राष्ट्रवादको नयाँ युगमा ट्रम्पले चाहेको विश्व

काठमाडाैं । शीतयुद्ध अन्त्यको दुई दशकपछि राष्ट्रवादको जगमा विश्वव्यापीकरण सुरु भयो । संस्थागत, वित्तीय र प्राविधिक प्रणालीहरू जटिल बन्दै जाँदा राजनीतिमा व्यक्तिगत भूमिका छायामा पर्दै गयो । सन् २०१० को दशकको सुरुवातमा गहन बदलाव देखा पर्‍यो । प्रभावशाली नेताहरूले शताब्दी अघिको पुरातन विचारलाई नै अङ्गीकार गर्न थाले । शताब्दीअघिको विचारले तीन कुराको प्रवर्द्धन गर्थ्यो- शक्तिशाली […]

Feb 28, 2025 - 07:37
 0
राष्ट्रवादको नयाँ युगमा ट्रम्पले चाहेको विश्व

काठमाडाैं । शीतयुद्ध अन्त्यको दुई दशकपछि राष्ट्रवादको जगमा विश्वव्यापीकरण सुरु भयो । संस्थागत, वित्तीय र प्राविधिक प्रणालीहरू जटिल बन्दै जाँदा राजनीतिमा व्यक्तिगत भूमिका छायामा पर्दै गयो । सन् २०१० को दशकको सुरुवातमा गहन बदलाव देखा पर्‍यो । प्रभावशाली नेताहरूले शताब्दी अघिको पुरातन विचारलाई नै अङ्गीकार गर्न थाले । शताब्दीअघिको विचारले तीन कुराको प्रवर्द्धन गर्थ्यो- शक्तिशाली नेता, सम्भ्रान्त राष्ट्र र गौरवशाली सभ्यता ।

यो विचार अङ्गीकारको सुरुवात रुसबाट भयो । सन् २०१२ मा भ्लादिमिर पुटिनले यसको परीक्षण थाले । आफूअनुकुलका व्यक्तिलाई राष्ट्रपति बनाउँदै उनी प्रधानमन्त्री बने । पुटिन फेरि शक्तिशाली राष्ट्रपतिका रुपमा क्रेमलिन फर्किए । प्रतिपक्षीहरूलाई दबाउँदै रुसी संसारमा आफूलाई केन्द्रित गरे । सोभियत सङ्घको विघटनसँगै वाष्पीकरण भएको शक्तिलाई पुनर्स्थापित गर्न र अमेरिका र यसका सहयोगीका प्रभुत्वको प्रतिरोधमा आफूलाई केन्द्रित गरे । यसको दुई वर्षपछि सी चिनफिङ चीनको सत्ता सम्हाल्न आइपुगे । उनको लक्ष्य पनि पुटिनझैँ समान थियो । सीको योजना बृहत्तर थियो भने चीनको क्षमता अधिक थियो ।

सन् २०१४ मा भारतका लागि  विशाल आकाङ्क्षाका व्यक्ति नरेन्द्र मोदी प्रधानमन्त्री बने । राजनीतिको लामो यात्रा गर्दै प्रधानमन्त्री बनेका थिए मोदी  । हिन्दू राष्ट्रवादलाई  उनले मुलुकको प्रमुख विचारधाराका रुपमा स्थापना गरे । त्यही वर्ष टर्कीमा आक्रामक प्रधानमन्त्रीको छवि बनाएका रिसेप तइप एड्रोगान राष्ट्रपति भए । संक्षेपमा एड्रोगानले कमजोर लोकतान्त्रिक समूहलाई तितरबितर बनाउँदै निरङ्कुश तरिकाले एक्लै अघि बढे ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय यसको  विकास क्रममा सबैभन्दा महत्त्वपूर्ण क्षण बन्यो । उनले ‘मेक अमेरिका ग्रेट अगेन’ मा प्रतिबद्धता जनाउँदै अमेरिका पहिले नीति अङ्गीकार गरे । यो नाराले पश्चिमा समर्थक र विरोधी दुवै राष्ट्रका लोकप्रियतावादी, राष्ट्रवादी र विश्वव्यापीकरणका विरोधीहरूलाई आकर्षित गर्‍यो । अमेरिका पहिलो नारा सन् १८५० को दशकमा पहिलो पटक आएको थियो । त्यसलाई फेरि अघि सार्दै ट्रम्पले विश्वलाई तरङ्गित बनाए ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग ट्रम्पको पराजयले सुधारको सङ्केत देखाएको थियो । बाइडेनले लोकप्रियतावादी छाललाई  रोक्न प्रयास गरे । उनी शीतयुद्ध पछिझैँ अमेरिकी दबदबामा केन्द्रित भए । अमेरिकी एक युगको प्रतिनिधित्व बाइडनले गरे । त्यो युगको प्रतिनिधित्व अब ट्रम्पले गर्ने छैनन् ।  ट्रम्प र महान् राष्ट्रवादका समर्थकहरूले विश्वव्यापी एजेन्डा तय गरेका छन् । ती स्वघोषित शक्तिशालीहरूले नियममा आधारित प्रणाली, गठबन्धन वा बहुराष्ट्रिय मञ्चमा कम ध्यान दिनेछन् । चमत्कारिक जनमतको हवाला दिँदै शासनका लागि उनीहरूले मुलुकको विगत र भविष्यको गौरवलाई अँगालेका छन् । उनीहरूका कार्यक्रममा आमूल परिवर्तन समावेश हुनसक्छ ।  उनीहरूका राजनीतिक रणनीति  भने रुढीवादी विचारमा निर्भर हुनेछन् । उनीहरूले उदारवादी सहरी अभिजात वर्गको प्रतिनिधित्व गर्नेछन् ।  परम्परावादी र अपनत्वका भोकाहरूलाई उनीहरूले आकर्षित गर्नेछन् ।

