विशाल ग्रुपको बदमासी : कानुन मिचेर ल्याकटोज मिल्क बजारमा

काठमाडौं । आमाको दूधको सट्टामा बच्चालाई खुवाउन प्रयोग हुने वस्तु कानुन मिचेर खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंको सूचनालाई समेत अटेर गर्दै नेपाली भाषामा लेबल नै नगरी भाटभटेनी र बिगमार्ट जस्ता सुपर मार्केटमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री भइरहेको हो । सबैभन्दा बढी बहुराष्ट्रिय कम्पनीको डिस्ट्रिब्युटर रहेको विशाल ग्रुपको आफ्नै वितरक […]

Apr 6, 2025 - 10:00
 0
विशाल ग्रुपको बदमासी : कानुन मिचेर ल्याकटोज मिल्क बजारमा

काठमाडौं । आमाको दूधको सट्टामा बच्चालाई खुवाउन प्रयोग हुने वस्तु कानुन मिचेर खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंको सूचनालाई समेत अटेर गर्दै नेपाली भाषामा लेबल नै नगरी भाटभटेनी र बिगमार्ट जस्ता सुपर मार्केटमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री भइरहेको हो ।

सबैभन्दा बढी बहुराष्ट्रिय कम्पनीको डिस्ट्रिब्युटर रहेको विशाल ग्रुपको आफ्नै वितरक कम्पनी हो इन्डेक्स डिस्ट्रिब्युटर प्राली । जसले उत्पादन तथा वितरण गरिरहेको “एसएमए प्रो, ब्रेस्ट मिल्क सब्स्टीच्युट, ४०० ग्राम” नामको आमाको दूधको सट्टामा प्रयोग हुने वस्तु सहरका सानादेखि ठूलासम्मका मार्टहरूमा पाइन्छ । यसको उत्पादन आयरल्यान्डमा हुन्छ । जुन वस्तु नेपाली बजारमा बिक्री गर्न पाइन्छ, तर विदेशमा उत्पादन भएर आउने भएकाले त्यसका लागि व्यवस्था गरिएको कानुनलाई पनि पालन गर्नुपर्ने हुन्छ ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन २०४९ ले कुनै पनि विदेशी उत्पादनलाई नेपाली बजारमा बिक्री वितरण गर्नका लागि मापदण्ड तोकेरै कानुनको व्यवस्था गरेको छ । ऐनको दफा ११ ले यस्ता वस्तु विदेशी भएको वा अङ्ग्रेजीमा भएको अवस्थामा त्यसमा नेपाली लेबल लगाउनु पर्ने स्पष्ट कानुनी व्यवस्था गरेको छ ।

तर विशाल ग्रुपअन्तर्गतको इन्डेक्स डिस्ट्रिब्युटर प्रालीले विदेशमा उत्पादन गरी नेपालमा वितरण गरिरहेको यो उत्पादनमा आवश्यक पर्ने नेपाली भाषाको लेबल लगाइएको हुँदैन ।

कतिसम्म भने कम्पनीले सरकारी निकायबाट स्वीकृति लिँदा नेपालकै कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेको देखिन्छ । स्वीकृति लिनका लागि दिइएको सामग्रीमा ऐन अनुसार नै नेपाली भाषामा स्पष्ट लेबलिङ गरिएको छ । तर, बजारमा सोही सामग्री अङ्ग्रेजी र अन्य भाषामा मात्र लेखेको पाइन्छ ।

वाणिज्य आपूर्ति र उपभोक्ता हित संरक्षण विभागको सिस्टममा ईन्डेक्स डिष्ट्रिव्युटर्सका नेपालमा बिक्री वितरण भइरहेका सबै सामग्रीहरू कानुनी प्रक्रिया पूरा गरेर दर्ता गरेको पाइएको छ ।  विभागमा बुझाइएको लेबल विनै कम्पनीले उत्पादन बिक्री गरिरहेको छ ।  हेर्नुहोस् तस्वीर।

सहरका ठूला मार्टहरूमा सरकारले अनुगमन गरिरहेको पाइँदैन । तर साना पसलहरूमा बेला मौकामा हुने अनुगमनका क्रममा यस्ता त्रुटिहरू प्रशस्तै भेटिरहेका हुन्छन् । अनुगमनको केही समयपछि त्यसमा रोक लगाउन सरकारले निर्देशन जारी गरे पनि पूर्णतया कार्यान्वयन भने भइरहेको हुँदैन ।

