बिजुली नहुँदा बिचल्लीमा मजदुर, रोजीरोटी गुम्ने चिन्ता

सुनसरी । सुनसरीस्थित नेपालकै एक ठूलो कपास धागो उत्पादक उद्योग रिलायन्स स्पिनिङ मिल्समा नियमित बिजुली नहुँदा त्यहाँ काम गर्ने मजदुरहरूले सास्ती भोग्नु परेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विवादमा उद्योगको लाइन काटेपछि कामदारहरू मारमा परेका हुन् । उद्योगमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् जाने गरेको थियो । तर केही दिनयता भारतले थप […]

Mar 31, 2025 - 06:11
 0
बिजुली नहुँदा बिचल्लीमा मजदुर, रोजीरोटी गुम्ने चिन्ता

सुनसरी । सुनसरीस्थित नेपालकै एक ठूलो कपास धागो उत्पादक उद्योग रिलायन्स स्पिनिङ मिल्समा नियमित बिजुली नहुँदा त्यहाँ काम गर्ने मजदुरहरूले सास्ती भोग्नु परेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता विवादमा उद्योगको लाइन काटेपछि कामदारहरू मारमा परेका हुन् ।

उद्योगमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् जाने गरेको थियो । तर केही दिनयता भारतले थप विद्युत् नेपाललाई दिने भएपछि यसअघि १२ घण्टासम्म हुने गरेको लोडसेडिङ घटेर ५ घण्टामा झरेको रिलायन्सका कार्यकारी अधिकृत महेश पोखरेलले जानकारी दिए । ‘लोडसेडिङ घटेर १२ घण्टाबाट ५ घण्टामा झरेको छ । तर त्यसले पनि अझैँ समस्या समाधान हुन सकेको छैन,’ पोखरेलले नेपालभ्युजसँग भने ।

हाल उद्योगमा चार हजार कर्मचारी कार्यरत छन् । जसमध्ये करिब दुई हजार कर्मचारी उद्योगमै बनाइएको आवास गृहमा बस्दै आइरहेको र नियमित बिजुली नहुँदा उनीहरू मारमा परेको उद्योगका कर्मचारी परशुराम चौधरी बताउँछन् । उनका अनुसार उद्योगमा दिउँसो पनि समय समयमा बिजुली जाने हुँदा थप समस्या उत्पन्न भएको छ ।

 रोजीरोटी गुम्ने चिन्ता

करिब दुई दशक लामो समयदेखि रिलायन्स स्पिनिङमा कार्यरत रहेका उनी आफैँ अहिले कहाँ जाऊँ के गरौँ भन्ने अवस्थामा पुगिसकेको बताउँछन् । ‘साँझ पर्ने बित्तिकैदेखि लाइन जान्छ । न पानी छ न बत्ती, बिजोग भइसक्यो,’ चौधरी भन्छन्, ‘मैले काम थालेको २२ वर्ष भयो । म त अब विस्थापित हुने अवस्थामा पुगिसकेँ अरू जुनियर कर्मचारीको हालत त झन् के होला ?’

करिब डेढ महिनादेखि यो समस्या रहेको उनको भनाइ छ । काम नभएकाले तलब पनि नहुने उनको गुनासो छ ।

आवास गृहमा बस्ने कामदारहरूका कतिपय बच्चाहरूले यस वर्ष एसईई परीक्षा दिएका छन् । तर, उनीहरूले एसईई चलिरहँदा पनि रातको समयमा पढ्न नपाएको उद्योगका अर्का कर्मचारी उमेश आचार्य बताउँछन् ।

कामदारका लागि बनाइएको आवास गृह

‘यहाँ त बिजोग छ, बच्चाहरूले रातको समयमा पढ्न पाउँदैनन् पूरै अन्धकार हुन्छ । एसईई दिने बच्चाहरू छन्, उनीहरूले पनि पढ्न पाएनन्,’ आचार्य सुनाउँछन् ।
उद्योगमा भएको पुरानो जेनरेटर पनि बिग्रिएपछि बिजुली नहुँदा उद्योगमा पानी पनि नभएको भन्दै आचार्य प्रश्न गर्छन्, ‘अब कसरी बाँच्ने हामी ?’