राजनीतिशास्त्री स्याम्युअल हन्टिङटनले १९९० को दशकमा एउटा प्रक्षेपण गरेका थिए । शीतयुद्धपछिको द्वन्द्व सभ्यताको टकराब हुने उनको कल्पना थियो । यी नेताहरूका दृष्टिकोणले सभ्यताको टकराब निम्तिने सङ्केत गरेको छ । अति जोसिलो ढङ्गले  नभएर क्रमशः नेताहरूले यो परिस्थितिमा विश्वलाई धकेल्न सक्छन् ।

सभ्यता टकराबका केही स्वरुप देखा पर्न थालिसके । नेताहरूका हाउभाउका शृङ्खला र नेतृत्व शैलीले यसको छनक दिइसकेको छ । अर्थतन्त्र र भूराजनीतिक स्वार्थमा सहकार्य नभएर प्रतिस्पर्धाको स्थितिले सभ्यता टकराबलाई बढवा दिइरहेको छ । नेताहरूका बयानबाजी र शैलीले  सभ्यता टकराब निम्तिने वाला छ भन्न हकिङ्टनको सहारा लिनुपर्ने देखिँदैन । सभ्यता टकराब बुझ्न एउटा उदाहरण काफी छ । रुढीवादी रुस मुस्लिम टर्कीसँग होइन अर्काे रुढीवादी युक्रेनसँग युद्धमा छ ।

सन् २०२० मा रिपब्लिकनको सम्मेलनमा ट्रम्पलाई नयाँ रुपमा चिनाइयो । उनलाई पश्चिमा सभ्यताको अङ्गरक्षक भनियो । बेलारुसमा प्रभुत्व जमाउन र युक्रेनलाई अधीनस्थका लागि क्रेमलिनले रुसलाई सभ्यता राज्यका रूपमा परिभाषित गरेको थियो । सन् २०२० मा एड्रोगानले टर्कीको सभ्यता सबैभन्दा सम्भ्रान्त र महत्वपूर्णमध्येको एक भनेका थिए ।  सन् २०२३ मा चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो सभ्यताबारे भनेका थिए- चिनियाँ सभ्यता अविरल र महान् सभ्यताको स्वरुप हो ।

सन् २०२४ को लोकतन्त्र सम्मेलनमा मोदीले लोकतन्त्र भारतीय सभ्यताको प्राण भनेका थिए । आउने वर्षहरूमा यी नेताहरूको शैली ट्रम्पको कार्यकालसँग सिधा जोडिन्छ । अति राष्ट्रवादको नेतृत्व आखिर अमेरिकाले नै गरेको थियो  । विश्वलाई राष्ट्रवादमा नचाइरहेको अमेरिकाले ताल पनि आफैँ सिर्जना गर्नेछ । सत्तामा ट्रम्पको उदयसँगै अब अङ्कारा, बेइजिङ, नयाँ दिल्ली  मस्को र वासिङ्टनका रुढीवादीहरूले भन्नेछन्- कुनै एक प्रणाली छैन र कुनै पनि नियम पद्धतिसँग सहमति हुन सकिँदैन ।

शीतयुद्धपछि पश्चिमा विश्वको प्रतिनिधित्व अमेरिकाले गरिरहेको थियो । जटिल भूराजनीतिक परिस्थितिमा अब पश्चिमा अवधारणा झन् कमजोर हुनेछ । पश्चिमा विश्व व्यवस्थामा वासिङ्टनलाई साथ दिइरहेको युरोपको हविगत पनि उस्तै हुनेछ । युरोपेली राष्ट्रहरूमा अमेरिकी उपस्थिति युरोपमा कायम होस् भन्ने चाहाना छ । अमेरिका स्वयंले युरोपलाई सधैँ साथ दिन नसकिने बताएको छ ।  वर्षौँदेखि  पश्चिमा नेतृत्वको  विश्व व्यवस्थामाथि प्रहार शृङ्खला जारी छ ।  यो धारको नेतृत्व बलियो भइरहेको परिस्थितिमा अमेरिकी साथ छुट्दा युरोपेली युनियन कमजोर हुनेछ । नेतृत्व  सङ्कटबाट गुज्रिरहेको युरोप झनै कमजोर हुनेछ ।

अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनर्परिभाषित गर्ने क्षमता ट्रम्प प्रशासनसँग छ । सफलताका लागि अमेरिकासँग विकल्प छन् ।  वासिङ्टनले जकडिएका राष्ट्रिय खतरा र त्रुटि पहिचान गर्नुपर्छ । धैर्यवान् र खुला कूटनीतिमार्फत जोखिम टार्नुपर्छ । ट्रम्प प्रशासनले द्वन्द्व व्यवस्थापनलाई अमेरिकी महानताका लागि बाधा नभएर पूर्वशर्त मान्नुपर्छ ।

