समकालीन विश्व, रायसिना संवाद र दिल्लीमा पाँच दिन  

नेपालमा ‘सगरमाथा संवाद’ गर्ने चर्चा चलिहरेको बेला भारतको ‘प्राइम डाइलग’ मानिएको ‘रायसिना संवाद’ मा सहभागी हुने अवसर जुर्‍यो । मार्च १७–१९ को तीन दिने कार्यक्रमका लागि आउन जानसमेत ५ दिन खर्चिन पर्‍यो । सन् २०१६ देखि भारत सरकार, विदेश मन्त्रालयको सहयोग र समर्थनमा ‘थिङ्क ट्याङ्क’ संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले रायसिना संवाद आयोजना गर्दै […]

Mar 22, 2025 - 14:01
 0
समकालीन विश्व, रायसिना संवाद र दिल्लीमा पाँच दिन  

नेपालमा ‘सगरमाथा संवाद’ गर्ने चर्चा चलिहरेको बेला भारतको ‘प्राइम डाइलग’ मानिएको ‘रायसिना संवाद’ मा सहभागी हुने अवसर जुर्‍यो । मार्च १७–१९ को तीन दिने कार्यक्रमका लागि आउन जानसमेत ५ दिन खर्चिन पर्‍यो ।

सन् २०१६ देखि भारत सरकार, विदेश मन्त्रालयको सहयोग र समर्थनमा ‘थिङ्क ट्याङ्क’ संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले रायसिना संवाद आयोजना गर्दै आएको रहेछ । यसपटक १०औं संस्करण थियो ।

ओआरएफ सन् १९९० मा स्थापित र तत्कालीन समयमा रिलायन्स ग्रुपले सहयोग गरेको एक स्वतन्त्र अनुसन्धानकर्ता संस्था रहेछ । यो संस्था स्थापनायता निरन्तर छ । सन् २०१६ यता अहिलेसम्मका सबै रायसिना संवाद यसैले आयोजना गर्ने गरेको छ ।

संवादलाई अन्तर्राष्ट्रिय महत्त्वको राष्ट्रिय ‘इभेन्ट’ का रूपमा लिइएको प्रस्टै बुझ्न सकिन्थ्यो । सरकार, नागरिक समाज, मिडिया र राष्ट्रिय जीवनका अन्य सबै पक्ष कार्यक्रम सफल बनाउन संलग्न थिए ।

उद्घाटन मन्तव्यका लागि न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सान आमन्त्रित थिए । १९० देशबाट करिब २५०० सय सहभागी भएको चर्चा थियो । २६ देशका त विदेशमन्त्री नै सहभागी भएको चर्चा थियो । थुप्रै देशका पूर्व प्रधानमन्त्री, मन्त्री, बहालवाला वा पूर्व राजदूत, कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय बहुपक्षीय संस्थाका नेतृत्व सहभागी थिए ।

अनौपचारिक क्षेत्र, मिडिया, बौद्धिक जगत र नागरिक सरोकारका अन्य क्षेत्रबाट समेत राम्रै सहभागिता भएको अनुभव गर्न सकिन्थ्यो ।

नेपालबाट कुन विधिबाट के कतिलाई आमन्त्रण थियो, थाहा भएन । परराष्ट्रमन्त्री आरजू राणा देउवा सहभागी र एक सेसनको प्यानलिष्ट थिइन् । प्यानलिष्टको सूचीमा अर्का एक नेपाली राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम थियो ।

कार्यक्रममा २०० जति प्यानलिष्ट र ५० बढी सेसन थिए । ती सबैतिर पुग्न, भ्याउन सम्भव थिएन । सेसन बिहान ९ बजेबाट राति १० बजेसम्म निरन्तर हुन्थे । मैले परराष्ट्रमन्त्री आरजू राणा देउवा सहभागी समेत १२ वटा संवाद सेसन सुने ।

