चौथाइवालेको चिन्ता मस्जिद, मदरसा र मिसनरीमा, ओलीको चासो निमन्त्रणामा

चौथाइवाले विदेशमन्त्री एस. जयशंकरको दूत बनेर राज्यमन्त्रीस्तरीय सुविधासहित 'पहलागम आतंकवादी हमलाको सन्दर्भ पारेर नेपालमा भइरहेका धार्मिक गतिविधिबारे जानकारी गराउने र नेपालको राजनीतिक अवस्थाबारे बुझ्ने' असाइनमेन्टसहित काठमाडौं आइपुगेका थिए ।

May 4, 2025 - 14:19
 0
चौथाइवालेको चिन्ता मस्जिद, मदरसा र मिसनरीमा, ओलीको चासो निमन्त्रणामा

काठमाडौं । सत्ता गठबन्धनभित्र चर्किरहेको असन्तुष्टि र सरकार परिवर्तनको हल्लाका बिच भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले अकस्मात् तीन दिने भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका थिए ।

देउवा बैंककमा रहँदा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत उनी फर्किए लगत्तै सत्ता समीकरण परिवर्तनका लागि छलफल हुने बताएको थियो । देउवाले भने एमालेसँगको गठबन्धनमा कुनै समस्या नरहेको र समीकरण कायमै राख्ने विश्वास ओलीलाई फोनमार्फत नै गराइसकेका थिए । त्यसको पाँच दिनपछि वैशाख १७ मा भारतीय विदेशमन्त्री एस. जयशंकरको विशेष दूतका रूपमा नेपाल आएका चौथाइवालेले एमालेलाई झस्काउने गरी भेटघाटको सुरुवात गरिदिए ।

नेपाल बसाइका दौरान उनले विभिन्न राजनीतिक दलका डेढ दर्जन नेतालाई भेट गर्दै शुक्रवार स्वदेश फर्किसकेका छन् । भेटका क्रममा उनले नेपालको आन्तरिक राजनीतिबारे आफ्ना जिज्ञासाहरू राखे भने सीमावर्ती क्षेत्रका मदरसा र इसाई मिसनरीका गतिविधिबारे विशेष चिन्ता प्रकट गरेका थिए ।

देउवासँगै भेट्न आरजुले सारेकी थिइन् भेटको समय

कार्यतालिका अनुसार चौथाइवालेको राजनीतिक भेटको सुरुवात परराष्ट्रमन्त्री राणासँग सिंहदरबारमा गर्ने तय थियो । तर परराष्ट्रमन्त्री राणाले चौथाइवाले मन्त्रालयमा नभएर घरमै भेट्ने जानकारी दिएपछि कार्यतालिका परिवर्तन भयो ।

काठमाडौंस्थित भारतीय राजदूतावासले बनाएको

चौथाइवाले र काङ्ग्रेस सभापतिबीच वान टू वान भेटवार्ताको कार्यतालिका परराष्ट्रमन्त्री राणाको कारण परिवर्तन हुन पुग्यो । चौथाइवालेको भ्रमणको संयोजन गरिरहेका भारतीय राजदूतावासका प्रमुख सचिव साहिल कुमारलाई कार्यतालिका फेरबदलको तनाव आइपर्‍यो । परराष्ट्रमन्त्री राणालाई देउवाले केही बोलिदिएर आफ्ना राखीवाला भाइको चित्त दुखाइदेलान् भन्ने पिर रहेछ । दूतावासले कूटनीतिक प्रोटोकल अनुसार तय गरेको कार्यतालिका राणाकै कारण अनौपचारिक बनाउने परिस्थिति आइलाग्यो ।

चौथाइवालेसँगको भेटमा काङ्ग्रेस सभापति देउवा कमै बोले । उक्त भेटमा परराष्ट्रमन्त्री राणा नै धेरै बोलिन् । चौथाइवालेले एमालेसँगको गठबन्धन सम्बन्धका सवालमा जिज्ञासा राखेका थिए । उक्त विषयमा देउवाले जवाफ दिएनन् । त्यस विषयमा राणाले ब्रिफिङ गरेकी थिइन् । ‘एमालेसँगको सम्बन्ध ठीकठाक छ । सार्वजनिक मञ्चमा काङ्ग्रेसभित्रैबाट उठेका प्रश्नहरू व्यक्तिगत हुन् ।’

देउवासँग एकल सवाल जवाफ गर्न चाहेका थिए चौथाइवालेले त्यसका लागि उनीसँग केही प्रश्न पनि थिए । तर उक्त प्रश्न सोध्ने मौका उनले पाएनन् ।

त्यसपछि उनले सरकारको चर्को आलोचना र विरोध गरिरहेका काङ्ग्रेस नेता शेखर कोइरालासँग डिनर सहितको भेट गरे ।