त्यसको एउटा उदाहरण जनस्वास्थ्य कार्यालय काठमाडौंले गत पुस महिनाको अन्तिममा मात्रै काठमाडौंका बानेश्वर, टेकुलगायत क्षेत्रमा अनुगमन गरेको थियो । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वर, टेकु र आसपासका पसलहरूमा अनुगमन गर्दा कानुन विपरीत यस्ता वस्तुको विक्रीका लागि राखिएको बताएका थिए । सानातिना पसलहरूमा गरेको अनुगमनका क्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण सही ढङ्गले नभइरहेको भन्दै बिक्री वितरणमा नै रोक लगाएको थियो ।

कतिसम्म भने सम्बन्धित निकायमा निवेदन परेर सार्वजनिक सूचना जारी हुँदासमेत विशाल ग्रुपअन्तर्गतको वितरक कम्पनी इन्डेक्स डिस्ट्रिब्युटरले कानुन पालन गर्न अटेर गरिरहेको छ ।

सरकारले रोक लगाउन निर्देशन दिँदा पनि काठमाडौं उपत्यकाका सुपर मार्केटमा नेपाली भाषाका लेबलविनै शिशुका लागि दुग्ध पदार्थ डिस्प्लेमा राखिएको भन्दै उपभोक्ता अधिकारकर्मी बन्दना श्रेष्ठले सम्बन्धित निकायहरूमा निवेदन दिएकी थिइनन् ।

कानुनको अवज्ञा गर्दै त्यस्ता वस्तुको विक्री वितरण भइरहेको भन्दै श्रेष्ठले चैत १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आवश्यक कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् । श्रेष्ठले चैत्र १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति र उपभोक्ता हित संरक्षण विभागमा निवेदन दिएकी थिइन् ।

उक्त निवेदन परेको दुई दिनपछि चैत १४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको लेबल राख्नेसम्बन्धी जरुरी सूचना पनि जारी गरेको थियो । उक्त सूचनामा विभागले चैत २० गतेभित्र सबै वस्तुमा लेबल लगाउनु पर्ने र अन्यथा कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

नेपालको संविधानको धारा ४४ को उपभोक्ताको हक र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अङ्ग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था रहेको विभागले सूचनामा स्मरण गराएको छ । “सोही ऐनको दफा २१ बमोजिम वस्तु वा सेवाको मापदण्ड निर्धारण गर्ने मार्गदर्शनको परिधिभित्र रहेर संवत् २०८१ साल चैत २० गतेभित्र स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तुमा भए पैठारीकर्ताले लेबलमा उल्लेखित निम्न विवरण खुल्ने गरी बजारमा विक्री वितरणमा पठाउनुअघि अनिवार्य रूपमा तयारी माल वस्तुमा लेबल लगाउनु हुन सम्पूर्ण उत्पादक, पैठारीकर्ता, व्यवसायी लगायत सरोकारवालालाई यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

साथै, विभागले अगाडि लेखेको छ, “यो सूचनाको बेवास्ता वा अटेर वा बर्खिलाप गरी लेबल विनाका वस्तुहरू बजारमा विक्री वितरण प्रयोजनका लागी राखिएको भेटिएमा प्रचलित कानुन बमोजिम भई जाने ब्यहोरा समेत सम्बन्धित सबैको लागी जानकारी गराइन्छ ।”

विभागका निर्देशक डिकबहादुर कार्कीले जारी गरेको सूचनाअनुसार उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य, गुणस्तर निर्धारण भएको वस्तु भए वस्तुको गुणस्तर,  मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिन्हको प्रयोग  र ऐनको दफा ६ को उपदफा २ बमोजिमका बाँकी अन्य कुराहरू वस्तुमा आकर्षित भए सो समेत राख्न भनिएको छ ।

तर विभागले मिति तोकेको तीन दिन समय बितिसक्दा पनि कम्पनीले निर्देशनलाई अटेर गरिरहेको छ । बिक्रेता भाटभटेनी सुपर मार्केटले पनि बिक्री गरिरहेको वस्तुमा मूल्य उल्लेखित ट्यागबाहेक ऐनअनुसार आवश्यक प्रक्रियामा ध्यान दिएको देखिँदैन । हेर्नुहोस् तस्वीर।

लेवलमा केके लेखिएको हुनुपर्छ ?