भिडभाडमा चिनेका, भेटेका वा पहिलोपटक चिनजान गरेका सबै अनुहार सम्झिँदा २५ जना जति नेपाली सहभागी थिए होलान् ।

नेपाली कांग्रेस र रास्वपाका सांसद, नेता कार्यकर्ता बढी देखिन्थे । खै किन हो– एमाले–माओवादी, एकीकृत समाजवादीलगायत कम्युनिस्ट घटक केन्द्रित दलका नेता, सांसद वा कार्यकर्ता भने देखिएनन् । पत्रकार, स्तम्भकार, राजनीतिक शास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका विद्यार्थी भने राम्रै सङ्ख्यामा थिए । दिल्लीका विभिन्न विश्वविद्यालयमा पढिरहेका नेपाली विद्यार्थी पनि राम्रै सङ्ख्यामा सहभागी देखिन्थे ।

मलाई पहिलो जिज्ञासा ‘रायसिना’ सँग थियो । यति ठूलो संवाद कार्यक्रमको नाम ‘रायसिना’ शब्द किन ‘ब्रान्डिङ’ गरिएको होला भन्ने उत्सुकता हुने नै भयो । नयाँ दिल्लीमा भारत सरकारका महत्त्वपूर्ण सरकारी निकाय भएको क्षेत्रलाई एकमुस्ट ‘रायसिना हिल’ भनिँदो रहेछ । यसै क्षेत्रमा राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायत कयौँ सरकारी कार्यालय र निकाय रहेछन् ।

सन् १९१२ मा ब्रिटिस ‘आर्किटेक्ट’ हरूले नयाँ दिल्ली क्षेत्रको सहर डिजाइन गर्दा यो क्षेत्र अन्य भागभन्दा अग्लो र उकालो  भएको हुँदा ‘हिल’ भन्ने गरेका रहेछन् । काठमाडौंमा बानेश्वर, कोटेश्वर, चपली आदिलाई ‘हाइट’ भनेजस्तो । अन्यथा रायसिना क्षेत्र ‘हिल’ भन्न पर्ने गरी अग्लो वा उकालो चाहिँ लाग्दैन ।

संवादका विषय मुख्यतः समकालीन विश्व मामिला र परिवेशमा केन्द्रित थिए । थिम– ‘कालचक्रः पिपुल, पिस, प्लानेट’ राखिएको थियो । शीर्षकबाटै प्रस्ट थियो कि संवाद सेसनका सबैजसो विषय मान्छे, विश्वशान्ति र पृथ्वीको भविष्यमाथि केन्द्रित थिए । बहस ‘भूराजनीतिक’ तथा ‘भू-अर्थराजनीतिक’ दृष्टि बिन्दुबाट प्रभावित थिए ।

भारत एक लोकतान्त्रिक मुलुक हुनुको सुविधा बहस कार्यक्रममा प्रस्टै अनुभूत गर्न सकिन्थ्यो । वक्ताका धारणा फरक मात्र हैन, बिलकुलै विपरीत र घोचपेचपूर्ण पनि थिए । तर, त्यस्ता क्षणलाई सबैले स्वाभाविक रूपमा लिइरहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी एक महत्त्वपूर्ण सहयोगी तुलसी गब्बार्ड, जो अहिले अमेरिकी सङ्घीय गुप्तचर संस्था एफबीआई प्रमुख छिन्, ६० वर्षदेखि अमेरिकाले आफ्नो देशलाई नाकाबन्दी गरेर दु:ख दिएको गुनासो गर्ने क्युबाका उपप्रधानमन्त्री इदुआर्दो मर्टिनेज डियाजसम्म प्यानलमा थिए । भारतीय विपक्षी दल कङ्ग्रेसका एक नेता तथा सांसद शशी थरुर पनि एक प्यानलमा थिए ।

बौद्धिक स्वायत्तता वा निष्पक्षता कायम होस् भनेर हो वा किन हो – प्रधाननमन्त्री नरेन्द्र मोदीले रायसिना संवादलाई सम्बोधन गरेनन् । भारत सरकारको तर्फबाट सहभागिता र समन्वय विदेशमन्त्री एस जयशङ्कर र अर्थमन्त्री निर्मला सीतारमणले गरेका थिए ।

