यूएसएड बन्द गर्ने ट्रम्पको चाहनालाई कानुनले कसरी रोक्छ ?

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडले यो साता निकै उतारचढाव व्यहोर्‍यो । शनिबार नियोगको साइट बन्द भयो । सोमबार नियोग नै बन्द गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति जनाएको खबर सार्वजनिक भयो । ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको जिम्मेवारी सम्हालेका एलन मस्कले अडियो संवादको थलो स्पेसमा भनेका छन्- ‘दक्षता विभाग यूएसएड बन्द गर्ने प्रक्रियामा छ ।’ […]

Feb 3, 2025 - 14:24
 0
यूएसएड बन्द गर्ने ट्रम्पको चाहनालाई कानुनले कसरी रोक्छ ?

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडले यो साता निकै उतारचढाव व्यहोर्‍यो । शनिबार नियोगको साइट बन्द भयो । सोमबार नियोग नै बन्द गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति जनाएको खबर सार्वजनिक भयो ।

ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको जिम्मेवारी सम्हालेका एलन मस्कले अडियो संवादको थलो स्पेसमा भनेका छन्- ‘दक्षता विभाग यूएसएड बन्द गर्ने प्रक्रियामा छ ।’

यसका निम्ति राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत स्वीकृति दिएको उनको भनाइ छ ।

सिनेटर जोनी अर्नस्ट, आर आयोवा, विवेक रामास्वामी, लगायतसँग स्पेसमा संवाद गर्दै उनले यूएसएड बन्द गर्न राष्ट्रपति ट्रम्पको पूर्ण समर्थन रहेको खुलाएका थिए । उनको भनाइ उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्- ‘राष्ट्रपतिको समर्थनविना यस्ता कदम चाल्नै सकिँदैन । यूएसएडको मामिलामा मैले राष्ट्रपतिसँग वृहत संवाद गरेँ । यसमा उहाँको पनि मत के छ भने हामीले यूएसएड बन्द गर्नैपर्छ ।’

२० जनवरीमा ह्वाइटहाउसमा कार्यकाल सम्हालेका राष्ट्रपति ट्रम्पले वैदेशिक सहायता पूनरमूल्यांक र पूनर्गठनसम्बन्धी कार्यकारी आदेश जारी गरेका थिए । उक्त आदेश अन्तर्गत ९० दिन सम्मका लागि यूएसएडका सम्पूर्ण कार्यक्रम स्थगन भइसकेको छ । वैदेशिक सहायताले विश्व शान्तिलाई अस्तव्यस्त बनाएको भन्दै उनले उक्त आदेश जारी गरेका थिए । यसको सिधा मारमा विश्वभर विकास र मानवीय सहायतामा काम गरिरहेको यूएसएडलाई पर्‍यो । उसका धेरै कार्यक्रम स्थगन मात्रै भएनन्, कतिपय परियोजनाका कर्मचारी कटौतीमा समेत परे ।

ट्रम्प र मस्क किन चाहान्छन् यूएसएड बन्द गर्न?

ट्रम्प प्रशासनको मान्यतामा यूएसएडका अधिकांश काम निष्प्रभावी हुनुका साथै, अमेरिकी स्वार्थ विपरीतका छन् । यो निकायले दक्षता विभागले मूल्यांकनका निम्ति माग गरेका सूचनाहरू दिन नसकेकाले पनि यसको पुष्टी हुने ट्रम्प र मस्कको धारणा छ । ट्रम्पले यो निकायका उच्पदस्थ अधिकारीहरूलाई निकै तुच्छ शब्दावली प्रयोग गर्दै उनीहरूलाई निकाल्ने धम्की मात्रै दिएनन् । त्यसको कार्यान्वयन समेत गरिसकेका छन् । ‘यो संस्था केही मानसिक सन्तुलन गुमेका अतिवादीहरूको नेतृत्वमा चलिरहेछ । हामी उनीहरूलाई त्यहाँबाट निकाल्छौँ,’ उनको टिप्पणी थियो ।

ट्रम्पको यो टिप्पणी आएको केही दिनभित्रै यूएसएड उच्च कर्मचारीद्वय जोन भोर्स र ब्रायन म्याकगिललाई बिदा गरिएको छ । सूचना उपलब्ध गराउने आफ्नो निर्देशन नमानेपछि मस्कले यूएसएडको मृत्युको समय आएको बताएका थिए । ‘यूएसएड आपराधिक संस्था हो । यसको मृत्युको समय आइसक्यो,’ उनको टिप्पणी छ । उनले यो टिप्पणी आफैं मालिक रहेको सामाजिक सञ्जाल एक्समा समेत लेखेका छन् ।

ट्रम्प प्रशासनको संस्थाप्रतिको गतिविधि र टिप्पणीले कर्मचारीहरू निकै तनावमा परेको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ । यूएसएडमा काम गर्ने आधाभन्दा बढी जनशक्तिलाई हटाइएको त्यहाँ कार्यरत स्रोतलाई उद्दृत गर्दै न्युयोर्क टाइम्सले फेब्रुअरी १ मा समाचार प्रकाशित गरेको थियो ।

यूएसएडको खारेजीका निम्ति ट्रम्प प्रशासनले विदेश विभागमा कार्यरत पेट मरोक्कोलाई खटाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । उनले के कति कारणले संस्थालाई खारेज गर्नुपर्ने भन्ने विषयमा विस्तृत प्रतिवेदन तयार गर्ने समाचारमा उल्लेख छ ।

