महाकुम्भ : आस्था, अनुभव र आत्मानुभूतिको त्रिवेणी

महाकुम्भले सर्वाधिक भक्तजनको सहभागिता, सबैभन्दा ठूलो सामूहिक स्नान र उत्कृष्ट व्यवस्थापन कौशलका आधारमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउँदै ऐतिहासिक पहिचान बनाएको छ ।

Mar 4, 2025 - 06:27
 0
महाकुम्भ : आस्था, अनुभव र आत्मानुभूतिको त्रिवेणी

प्रयागराज महाकुम्भ पुग्नुअघि गङ्गा, जमुना र सरस्वतीको त्रिवेणी सङ्गममा अमृत स्नान मेरा लागि मुख्य आकर्षण थियो । अहिले लाग्छ – महाकुम्भ आस्था, अनुभव र आत्मानुभूतिको त्रिवेणी सङ्गममा अध्यात्म र परमानन्दको अमृत स्नान साबित भयो ।

महाकुम्भ २०२५ समापन भइसके पनि यसको चर्चा कायमै छ । महाकुम्भमा परम्परा र आधुनिकताको गज्जब सम्मिश्रण थियो । शताब्दीऔं देखिको धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको प्रतीकका रूपमा रहँदै आएको यो पर्व यसपटक प्रविधिको सहायताले अझ प्रभावशाली बन्यो ।

पुरानो पुस्ताका लागि महाकुम्भ आस्था र आध्यात्मको बिम्ब थियो । नयाँ पिँढीका लागि अनुभव र आत्मानुभूतिको प्रतीक । महाकुम्भमा एकातिर परम्परागत धार्मिक साम्प्रदायिक झाँकीहरू मुख्य आकर्षण थिए । विभिन्न सम्प्रदाय र अखडाका सन्त, महन्त, साधक र तान्त्रिकहरू अनौठा दृष्य र मोहकता सृजना गर्थे ।

अर्कोतिर आधुनिक डिजिटल प्रविधिको व्यापक र कुशल प्रयोग थियो । डिजिटल प्रविधिको प्रयोगले महाकुम्भको मानव सागर व्यवस्थापन सरल मात्र बनाएन, विश्वभरका भक्तजनलाई डिजिटल प्रसारणमार्फत महाकुम्भमा सहभागीसमेत गरायो ।

स्नान, पूजा र आध्यात्मिक प्रवचन महाकुम्भमा भौतिक सहभागी हुन नपाएका मानिसका लागि संसारभरि पुगे । महाकुम्भ मेलाको स्वच्छता, स्वास्थ्य, सुरक्षा र आपतकालीन सेवाहरूको प्रभावकारी संयोजन सम्भव भयो । महाकुम्भ करोडौँ मानिसले भाग लिएको एक विशाल मेला मात्र थिएन, यो उत्तिकै अनुशासित एवं सुव्यवस्थित थियो ।

महाकुम्भले सर्वाधिक भक्तजनको सहभागिता, सबैभन्दा ठूलो सामूहिक स्नान र उत्कृष्ट व्यवस्थापन कौशलका आधारमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउँदै ऐतिहासिक पहिचान बनाएको छ ।

धार्मिक उत्साहसहित सम्पन्न भएको यस पर्वले आध्यात्मिक चेतनाको पुनर्जागरण त गर्‍यो नै, आधुनिक युगमा सभ्यताको सांस्कृतिक जरा अझ मजबुत बनायो । समाजको आध्यात्मिक तथा नैतिक पक्षलाई नवीकृत गर्‍यो । नयाँ पुस्ता समाज र सभ्यताको शताब्दीऔं लामो परम्परासँग परिचित र गौरवान्वित भयो ।

परम्परागत विश्वासका आधारमा महाकुम्भलाई आस्था र श्रद्धाको केन्द्र मानिन्छ । महाकुम्भको जलाशयमा स्नान गर्दा प्राप्त हुने शुद्धिकरणको विश्वास र परम्परालाई यस पटक डिजिटल प्लेटफर्म र उपकरणद्वारा नयाँ रूप दिइयो ।

यस पटकको महाकुम्भमा युवा पुस्ताको सहभागिता उल्लेखनीय रह्यो । यिनै युवा भक्तजनहरूले डिजिटल संसारमा महाकुम्भको प्रचारप्रसार गरे । दक्षिण कोरिया, अर्जेन्टिना, अमेरिका लगायतका देशका ‘कन्टेन्ट क्रियटर’ महाकुम्भमा आइपुगे । महाकुम्भलाई आआफ्ना देश र ‘अडियन्स’ माझ प्रवर्द्धन गरे ।