ऐनको दफा ११ को उपदफा ६ अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा यो ऐनको परिधिभित्र पर्ने अन्य दुग्ध पदार्थको भाँडोमा वा भाँडाबाट छुटिन नसक्ने लेवलमा नेपाली भाषामा सफा, स्पष्ट एवम् सजिलै बुझ्न सकिने गरी सन्देश छापिएको हुनुपर्ने भनिएको छ ।

जसमा “बच्चाहरूको लागि आमाको दूध सबैभन्दा असल दूध हो” भन्ने ब्यहोरा, “आवश्यकता र प्रयोग गर्ने तरिका”, “चिकित्सकको सल्लाहबिना उत्पादन र प्रयोग गर्न नहुने ब्यहोरा” लगायत स्पष्ट रूपमा छापिएको हुनुपर्दछ ।

यी बाहेक पनि उपदफा ७, ८, ९, १० र ११ मा मानवीकरण, जननीकरण वा सोही किसिमको शब्दहरूको प्रयोग गर्न नपाइने, चिकित्सकको सल्लाहबिना बच्चालाई खुवाउन नहुने, गुलियो पारेको जमाएको दूधको लेवलमा यी बच्चाहरूलाई खुवाउनका लागि प्रयोग गरिनु हुँदैन भन्ने सफा र स्पष्ट चेतावनी दिइएको छ ।

त्यस्तै, ब्याच सङ्ख्या, सञ्चय स्थिति उत्पादन मिति र मौसमी अवस्थालाई विचार गरी उत्पादन र उपभोग गरिसक्नुपर्ने मिति, दूधदानी र मुन्टोको लेवलमा उत्पादक तथा वितरकको नाम र ठेगानाको अतिरिक्त सिसीबाट खुवाउनुभन्दा कचौरा र चम्चाको प्रयोगबाट खुवाउनु उत्तम हुन्छ लेखिनुपर्ने उल्लेख छ । तर ईन्डेक्स डिष्ट्रिव्युटर्सले यीमध्ये कुनै पनि कानुन पालना गरेको पाइदैन् ।

के छ सजाय?

ऐन अनुसार दफा ८ को उपदफा ४, ५ वा ६ उल्लङ्घन गर्ने स्वास्थ्य कार्यकर्तालाई एक हजार जरिवाना वा एक महिना कैद वा दुवै सजाय हुनसक्छ । दफा ९ को उपदफा १, ४, ५, ७, ८, ९, १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई १० हजारसम्म जरिवाना वा तीन महिना कैद या दुवै सजाय हुनसक्छ ।

त्यस्तै, दफा १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई १५ हजार जरिवाना चार महिना कैद वा दुवै सजाय र उपदफा १, २ वा ३ मा लेखिए बाहेक यो ऐनका अन्य प्रावधानहरू वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी दुई हजार जरिवाना वा एक महिना कैद वा दुवै सजाय हुनसक्छ ।

तत्काल अनुगमन गर्ने मन्त्रालयको आश्वासन

यस विषयमा परेको निवेदनबारे कुनै जानकारी नभएको स्वास्थ्य मन्त्रालयको  गुनासो डेस्कका अधिकारीहरूले बताए । निवेदनको परेर विभागबाट सूचना समेत जारी भइसकेकोव विषय अवगत गराएपछि मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. भीम प्रसाद सापकोटा गुनासो ल्याउने व्यक्तिलाई धन्यवाद दिँदै आफूहरू तत्कालै फिल्डमा अनुगमनका लागि खटिने बताए ।

भीमप्रसाद सापकोटा, स्वास्थ्य समन्वय महाशाखा प्रमुख (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)

 ‘अब मन्त्रालयको डेस्क एक्टीभ हुन्छ । डेस्कले सम्बन्धित व्यवसायीलाई पत्राचार गर्ने, फिल्डमै अनुगमनमा जाने र आवश्यक कारबाही गर्छौँ,’ उनले भने । सम्बन्धित व्यवसायीहरूले पनि देशको कानुनलाई ध्यानमा राख्दै विदेशी वस्तु बिक्री वितरण गर्नुपर्ने उनको भनाइ छ । उनले कानुन मिचेर व्यापार व्यवसाय गरेको भेटिएमा मन्त्रालयले तुरुन्तै कारबाही गर्ने समेत बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register