संयुक्त सरकारमा एमालेको एकल बदनामी

आफू बदनाम भइरहेको र आफूमाथि प्रहार भइरहेको स्वीकारोक्ति प्रधानमन्त्री ओलीमा छ, तर के कति कारणले यस्तो भइरहेको छ भन्ने कुरा उनले नजरअन्दाज गरिरहेका छन् । प्रधानमन्त्री ओलीलाई उनकै सत्ता सहयात्री देउवाको गत मंसिर २२ को वाणी सम्झाउनु सान्दर्भिक हुन्छ । देउवाले भनेका छन्- ‘बढी बोल्नेले आफूलाई सिद्ध्याउँछ, कम बोल्नेले अरुलाई सिद्ध्याउँछ ।’

May 4, 2025 - 18:01
 0
संयुक्त सरकारमा एमालेको एकल बदनामी

काठमाडौं । संसद्को पहिलो दल काङ्ग्रेस र दोस्रो दल एमाले गठबन्धनमा वर्तमान सरकारको नेतृत्व एमालेले गरिरहेको छ । संसदीय राजनीतिमा एक-अर्काले प्रमुख प्रतिस्पर्धी मान्ने दुई दलले सत्ता साझेदारी गरिरहँदा जस र अपजस दुवैले लिनुपर्नेमा सत्ताको नेतृत्व गरिरहेको दल एमालेले एकल बदनामी खेपिरहेको छ ।

सल्लाहमा लिइएका निर्णय प्रक्रियामा होस् वा संविधान संशोधन ओझेलमा परेका विषय, एमाले एक्लै अपजस खेप्दै आएको छ । उदाहरणका लागि कुलमान घिसिङ बर्खास्त प्रकरण ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्त गर्दा प्रधानमन्त्री ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग समेत परामर्श गरेका थिए । कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्दा सरकारमाथि हुनसक्ने प्रहारमाथि सचेत रहेका ओलीले मन्त्रिपरिषद्मा मन्त्रीहरूको राय समेत लिएका थिए । उक्त बैठकमा काङ्ग्रेसकै मन्त्री रमेश लेखकले तत्काल गर्न नहुने सुझाव दिएका थिए । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भने उक्त बैठकमा विभागीय मन्त्रीलाई नै अप्ठ्यारोमा पार्ने काम भइरहेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने ऊर्जामन्त्री दीपक खड्काको अडानमा साथ दिएकी थिइन् ।

काङ्ग्रेस सभापति देउवासँगको परामर्श, परराष्ट्रमन्त्री राणाको दबाब र ऊर्जा मन्त्री खड्काको अडानका आधारमा प्रधानमन्त्रीले निर्णय लिए । मन्त्रिपरिषद्को निर्णयको अपजस प्रधानमन्त्रीको थाप्लोमा आउनु स्वाभाविक नै हो । काङ्ग्रेस भित्रैको दबाब र सल्लाहमा निर्णय लिँदा एकोहोरो रूपमा त्यसको अपजस सिंगो एमाले पार्टीले खेपिरहेको छ ।

दुई दलीय गठबन्धनको प्रमुख एजेन्डा संविधान संशोधन पनि हो । यस प्रक्रियामा कार्यदल गठनका लागि काङ्ग्रेसले पनि पहल गरिरहेको छैन । आफ्नो दलबाट कार्यदल सदस्यको सूची बुझाएर उसले एमालेलाई दबाब दिन सक्थ्यो । आफूले कार्यदलको सूची तयार गर्न नसकेको पृष्ठभूमिमा काङ्ग्रेसका नेताहरू सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको भन्दै आलोचनामा प्रखर छन् ।

