ओभल अफिसको दृश्यपछि ‘तेस्रो छिमेकी’ अवधारणामाथि उठेको प्रश्न

आफ्नो अस्तित्व जोगाउनु छ भने अब ‘तेस्रो छिमेकी’ भन्दा पनि भूगोल जोडिएकै छिमेकीहरूसँगको सम्बन्धमा जोड दिनु पर्छ भन्ने पाठ यसबाट सिक्नु पर्छ । नेपालले अब लिने विदेश नीतिको बाटो त्यही दिशामा केन्द्रित हुनु पर्दछ ।

Mar 3, 2025 - 09:27
 0
ओभल अफिसको दृश्यपछि ‘तेस्रो छिमेकी’ अवधारणामाथि उठेको प्रश्न

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिका भ्रमणको दौरान वासिङ्टन डिसीस्थित राष्ट्रपतिको ओभल अफिसमा शुक्रबार भोगेको ‘नोकझोक’ अहिले संसारभरका सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यस विषयले व्यापक रूपमा चर्चा बटुलिरहेको छ ।

रुसको असन्तुष्टिका बाबजुद युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नर्थ एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्यता लिने निर्णय गरे । मुख्य गरी अमेरिका र त्यस बेलाको जो बाइडन प्रशासनको साथ र सहयोगमा आफ्नो छिमेकी रुससँग लड्ने आँट हास्यकलाबाट राजनीतिमा लागेका जेलेन्स्कीले गरे ।

जेलेन्स्कीलाई लागेको थियो, ‘युक्रेनसँग भूभाग जोडिएको रुस र अन्य निकटतम छिमेकीहरू छन् ।  साथै, अमेरिका पनि युक्रेनको असल र भरपर्दो तेस्रो छिमेकी अर्थात्, आकाशको छिमेकी हो ।’

तर, वासिङ्टन डिसीमा सत्ता परिवर्तन भएर डेमोक्र्याटका जो बाइडनको सत्ता बहिर्गमन र रिपब्लिकका डोनाल्ड ट्रम्पको सत्तामा पुनरागमनसँगै किभलाई हेर्ने अमेरिकी नजरमा ठिक उल्टो परिवर्तन देखिएको छ । किभलाई मस्कोसँग लड्न सबभन्दा बढी सहयोग गर्ने अमेरिका अब थप सहयोग नगर्ने निर्णयमा पुगेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शत्रु मान्ने अमेरिकी नीतिलाई ट्रम्प प्रशासनले मित्रको रुपमा व्यवहार गर्न थालेको छ ।

राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्सलगायतले स्वागतद्वार र भित्रपट्‌टीको सोफामा राखेर युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई थर्काएको केही दिनअघि नै अमेरिकाले यसको स्पष्ट सन्देश दिइसकेको थियो । रुस–युक्रेन युद्ध सुरु भएको तीन वर्षपछि अमेरिकाले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र सभाको मतदानमा रुसको पक्षमा भोट हालिसकेको थियो । अमेरिकाले युक्रेन मामिलामा रुसको पक्षमा मत दिनु नै आफैँमा संसारलाई चकित पार्ने निर्णय थियो । त्यो निर्णय पछाडिको रहस्य के थियो भन्ने कुरा शुक्रबार ओभल अफिसमा भएको गतिविधिले प्रष्ट पारिदियो ।

यसले राष्ट्रपति जेलेन्स्कीले छिमेकीसँगको मुद्दालाई कूटनीतिक माध्यमबाट आफैँले समाधान खोज्नु पर्नेमा ‘तेस्रो छिमेकी’ तिर लाग्दा के हुन्छ भन्ने देखाइदियो ।

‘तेस्रो छिमेकी’ अर्थात्, ‘आकाशको छिमेकी’को विषय नेपालमा पनि चर्चा नभएको चाहिँ होइन । काठमाडौंमा केही समय पहिलेसम्म विदेश मामिला र सम्बन्धका विषयमा चर्चा गर्दा ‘तेस्रो छिमेकी’ को विषय महत्त्वका साथ केन्द्रमा पर्थ्यो ।

कतिले नेपालको दुई छिमेकी भारत र चीनपछि अमेरिकालाई ‘तेस्रो छिमेकी’ को रूपमा व्याख्या गरेका थिए भने कतिले ठोकुवा नै गरेर विश्वको सबैभन्दा ठूलो र महत्त्वपूर्ण शक्तिको रुपमा अमेरिका नै नेपालको ‘तेस्रो छिमेकी’ भएको दाबी गरेका थिए ।

नेपाललाई १९औं२०औं शताब्दीको अप्ठेरो परिस्थितिबाट जोगाउनको लागि ‘तेस्रो छिमेकी’ (आकाशको छिमेकी) को रुपमा पहिला बेलायत र पछि अमेरिकाले भूमिका खेलेको पनि इतिहासको पाना पल्टाउँदा देख्न सकिन्छ । नेपालको विदेश नीतिको इतिहासलाई हेर्दा हाम्रा दुई महत्त्वपूर्ण छिमेकीहरू चीन र भारतभन्दा पहिले नै बेलायत र अमेरिकासँग द्धिपक्षीय सम्बन्ध स्थापना भएको पनि देख्न सकिन्छ ।