ट्रम्पवादको वास्तविक जरा

विश्लेषकहरू कहिलेकाहीँ ट्रम्पको विदेश नीतिको उदयलाई गलत तरिकाले जोड्छन् । ‘अमेरिका पहिलो’ आन्दोलन सन् १९३०को दशकमा फस्टाएको थियो । अमेरिकासँग त्यस बेला सम्भ्रान्त सेना थियो । महाशक्ति हैसियत भने थिएन । ‘अमेरिका पहिलो’ पक्षधरहरू द्वन्द्वलाई निरुत्साहित गर्थे । ट्रम्प भने महाशक्तिको हैसियतलाई बढवा दिन्छन् । रक्षामा बजेट बढाउने सङ्केत उनले गरिसके । ग्रीनल्यान्ड र पनामा क्यानल कब्जाको चेतावनीले ट्रम्प द्वन्द्व निम्त्याउन खोजेको प्रस्ट भइसक्यो । ट्रम्पले अन्तर्राष्ट्रिय संस्थाहरूप्रति वासिङ्टनको प्रतिबद्धता कम गर्न खोजेका छन् ।  उनी अमेरिकी गठबन्धनको दायरा सीमित बनाउन चाहन्छन् । विश्व मञ्चमा अमेरिकालाई पर्ने प्रभावको मूल्याङ्कनका लागि उनलाई खासै चासो छैन ।

ट्रम्पको विदेश नीतिको वास्तविक जरा सन् १९५० को दशकतिरको हो । साम्यवाद विरोधी आन्दोलन उत्कर्षमा पुगेका बेलातिर नयाँ विदेश नीतिको उदय भएको थियो ।  विदेश नीतिले लोकतन्त्रको प्रवर्द्धन, प्राविधिक सीप विकास र बलियो अन्तर्राष्ट्रियतावादलाई निर्देशित गरेको थियो । सोभियत सङ्घको चुनौती सामनाका लागि नयाँ विदेश नीति बनेको थियो । अमेरिकी राष्ट्रपतित्रय ह्यारी ट्रुम्यान,  ड्वेट डी आइजनहावर र जोन एफ केनेडीले प्रभावकारी रुपमा अघि बढाए ।  ट्रम्पको दृष्टिकोणको उत्पत्ति सन्  १९५० को दशकको दक्षिणपन्थी कम्युनिस्ट विरोधी आन्दोलनबाट भएको हो । त्यस आन्दोलनले पश्चिमाहरूलाई आफ्ना प्रतिद्वन्द्वीका विरुद्ध उभ्यायो । जुन विचारले अमेरिकी  सुरक्षाका लागि उदारवादी नीतिमा सन्देह व्यक्त गर्‍यो ।  यो राजनीतिक विरासत तीन पुस्तकमा सङ्गृहीत छन् । पहिलो अमेरिकी पत्रकार ह्विटटेकर च्याम्बरको पुस्तक ‘विटनेस’ हो । पूर्वकम्युनिस्ट र सोभियत सङ्घका गुप्तचर ह्विटटेकर पछि कन्जरभेटिभ राजनीतिमा होमिए । विटेनसमा उनले अमेरिकी उदारवादी र तिनीहरूको विश्वासघातका कारण सोभियत सङ्घलाई बढवा मिलेको उल्लेख गरेका थिए । यस्तै धारमा कन्जरभेटिभका प्रखर विदेश नीति चिन्तक जेम्स बर्नह्यामले पनि पुस्तक लेखेका छन् । सन् १९६४ मा उनले ‘सुसाइड अफ द वेस्ट’ पुस्तक ल्याए । उनले तत्कालीन विदेश नीतिप्रति कठोर टिप्पणी गर्दै लेखेका छन्- अमेरिकी विदेश नीति दम्भपूर्ण र निष्ठाहीन छ । यसले स्थानीय र राष्ट्रिय सिद्धान्तलाई बेवास्ता गर्दै अन्तर्राष्ट्रियतावादी र विश्वव्यापी सिद्धान्तलाई समर्थन गरेको छ ।

अमेरिकी विदेश नीतिको सिद्धान्तबारे बर्नह्याम भन्थे- विदेश नीतिले परिवार, समुदाय, चर्च राष्ट्र र ऐतिहासिक सभ्यतालाई पनि अङ्गीकार गर्नुपर्छ ।

बर्नह्यायमको नीतिको उत्तराधिकारी बने युवा पत्रकार प्याट बुचानन् । सन् १९६४ को राष्ट्रपतीय निर्वाचनमा उनले ब्यारी गोल्डवाटरलाई समर्थन गरेका थिए । गोल्डवाटर रिचर्ड निक्सनका सहयोगी थिए । सन् १९९२ मा उनले जर्ज एच डब्लू बुसलाई कडा चुनौती दिएका थिए । बुचाननका विचारबाट ट्रम्प युगको सटिक पूर्वानुमान गर्न सकिन्छ । सन् २००२ मा बुचाननले ‘डेथ अफ वेस्ट’ पुस्तक प्रकाशित गरेका थिए । जहाँ उनले भनेका थिए- गरिब गोराहरू दक्षिणपन्थी बनिरहेका छन् । विश्वव्यापी पुँजीवादी र रुढीवादी एकअर्काका कट्टर दुष्नम हुन् ।’

पुस्तकको शीर्षक ‘डेथ अफ वेस्ट’ भए पनि पश्चिमप्रति उनका केही आशा थिए । विश्वव्यापीकरणको आसन्न विघटनमा उनी विश्वस्त थिए । उनी भन्थे- विश्वव्यापीकरण सम्भ्रान्तहरूको परियोजना हो । यसका वास्तुकार अज्ञात र अप्रिय छन् , उनले लेखेका थिए, ‘देशभक्तिको विशाल चट्टानका अघि विश्वव्यापीकरण टकराउनेछ ।

