दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने रेखा गुप्ता को हुन् ?

काठमाडौं । रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । भारतीय जनता पार्टीको दिल्ली कार्यालयमा बसेको पार्टी व्यवस्थापिका दलको बैठकले उनको नाम अनुमोदन गरेको हो । यस बैठकमा पर्यवेक्षकको रूपमा उपस्थित भारतीय जनता पार्टीका नेता रविशंकर प्रसादले पत्रकारहरूको अगाडि रेखा गुप्ताको नाम घोषणा गर्दै भने, “प्रवेश वर्मा, सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखाको नाम […]

Feb 19, 2025 - 16:19
 0
दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने रेखा गुप्ता को हुन् ?

काठमाडौं । रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । भारतीय जनता पार्टीको दिल्ली कार्यालयमा बसेको पार्टी व्यवस्थापिका दलको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

यस बैठकमा पर्यवेक्षकको रूपमा उपस्थित भारतीय जनता पार्टीका नेता रविशंकर प्रसादले पत्रकारहरूको अगाडि रेखा गुप्ताको नाम घोषणा गर्दै भने, “प्रवेश वर्मा, सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखाको नाम प्रस्ताव गरेका थिए । नौ जनाले उनको नामलाई अनुमोदन गरे । अब हामी सबै राजभवन जाँदैछौँ ।”

रेखा गुप्ताले पत्रकारहरूलाई भनिन्, “म प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय अध्यक्ष नड्डा, वीरेन्द्र सचदेवा, रविशङ्कर प्रसाद र सबै कार्यकर्ताहरूलाई धन्यवाद दिन्छु । म मेरा सबै विधायकहरूलाई धन्यवाद दिन्छु ।”

रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनेछिन् । उनीभन्दा अगाडि सुष्मा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालिसकेका छन् ।

रेखालाई आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल र दिल्लीका पूर्व मुख्यमन्त्री आतिशीले पनि बधाइ दिएका छन् । आम आदमी पार्टीका दुवै नेताले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।

रेखा गुप्ता को हुन् ?

हालै सम्पन्न विधानसभा चुनावमा उनले शालिमार बाग सिटबाट आम आदमी पार्टीकी बन्दना कुमारीलाई लगभग ३० हजार मतले पराजित गरिन् ।

उनी सन् २०२० को चुनावमा झिनो मतान्तरले सोही सिट हारेकी थिइन् । रेखा दिल्ली महानगरपालिकाकी काउन्सिलर र दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घकी अध्यक्ष पनि रहेकी छन् ।

दिल्ली चुनावमा जित हासिल गरेपछि मुख्यमन्त्री पदका लागि चर्चामा रहेका नामहरूमा रेखाको नाम पनि थियो ।

धेरै विश्लेषककाअनुसार रेखाको घोषणामार्फत भाजपाले महिला र विश्व समुदायलाई आकर्षित गर्न सक्छ । उनले आफ्नो राजनीतिक करियर दिल्ली विश्वविद्यालयको अखिल भारतीय विद्यार्थी परिषद्‌बाट सुरु गरेकी थिइन् ।

सन् १९९६ मा उनी दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घ (DUSU) को अध्यक्ष बनिन् । सन् २००७ मा उनी दिल्लीको उत्तरी पितामपुराको काउन्सिलर बनिन् ।

रेखा दिल्ली भाजपा महिला मोर्चाकी महासचिव पनि रहेकी छिन् । सन् २००४ देखि २००६ सम्म उनी भारतीय जनता पार्टीको युवा मोर्चाको राष्ट्रिय सचिव थिइन् ।

उनको जन्म १९७४ मा हरियाणाको जिन्द जिल्लाको जुलानामा भएको थियो । उनी बाल्यकालदेखि नै राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) मा सामेल भइन् ।

उनले दिल्ली विश्वविद्यालयबाट बी.कम र एलएलबी गरेकी थिइन् । सन् १९९८ मा उनले दिल्ली निवासी मनिष गुप्तासँग विवाह गरिन् ।

निर्वाचन आयोगमा दायर गरिएको उनको शपथपत्र अनुसार आर्थिक वर्ष २०२३-२४ मा उनको कुल आम्दानी ६ लाख ९२ हजार ५० रुपैयाँ रहेको बताइएको छ । जबकि सोही अवधिमा उनका श्रीमान् मनीष गुप्ताको आम्दानी ९७ लाख ३३ हजार ५७० रुपैयाँ रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register