नेपाल र बेलायत (तत्कालीन भारतमा शासन गरिरहेको बेलायतको इस्टइन्डिया कम्पनी) बीच सन् १८१६ मा भएको सुगौली सन्धिबाट द्वीपक्षीय सम्बन्ध स्थापना भएको हो । त्यसपछि नेपाल र बेलायतबीच सन् १९२३ मा नयाँ मैत्रीपूर्ण सन्धि भयो । जसले त्यसबेला हिमालय शृङ्खला क्षेत्रमा रहेको देश नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

तत्कालीन अङ्ग्रेजहरूले संसारभर शासन गरिरहँदा नेपाल भने द्विपक्षीय सम्बन्ध गाँसेर साझेदार बनिसकेको थियो । त्यसपछि नेपालको दोस्रो कूटनीतिक सम्बन्धको रूपमा अमेरिका रह्यो । नेपाल र अमेरिका बीच सन् १९४७ को अप्रिल २५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएको थियो ।

सुन्दा अचम्म लाग्न सक्छ, नेपालले बेलायत र अमेरिकाबीच कूटनीतिक सम्बन्ध राख्दा अहिलेको भारत स्वतन्त्र राज्य भइसकेको थिएन । भारत बेलायती शासन अन्तरगत नै थियो ।

भारत सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएपछि मात्र नेपालले द्वीपक्षीय सम्बन्ध स्थापना गरेको हो । नेपाल र भारतबीच सन् १९४७ को जुन १७ मा द्वीपक्षीय सम्बन्ध स्थापना भएको हो भने सन् १९५० को जुलाई ३१ मा नेपाल–भारत शान्ति तथा मैत्रीपूर्ण सन्धिमा हस्ताक्षर भएको थियो । जुन हस्ताक्षर भएदेखि नै बहसको विषय बन्दै आइरहेको छ ।

नेपालले आफ्नो अर्को छिमेकी चीनसँग भने सन् १९५५ को अगस्ट १ मा मात्र ओपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । जुन फ्रान्स (सन् १९४९) भन्दा पनि पछि थियो ।

नेपाल राज्यको सुरुवाती दिनहरूमा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन, आफ्नो सार्वभौमसत्ता बचाउन, संयुक्त राष्ट्र सङ्घ जस्तो संस्थाको सदस्यता लिन र अन्य महत्त्वपूर्ण बहुपक्षीय सङ्घ–संस्थाहरूमा जोडतोडका साथ स्थान बनाउन ‘तेस्रो छिमेकी’ को महत्त्वपूर्ण भूमिका रह्यो ।

कुनै समय हिमालय क्षेत्रमा रहेका देश तिब्बत हालको चीनमा र सिक्किम देश हालको भारतमा विलय हुँदा नेपाल भने ‘तेस्रो छिमेकी’ (पहिले बेलायत र पछि अमेरिका) सँगको महत्त्वपूर्ण सम्बन्ध र साथको कारण अस्तित्वमा रहेको इतिहासको पाना पल्टाउँदा अनुमान लगाउन सकिन्छ । तर, अब परिस्थिति बद्लिएसँगै नेपाल पनि ‘तेस्रो छिमेकी’ अवधारणबाट पछि हट्नुपर्ने अवस्थामा आइपुगेको हो कि भन्ने प्रश्न पक्कै उठेको छ ।

दुई ठूला उदाउँदा छिमेकी शक्तिहरू भारत र चीनसँगको सम्बन्धलाई महत्त्व दिएर अघि बढ्ने नेपालको अबको चुनौती हुनेछ । ‘तेस्रो छिमेकी’ का रूपमा रहेका पहिलाको बेलायत र अहिलेको अमेरिका आआफ्नै देश भित्रका विषयमा केन्द्रित हुन थालेका छन् । नेपालले अब आफ्नो अस्तित्व जोगाउनको लागि ‘तेस्रो छिमेकी’ सँगभन्दा पनि आफ्ना दुई छिमेकीसँगै विशेष सम्बन्ध बनाउन जरुरी छ । नेपालले छिमेक पहिलो नीतिलाई नै प्राथमिकताका साथमा अघि बढ्नु पर्छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ओभल अफिसमा व्यहोरेको घटनाले संसारका नेपाल जस्तै मुलुकहरूले ‘तेस्रो छिमेकी’ को अवधारणालाई लिएर अघि बढेका थिए । अब उनीहरूले आफ्नो विदेश सम्बन्धको नीतिमा परिवर्तन ल्याउन जरुरी देखिएको छ ।

आफ्नो मुलुक र आफ्नो अस्तित्व जोगाउनु छ भने अब ‘तेस्रो छिमेकी’ भन्दा पनि भूगोल जोडिएकै छिमेकीहरूसँगको सम्बन्धमा जोड दिनु पर्छ भन्ने पाठ सिक्नु पर्छ । नेपालले अब लिने विदेश नीतिको बाटो त्यही दिशामा केन्द्रित हुनु पर्दछ । अमेरिकामा अहिले ट्रम्प प्रशासनले लिएको नीति हेर्दा ‘तेस्रो छिमेकी’ अवधारणा सङ्कटमा परेको छ ।

(लेखक पाण्डे अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउँछन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register