दशकौँदेखि चल्दै आएको यो विचारलाई ट्रम्पले अध्ययन गरेर होइन स्वस्फूर्त आत्मसात् गरे । च्याम्बर्स बर्नह्याम र बुचाननको विचार शक्तिप्रति मोहित थियो । उनीहरूको विचारले यथास्थितिलाई उल्टाउन खोज्थ्यो । उदार अभिजात वर्ग र उदार विदेश नीतिप्रति घृणा गर्थ्यो ।  च्याम्बर्स, बर्नह्यम र बुचाननले इसाई नैतिकता सम्भ्रान्तवादलाई समेट्दै आन्दोलनका प्रयास गरेका थिए  । ट्रम्प यी व्यक्तिका उत्तराधिकारीझैँ प्रतीत हुन्छन् । तर निकै चलाखीपूर्वक ट्रम्पले एक काम गरेका छन् । उनले आफूलाई पश्चिमा संस्कृति र सभ्यताको परिष्कृत स्वरूपमा उभ्याएका छैनन् ।  मुलुकका बाहिरी र भित्री शत्रुको रक्षकका रूपमा आफूलाई उभ्याएका छन् ।

संशोधनवादीको बढ्दो लहर

विश्वव्यापी अन्तर्राष्ट्रियतावादलाई ट्रम्पले मन पराएका छैनन् । यो एजेन्डामा उनी पुटिन, सी, मोदी र एड्रोगान सँगै उभिएका छन् । यी पाँचै नेता विदेश नीतिको सीमालाई बुझ्दै स्थिर रहन असमर्थ छन् । उनीहरू स्वनिर्धारित मापदण्डमा अघि बढ्दै  विश्व व्यवस्थामा बदलावका लागि दबाब बढाउँदै छन् । पुटिनले मध्यपूर्वलाई रुसीकरणको प्रयास गरेका छैनन् । सीले अफ्रिकामा चिनियाँकरणको प्रयास गरेका छैनन् । मोदीले भारतलाई विश्व नेतृत्वमा विकल्पका रुपमा अघि सारेका छैनन् । एड्रोगानले अरब विश्वलाई टर्कीमुखी बन्न दबाब दिएका छैनन् । अमेरिकीकरणमा आधारित विदेश नीतिमा ट्रम्पलाई पनि कुनै रुचि छैन । संयुक्त राज्य अमेरिकालाई गैर अमेरिकीबाट अलग गर्नुपर्ने पक्षमा ट्रम्प छन् । यसले नै अमेरिकी महानता स्थापित हुने उनको नीति छ ।

विश्वव्यापी प्रणाली र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदा मात्रै संशोधनवादीहरूको सहअस्तित्व कायम रहन्छ । सीको निम्ति राष्ट्रसङ्घको बडापत्र वा अमेरिकी प्राथमिकताले ताइवान मामिलामा कुनै अर्थ राख्दैन । इतिहास र चिनियाँ शक्ति नै ताइवानको भविष्यको सच्चा निर्णायक हो । ताइवानमा सीले जे भन्छन् त्यही हुने देखिन्छ ।

भारत ताइवानझैँ विश्व विवादको केन्द्रमा छैन । तर चीन र पाकिस्तानसँग सीमा विवादमा छ । सन् १९४७ मा स्वतन्त्रता प्राप्तिदेखिका सीमा विवाद सुल्झिएका छैनन् । मोदीले जे भन्नेछन् भारतमा त्यही हुनेछ ।

एड्रोगान पनि आफ्नो बल प्रयोगमा प्रष्ट छन् । आफू समर्थित अजरबैजानबाट अर्मेनियालीलाई हटाउन उसले सैन्य बल प्रयोग गर्‍यो । उत्तर एटलान्टिक सैन्य सङ्गठन (नाटो)को सदस्यका रुपमा टर्की लोकतन्त्र र अखण्डताप्रति प्रतिबद्ध हुनुपर्छ । एड्रोगानलाई यी प्रतिबद्धताबारे कुनै चासो छैन । सिरियामा पनि टर्कीको  सैन्य उपस्थिति छ । एड्रोगानले सिरियालाई अधीनस्थ गर्न खोजेका छैनन् । त्यसैले उसको सैन्य उपस्थितिलाई ओट्टोमान साम्राज्यको पुनर्गठन मान्नुपर्ने छैन । यद्यपि, मध्यपूर्वमा उसको सैन्य राजनीतिक परियोजनाले एड्रोगानका लागि ऐतिहासिक महत्त्व राख्दछ ।  एड्रोगानले जे भन्नेछन् टर्कीमा पनि त्यही हुनेछ ।

संशोधनवादीको बढ्दो लहरको पृष्ठभूमिमा रुस-युक्रेन युद्ध केन्द्रबिन्दुमा छ । रुसी महानताको नाममा पुटिनका अभिव्यक्ति र शैली ऐतिहासिक सङ्केतहरूले भरिपूर्ण छ । रुसी विदेशमन्त्री सर्जेइ ल्याभ्रोले भनेका थिए- इभान द टेरिबल, पिटर द ग्रेट क्याथेरिन द ग्रेट पुटिनका प्रेरणा हुन् ।

