माधव नेपालसँग संवाद : प्रश्न निषेध गर्ने हो भने तपाईं र केपी ओलीबीच के फरक ? (भिडिओसहित)

एकीकृत समाजवादीले फागुन ९ मा आचारसंहिता जारी गर्दै भन्यो – “पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ, तर पार्टीका निर्णयविरूद्ध आफ्ना पार्टी कमिटीभन्दा बाहिर गएर मत राख्न पाइँदैन ।” फागुन १० को केन्द्रीय कमिटी बैठकमा अन्तरपार्टी निर्देशन (अपानी)मार्फत अनेरास्ववियु अध्यक्षबाट हटाएको सवालमा आरती लामाले प्रश्न गर्न खोजेकी थिइन् । […]

Feb 25, 2025 - 09:26
 0
माधव नेपालसँग संवाद : प्रश्न निषेध गर्ने हो भने तपाईं र केपी ओलीबीच के फरक ? (भिडिओसहित)

एकीकृत समाजवादीले फागुन ९ मा आचारसंहिता जारी गर्दै भन्यो – “पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ, तर पार्टीका निर्णयविरूद्ध आफ्ना पार्टी कमिटीभन्दा बाहिर गएर मत राख्न पाइँदैन ।”

फागुन १० को केन्द्रीय कमिटी बैठकमा अन्तरपार्टी निर्देशन (अपानी)मार्फत अनेरास्ववियु अध्यक्षबाट हटाएको सवालमा आरती लामाले प्रश्न गर्न खोजेकी थिइन् । अध्यक्ष माधवकुमार नेपालले उनलाई चुप लाग्न निर्देशन दिए । लामाले आक्रोशित हुँदै बोल्न थालेपछि महासचिव घनश्याम भुसालले सहजीकरण गर्नुपरेको थियो । आफूमाथि उठाइएका प्रश्न अध्यक्ष नेपालले रुचाउँछन् वा रुचाउँदैनन् ? के एकीकृत समाजवादीमा प्रश्न वर्जित हो ? यदि प्रश्न निषेधित हो भने एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच के फरक भयो ? यि र यस्तै विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालभ्युजका संवाददाता शिशिर ढकाल र सागर चन्दले कुराकानी गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले राजनीतिलाई सही दिशामा डोर्‍याउन आन्दोलनमा जाने भनेको छ, राजनीति कहाँनेर बिग्रियो ?

हाम्रो राजनीतिले यो देशलाई बाटो देखाउनुपर्ने हो, जनताको विश्वास जित्नुपर्ने हो, अहिले त्यस्तो परिस्थिति छैन । जनताका समस्या पीडाका उचित सम्बोधन भइरहेका छैनन् । सुशासनको अभाव छ, सेवा प्रवाहका अनेकौँ जटिलता छन् । भ्रष्टाचार व्याप्त छ । गाउँ रित्तिएका छन् । युवाले रोजगार पाएका छैनन् । महङ्गी, आर्थिक सङ्कट र बेरोजगारी व्याप्त छ । यस्तो अवस्थामा सरकार सञ्चालन गरिरहेकाहरूमा दीर्घकालीन सोचको अभाव छ । जनताका पीडावेदनाले सरकारलाई नपोल्ने स्थिति छ । सरकारमा रहेकाहरू ठूला गफ मात्रै गर्छन् । नभएका कुरामा ब्रेक थ्रू भन्दिएको छ । गज्जब गरेका छौँ भनेको छ । जनताले सम्मानजनक जीवनको चाहना गरेका छन् । सत्तामा रहेकाहरूबाट जनता निराश छन् । राजनीतिक बिग्रिएको भन्दा पनि राजनीति गर्नेहरू बिग्रिएका हुन् । यसलाई लयमा फर्काउनुपर्छ । जनतामा देखिएका निराशा चिर्दै आशाको सञ्चारका काम हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

जनतामा देखिएका निराशाको कारक अहिलेको सरकारमात्रै हो र ? यस्तो स्थिति आउनुमा पटक-पटक मन्त्री र प्रधानमन्त्री हुनुभएको तपाईंको चाहिँ हिस्सेदारी छैन ?