सरकार परिवर्तनको अफवाह चलिरहेकै बखत चौथाइवालेले म्याराथन शैलीमा भेटघाटलाई निरन्तरता दिए । गृहमन्त्री रमेश लेखकबाट राजनीतिक भेटघाटको सुरुवात गरेका चौथाइवालेले, काङ्ग्रेस सभापति देउवा, परराष्ट्रमन्त्री राणा, सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रमा रह का महामन्त्री गगन थापा, र सरकारको प्रखर आलोचक काङ्ग्रेस नेतासँग भेट टुङ्ग्याए । पहिलो दिनको भेट सत्ता साझेदार दलका नेतासँग गरेका उनले दोस्रो दिनको भेटमा सत्ता नेतृत्वकर्ता एमालेलाई थप सशङ्कित गराउने किसिमले गरिदिए । दोस्रो दिन उनले प्रतिपक्षी दलका नेतासँग मात्रै भेट गरे ।

ओलीले बोलाएको बैठक छाडेर चौथाइवालेसँग प्रचण्डको भेट

चौथाइवालेले दोस्रो दिन प्रतिपक्षी दलका नेताहरूलाई मात्रै भेटे । दोस्रो दिनको भेटघाटको सुरुवात उनले एकीकृत समाजवादीका नेता माधव नेपालको निवासबाट सुरु गरे । त्यसपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका थिए ।  प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताको बैठक नै छोडेर प्रचण्ड चौथाइवालेसँगको भेटमा बसे ।

चौथाइवालेसँग भेटघाट चलिरहेकै बेला प्रधानमन्त्री ओलीका तर्फबाट उनको सचिवालय र सत्ता साझेदार दल काङ्ग्रेस सभापति देउवाले प्रचण्डलाई तारनतार फोन गरे । उच्च स्रोतका अनुसार प्रचण्डले देउवाको फोन उठाए । तीन दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे वार्ता थियो । अघिल्लो पटक पनि तीन दलका शीर्ष नेताको बैठक राखे लगत्तैको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई बर्खास्त गरिदिएका थिए । यसपटक पनि यस्तै केही हुनसक्ने आशङ्का सहित प्रचण्ड बैठकमा जान अनिच्छुक देखिएन । देउवाको फोन रिसिभ गर्दै प्रचण्डले भनिदिए, ‘साक्षी बस्नका लागि म आउँदिन ।’

प्रधानमन्त्री ओलीकै सचिवालयमा रहेका नेता अग्नि खरेल लगायतले फोन गरिरहे । तर, प्रचण्डले फोन उठाएनन् । सरकार ढाल्ने प्रचार गरिरहेका प्रचण्ड शीर्षस्थ नेताकै बैठक स्थगित गरेर भारतीय नेतासँग भेटमा बस्दा सत्तारूढ दलभित्र बेचैनी स्वाभाविक थियो ।

प्रचण्डसँगको भेटपछि चौथाइवालेले काङ्ग्रेसकै  नेताहरू महामन्त्री गगन थापा, उदय शमशेर राणा, माओवादी नेताहरू उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनसँग भेट गरे । लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग होटेल मेरियट्समा नै भेट गरे । उपेन्द्र यादव दिल्लीमै भएकाले चौथाइवालेले उतै भेट गरिसकेका थिए । चौथाइवाले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । चौथाइवालेले दोस्रो दिनको भेट साँझको डिनरसहित काङ्ग्रेस नेता एनपी साउदको घरमा बिट मारे ।

जाँदाजाँदै बाटोमै भेटे शंकर पोखरेललाई

तेस्रो दिन बिहान  सबैभन्दा पहिले उनले एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित मन्त्रालयमा नै पुगेर गरे  । तीन दिने भ्रमणको अन्तिम दिन चौथाइवालेले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेसँग आफैँ बसिरहेको होटेल मेरियट्समा भेट गरे ।

अरू दलको तुलनामा  चौथाइवालेले एमालेका कम नेतालाई भेटेका थिए । मेरियट्सबाट भारतीय दूतावाससँग बिदाबारी भएर निस्किएका चौथाइवालेले एमाले महासचिव पोखरेललाई विमानस्थल जाने बाटो पर्ने होटेल द्वारिकामा बोलाए ।  पोखरेल पनि तत् समयमा पुगे । पोखरेलसँगको भेटसँगै उनले राजनीतिक भेटघाट सकाएर स्वदेश फर्किए ।

चिन्ता धार्मिक आतंकवादको, चासो राजनीतिको

चौथाइवाले निकट उच्च स्रोतका अनुसार उनी ‘भारतको पहलागमा भएको आतंकवादी हमलाको विषयलाई जोडेर नेपालमा भइरहेका धार्मिक गतिविधिबारे जानकारी गराउने र नेपालको राजनीतिक अवस्थाबारे बुझ्ने’ जिम्मेवारीसहित  काठमाडौं आइपुगेका थिए ।

भारतीय विदेशमन्त्री एस. जयशंकरका अनौपचारिक दूत बनेर आएका चौथाइवालेले करिब डेढ दर्जनभन्दा बढी नेताहरूसँगको भेटमा नेपालको राजनीतिबारे धारणाभन्दा बढी जिज्ञासा राखेका थिए । सरकार फेरबदल, सत्ता गठबन्धनभित्रका असन्तुष्टि, राजावादीहरूको आन्दोलनलगायत विषयमा उनले सामान्य जवाफ दिँदै त्यस्ता गतिविधि बढिरहेको सन्दर्भमा जिज्ञासा राखे  ।