पुटिन विगतले होइन रुसको भविष्यले चिन्तित छन् । सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको हमला विश्वका लागि १९१४, १९३९ र १९८९ झैँ भूराजनीतिक मोड थियो । सके युक्रेनलाई अधीनस्थ गर्ने नभए टुक्र्याउने लक्ष्यअनुसार पुटिनले युद्ध छेडेका थिए । आफ्नो आक्रमणले अन्य क्षेत्रमा पनि यस्ता हमलालाई उचित ठहर्‍याउने मान्यता पुटिनको थियो । चीन सहितका अन्य मुलुकलाई सैन्य आक्रमणका लागि उत्तेजित बनाउने उनको अपेक्षा थियो ।

पुटिनले अन्तर्राष्ट्रिय नियमहरूको निरन्तर उल्लङ्घन गरे । युक्रेनमाथिको हमलाले रुसलाई पनि असर पुर्‍याएकै छ । विश्वव्यापी रूपमा रुसलाई एक्लाउने प्रयास भने सफल भएन । क्षेत्रीय विजयका लागि ठूलो युद्धको अवधारणालाई पुटिनले सामान्य बनाइदिए ।  हमला त पुटिनले युक्रेनमा गरेका थिए ।  यसले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको वकालत गर्ने युरोपविरूद्ध पनि द्वन्द्व छेडेको थियो ।

युक्रेनमा युद्धले अन्तर्राष्ट्रिय कूटनीतिको चिन्ताजनक परिस्थिति प्रतिविम्बित गर्छ । अन्तर्राष्ट्रिय कूटनीतिको समाप्ति भएको छैन, त्यसको सुरुवात भने भइसकेको छ । उदाहरणका लागि ब्रिक्स समूहलाई लिन सकिन्छ । यो मञ्चमा चीन, भारत रुससँगै ब्राजिल, दक्षिण अफ्रिका, इरान, यूएई, इजिप्ट इथियोपिया छन् । गैरपश्चिमा मुलुकहरूलाई सङ्गठित गर्ने ब्रिक्स बलियो र एकताबद्ध भइरहेछ ।  यता रुस युक्रेन समर्थित गठबन्धन ‘ट्रान्स एटलान्टिक’भन्दा पर पुगेको छ । अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, सिङ्गापुर र दक्षिण कोरियाले पनि युक्रेनलाई साथ दिएका छन् । बहुपक्षीयता जीवित र सक्रिय भए पनि सर्वव्यापी छैन । बहुरुपी भूराजनीतिक परिदृश्यमा सम्बन्धहरू परिवर्तनशील र जटिल छन् ।  पुटिन र सीले साझेदारी विस्तार गरे पनि गठबन्धन बनाएका छैनन् ।  पुटिनलेझैँ युरोप र अमेरिकासँग सम्बन्ध तोडको अनुकरण गर्नुपर्ने कारण सीसँग छैन । प्रतिद्वन्द्वीका बाबजुद टर्की र रुसले दक्षिण ककसमा कारबाहीको टकराबलाई कम गर्न सक्छन् । यता, भारतले चीनलाई आशङ्काको नजरले हेर्छ । केही विश्लेषकहरूले चीन, इरान दक्षिण कोरिया र रुसले नयाँ ध्रुव बनाउन खोजेको बताइरहेका छन् । यी चार मुलुकका चासो र विश्व दृष्टिकोण फरक-फरक छन् ।

यी मुलुकका विदेश नीतिले इतिहास र विशिष्टतालाई प्राथमिकता दिन्छन् । चमत्कारिक नेताहरू रुस, चीन, भारत वा टर्कीका हित वीरतापूर्वक बरकरार राख्ने पक्षमा छन् । स्थिर र नवीन  ध्रुवमा समाहित हुने उनीहरूको चाहानामा उनीहरूकै विचारले भाँजो हाल्नेछ । स्थिरताका लागि सहकार्य आवश्यकता हुन्छ । यी मुलुकबीचको अन्तरक्रिया तरल छ ।  आपसी सम्बन्ध लेनदेनात्मक र व्यक्ति निर्देशित छ । यहाँ केही श्वेत अश्वेत भन्ने छैन । केही कुरा ढुंगामा कुँदिएकाझैँ छैनन् । कुनै कुरा सम्झौतायोग्य छैन ।

यो माहाेल ट्रम्पको लागि निकै उपयुक्त छ । धार्मिक र सांस्कृतिक रेखामा उनी विवश छैनन् । उनी स्वयं सरकारभन्दा व्यक्तिलाई प्राथमिकता दिन्छन् । औपचारिक गठबन्धनलाई भन्दा व्यक्तिगत सम्बन्धलाई अधिक विश्वास गर्छन् । अमेरिकी नेतृत्वको नाटो गठबन्धनमा जर्मनी छ । यो मुलुक रुसको चिरस्थायी प्रतिद्वन्द्वी हो । आफ्नो पहिलो कार्यकालमा ट्रम्प चान्सलर एङ्गेला मर्केलसँग भिड्दै  पुटिनलाई सम्मानजनक व्यवहार गरिरहेका थिए । ट्रम्प पश्चिमा गठबन्धनमै रहेका मुलुकहरूसँग बढी सङ्घर्षमा छन् । अहिले हटिङ्टन बाँचेका हुन्थे भने बढो अचम्मित पर्ने थिए ।