हेरिटेज फाउन्डेसन जो अमेरिकी रिपब्लिकन पार्टीको बौद्धिक पृष्ठपोषक मानिन्छ, प्रतिनिधिसँगै बसेर जापानी बुद्धिजीवी अकिराले अमेरिकी नीति र ट्रम्प प्रशासनको चर्को आलोचना गरेका थिए ।

मेरो बुझाइमा समकालीन विश्व परिवेशका १० मुख्य मुद्दाले रायसिना संवादलाई आकार्षित गर्न खोजेको थिए । ती हुन् :

१. युक्रेन–रुस युद्ध

२. हमास–इजरायल युद्ध र अरब जगत्‌को भविष्य

३. हिन्द–प्रशान्त क्षेत्र, क्वाड, ताइवान र दक्षिण चीन सागर तनाव

४. ट्रम्प प्रशासनको पुनरोदन र अनिश्चित विश्व वातावरणको विस्तार

५. शुल्क रणनीति र व्यापार युद्धको सम्भावना

६. ल्याटिन अमेरिका, अफ्रिका, एशियान आदि क्षेत्रको क्षेत्रीय सहकार्यको भविष्य

७.प्रविधि आविष्कार र कृत्रिम बौद्धिकता प्रतिस्पर्धा

८. जलवायु परिवर्तन र अनुकूलनको वित्तीय व्यवस्थापन

९. विश्व अर्थतन्त्रका चुनौती

१०. समकालीन विश्वको सुरक्षा जोखिम र सन्तुलन, भूराजनीतिक अवस्थिति, भूअर्थराजनीतिक सहजता, सैन्य सामर्थ्य र प्रविधिको ‘वेपनाइजेशन’ अर्थात् हतियारकरण

भूराजनीति तथा भूअर्थराजनीतिको सबाल पहिले जल र स्थल क्षेत्रमा केन्द्रित हुन्थ्यो । कुन राष्ट्र कस्तो भौगोलिकता र जलमार्ग सम्बन्धसँग जोडिएको छ, त्यसका सबलता र दुर्बलता, अवसर र चुनौती के हुन् भन्ने प्रश्न मुख्य हुन्थ्यो । यी दुई तत्त्वको महत्त्व अहिले पनि घटेको छैन । तर, सँगसँगै ‘हवाई’ र ‘स्पेस’ (अन्तरिक्ष ) तत्त्वको महत्त्व बढेको यथार्थलाई धेरैले उजागर गरे ।

सुरक्षाका दृष्टिकोणले भू सम्बन्ध, विश्व व्यापारका दृष्टिकोणले जल सम्बन्ध र प्रविधि–रणनीतिका दृष्टिकोणले ‘एअर एन्ड स्पेस’ सम्बन्ध महत्त्वपूर्ण हुँदै गएका धारणा पाइन्थे । डिजिटलाइजेसन् र साइवर स्पेसको महत्वबारे सबैजसो वक्ता सचेत देखिन्थे ।

मार्च १७ को साँझ ढिलो पुगेको कारण हामी सहभागी रजिष्टर्ड हुनु सकेनौं । तसर्थ, उद्घाटन समारोहको परिदृश्य बुझ्न पाइएन । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सानप्रतिका प्रतिक्रिया सुन्दा भारतले हिन्द–प्रशान्त क्षेत्रलाई अझ बढी महत्त्व दिएको अनुभूत गर्न सकिन्थ्यो । उद्घाटन समारोहमा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदी लुक्सानको भाषण सुनेर बसे, आफू बोलेनन् ।