काङ्ग्रेसभित्र सरकारको राम्रो कामको जस लिन खोज्ने, तर अपजस बाँड्न नखोज्ने परिपाटी विकसित भइरहेको एमालेको निष्कर्ष छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार काङ्ग्रेस एमालेको आलोचना गरेर सरकारमाथिका अपजसबाट पन्छिन खोजिरहेको छ । ‘सरकारले सुधारको काम गर्‍यो भने त्यसको जस लिन खोज्ने, काङ्ग्रेसले जिम्मा लिएको निकायबाट कमजोरी भयो भने त्यसको अपजस एमालेलाई दिने परिपाटी विकसित हुँदै गएको छ । जस जति अन्त र अपजस जति सरकारको नेतृत्वतिर फर्काउने काम न्यायोचित छैन,’ उनी भन्छन् ।

एमाले उपाध्यक्ष गुरुप्रसाद बराल संयुक्त सरकारको जस र अपजस दुवै दलले बराबरी लिनुपर्ने बताउँछन् । ‘एमाले र काङ्ग्रेसको संयुक्त सरकार छ । दुवै दलबाट सरकारमा प्रतिनिधित्व छ । कमजोरी जति सबै एमालेका तर्फबाट र राम्रो काम जति सबै काङ्ग्रेसका तर्फबाट भएका त छैनन् । प्रतिस्पर्धी दल भन्दैमा  अपजसको भारी सबै एमालेलाई बोकाउने काम राम्रो होइन । अपजसको भार काङ्ग्रेसले पनि बहन गर्नुपर्छ ।  आफ्ना कमजोरी एमालेले पनि सुधार्नुपर्छ,’ उनले भने ।

आलोचनालाई एमालेले प्रहारका रूपमा लिन नहुने उनको मत छ । ‘आलोचनाले त्रुटि सच्याउन प्रेरित गर्छ । आलोचनालाई प्रहारका रूपमा मात्रै लिनुहुँदैन,’ उनी भन्छन् ।

काङ्ग्रेसभित्र जस लिने परिपाटीको दुई उदाहरणलाई लिन सकिन्छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन कानुनी बाधा व्यवधान हटाउने भन्दै अध्यादेश ल्याएर कानुनी सुधार गरेको थियो । त्यसको जस काङ्ग्रेसले लिन खोज्यो । काङ्ग्रेस महामन्त्री गगन थापाले सरकार एमालेले नेतृत्व गरेको भए पनि नीतिगत सुधारको नेतृत्व काङ्ग्रेसले गरिरहेको भन्न छुटाउँदैनन् । चैत २८ गते काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशको आइडिया काङ्ग्रेसको भएको बताए । ‘हाम्रो आइडियामा सरकारलाई हामीले काम गरायौँ । संयुक्त सरकारले काम गर्‍यो, केही सुधार भयो,’ उनले भनेका थिए ।

अर्को उदाहरण हो, शिक्षक आन्दोलनका माग सम्बोधनका लागि वैशाख १७ मा भएको सहमति सार्वजनिक कार्यक्रम । उक्त सहमति सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । शिक्षक आन्दोलन सम्बोधनको जिम्मेवारी विभागीय मन्त्रालयको हिसाबले शिक्षा मन्त्रालयको हो । यसमा आर्थिक पाटो समेत छोडिएको हुँदा अर्थ मन्त्रालयले ८ अर्ब रकम सुनिश्चित गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र शिक्षा मन्त्री रघुजी पन्त दुवै एमालेका थिए । तर, त्यहाँ गृहमन्त्री लेखकको समेत उपस्थिति थियो । जबकि, यो आन्दोलनका क्रममा भएको दमनमा माफी माग्ने बाहेक उनको अर्को कुनै भूमिका त्यसमा थिएन ।

सार्वजनिक कार्यक्रम, संसददेखि सचिवालय बैठकसम्म काङ्ग्रेसको भूमिकाबारे  एमालेका प्रश्न