युद्धको दृष्टिकोण

ट्रम्पको पहिलो कार्यकालमा अन्तर्राष्ट्रिय जगत शान्त थियो । कुनै पनि युद्ध थिएनन् । रुस-युक्रेनप्रति केही संयमित देखिन्थ्यो । अब्राह्म सम्झौतामार्फत मध्यपूर्वमा स्थायित्वको प्रयास भएको थियो । भलै, ताइवानविरुद्ध  चीन आक्रामक भए पनि  उसले युद्ध छेडेन । ट्रम्पले दुई नयाँ राष्ट्रलाई नेटोमा भित्र्याए । रुससँग कुनै पनि सम्झौता गरेनन् । चीनविरुद्ध कटुतापूर्ण टिप्पणी गरिरहे ।  उनले युरोपको सुरक्षाका लागि सहयोग बढाए । मध्यपूर्वमा आफ्नो लाभ सुनिश्चित गरे ।  ट्रम्पले आफूलाई विशिष्ट रिपब्लिकन राष्ट्रपतिका रुपमा उभ्याए ।

तर अहिले मुख्य द्वन्द्व युरोपमा छ । मध्यपूर्व अस्तव्यस्त छ । पुरानो अन्तर्राष्ट्रिय व्यवस्था चकनाचुर छ । अन्तर्राष्ट्रिय प्रणाली र संस्था कमजोर छन् । राष्ट्रवादको लहर बढ्दा सामाजिक सञ्जालका क्रिया प्रतिक्रिया आक्रामक छन् । मध्यम र साना राष्ट्रहरूमा चरम निराशा छ । शक्ति राष्ट्रहरूका अनियन्त्रित विशेषाधिकारप्रति उनीहरू असन्तुष्ट छन् । अन्तर्राष्ट्रिय अराजकताका कारण उनीहरूले खतरा महसुस गरिरहेका छन् । यी विभिन्न कारणका संयोजनले विपत्ति निम्त्याउन सक्छ । नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीमा पनि सीमाको अखण्डता निरपेक्ष थिएन । रुस आसपासका सीमालाई त्यसको उदाहरण मान्न सकिन्छ ।

शीतयुद्धपछि युरोप र अमेरिका क्षेत्रीय सार्वभौमिकताको सिद्धान्तप्रति प्रतिबद्ध  थिए । युक्रेनमा भीमकाय लगानीले युरोपेली सुरक्षाको विशिष्ट दृष्टिकोण दर्शाउँछ । यदि बल प्रयोगबाट सीमा हेरफेर हुने हो भने इतिहासमा सीमाकै लागि सङ्घर्ष गरेका युरोपेलीहरू पूर्ण युद्धमा उत्रिन्थे होला । सीमा हेरफेर नहुने हो भने मात्रै युरोपमा शान्ति सम्भव छ । पहिलो कार्यकालमा ट्रम्पले क्षेत्रीय सार्वभौमिकताप्रति प्रतिबद्धता जनाएका थिए । उनले मेक्सिकोको सीमामा विशाल  पर्खाल बनाउने घोषणा गरेका थिए । पहिलो कार्यकालमा ट्रम्पले युरोपको मुख्य युद्धको सामना गर्नुपरेको थिएन । सीमाको सार्वभौमिकताको  सिद्धान्त अमेरिकामा मात्रै लागू  हुने तर अमेरिकाका लागि लागू नहुने उनका गतिविधिले देखाइसके ।

युक्रेनसँग रुसको युद्धबारे चीन र भारतका केही सन्देह छन् । उनीहरूले रुससँगको सम्बन्ध कायम राख्ने नीति लिएका छन् । इन्धन, ऊर्जा र हतियार सम्झौताको तुलनामा यी मुलुकलाई युक्रेनको सार्वभौमिकता महत्त्वहीन छ । यी मुलुकहरूले रुसी संशोधनवादलाई कम आँक्दा व्यापक युद्धको जोखिम बढ्नेछ । कमजोर युक्रेनको दृश्यले छिमेकीहरूलाई भयभीत बनाउनेछ । इस्टोनिया, लातभिया, लिथुआनिया र पोल्यान्ड नाटोका सदस्य छन् । यी मुलुकहरूले सामूहिक रक्षाका लागि नाटोको धारा ५ को सहारा लिन सक्छन् । यो धारा अमेरिकाले नै लेखेको हो । आफैँले लेखेको धारामा अमेरिका स्वयं प्रतिबद्ध छैन ।  पोल्यान्ड र बाल्टिक गणराज्यहरूले युक्रेनको हारले आफ्नो सार्वभौमिकतामा जोखिम देखेमा उनीहरू सिधा युद्धमा उत्रिन सक्छन् । यस्तो अवस्थामा रुसले पनि उनीहरूविरुद्ध युद्ध गर्न सक्नेछ । वासिङ्टन, पश्चिम युरोप र मस्कोबीच सम्झौता भएर युद्ध अन्त्य हुनसक्छ । तर, यो सम्झौताले युक्रेनका छिमेकीहरूमा कट्टरपन्थी प्रभाव विस्तार गर्नेछ ।  एकातिर रुसी हमलाको भय अर्कोतर्फ सहयोगीहरूको साथ छुट्ने त्रासले अर्को द्वन्द्व जन्माउनेछ । युरोपव्यापी द्वन्द्वमा अमेरिका किनारामा उभियो भने पनि फ्रान्स, जर्मनी र बेलायत तटस्थ नबस्न सक्छन् ।