२०५१ सालमा म मन्त्री भएको थिएँ । मनमोहन अधिकारी सरकारको पालमा भएका काम हेर्नुस् । आफ्नो गाउँ आफैँ बनाउँ कसले सुरु गर्‍यो ? परराष्ट्र नीतिको पुनरावलोकन कसको नेतृत्वमा भयो ? विकेन्द्रीकरणको नीतिलाई अवलम्बन गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा विभेदरहित बजेट वितरण कसले गर्‍यो ? २०६६/६७ सालमा प्रधानमन्त्री हुँदा मुलुक कत्रो ठूलो द्वन्द्वमा थियो । कस्तो जटिलता थियो । त्यसलाई शान्तिपूर्ण रूपान्तरणको आँट कसले गर्‍यो ?  

नर्वेका राजनीतिज्ञ इरिक सोलमले शान्ति प्रक्रियामा मेरो भूमिकाको प्रशंसा गरेका छन् । फास्ट ट्र्याकको शिलान्याससहित गेम चेन्जर परियोजना मैले अघि बढाएको थिएँ । हुलाकी राजमार्ग बनाउन भारतसँग सम्झौता मेरै पालामा भयो ।  मुलुक बिगार्ने कुरामा मेरो हिस्सेदारी छ भनेर कसैले भन्छ भने म तिनिहरूलाई तथ्यसहित चुनौती पेस गर्नसक्छु ।

तपाईंहरू आन्दोलनका कार्यक्रमसहित जनतामाझ जान खोजिरहनुभएको छ । यसपटक के कस्ता कार्ययोजना छन् ?

आन्दोलनका सवालमा हामीले दस्तावेज अघि सारेका छौँ । हामीले उपयुक्त नारा र विषयवस्तुको छनोट गरिरहेका छौँ । यसअघि पनि हामीले मेची महाकालीसम्म समाजवादी जागरण अभियान गरेका थियौँ । समाजवादी जागरण अभियान गर्दा रोजगारी र उत्पादन वृद्धिको नारा लिएर अभियान चलायौँ ।

हामीले मध्यपहाडी जाने सोच बनाउँदै थियौँ, अन्य राजनीतिक काममा जुट्नुपर्‍यो । महाधिवेशनलगायत आन्तरिक काम सकेपछि फेरि जनतासँग जोडिन खोजेका छौँ । जनतासँग जोडिनका लागि हामीले विभिन्न पालिका, प्रदेश र जिल्लामा अधिवेशन सम्पन्न गरेर पार्टी पङ्क्तिलाई परिचालन गरिरहेका छौँ । यसपटक कार्यकर्ताहरूलाई व्यवस्थित रूपमा प्रशिक्षण दिँदै सङ्गठन विस्तार गर्दै जनताका गुनासा सुन्न र सम्बोधनका लागि दबाब दिने उद्देश्यले हामी मध्यपहाडी क्षेत्रतिर जानेछौँ ।

एकीकृत समाजवादीले सरकार बहुदलीय लोकतन्त्र विपरीत र दुई दलीय तानाशाहतर्फ अग्रसर भइरहेको आरोप लगाएको छ । यसका आधार र कारण के छन् ?

आधार कारण त सीधै प्रष्ट छ । नेपाली राजनीतिमा विचित्रको घटना घट्यो । पहिलो ठूलो दल सरकारमा जाने हो भने दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने आम मान्यता हो । कहिलेकाहीँ सङ्कटको परिस्थितिमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ त्यो बेग्लै कुरा हो । यो पटक के सङ्कट थियो र केही थिएन । यस्तो अवस्थामा दुई ठूला पार्टीले मध्यरातमा सरकार निर्माणको सहमति गरे । संविधान संशोधनको नाटक गरेर उनीहरूले सरकार बनाए ।

उनीहरूको सरकार गठनको नियत नै राम्रो भएन । संविधान संशोधन भन्ने अनि संवैधानिक अभ्यासको समीक्षा नभईकन, राष्ट्रिय बहस नगरीकन संशोधनको रटान गरेको छ । संविधान संशोधनको एजेण्डा थाहा छैन । अझ सत्तारूढ पार्टीका नेताले दुई दलीय शासन चाहिन्छ भनेका छन् । साना दलको अस्तित्व सङ्कटमा पार्नेगरी थ्रेसहोल्ड बढाउने भनिरहेका छन् । संसद्‌ अवज्ञा गरेर अध्यादेश ल्याइरहेका छन् । यसबाट नै प्रष्ट हुन्छ, सरकार दुई दलीय तानाशाहतर्फ र बहुदलीय लोकतन्त्र विपरीत अघि बढिरहेको छ ।

तपाईंको पार्टीले अध्यादेशको विरोध गर्दै विपक्षमा मतदान गर्ने निर्णय पनि गरिसक्यो, अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न सुहाउँदैन भन्दै सत्तारूढ दलका नेताले संसद्‌बाटै प्रश्न उठाएका छन् नि ?

