रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई जिल्ला अदालत, काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौ जिल्ला अदालतका न्यायाधीश इश्वरी प्रसादको इजलासले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको […]

Apr 27, 2025 - 15:59
 0
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई जिल्ला अदालत, काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौ जिल्ला अदालतका न्यायाधीश इश्वरी प्रसादको इजलासले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि सरकारी वकिलहरूले मिश्र र प्रसाईंलाई २० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति मागेका थिए। वैशाख १० गते अदालतले तीन दिनको म्याद थप गर्दै मिश्रको बयान सकिएको र प्रसाईंको बयान जारी रहेको उल्लेख गरेको थियो। साथै, थप प्रमाण नभए तीन दिनभित्र उनीहरूलाई तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो।

तर, प्रहरीले थप अनुसन्धान गर्नुपर्ने विषयहरू बाँकी नै रहेको भन्दै पुनः म्याद थपको माग गरेको थियो। अदालतमा भएको सुनुवाइका क्रममा मिश्रले प्रहरीले आफ्नै अगाडि अश्रुग्यास प्रहार गर्दा नवराज सुवेदी घाइते भएपछि आफू आवेगमा आएको बताएका थिए। यद्यपि, उनले ढुंगामुढा वा तोडफोड गर्न आफूले कसैलाई पनि नभनेको दाबी गरेका थिए।

यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै कम दिनको म्याद थप गरेको थियो। उनीहरूले स्वास्थ्यको कारण देखाउँदै हाजिर जमानतमा रिहा गर्न माग गर्दै अदालतमा निवेदन पनि दिएका थिए।

यसै घटनामा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर राणालाई भने प्रहरीले स्वास्थ्यको कारण देखाउँदै एक साताअघि रिहा गरिसकेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register