युक्रेनमा युद्ध लम्बिरह्यो भने यसले ट्रम्प र पुटिन दुवैको प्रतिष्ठामा खराब असर पर्नेछ । अन्तर्राष्ट्रिय मामलामा अक्सर देखा पर्ने अहङ्कार थप हाबीको सम्भावना हुनेछ । जसरी पुटिनले युक्रेनसँग हारको जोखिम उठाउन सक्दैनन् उसै गरी ट्रम्पले युरोप गुमाउने जोखिम सम्भवत उठाउने छैनन् । युरोपमा सैन्य उपस्थितिबाट अमेरिकाले प्राप्त गर्ने समृद्धि र शक्ति पृथक् छ । यो उपलब्धि खेर फाल्नु अमेरिकी राष्ट्रपतिका लागि अपमानजनक हुनेछ । युरोपमा अमेरिकाले साथ छोड्दा तनाव वृद्धिमा मनोवैज्ञानिक प्रोत्साहन मिल्नेछ । अत्यधिक व्यक्तिवादी र उत्तेजित कूटनीतिक अभ्यास हाबी भइरहेको समयमा यसको प्रभाव अन्यत्र पनि पर्नेछ ।  यसले चीन र भारत रुस र टर्कीबीच शत्रुताको अवस्था निम्त्याउन सक्छ ।

शान्तिको दृष्टिकोण

खराब परिस्थितको सामुन्नेमा ट्रम्पको दोस्रो कार्यकालले बिग्रिएको अन्तर्राष्ट्रिय अवस्थालाई सुधार गर्न पनि सक्छ । ठूला सफलता हात पार्न ट्रम्पलाई तीन कुराले कठिन छ । पहिलो, बेइजिङ मस्को र अमेरिकाबीचको प्रतिस्पर्धात्मक सम्बन्ध । दोस्रो, कूटनीतिमा वासिङ्टनको आक्रामक दृष्टिकोण र तेस्रो आफ्नै लाभ सुनिश्चित गर्ने अमेरिकी रणानीति । विश्व व्यवस्थामा रहेको यथास्थितिमा अमेरिकाले केही सुधार भन्ने पक्कै ल्याउन सक्नेछ ।

अमेरिकाले चारवटा विषयमा हात हालेर सुधार ल्याउन सक्नेछ । पहिलो, युक्रेनमा युद्धको अन्त्य नगराए पनि आक्रमणको तीव्रतामा कमी ल्याएर । दोस्रो, ताइवानमा द्विविधा कायमै रहँदा हिन्द प्रशान्त क्षेत्रमा युद्ध निम्तिन नदिएर । तेस्रो, इजरायल र प्यालेस्टाइनको द्वन्द्व समाधानमा भन्दा इरानसँगको अमेरिकी तनाव कम गराएर । चौँथो, सिरियामा स्थिर सरकारको उदय गराएर । ट्रम्प पूर्ण शान्ति निर्माता नबन्न सक्छन्  तर, उनले विश्वका युद्धलाई कम गराउन सक्छन् ।

जर्ज डब्लू बुस, बाराक ओबामा र  जो बाइडनको पालामा रुस र चीनले वासिङ्टनको प्रणालीगत दबादबाको सामना गर्दै आएका थिए। मस्को र बेइजिङ कम्युनिस्ट नीतिअनुसार अघि बढेकाले उनीहरू उदार अन्तर्राष्ट्रिय व्यवस्थाबाट परै रहे । रुसी र चिनियाँ नेताहरूले अमेरिकी दबाबलाई अतिरञ्जित पनि गरे । आफ्नो मुलुकमा वासिङ्टनले शासन नै परिवर्तनका लागि उक्साएको जिकिर पनि भए । अन्य मामिलामा दबाबबारे प्रश्न उठाउन सकिन्छ । राजनीतिक बहुलवाद, नागरिक स्वतन्त्रता र शक्ति पृथकीकरणमा वासिङ्टनले उठाएका सवाल नाजायज थिएनन् । ट्रम्प सत्तामा आएसँगै यी मामिलामा वासिङ्टनको दबाब निश्चय नै कम हुनेवाला छ । रुस र चीनमा सरकारको स्वरुपले ट्रम्पलाई चिन्तित तुल्याउने छैन । तनावका विषय थाँती नै रहे पनि समग्र वातावरण कम तनावपूर्ण हुनेछ । उनीहरूबीच कूटनीतिक आदानप्रदान वृद्धि हुनसक्छ । वासिङ्टन, बेइजिङ र मस्कोबीच त्रिकोणात्मक लेनदेनको सम्भावना छ । स-साना मुद्दामा कम विवाद हुनसक्छ । आपसी विश्वास निर्माणमा खुलापन देखिन सक्छ ।  युद्ध र द्वन्द्व कमका लागि वार्ताका शृङ्खला बढ्न सक्छन् ।

ट्रम्प र उनका सहयोगी लचिलो कूटनीतिमार्फत द्वन्द्व व्यवस्थापनमा सक्रिय भएमा यसले ठूलो लाभ प्राप्त हुनेछ । विड्रो विल्सनले अन्तर्राष्ट्रिय सहकार्य, आत्मनिर्णय र  स्वतन्त्र व्यापारमा आधारित विदेश नीति बनाएका थिए । ट्रम्प सबैभन्दा कम विल्सनवादी  हुन् । राष्ट्रसंघ होस् वा युरोपेली सुरक्षा तथा सहयोग सङ्गठनका संरचना, ट्रम्पलाई कुनै पनि अन्तर्राष्ट्रिय संस्थाका संरचनासँग मतलब छैन ।