१८ तारिख बिहान हलमा पस्दा तुलसी गब्बार्ड भाषण गर्दै थिइन् । उनी ट्रम्प प्रशासनको बचाउ गर्दै थिइन् । आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिबारे भइरहेका विश्व चर्चालाई छुँदै त्यसको उत्तर दिँदै थिइन् । गब्बार्डको भाषण निक्कै प्रभावशाली थियो । उनले सेसनमा आफ्नो हिन्दु धर्म अभ्यास र भारत आएका पुराना क्षणको समेत चर्चा गरिन् । अर्थात् ‘सांस्कृतिक कूटनीति’लाई पनि छोइन् ।

उनी भन्दै थिइन्, ‘अमेरिका प्रथम भनेको अमेरिका एक्लै भनेको हैन ।’ साथै, उनी युक्रेन र रुससँगको अमेरिकी संवादलाई विश्व शान्तिका लागि इमानदार प्रयासका रूपमा चित्रण गर्दै थिइन् । ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका–भारत सम्बन्धमा कुनै खलल नपुग्ने बरु अझ बलियो हुने आश्वासन दिँदै थिइन् ।

भारतीय विदेशमन्त्री एस.जयशङ्कर सुब्रमन्युमको दृष्टिकोण एक प्रकारले निश्चिन्त र आत्मविश्वासपूर्ण लाग्थ्यो । उनको विचारमा विश्व अहिले ‘अनिश्चिताको दौरान’ मा छ । यो तथ्य स्वीकार गरिसकेपछि ‘अब के हुने हो’ भन्ने चिन्ताभन्दा ‘अब कस्तो प्रयास गर्ने’ भन्ने प्रश्न मुख्य हुन्छ ।

यसर्थ, भौगोलिक अवस्थिति, शुल्क, सैन्य सामर्थ्य, कृत्रिम बौद्धिकता र अन्तरिक्ष अभियानजस्ता तत्त्वको ‘वेपनाइजेसन’ बाट चिन्तित हुनुको साटो त्यसको ‘सही पक्ष’ मा उभिन उचित हुने उनको धारणा थियो । युक्रेन–रुस युद्ध र मध्यपूर्वको समस्याले ओझलमा परेजस्तो भएको दक्षिण चीन सागर तनाव भने संवादमा प्रखर सुनिन्थ्यो ।

क्वाड कमान्डका अमेरिकी, फिलिपिनो, अस्ट्रेलियाली, जापानी र भारतीय जर्नेलहरूको बहस मैले बढो ध्यान दिएर सुने ।

सैनिक युनिफर्ममै यसरी ‘क्वाड कमाण्ड’ नेतृत्व सार्वजनिक मञ्चमा बहसमा आउनु रोचक लाग्यो । सैनिक नेतृत्वले भूराजनीति, क्षेत्रीय र रणनीतिक तनावबारे खुलेआम बहस गरेको दृश्य नेपालीका लागि अनौठो नै हो । यस्तो प्रचलन हामी कहाँ छैन ।

फिलिपिनो, अमेरिकी र जापानी जर्नेलहरू चीनप्रति आक्रामक सुनिन्थे । ती दक्षिण चीन सागरमा कृत्रिम टापु, सुरक्षा बेस क्याम्प र मिसाइल केन्द्र बनाउने चिनियाँ कदमप्रति आपत्ति जनाउँदै थिए । ती भन्दै थिए कि विश्व व्यापारको करिब ६० प्रतिशत जल यातायत यही क्षेत्रबाट हुने हुँदा हिन्द–प्रशान्त क्षेत्रको स्वतन्त्र जलमार्गबारे कुनै सम्झौता गर्न सकिँदैन । त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छौँ भन्ने ती देशका जर्नेलको भनाई थियो । फिलिपिन्स र अमेरिका एक अर्काप्रति विश्वस्त सहकार्यमा रहेको आकलन गर्न सकिन्थ्यो ।