हामीले त खुलेआम भनेका थियौँ । हामी नयाँ दल बनाउछौँ अध्यादेशको आवश्यकता पर्‍यो । त्यसबेला संसद् नै थिएन । अहिले कसले पार्टी खोल्न लागेको हो खुलेआम भन्नुपर्‍यो नि  । कसले दल खोल्न लागेको हो भन्ने आँट हुनुपर्‍यो । सरकारको नियत नै एकीकृत समाजवादीलाई नोक्सान पुर्‍याउने र खुराफातबाहेक अरू छैन । आफूले गर्नुपर्ने तमाम काम छोडेर सरकार माफिया पोस्न लागेको छ । विधि र प्रक्रिया मिचेर अध्यादेश ल्याएकाले विरोध गर्दा हामीमाथि उल्टै प्रश्न गरे ।

कसलाई चाहियो अध्यादेश, भन्नुपर्‍यो नि । प्रधानमन्त्रीले भन्ने हो की उनका सहयोगीले भन्ने हो । कसले दल खोल्न खोजेका छन् भन्ने कुरा स्पष्ट बताउनुपर्‍यो । हामीले त खुलेआम भनेका थियौँ । भन्ने आँट छैन अनि अध्यादेश ल्याउने । यसको अरू कुनै उद्देश्य छैन एकीकृत समाजवादीलाई नोक्सान पुर्‍याउने र  खुराफातीबाहेक सरकारको अरू सोच नै छैन । सरकारलाई देश राम्रो होस्, जनता खुशी हुन् भन्ने चाहना नै छैन । गफाडीहरूले चलाएको सरकारलाई कामसँग मतलब छैन । यो सरकार षड्यन्त्रमा मात्रै विश्वास गर्छ । यो सरकार असल नियतले देश चलाउन आएको देखिँदैन ।

पार्टीभित्र प्रश्न वर्जित रहेको गुनासा छन् । तपाईं आफूमाथिका प्रश्न कत्तिको रूचाउनुहुन्छ ?

निश्चयपनि म प्रश्न रूचाउँछु । हाम्रो पार्टीमा प्रश्न वर्जित छैन । प्रश्न निषेध गर्ने त्यस्तो केही गतिविधि भएको पनि छैन यो कुरा हाम्रा प्रचार विभाग प्रमुख दामोदर अर्यालले पनि भन्नुभएको छ म पनि भन्न चाहन्छु पार्टीमा प्रश्न निषेधित छैन ।

फागुन १० को केन्द्रीय कमिटी बैठकमा आरती लामाले आफूलाई अध्यक्षबाट हटाएको विषयमा प्रश्न उठाउँदा तपाईंले रोक्नुभयो । प्रश्न गर्न नदिने हो भने तपाईं र केपी ओलीबीच के फरक रह्यो ?

बैठकमा हुँदै नभएका कुरा बाहिर प्रचारमा मात्रै आएका हुन् । त्यस्तो केही पनि भएकै छैन । दुई कुराको जहिले पनि अर्थ हुन्छ । की अधिकार दिँदै नदिने । अर्को भनेको अनुशासनहीन भएर चलिरहने । अब नराम्रो प्रवृत्तिलाई त जसले पनि नियन्त्रण गर्छ । हामी नराम्रो प्रवृत्तिको पक्षमा छैनौँ । म आफ्नो ओहोदाको दुरूपयोग गर्ने कुराको घोरविरोधी मान्छे हुँ । म काम जिम्मेवारी र इमान्दारिता, मिहनेत र लगनशीलताका पक्षमा छु । यसो हुनाले मैले विभिन्न चुनौतीको सामना गर्दै आएको हुँ । धेरै उथलपुथल पनि देखेको छु । धेरै मान्छेहरूलाई माथि-माथि पुर्‍याएको पनि छु । भन्छन् मान्छेले तपाईंले जसलाई माया गर्नुहुन्छ, त्यही मान्छेले धोका दिन्छन् । राम्रो गर्ला भन्यो माया गर्‍यो बेइमान गर्दा रहेछन्, धोकेबाज हुँदारहेछन् । तर, पनि हामीले मान्छेलाई राम्रो बाटोमा लाग्न प्रेरित गर्नुपर्छ ।

आचारसंहितामा पनि पार्टीको निर्णयमा प्रश्न उठाउन नपाइने आशय छ, यसको अन्तर्य के हो ?