तर, उच्चस्तरका अधिकांश भेटमा नेपालमा मस्जिद, मदरसा र मिसनरीका गतिविधि बढिरहेको दाबीसहित त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे चिन्ता प्रकट गरेका थिए । प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री राणा अनि पूर्वप्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग उनले तथ्यांकसहित नेपाल भारत सीमावर्ती क्षेत्रमा भइरहेका गतिविधिका बारे आफूसँग भएका तथ्याङ्क समेत राखेका थिए ।

चौथाइवालेले गरेका दाबीहरू यस्ता थिए:

भारतसँग सीमा जोडिएको तराई-मधेसमा केही वर्षयता मदरसा र मस्जिदको संख्या उल्लेखनीय हिसाबले बढेको छ । त्यसमा मुख्य तीनवटा कारण छन्; पहिलो, बंगलादेशबाट भित्रिएका रोहिंग्याहरूको संख्यामा वृद्धि । दोस्रो, भारतले कश्मिरमा ३७० हटाएपछि सिफ्ट भएका आतंकवादी गतिविधिहरू । र, तेस्रोमा नेपालका केही आइएनजीओमा भइरहेको विदेशी लगानी ।

साथै, कृश्चियन मिसनरीहरूले विदेशी लगानीमार्फत धर्मान्तरण बढिरहेको विषय पनि उनले उठाएका थिए । उनले उठाएका अघिल्ला तीनवटा विषय मुस्लिम समुदायसँग सम्बन्धित थिए भने कृश्चियन समुदायसँग जोडिएको विषय पनि सँगै राखेका थिए ।

यी विषयलाई नेपालले नियन्त्रण गर्नुपर्ने भन्दै चौथाइवालेले राखेको कुरा स्रोतले उद्धृत गर्‍यो, ‘यसमा नेपालले तत्काल ध्यान दिन जरुरी छ । अहिले भारतमा भइरहेका आतंकवादी क्रियाकलाप भोलिका दिनमा नेपालतर्फ केन्द्रित हुने खतरा बढेको देखिन्छ । अहिले हाम्रो सीमावर्ती क्षेत्रमा जे भइरहेको छ त्यसले भारत मात्रै होइन नेपाललाई पनि चुनौती थप्ने छ ।’

उनले विगत केही समययता तराई क्षेत्रमा भइरहेका साम्प्रदायिक घटनाहरूको विवरण राख्दै सीमा क्षेत्रका सुरक्षाकर्मीमार्फत मिलेर काम गर्नुपर्ने सुझाव समेत राखेका थिए ।

चौथाइवालेले राखेका विषयमा प्रधानमन्त्री ओलीले त्यस्तो अवस्था नरहेको प्रतिक्रिया दिएका थिए । ‘त्यस्तो अवस्था यहाँ छैन । हामी हाम्रो देशमा भइरहेका सबै गतिविधिबारे जानकार छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ ।

ओलीको जवाफपछि चौथाइवालेले केही संघ संस्थाका नामै लिएर उनीहरूमार्फत लगानी भइरहेको भन्दै गम्भीर हुनुपर्ने अवस्था रहेको दोहोर्‍याएका थिए ।

परराष्ट्रमन्त्री राणाले धर्मान्तरणको विषयमा नेपालसँग स्पष्ट कानुनको व्यवस्था भएकाले त्यस्तो हुन नसक्ने र नदिने जवाफ दिएकी थिइन् ।

प्राय: सबै भेटमा उनले पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा नेपालले आवाज उठाएकोमा धन्यवाद दिएका थिए । तर काँग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणासँगको भेटमा भने उनले संसद्मा काङ्ग्रेस सांसदले बोलेको विषयमा समेत प्रश्न गरेका थिए । त्यसमा परराष्ट्रमन्त्री राणाले भनेकी थिइन्, ‘सांसदहरूले आफ्नो कुरा राख्नु भएको होला । तर, त्यसमा हामीले हाम्रो धारणा राखिसकेकै छौँ । हामीलाई सुन्नू, अरूले भनेको कुरामा धेरै ध्यान नदिनू’

ओलीको उही चासो

चौथाइवालेले राखेका विषयमा छलफल सकिएपछि अन्तिममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका विषयमा जिज्ञासा राखेका थिए ।

स्रोतका अनुसार चौथाइवालेले पहलगाम घटनापछि तत्काल परिस्थिति असहज भएको भन्दै जानकारी दिएका थिए । ‘आन्तरिक तनाव चलिरहेको छ । प्रधानमन्त्री मोदी आफैँले रसियालगायत मुलुकको भ्रमण स्थगित गर्नु भएको छ । यस्तो अवस्थामा पाहुनालाई बोलाउँदा राम्रो सन्देश जाँदैन ।’

चौथाइवालेले आश्वस्त पार्दै भने, ‘परिस्थिति मत्थर भएपछि भ्रमणको विषयलाई अगाडि बढाउनु पर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register