होचो स्थानबाट माओवादीले थाल्यो कद बढाउने अभियान, सच्चिने प्रतिबद्धता

काठमाडौं । सत्ता राजनीतिबाट विश्राम पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामाझ जाने फुर्सद पाए । सिन्धुपाल्चोकबाट थालनी गरेको उनको ‘मर्निङवाक’ले पूर्वको विराटनगर हुँदै पश्चिममको म्याग्दीसम्म निरन्तरता पायो । प्रचण्डले अहिले सिंगो पदाधिकारीलाई नै बोकेर जनतासँग माओवादी  तराई-मधेस जागरण अभियानको थालनी गरेका छन् । पार्टीको खस्किँदै गएको लोकप्रियता र जनविश्वासको ग्राफलाई सुधार गर्ने ध्याउन्नमा […]

Feb 24, 2025 - 12:58
 0
होचो स्थानबाट माओवादीले थाल्यो कद बढाउने अभियान, सच्चिने प्रतिबद्धता

काठमाडौं । सत्ता राजनीतिबाट विश्राम पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामाझ जाने फुर्सद पाए । सिन्धुपाल्चोकबाट थालनी गरेको उनको ‘मर्निङवाक’ले पूर्वको विराटनगर हुँदै पश्चिममको म्याग्दीसम्म निरन्तरता पायो । प्रचण्डले अहिले सिंगो पदाधिकारीलाई नै बोकेर जनतासँग माओवादी  तराई-मधेस जागरण अभियानको थालनी गरेका छन् ।

पार्टीको खस्किँदै गएको लोकप्रियता र जनविश्वासको ग्राफलाई सुधार गर्ने ध्याउन्नमा छन्, प्रचण्ड । नेपालको सबैभन्दा होचो स्थान झापाको कचनकवलबाट उनले पार्टीको कद बढाउने  उद्देश्यसहित करिब एक महिना लामो अभियानको थालनी गरेका छन् । जनतासँग उनले पार्टीका कमजोरी सुधारको प्रतिवद्धता व्यक्त गर्दै पार्टीको साख फिर्तीका लागि सहयोग पनि मागेका छन् ।

काङ्ग्रेस र एमालेसँग पालैपालो गठबन्धन गरेर तीनपटक सत्ता टिकाएका प्रचण्डलाई २०८१ असारमा दुई दलले प्रतिपक्षी कित्तामा पुर्‍याइदिए । आफूसँग भएको म्याजिक नम्बरका कारण सत्ताले आफूलाई खोज्ने उनी बताइरहन्थे । परिस्थिति उनको चाहाना अनुरूप अघि बढेन । अहिले प्रचण्डले सरकार फेरबदलको खेलमा आफू नरहेको बताउने गरेका छन् । ‘मैले संसदबाटै भनेको छु, प्रतिक्रियावादी र दलालको प्रतिनिधित्व गर्ने भ्रष्टहरूको सरकारलाई जनताको तागतको बलमा तह लगाउने छुँ । तर, सरकार फेर्ने कसरतमा हामी छैनौँ,’ उनको भनाइ छ ।

२०६४ को निर्वाचनपछि निरन्तर ओरालो यात्रामा रहेको पार्टीको कदलाई अग्लो बनाउने महत्वकांक्षा प्रचण्डले सुनाएका छन् । २०६४ सालमा माओवादीले २४० मध्ये १२० सिट जितेको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी २५ सिटमा खुम्चियो । २०७४ मा एमालेसँगको गठबन्धनमा माओवादीले ३२ सिट ल्यायो । २०७९ सालमा काङ्ग्रेससँग गठबन्धन गर्दा उसको सिट फेरि १८ मा झर्‍यो । उसको लोकप्रिय मतको हविगत पनि उस्तै छ । गत निर्वाचनमा उसको लोकप्रिय मत १२ प्रतिशतभन्दा तल थियो ।

गठबन्धन गर्दा पनि सन्तोषजनक परिणाम माओवादीले ल्याउन नसक्दा प्रचण्डलाई विरक्त लागेको छ । अब कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने निष्कर्षमा आफू पुगेको उद्घोष उनले गरेका छन् । ‘काङ्ग्रेसँग गठबन्धन गर्दा पनि एमालेसँग गठबन्धन गर्दा पनि माओवादी नै कमजोर बन्यो । अब माओवादी आफ्नै बलमा चुनाव उठ्छ, कसैसँग पनि गठबन्धन गर्दैन,’ उनको दाबी छ ।