महाकुम्भलाई भाषा र देशको सीमाले छेक्न सकेन । संसारका कति देश र कति भाषामा महाकुम्भबारेका सामग्री पुगे, अनुमान गर्न गाह्रो छ । यसै भन्न सकिँदैन । सायदै संसारका कुनै देश वा समुदाय महाकुम्भको चर्चा र जानकारीबाट अछूतो रहे । युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटकट्वीटरजस्ता सामाजिक सञ्जालबाट विश्वभरका मानिसले महाकुम्भका अद्भूत दृश्य हेर्ने मौका पाए ।

आधुनिक उपकरणको मिश्रण तथा सहकार्यले पुरानो पुस्ताले नयाँ पुस्तालाई महाकुम्भको आध्यात्मिक ज्ञान सुरक्षित तवरमा हस्तान्तरण गर्‍यो । युवाको जागरुकताकै कारण महाकुम्भको आस्थाले डिजिटल माध्यममा नयाँ जीवन प्राप्त गर्‍यो । परम्परा र आधुनिकता बीचको सङ्गमबाट महाकुम्भको इतिहासले नयाँ अध्याय सृजना गर्‍यो ।

धर्म र आध्यात्मिक अभ्यासको क्रममा युवापिढीको नयाँ सोच र आत्मसाक्षात्कारको खोजी पनि यसपटक विशेष महत्त्वपूर्ण रहन गयो । काठमाडौंका एक युवा भक्तले आफ्नो अनुभव सेयर गर्दै सुनाएका थिए, “महाकुम्भको पवित्र जलमा स्नान गर्ने विश्वास हाम्रो पुरानो परम्परा हो, तर आज हामी यसलाई हाम्रो भित्री शान्ति र मानसिक स्वच्छता प्राप्त गर्नको लागि पनि उपयोग गरिरहेका छौँ ।”

यो विचार नयाँ सोच र प्राचीन विश्वास बीचको सशक्त संवादको प्रतीक हो । परम्परागत जल स्नानको प्रक्रिया भनेजस्तै आजका युवा ध्यान, योग र मानसिक स्वास्थ्यका दृष्टिले महाकुम्भको अनुभवलाई नयाँ ढङ्गले आत्मसात् गरिरहेका छन् । आध्यात्मिक उन्नति पुरानो विधिमा मात्र सीमित नभई नयाँ प्रविधि र मानसिक साधनाहरूको माध्यमबाट पनि पाउन सकिन्छ भन्ने विश्वास गर्छ नयाँ पुस्ता ।

महाकुम्भ मेला २०२५ मा विश्वका कयौं चर्चित व्यक्तिहरूको उपस्थिति थियो । महाकुम्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, व्यवसायी मुकेश अम्बानी र गौतम अडानी उपस्थित भए । बलिउडका ख्याति प्राप्त सिने कलाकार अक्षय कुमार, कट्रिना कैफ, विक्की कौशललगायतले महाकुम्भमा स्नान गरे । कोल्डप्लेका प्रमुख गायक क्रिस मार्टिन महाकुम्भमा आइपुगेका थिए । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेष वक्ता, चर्चित व्यक्ति, ब्लगर, इन्फ्लुएन्सरहरूले महाकुम्भको अनुभव लिए ।

तिनले महाकुम्भका दृश्यलाई डिजिटल क्यामेरामा कैद गर्दै, विश्वभरका युवाहरूलाई समर्पित गरेर भिडिओ शृङ्खला प्रस्तुत गरे । यी युवा पीढीले परम्परागत दृश्यहरूलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेर देखाए । यसले महाकुम्भको परम्परा र प्रविधिको सन्तुलनलाई स्पष्ट रूपमा प्रकट गरेको पाइएको छ । र, महाकुम्भलाई केवल भारतको धार्मिक आस्थासम्म सीमित नगरी, एक वैश्विक विश्वासको रूपमा प्रस्तुत गरेको छ ।

यो महाकुम्भ प्रविधिमार्फत सनातन धर्मको प्रवर्द्धन गर्दै एकताको सन्देश फैलाउन सफल भएको छ । महाकुम्भबारे युट्युब, फेसबुक, ट्विटर, र इन्स्टाग्रामजस्ता डिजिटल प्लेटफर्महरूमा लाखौँ पोस्ट, लाइभ स्ट्रिमिङ, र भिडिओ सामग्री अपलोड गरिएका छन् । महाकुम्भका परम्परागत सांस्कृतिक कार्यक्रमहरू युवा कलाकारहरूले आधुनिक शैलीमा प्रस्तुत गरेको पाइयो, जसले महाकुम्भलाई नयाँ युगसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको छ ।

