शुक्रवार र शनिवार हजारौँ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठ बताउँछन् ।

तस्विरहरुः १) सयवटा थुम्का भएको शैलुङ डाँडा २) भीमसेन तरबार शिला ३) बाह्रबर्षमा गोदावरी फुल्ने शिला र महादेव मन्दिर ४) धर्मढोका ५) मिनि ग्रेटवाल । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register