ट्रम्प प्रशासनको यो गतिविधि यूएसएडलाई सम्पूर्ण रूपमा बन्द गर्नेतर्फ अग्रसर रहेको भन्दै डेमोक्र्याट सांसदहरूले विरोध जनाएका छन् । ‘ट्रम्प प्रशासनको गतिवविधि हेर्दा संस्थाको पूनर्मूल्यांकन वा पूनर्गठनभन्दा पनि संस्था नै बन्द गर्नेतर्फ अग्रसर भएको देखिन्छ,’ उनले न्युयोर्क टाइम्ससँग भनेका छन् ।

यस्तै, यूएसएडमा ओबामा प्रशासनका कालमा प्रकोप सहायतामा काम गरेका जेर्मी कोनान्डाकले नियोगलाई ध्वस्त बनाउने बाटोमा ट्रम्प प्रशासन अग्रसर भएको टिप्पणी गरेका छन् । नियोगलाई बन्द गरे परिणाम गम्भीर हुने उनको भनाइ छ । ‘कुनै योजना वा कुनै तर्कले भन्दा पनि हठले संस्था बन्द गर्न लागिएको छ । विश्वभरका प्रकोप वा महामारीबाट अमेरिकालाई बचाउन हरसंभव प्रयत्न गरेको संस्था बन्द भए त्यसको परिणाम निकै गम्भीर हुन्छ,’ उनले भनेका छन् ।

यूएसएडको विश्व स्वास्थ्य परियोजनमा काम गरेका डाक्टर अतुल ग्वान्डले भनेका छन्- ‘यूएसएडलाई शुद्धीकरण वा पूनर्गठनको सट्टा गैरकानुनी रूपमा बन्द गर्न खोजिएको छ ।’

के ट्रम्पको निर्देशनले मात्रै युएसएआइडी बन्द हुन्छ ?

ट्रम्पको निर्देशनले मात्रै यूएसएड बन्द नहुने तर्क सिनेटरहरूले गरेका छन् । यो संस्था संसदबाट गठन भएको र स्वायत्त संस्था रहेकाले ट्रम्पको आदेशले मात्रै संस्था बन्द नहुने तर्क कतिपय सांसदहरूको छ । ‘केही कार्यक्रम तथा जिम्मेवारीहरू राष्ट्रपतिको आदेशमा परिमार्जन हुनसक्ने भएपनि संस्था बन्द गर्नका निम्ति संसदको समेत स्वीकृति आवश्यकता पर्दछ,’  अमेरिकी पूर्वसरकारी कर्मचारीहरूले चलाएको साइट जस्ट सेक्युरिटीमा उल्लेख छ ।

कानुनी रूपमा ट्रम्पको कार्यकारी आदेशले मात्रै संस्था बन्द गर्न पाइने छैन । यूएसएड सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीको कार्यकारी आदेशमार्फत गठन भएको थियो । विदेशी सहायता ऐन १९६१ अन्तर्गत यो संस्था गठन भएको थियो । पछि वैदेशिक सहायता सुधार र पूनर्संरचना ऐन पारित गर्दै संसदले यसलाई स्वायत्त संस्थाका रूपमा अनुमोदन गरेको थियो ।  संसदबाट अनुमोदित कानुन अनुसार संस्था गठन भएकाले यसलाई बन्द गर्न पनि संसदीय अनुमोदन चाहिने डेमोक्रेटिक सांसद क्रिस मर्फी बताउँछन् । ‘ट्रम्पले एकल रूपमा यो निकाय बन्द गर्न सक्दैनन् । यसका लागि संसदीय अनुमोदन आवश्यक छ । यदि उनले एकल रूपमा संघीय संस्थालाई बन्द गरेमा उनले फेरि संविधानमाथि प्रहार गर्नेछन्,’ उनले भनेका छन् ।

विश्वका १२० भन्दा बढी मुलुकमा सक्रिय निकाय बन्द भएको अवस्थामा भूराजनीतिक हिसाबले पनि अमेरिकालाई असर पर्ने क्राइसको भनाइ छ । यूएसएड बन्द गर्दा अमेरिकी प्रतिद्वन्द्वी चीन, रूस इरान लगायत अन्य मुलुकले रणनीतिक महत्वका कार्यक्रम अघि बढाउने सिनेटर एमी क्लोबुचरले एक्समा लेखेका छन् ।

के हो यूएसएड ?

यूएसएड सन् १९६१ मा गठन भएको अमेरिकी सहायता संस्था हो । राष्ट्रपति जोन एफ केनेडीको कार्यकारी आदेशमार्फत यो संस्था बनेको थियो । राष्ट्रपतिको कार्यकारी आदेश अन्तर्गत बनेको संस्थालाई संसदबाट कानुन नै बनाएर स्वायत्त संस्थाको रूपमा अघि बढाइएको थियो ।

यो संस्थाले गैर सैन्य क्षेत्रका विदेशी सहायतामा काम गर्छ । यो संस्थाले मानवीय सहायता, प्रकोप, महामारी, विकास लगायतका क्षेत्रमा सहायता प्रदान गर्दछ । विश्वका १२० भन्दा बढी मुलुकमा यसका विभिन्न परियोजना सञ्चालित छन् । यूएसएडले विश्वभर करिब ४० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्दै आएको छ ।

यस संस्थाले शिक्षा, सुशान, मानवीय सहायता, स्वास्थ्य, प्रशासन, कृषि, पूर्वाधार, आर्थिक वृद्धि र अन्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

एजेन्सीहरूको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register