तर, भारत र अस्ट्रेलियाका जर्नेलहरू भने त्यति आक्रामक सुनिएनन् ।

भारतीय प्रविधि वैज्ञानिक तथा सम्बन्धित संस्थाका नेतृत्वदायी व्यक्ति यो भन्दै थिए कि भारतले कृत्रिम बौद्धिकतामा योजनाबद्ध काम गर्न थालिसकेको छ । च्याटजिपिटी र डिपसीकजस्ता एआई मोडेलसँग प्रतिस्पर्धा गर्न सक्ने गरी तिनले भारतीय प्रारूप निर्माण गर्दैछन् ।

डा. ऋतु करिधाल श्रीवास्तवको सेसनमा धेरैको रुचि थियो । चन्द्रयान–३ को सफलतापछि उनलाई भारतमा ‘रकेट–लेडी’ भनिँदो रहेछ । उनी हलमा पस्दा  भारतीय सहभागी र युवायुवतीले जोरजोरले ताली पिटेका थिए ।

जुलाई १४ सन् २०२३ मा पठाइएको भारतको चन्द्रयान–३ चन्द्रमामा सकुशल उत्रेको थियो । र, यो मिसनको नेतृत्व डा. करिधालले गरेकी थिइन् ।

उनी दुनियाँलाई यो बताउने प्रयास गर्दै थिइन् कि स्थल, जल र हवाईजस्तै अन्तरिक्ष पनि अब भूराजनीतिक ‘डोमिन’ को एक तत्त्व हो । अन्तरिक्षमा पहुँच अब महत्त्वपूर्ण र रणनीतिक प्रश्न हो । राष्ट्रहरूबीच अन्तरिक्ष प्रयोगबारे निश्चित समझदारी र सहकार्य हुन जरुरी छ ।

अन्तरिक्ष पहुँचका लागि सरकारी योजना र लगानी पर्याप्त नहुने हुँदा निजी क्षेत्रले समेत यसमा लगानी गर्नुपर्ने उनको धारणा थियो । उनी अन्तरिक्ष पहुँचमा समानता र न्यायको प्रश्न उठाइरहेकी थिइन् ।

‘क्लाइमेट जस्टिस’ को चर्को चर्चा भइरहेको समकालीन विश्वलाई उनी ‘स्पेस जस्टिस’ को विषयमा प्रवेश गर्न सङ्केत गर्दै थिइन् ।

ठीक त्यही दिन सुनिता विलियम्स र बेरी बाल्मोर अन्तरिक्ष केन्द्रबाट ९ महिनापछि सकुशल पृथ्वीमा फर्किएको समाचारले विश्वको ध्यान खिचेको थियो । विश्वभरिकै भूराजनीतिक तथा क्षेत्रीय प्रश्नले विशेष स्थान पाएको कार्यक्रममा सार्कको भने कतै कुनै चर्चा सुनिएन । जबकि आसियान, अरब, ल्याटिन अमेरिका र अफ्रिका केन्द्रित भिन्नाभिन्नै सेसन थिए ।

हुन सक्दछ यही विषयलाई प्रतिस्थापन गर्न अल्पविकसित मुलुकले जलवायु परिवर्तन सङ्कटलाई कसरी अनुकूलन गर्दैछन् भन्ने सेसनमा तीन दक्षिण एसियाली विदेशमन्त्रीहरु प्यानलमा थिए ।

नेपालकी आरजू राणा देउवा, भुटानका डिएन ढुङ्याल र माल्दिभ्सका अब्दुल खलिललगायतको यो सेसनमा साना, अल्पविकसित र ‘ग्लोबल साउथ’ राष्ट्रहरूको वित्तीय अभाव मुख्य गरी उठेको थियो । आरजू राणा देउवाले नेपालले ४५ प्रतिशत जङ्गल जोगाएर विश्वलाई नै वातावरणीय योगदान गरेको भए पनि प्राकृतिक विपद् व्यवस्थापन गर्न वित्तीय स्रोतको अभाव भएको चर्चा गरिन् ।

