स्थानीय तहले विवरण नपठाउँदा बाढी पीडितले पाएनन् राहत
काभ्रे । स्थानीय तहले तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बढिपहिरो पीडित सरकारी राहतबाट वञ्चित भएका छन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले पटक-पटक ताकेता गरे पनि स्थानीयतहरूले प्रभावित तथ्याङ्क पठाएका छैनन् । राहत तथा अनुदानका लागि लाभग्राहीको विवरण राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको पोर्टलमा अनिवार्य प्रविष्ट हुनुपर्छ । जिल्लाका १३ स्थानीय तह मध्ये पाँच वटाले मात्रै […]

काभ्रे । स्थानीय तहले तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बढिपहिरो पीडित सरकारी राहतबाट वञ्चित भएका छन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले पटक-पटक ताकेता गरे पनि स्थानीयतहरूले प्रभावित तथ्याङ्क पठाएका छैनन् ।
राहत तथा अनुदानका लागि लाभग्राहीको विवरण राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको पोर्टलमा अनिवार्य प्रविष्ट हुनुपर्छ । जिल्लाका १३ स्थानीय तह मध्ये पाँच वटाले मात्रै लाभग्राहीको विवरण उपलब्ध गराएको छ ।
धुलिखेल र नमोबद्ध नगरपालिका तथा रोशी, चौरै देउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण प्राधिकरणको विपद् पोर्टलमा प्रविष्ट गरेका छन् । अति प्रभावित मानिएका बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाले भने पूर्ण विवरण भरेका छैनन् ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले केही दिनभित्रै विवरण उपलब्ध गराउने बताए ।‘लाभग्राहीबारे छानबिन गर्दै छौँ । केही हप्तामा सकेर विवरण उपलब्ध गराउँछौँ,’ भण्डारीले भने। हालसम्मको विवरण अनुसार धुलिखेल नगरमा ८६, नमोबद्धमा आठ सय २४, रोशीमा पाँच सय ४८, चौर देउरालीमा दुई सय ७८ र महाभारत गाउँपालिकामा १७ परिवारको तथ्याङ्क छ । समितिले ती तहको अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न प्राधिकरणलाई अनुरोध गरिसकेको छ ।
प्राधिकरणबाट निकासा भए लगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम पुग्नेछ । समितिले लाभग्राहीलाई वितरण गर्नेछ । रकम निकासका लागि लाभग्राहीको विवरण प्रविष्ट अनिवार्य छ ।
स्थानीय तहले अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण पोर्टलमा प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि विपद् व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने प्रावधान छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि मात्रै रकम निकासा हुनेछ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटक–पटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए । ‘स्थानीय तहले ढिलाइ गर्दा बाढी पहिरो पीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाइ भइरहेको हो’, ढकालले भने ।
फागुन २० गतेभित्र सम्पूर्ण विषय टुङ्ग्याउन जिल्ला विपद् व्यवस्था समितिले स्थानीय तहलाई निर्देशन दिएको छ । समितिले हाल अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउनका लागि विवरण माग गरेको हो ।
केन्द्र सकारले यसअघि मृतकका परिवारलाई दुई लाखका दरले रकम उपलब्ध गराएको छ । गत गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो । ६ जना भने बेपत्ता छन् ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८ सय ४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ हजारदेखि ३५ सय घर पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । तीन दर्जन सरकारी भवन, तथा साही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ ।
यसअघि प्राधिकरणले पछिल्लो पटक माघ १३ गते विपद् प्रभावित स्थानीय तहलाई पत्राचार गरी अस्थायी आवास निर्माणका लागि तत्कालै लाभग्राहीको विवरण उपलब्ध गराउन भनेको थियो ।
रासस
What's Your Reaction?