प्राविधिक जगतबाट आएका उनका सल्लाहकारहरू विश्व मञ्चलाई स्टार्टअपझैँ हेर्छन् । परिस्थितिलाई उनीहरू रचनात्मक ढङ्गले हेर्दैनन् । उनीहरूलाई लाग्छ अन्तर्राष्ट्रिय जटिल परिस्थिति भर्खरै उदाएको हो र यसको अन्त्य पनि स्टार्टअप कम्पनीझैँ  छिट्टै हुनेछ ।

यिनीहरूको असली परीक्षा युक्रेन मामिलामा हुनेछ ।  हतारोमा शान्ति स्थापनाभन्दा युक्रेनी सार्वभौमिकतालाई उनीहरूले महत्व दिनुपर्नेछ, जुन कुरा स्वीकार गर्नका लागि पुटिन तयारै छैनन् । युक्रेनको सार्वभौमिकता सङ्कट परेमा शान्ति र स्थायित्व होइन त्यसको जगमा युद्ध र द्वन्द्व सुरु हुनेछ ।

भ्रामक शान्तिका सट्टा रुस र युक्रेनबीच सम्बन्धका सीमा निर्धारणका लागि वासिङ्टनले सहयोग गर्नुपर्छ ।  तीनै सीमाका आधारमा युद्धलाई क्रमशः कम गर्न सकिन्छ ।  तब, मात्रै  वासिङ्टनले मस्कोसँगको सम्बन्धलाई शीतयुद्ध पछिझैँ वर्गीकृत गर्न सक्षम हुनेछ । अमेरिकाले युक्रेनप्रति रुसको नीतिमा असहमति जनाउँदै परमाणु अप्रसार, हतियार नियन्त्रण, अन्तरिक्ष अन्वेषण लगायतमा सहमतिको सम्भावना खोज्नु पर्नेछ । रुससँगको द्वन्द्वलाई वर्गीकृत गर्दा नै  अमेरिकाको मुख्य हित हुनेछ ।

ट्रम्पले गर्न सक्छन् अमेरिकी नयाँ युगको नेतृत्व

स्वतःस्फूर्त कूटनीतिक शैली लाभ सुनिश्चितका लागि निकै फलदायी हुन्छ । सन् १९८९ मा युरोपले अभ्यास गरेको कूटनीति यसको गतिलो उदाहरण हो । साम्यवादको विघटन र सोभियत सङ्घको पतनलाई अमेरिकी कूटनीतिको ठूलो सफलता मानिन्छ । बर्लिन वाल ढल्नुमा अमेरिकी नीतिको कुनै दोष छैन । यो केबल आकस्मिकता र नियति थियो । राष्ट्रपति जर्ज एच डब्ल्यू बुस र राष्ट्रिय सुरक्षा सल्लाहकारको टोली घटनापछिका कदममा निकै अब्बल थिए । उनीहरू अधिक उत्तेजित पनि थिएनन् । कम सक्रिय पनि थिएनन् । उनीहरूले सोभियतसंघलाई पनि चिढ्याएनन् । संयुक्त जर्मनीलाई नेटोबाट बाहिरिन दिए ।

यो पृष्ठभूमिमा ट्रम्प प्रशासन पनि क्षणलाई सदुपयोग गर्न तयार हुनुपर्छ । आउने जुनसुकै अवसरको सदुपयोगका लागि ट्रम्प प्रशासन पछि हट्नुहुँदैन । अवसरमा लाभ उठाउनका लागि तीक्ष्ण सोच र शीघ्र कार्यको आवश्यक पर्छ । यसका लागि अमेरिकासँग दुई मुख्य सम्पत्ति छन् । पहिलो यसको सहयोगी सञ्जाल । दोस्रो, अमेरिकी आर्थिक शासन कला । अमरिकी सञ्जालले उसको लाभका लागि चालबाजीको अवसर दिन्छ । आर्थिक शासन कलाले उसलाई विश्व बजार र महत्त्वपूर्ण संसाधनमा सरल पहुँच सुनिश्चित गर्छ । अमेरिकी आर्थिक नीति संरक्षणवादमा आधारित छ। अब उनीहरूले यसलाई परिवर्तन गर्नुपर्छ, ताकी  अमेरिका सँगसँगै साझेदारहरूको समृद्धि पनि सुनिश्चित होस् ।

विश्व व्यवस्थाको कुनै पनि मान्यता अब लागू हुने देखिँदैन । अन्तर्राष्ट्रिय प्रणाली अब एक ध्रुवीय, दुई ध्रुवीय वा बहु ध्रुवीय मात्रै रहेन । स्थिर संरचना विना नै ट्रम्पले द्वन्द्व न्यूनीकरण, ठूला र साना मुलुकबीचको सहकार्यका लागि अमेरिकी आर्थिक शासन कलाको उपयोग गर्न सक्छन् । यसो गर्दा ट्रम्पले आफ्नो चाहाना पनि पूरा गर्नेछन् । आफ्नो दोस्रो कार्यकालको अन्त्यमा पहिलो कार्यकालको भन्दा राम्रो अवस्थामा अमेरिकालाई पुर्‍याउने ट्रम्पको चाहाना छ ।

फरेन अफेयर्समा प्रकाशित सामग्रीको भावानुवाद  नेपालभ्युजकर्मी शिशिर ढकालले गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register