भुटानी विदेशमन्त्री ढुङ्याल भने ‘नेट जिरो’ र ‘मिनी मल्टिल्याट्रलिज्म’ को अवधारणामाथि जोड दिइरहेका थिए । ‘नेट जिरो’ भुटानलगायत कोमोरसस, सुरिनाम, पनामाजस्ता साना ‘जिरो कार्बन’ वा ‘कार्बन न्युट्रल’ देशहरूको समूह हो जसले एक फरक प्रकारको बहुपक्षीय सहयोग निर्माण गरेका छन, यसलाई ‘मिनी मल्टिल्याट्रलिज्म’ भनिन्छ ।

हेरिटेज फाउन्डेसनसँग जोडिएका वा नजोडिएका त्यस्ता धेरै अमेरिकी प्यानलिष्टहरु थिए, जो ट्रम्प प्रशासनको उदयले तरिका बदलिने तर, जनता, विश्व शान्ति र पृथ्वीको भविष्यलाई कुनै जोखिम उत्पन्न हुनुको साटो अझ बढी सुनिश्चित हुने ठान्दथे ।

दिल्लीमा उत्रिने बित्तिकै एअरपोर्टमै भेटिएका त्यस्तै एक अमेरिकी, जससँग ट्याक्सीमा सँगै होटेलसम्म गएका थियौँ– उनी वासिङ्टनबाट २४ घण्टा लामो सिधा यात्राले थाकेर हैरानी व्यक्त गर्दै भन्दै थिए – हेर्दाहेर्दै धेरै चिज बदली रहेका छन् तर, ती नराम्रा हुन् भनेर अहिल्यै भन्न सकिन्न ।

उनको यो प्रतिक्रिया ट्रम्पको पुनरोदय र उनका पछिल्ला नीतिमा केन्द्रित थियो । क्षणक्षणमा फरकपरक देशका मान्छे भेटिनु, सङ्क्षिप्त नै सही– ती देशका सन्दर्भहरू सुन्न पाउनु आफैमा रोचक अनुभव लाग्थ्यो ।

दक्षिण एसियामा श्रीलङ्काको विद्रोह र राजनीतिक परिवर्तन तथा बङ्गलादेशका घटनाक्रमप्रति औसत सहभागीमा रुचि थियो । अनौपचारिक छलफलमा सहभागीले यिनै कुरा गरिरहेका सुनिन्थे । नेपालको भरखरैको ‘राजावादी प्रदर्शन’ ले भारतीय मिडियामा राम्रै चर्चा पाएको हुँदा चिया समयमा त्यसप्रतिका जिज्ञासा र प्रश्न पनि बाक्लै सुनिन्थे ।

नेपालप्रति रुचि र जानकारी राख्ने केही भारतीय मित्रले ‘संसार अन्तरिक्ष स्टेसनबाट सकुशल यात्री फर्काउँदै छ, तिमेरु राजा फर्काउने बहसमा छौं,’ भन्दै हल्का व्यङ्ग्य गर्न भ्याए । नेपालमा हल्ला गरिएजस्तो दिल्लीमा ‘राजावादी प्रदर्शन’ प्रति कुनै रुचि वा समर्थन भावको छनक पाइँदैनथ्यो ।

‘रायसिना संवाद’ बाहिर मेरो रुचि दिल्ली राजनीतिमा आएको परिवर्तन थियो । सन् २०१९ को दिल्ली चुनावको केही दिन म त्यहाँ थिए । धेरै सर्वसाधारणसँग भेटघाट र कुराकानी गर्न पाइएको थियो । आप र केजरीवालको उदयको आधारलाई बुझ्न सजिलो भएको थियो । यसपटक अधोगतिको कारण बुझ्नु थियो । तर, समयको चापले त्यस्तो धेरै अवसर मिलेन ।

तर, कार्यक्रम स्थल र आवासबीच प्रयोग गरिने ट्याक्सी ड्राइभारबाट दिल्ली राजनीतिबारे केही सुन्ने प्रयास गरियो ।