काङ्ग्रेसका नेताहरूले पार्टीमाथि प्रहार गरिरहेको भन्दै सार्वजनिक कार्यक्रम संसददेखि पार्टीको सचिवालय बैठकसम्म एमालेले प्रश्न गरिरहेको छ । गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीलाई इंगित गर्दै काङ्ग्रेस महामन्त्री गगन थापाले बिचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको बेड रुमसम्मै रहेको बताएका थिए । आफूले वर्तमान प्रधानमन्त्रीलाई मात्रै नभनेको उनले स्पष्ट पारिसकेका थिए । तर प्रधानमन्त्री ओलीले आफूलाई बदनाम गराउन खोजिएको भन्दै त्यसको प्रमाण पेस गर्न थापालाई सार्वजनिक कार्यक्रममार्फत नै चुनौती दिए । ‘राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज सरम पचाएर प्रधानमन्त्रीको बेड रुमसम्म बिचौलिया भनेर आरोप लगाएका छन् । म आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु,’ उनले भनेका थिए ।

संयुक्त सरकारमा बसेर पार्टी र  सरकारमाथिको आलोचनाबारे संसद्मा समेत एमालेले प्रश्न उठाएको छ । वैशाख १२ मा संसद्को बजेट अधिवेशनमा सम्बोधनका क्रममा एमाले सचिव तथा सांसद गोकर्ण विष्टले काङ्ग्रेसको भूमिकाबारे प्रश्न उठाए । काङ्ग्रेसले सत्तापक्ष वा प्रतिपक्ष छुटाउनै नसक्ने गरी बोलिरहेको उनको मत थियो । आफैँ सरकारमा बसेर चर्को विरोध नगर्न उनले सुझाएका थिए । संसद्मा विष्टले भनेका थिए- ‘कहिलेकाहीँ त यस्तो लाग्ने गर्छ सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ? कहिलेकाहीँ चिन्न पनि गाह्रो हुने अवस्था हुन्छ । यसबाट माथि उठौँ ।’

आइतबार एमालेको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले ब्रिफिङ गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध ठीकठाक रहेको बताए । काङ्ग्रेस संस्थापन इतरका नेताहरू शेखर कोइराला, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सरकार र एमालेलाई बदनाम गर्ने किसिमले बोलिरहेको टिप्पणी ओलीले गरे । ‘देउवाजीसँग सम्बन्ध ठीक छ  । काङ्ग्रेसका नेताहरू शेखर कोइराला, गगन थापा विश्वप्रकाश शर्माले निकै चर्को चर्को विरोध गरेर हामीलाई बदनाम गराउने दुष्प्रयास गरिराख्या छन्,’ ओलीको भनाइ थियो ।

उनले पार्टीको आन्तरिक राजनीतिलाई उनीहरूले राष्ट्रिय राजनीतिसँग जोडेको बताएका थिए । ‘पार्टीको आन्तरिक राजनीतिलाई राष्ट्रिय राजनीतिसँग जोडेर जुन क्रियाकलाप भइरहेका छन्  त्यो गलत छ भन्ने अध्यक्ष ज्युको भनाइ छ,’ एमाले सचिव पद्मा अर्यालले भनिन् ।

एमाले, आफू र सरकारमाथि विरोधीहरूबाट भइरहेको प्रहारको प्रतिवादमा दलभित्रबाटै सहयोग नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीभित्र गुनासो गरिरहेका छन् । विरोधीहरूको प्रहारको सशक्त प्रतिवाद गर्न उनले संसदीय दलमा समेत सांसदहरूलाई निर्देशन दिएका छन् । सार्वजनिक रूपमै उनले भनेका छन्, ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन ।’

आफू बदनाम भइरहेको र आफूमाथि प्रहार भइरहेको स्वीकारोक्ति प्रधानमन्त्री ओलीमा छ । तर के कति कारणले यस्तो भइरहेको छ भन्ने कुरा उनले नजरअन्दाज गरिरहेका छन् । प्रधानमन्त्री ओलीलाई उनकै सत्ता सहयात्री देउवाको गत मंसिर २२ को वाणी सम्झाउनु सान्दर्भिक हुन्छ । देउवाले भनेका छन्- ‘बढी बोल्नेले आफूलाई सिद्ध्याउँछ, कम बोल्नेले अरुलाई सिद्ध्याउँछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register