पार्टीको निर्णयमा जसले पनि प्रश्न उठाउन पाउँछ । बाहिर मिडियामा गएर प्रश्न उठाउन पाइँदैन । कमिटीमा मज्जाले उठाउन पाइन्छ । अनुशासनहीन बन्न पाइँदैन । कमिटी प्रणालीको पालना गर्नुपर्छ । केही लागेको छ भने कमिटीमा राख्न पाइन्छ । तर, सडकमा गीत गाएर हिँड्न पाइँदैन । पार्टी निर्णयको बाहिर विरोध गर्दै जाने हो भने त्यो पार्टीको कार्यकर्ता हुनै सक्दैन ।

एमालेमा रहँदा अन्तरपार्टी निर्देशन(अपानीबाट) जिम्मेवारीबाट हटाउने कार्यको तपाईंले विरोध गर्दै आउनुभएको थियो । अहिले अनेरास्वियु र युवासङ्घको नेतृत्व अपानीबाटै हटाउनुभयो नि ?

यस्तो केही पनि भएको छैन । यो सामूहिक निर्णय हो । काम नहुने विवाद मात्रै बढ्ने देखेपछि प्रोत्साहनका लागि केन्द्रीय कमिटीमा लगौँ भनेर हामीले यस्तो निर्णय गरेका हौँ । असरल्ल रहेको कमिटीलाई गति दिउँ भनेर हामीले चारजनालाई केन्द्रीय कमिटीमा ल्यायौँ । त्यसको नेतृत्व गरिरहेकालाई केन्द्रीय कमिटीमा ल्याएर अरूलाई नेतृत्व दिने निर्णय गरिएको हो । यो काम पहिले पनि भएको थियो । पहिले पनि प्रमुखलाई विदा गरेर अर्कोलाई प्रमुख बनाइएको थियो । आफू प्रमुख बन्ने बेलामा त्यही कुरा ठीक अरू हुँदा बेठीक भन्ने कुरा हुँदैन । यो निर्णय सामूहिक हो । नेताहरू सामूहिक रूपमा बसेर स्थायी कमिटीको बैठक बसेर औपचारिक निर्णय गरेर संस्थागत निर्णयबाट भएको काम हो । म एक्लैले निर्णय गरेको होइन ।

माओवादीसँग एकता प्रक्रियाका लागि कार्यदल गठन भएको थियो यो प्रक्रिया अब स्थगन भएको हो ?

एकताको बारेमा हामी खुला छौँ ।  हामी त सबै देशभक्त शक्तिलाई मिलाउन चाहन्छौँ । वामपन्थी शक्तिलाई पनि मिलाउन चाहन्छौँ । तर, मिल्नुभन्दा पहिले विचार मिल्नुपर्‍यो । व्यवहार मिल्नुपर्‍यो, सोच-चिन्तन मिल्नुपर्‍यो । व्यवस्थापन कसरी गर्ने यो कुरा मिल्नुपर्‍यो । यि सन्दर्भमा कुनै पनि वातावरण नबनेकाले अहिले तत्काल एकताको सम्भावना भने देखिँदैन ।

एक हजार पटकभन्दा पनि बजारमा हल्ला चल्छ । कहिले एउटा हल्ला चल्छ कहिले अर्को हल्ला चल्छ । यस्ता हल्लाका पछि जानुहुँदैन । अहिले हाम्रो पार्टीलाई बलियो बनाउनु छ । यो कमजोर भयो भने कमजोर पार्टीलाई कसैले पनि गन्दैन ।

पार्टीलाई बलियो बनाउने भनेको के हो, राष्ट्रिय दल बनाउने हो ? 

राष्ट्रिय दलमात्रै ठूलो कुरा होइन । राष्ट्रिय दलमात्रै भएर के गर्ने । दललाई सशक्त र प्रभावकारी बनाउने हो । राष्ट्रिय दलको थ्रेसहोल्डलाई म कुनै महत्त्व दिन्नँ । पार्टीको शक्ति वृद्धि गर्ने हो । राष्ट्रिय पार्टी मात्रै होइन, सिङ्गो देश र जनतामाझ एकीकृत समाजवादीलाई लोकप्रिय पार्टी बनाउने हाम्रो लक्ष्य छ । समाजवादीलाई लोकप्रिय र प्रभावकारी पार्टी बनाउन हामी केन्द्रित हुनेछौँ ।

भिडिओ – 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register