उदाहरणको रूपमा गायक हंसराज रघुवंशीले महाकुम्भमा प्राचीन सङ्गीतमा आधुनिक ब्यान्ड र सङ्गीत संयोजन गरेर नयाँ सृजनात्मक प्रस्तुति दिएका थिए । उनको यो प्रस्तुतिलाई युट्युबमा मात्र ४ मिलियन पटक हेरिएको छ । यस्ता रचनाले महाकुम्भको सांस्कृतिक परम्परा र आधुनिकता बीचको उत्तम सङ्गम मात्र प्रस्तुत गरेको छैन, यसले त महाकुम्भको ऐतिहासिक महत्त्वलाई जीवित राख्नसमेत मद्दत पुर्‍याएको छ । महाकुम्भ नयाँ र पुरानो पुस्तालाई एक आपसमा जोड्ने, नयाँ पुस्तालाई सनातनका अभ्यास, विश्वास र परम्परासँग जोड्ने पुलको काम पनि गर्‍यो ।

मध्य प्रदेशकी १६ वर्षीया मोनालिसा भोसलेले कुम्भ मेलामा माला बेच्दा खिचिएको भिडिओ भाइरल भएपछि उनी एकाएक सेलिब्रेटी भइन् । अद्वितीय आँखा र चम्किलो हाँसोले उनलाई ‘मोनालिसा’ उपनाम दिलायो । उनी अब बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । यति मात्र होइन, मोनालिसाले कुम्भ मेलामा एउटा महत्त्वपूर्ण सामाजिक सन्देश पनि दिन सफल भइन्, जहाँ उनले भक्तजनहरूलाई प्रकृति र धार्मिक परम्पराको सम्मान गर्न आह्वान गरिन् ।

आइआईटी मुम्बईका एयरोस्पेस इन्जिनियरिङका विद्यार्थी अभय सिंह महाकुम्भमा आईटी बाबाका रुपमा भाइरल भए । सिंहका अनुसार – धर्म र कर्मले नै मानिसलाई साँचो सुख र शान्ति दिन्छ ।

युवा नेतृत्वले पनि सामाजिक जागरुकता अभियानका माध्यमबाट परम्परागत विश्वास र सामाजिक सन्देशको मिश्रणलाई बलियो रुपमा प्रस्तुत गरे । विभिन्न युवा स्वयंसेवी समूहले महाकुम्भका लागि भनेर गङ्गा नदीको सफाइ र संरक्षणका लागि अभियान चलाए ।

महाकुम्भ–२०२५ पश्चात कुम्भ मेला अब हिन्दु धर्मको उत्सवको रूपमा सीमित नभई विश्वव्यापी आध्यात्मिक आन्दोलनमा परिणत भयो । सबै वर्ग र धर्मका मानिसलाई एकत्रित गरेको यो पर्वले वैश्विक एकता र शान्तिको सन्देश दिएको छ । आईबीसी २४ का अनुसार महाकुम्भको डिजिटल प्रसारण ८२ भन्दा बढी देशमा भएको थियो । हिन्दुहरूका लागि मात्र नभई संसारभरका मानिसका लागि महाकुम्भ एक साझा आध्यात्मिक अनुभव भयो ।

महाकुम्भ २०२५ ले परम्परा र प्रविधिको सन्तुलन बनाएर युवा पीढीलाई सशक्त रूपमा प्रेरित गरेको छ । महाकुम्भ समाजका विभिन्न आयामबीच समायोजन गर्ने महत्त्वपूर्ण मञ्चका रुपमा स्थापित भयो । भविष्यका महाकुम्भहरूले यस सशक्त समन्वयलाई जारी राख्नेछन् र युवापिढीको योगदानले यस पर्वलाई नयाँ दृष्टिकोणबाट पुनः परिभाषित गर्नेछ ।

अर्को कुम्भ मेला २०२७ मा महाराष्ट्रको नासिक शहरमा आयोजित हुनेछ । नासिक भारतको दोस्रो लामो नदी गोदावरीको किनारमा अवस्थित छ । यही नदिको किनारमा बाह्र ज्योतिर्लिङ्गमध्ये एक त्रिम्वकेश्वर शिव मन्दिर पनि छ ।

कुम्भ मेला भारतका प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा लाग्ने गर्छ । चार वर्षमा एक पटक आयोजना हुने कुम्भ मेला हो । छ वर्षमा एक पटक हुने मेला अर्ध कुम्भ मेला हो भने बाह्र वर्षमा एक पटक आयोजना हुने मेला पूर्णकुम्भ हो । र, हालै सम्पन्न भएको मेला महाकुम्भ मेला हो, जुन १४४ वर्षमा एक पटक हुन्छ ।

भनिन्छ, “जहाँ विश्वास छ, त्यहाँ शक्ति छ” । कुम्भ मेला यस्तै विश्वास र शक्तिको प्रतीक हो । महाकुम्भ २०२५ भव्यताका साथ समापन भयो, तर आस्थाको यो यात्रा भने कहिल्यै अन्त्य हुँदैन । शताब्दीऔं लामो कुम्भ मेला संस्कृति शताब्दीऔंसम्म सतत् आयोजन हुने छ । सम्भवत: कुम्भमेला संस्कृति त्यतिञ्जेलसम्म रहने छ, जबसम्म मानव सभ्यता रहने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register