उनले २० वर्षदेखि रिलायन्स स्पिनिङमा काम गर्दै आइरहेका छन् । पुराना कर्मचारी भएको कारण पनि उनलाई उद्योगको बारेमा धेरै थाहा छ । उद्योगबाट पाउनुपर्ने सुविधाहरू पनि भरपुर उनले पाएका थिए । तर, अब उद्योगमा उत्पादन घटेको कारण उनको सेवा सुविधा पनि कटौती भएको छ ।

आचार्यका अनुसार उद्योगमा काम गर्ने उनीजस्तै धेरै कर्मचारीको सेवा सुविधा कटौती भएको छ । त्यति मात्र नभएर उद्योगले नयाँ नयाँ कामदारहरूलाई पनि हटाउने काम गरिरहेको छ ।

धागोभन्दा बलियो नाता : रिलायन्स-श्रमिकको अटुट सम्बन्ध, कसरी बन्यो मजदुरको घर कारखाना ?

‘हरेक वर्ष कम्पनीले हामीलाई नाफाको १० प्रतिशत दिन्थ्यो, तर यो पाली हामीले पाएनौँ । पहिला ३ सिफ्टमा हुने काम अहिले एक सिफ्टमा मात्र हुन्छ,’ उद्योगका कर्मचारी आचार्यले भने, ‘कतिपय मजदुर कटौती गरिसक्यो । कोही बिदामा छन् । कोही लाइन आएपछि काम गर्नुपर्छ भनेर स्टकमा छन् । काम छैन, बिजोग छ ।’

उनकै भनाइमा समर्थन जनाउँदै अर्का कर्मचारी चौधरीले पनि बोनस पाउन छाडेको गुनासो गरेका छन् । उनी भन्छन्, ‘पोहोर परार त बोनस पनि टन्नै आउँथ्यो, तर अहिले काम नै हुँदैन । दिनमा दुई तीन घण्टा मात्र काम हुन्छ । अहिले न  तलब न बोनस् ।’

उद्योगमा उत्पादित धागो

उद्योगको अन्धकारबाट डराएका महिला कामदार

हाल उद्योगको आवास गृहमा बसोबास गर्ने करिब १६ सय महिला कामदार रहेका छन् । आवास गृहमा बसोबास गर्ने मनीषा बजगाई्ं साँझ पर्ने बित्तिकै बत्ती जाने उद्योगको अन्धकारमय जीवन बिताउनु परेको गुनासो गर्छिन् ।

उद्योगमै काम गरेर परिवार पालिरहेकी मनीषा भन्छिन्, ‘साँझ पर्ने बित्तिकै बत्ती हुँदैन । राती यताउता हिँड्न पनि डरैमर्दाे हुन्छ । हातमुख जोड्ने बाटो यही हो, यहाँको हालत यस्तो छ । अब के गर्ने थाहा छैन ।’

उनी काम छाडेर विदेश जाने सोच आए पनि  सोचेजस्तो सजिलो नभएको बताउँछिन् । प्राधिकरणले लाइन काटेर उद्योग मात्र नभएर हजारौँ श्रमिकको रोजीरोटी खोसेको उनको आरोप छ ।

‘उनीहरूलाई जे गरे पनि हुन्छ । जसले जता जे गरे पनि दुःख पाउने त हामी जनताले नै हौ । कसलाई मतलब छ हाम्रो ?,’ उनको प्रश्न छ, ‘हामी श्रम गरेर खानेको बिचल्ली बनाएर के पाउँछन् ?’

सियो नबन्ने देशमा धागो उद्योगको तरक्की, ४ हजारलाई जागिर दिएको ‘रिलायन्स स्पिनिङ मिल्स’ आईपीओमार्फत् जनतामाझ जोडिँदै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register