आफ्ना एजेण्डाबाट विमुख हुँदा र उत्पीडित वर्ग तथा समुदायसँग टाढिँदा माओवादी कमजोर बनेको स्वीकारोक्ति प्रचण्डले गरेका छन् । अब जनतासँग निरन्तर सम्पर्कमा रहँदै उनीहरूका आवाज सडक र संसदबाट उठाउने योजना उनले सुनाए । ‘जानेर वा नजानेर हामीले हिजो गल्ती गरेकै छौँ । अब हामीले जनतासँगै रहने संकल्प गरेका छौँ । स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र पहिचानका मुद्दालाई बलियो बनाउनेछौँ । आफ्नो भुल सुधार गर्दै आत्मालोचना गरेर अघि बढ्दा जनताले पनि हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ,’ प्रचण्डले अपिल गरे, ‘नयाँ राष्ट्रिय एकता कायम गरेर पार्टीलाई सुदृढ बनाउने अभियानमा तपाइँहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।’

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई रूपान्तरण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामीसँग सामाजिक आर्थिक कार्यभारलाई फड्कोमूलक ढंगले अघि बढाउनुपर्ने दायित्व छ । पार्टीलाई रूपान्तरण गर्दै त्यस दिशामा हामी अग्रसर हुनेछौँ,’ उनले भने ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेतृत्व फेरि लोभ मोहमा फसेमा जनताका अपेक्षा पुरा हुननसक्ने बताए । जनताको साथबाट पार्टीलाई बलियो बनाउने एकमात्र सर्त पार्टीका सम्पूर्ण नेतृत्वको रूपान्तरण हुनुपर्ने उनको धारणा छ ।  माओवादी केन्द्र शासक बन्न नभएर सेवक बन्न जनता समक्ष आएको शर्मा बताउँछन् । ‘नेतृवले लोभ र मोहको अवस्था बदल्न नसक्ने हो भने जनताको आवश्यकताको नेतृत्व पार्टीले गर्नसक्दैन । हामी आत्मसमीक्षाका लागि तपाइँहरू समक्ष आएका हौँ । हामी शासक बन्न होइन सेवक बन्न आएका हौँ,’ उनले भने ।

सरकारको नेतृत्व गर्दा वा विभिन्न चरणका अभियानमार्फत पनि जनताका अपेक्षा पूरा नभएका गुनासो बढेपछि पाँच महिना लामो छलफल गरेर जनतामाझ सिंगो पार्टी पदाधिकारी आएको उनले बताए । ‘हामीले तपाइँहरूका एजेण्डा छोड्यौँ भनेर आत्मसमीक्षा गर्न यहाँ आएका हौँ । हाम्रो विचारलाई स्पष्ट बनाउन यहाँ आएका हौँ । तपाइँहरूसँग हामी रूपान्तरणको प्रतिवद्धता व्यक्त गर्छौँ,’ उनले भने । जनताको सुझावलाई अंगिकार गर्दै पार्टीलाई गतिशील बनाउने उनको भनाइ छ ।

अर्का उपमहासचिव वर्षमान पुनले आफुहरू केही बिग्रिएको र जनतासँग टाढिएको अनुभूती भएर जनतामाझ आएको बताए । उनले आफ्ना कमीकमजोरी सुधार गर्दै जनजीविका र व्यवस्था दुबै सुधारमा पार्टी केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । ‘हामी केही बिग्रियौँ, हामी खत्तम भयौँ भन्न मात्रै नभएर व्यवस्था परिमार्जनको एजेण्डा लिएर तपाइँहरू समक्ष आएका हौँ । पार्टीमा सुधार गर्दै व्यवस्थालाई थप प्रगतिशील बनाउने उद्देश्यले हामी अघि बढेका छौँ,’ उनले भने ।

एकल राज्यव्यवस्था हटाउँदै माओवादीले नै बहुसंख्यक जनताको समावेशी राज्य निर्माण गरेकाले व्यवस्थालाई थप प्रगतिशील बनाउने एजेण्डामा साथ दिन उनले अपिल गरे । ‘माओवादीकै अगुवाईमा समावेशी र संघीय प्रणाली लागू भएकाले योभन्दा पनि प्रगतिशील राज्य बनाउन तपाइँहरूको साथ खोज्न आएका छौँ,’ उनले भने ।

सत्ता राजनीतिमा लागेपछि जनताबाट टाढिएको भनेर आलोचना माओवादीले आलोचना खेप्दै आएको छ । यो परिस्थितिमा माओवादीले कोशीदेखि  कञ्जनपुरसम्म जागरण अभियान चलाएको छ । कोशी प्रदेशको झापाबाट फागुन १२ गते सुरू भएको कार्यक्रम सुदुरपश्चिम प्रदेशको कञ्चनपुर पुगेर चैत ७ मा समापन हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register