५ दिनमा ८ वटा ट्याक्सी प्रयोग गरिएछ । तिनको कुरा सुन्दा– आम आदमी पार्टी र अरविन्द केजरीवालको पराजयमा ती खुशी देखिन्थे । ८ मध्ये १ जनाले मात्र ‘आप’ लाई भोट दिएको तर, हारेकोमा आफूलाई कुनै अनौठो नलागेको कुरा गरे । ती भन्दै थिए–‘बन्दे जैसा आया, वैसा गए, सबको एक दिन जाना ही हे, मैने तो भोट दिया था, लेकिन उससे क्या होगा ।’

अधिकांशको भनाइ थियो कि अरविन्द केजरीवालको हार स्वाभाविक थियो । किनकि उनले ‘हिप्पोक्रेट’ चरित्र देखाए । मुखले उनले सधैँ ‘कट्टर इमानदार’ को भाषण गरे । तर, उनले केही त्यस्ता काम पनि गरे, जो उनको राजनीतिक सुरुवात र पार्टी स्थापनाको उद्देश्य विपरीत थियो । एक अर्का ट्याक्सी चालक भन्दै थिए–‘ केजरीवालले जनताका सेन्टिमेन्टल एक्सप्लोइट किया, यसी चक्करमा दिल्लीका १० साल बरबाद हुवा ।’

दिल्लीमा ट्याक्सी ड्राइभर यसपालि बढो भद्र र स्मार्ट लागे । कुरा कोट्याउने बित्तिकै ती फट्ट देशको स्थिति बताउन थाल्थे ।

निःशुल्क बिजुली, पानी, महिलालाई नगर बसमा भाँडा नलाग्ने, महल्ला क्लिनिक र सार्वजनिक स्कुल सुधारका मुद्दाले मात्र अब दिल्लीका मतदाता आकर्षित हुन छोडेका थिए । मान्छेले भौतिक पूर्वाधार सुधार, आर्थिक विकास, आय वृद्धि र रोजगार अवसरजस्ता ठूला कुरा खोज्न थालेका थिए, तर केजरीवाल भने साना कुरामै सधैँ अल्झेर बसेको तिनको गुनासो थियो ।

कतिपयले त भ्रष्टाचार र शिश महल काण्डमा केजरीवाललाई गाली गर्न समेत भ्याए । केजरीवाल सोचजस्तो इमानदार सिद्ध नभएको तिनको आरोप थियो ।

यसपटकको रायसिना संवादले भारतको बढ्दो आत्मविश्वासलाई प्रकट गर्दथ्यो । विश्वभरिबाट त्यति धेरै ‘हाई प्रोफाइल’ सहभागी भएको कार्यक्रममा अनावश्यक तामझामपूर्ण ‘भीआईपी ट्रिट’ वा सेना प्रहरीको विशेष सुरक्षा तैनाथी कतै केही देखिँदैनथ्यो । यस्तो लाग्थ्यो–होटेलमा कुनै एनजिओको कार्यक्रम भइरहेको छ । भारतीय भिआइपीहरू पनि अन्य सहभागी सरह यताउति गरिरहेका देखिन्थे ।

रायसिना संवादका भाग लिएर फर्किदा लाग्यो– राष्ट्रको प्रतिष्ठा वृद्धि, अन्तर्राष्ट्रिय पहुँच, समकालीन विश्व परिवेशको आकलन तथा विश्लेषण र समुचित रणनीति निर्माणमा सहयोगजस्ता कारणले एउटा यस्तो कार्यक्रम गर्नु उचित नै हुने रहेछ ।

तर, हचुवाको भरमा आयोजना गर्नु भन्दा त्यसको विषयवस्तु, वक्ता, सहभागिता, सुरक्षा अन्य व्यवस्थापनजस्ता गुणस्तर पक्षमा ध्यान दिन आवश्यक रहेछ । नेपालमा ‘सगरमाथा संवाद’ आयोजना गर्ने प्रयास भइरहेको सन्दर्भमा रायसिना अनुभवबाट पनि केही सिक्न उचित होला !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register