लोपोन्मुख सुरेल जाति: पानी माग्दै उभौली पर्व

दोलखा। सबैभन्दा कम जनसंख्या भएको लोपोन्मुख सुरेल जातिले बालिनाली राम्रो होस भन्दै भुमे देवतासँग पानी मागेर सोमवार उभौली पर्व मनाएका छन् । हरेक बर्ष चण्डीपूर्णेको दिन नाचगानसहित रमाईलो गर्दै भुमी पुजा गरेर उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जातिको ज्येष्ठ सदस्य ८७ बर्षिय हरीकुमारी सुरेलले बताए ।  बैशाख– जेठमा भित्राईने गहँ बालीको सिजनमा प्रत्येक घरको […]

May 13, 2025 - 19:22
 0
लोपोन्मुख सुरेल जाति: पानी माग्दै उभौली पर्व

दोलखा।

सबैभन्दा कम जनसंख्या भएको लोपोन्मुख सुरेल जातिले बालिनाली राम्रो होस भन्दै भुमे देवतासँग पानी मागेर सोमवार उभौली पर्व मनाएका छन् । हरेक बर्ष चण्डीपूर्णेको दिन नाचगानसहित रमाईलो गर्दै भुमी पुजा गरेर उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जातिको ज्येष्ठ सदस्य ८७ बर्षिय हरीकुमारी सुरेलले बताए । 

बैशाख– जेठमा भित्राईने गहँ बालीको सिजनमा प्रत्येक घरको सुरेल समुदायले शुद्ध गरेर गहँुको जाँड बनाउने र चण्डी पूर्णेको दिन त्यहि गहुँको जाँडसहित भुमे देवताको पुजा गरी उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताए । उभौली पर्वको भोलीपल्ट चन पुजा गरिने उनले बताए ।

उभौली पर्वको दिन नयाँ लगाईने बालिहरु राम्रो होस भनेर पानी माग्दै २४ ठाँउमा गहुँको जाड, कुखुरा र चरा राखेर नाक्सो (पुजारी) र ङायीगा (धुपौरे) ले भुमे देवताको पुजा गर्ने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ । सो क्रममा झाँक्रिहरुले जोखाना हेर्ने प्रचलन रहेको छ ।

भुमे पुजा गर्नुअघि झाँक्रीको घरबाट बेलपाती ल्याउने र ङायीगा (धुपौरे) को घरबाट झारी ल्याउने प्रचलन समेत रहेको स्थानीयको भनाई छ । त्यसैगरी सुरेल समुदायको प्रत्येक घरले भुमे मन्दिरमा सुद्धसंग बनाएको गहुँको जाँड ल्याउने प्रचलन रहेको स्थानीय बत्ताउँछन् । सुरेल जातिले भुमे पुजा गर्नु अघि इविथानको पुजा गर्ने प्रचलन समेत रहेको छ ।

भुमे पुजा सकिएपछि भुमेथानमा जम्मा भएका सुरेल समुदाय र छिमेकीहरु समेत मिलेर गहुँको जाँड, सेलरोटी, आलुको तरकारी लगायतका परीकार खादै नाचगान सहित रमाईलो गर्ने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताए । 

दोलखा जिल्लाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुरीमा मात्र बसोबास रहेको सुरेल जातिको जनसंख्या दुई सय ३१ रहेको छ । सुरेलको जनसंख्या ३ सय १८ रहेपनि भारतमा बसोबास गर्ने ८५ जनाले मुखिया लेख्ने र दुई जनाले जागिर खानेबेला सुनुवार लेखेकोले लोपोन्मुख जातिलाई सरकारले दिदै आएको भत्ता दुई सय ३१ जनाले पाउने भएकोले त्यहिनै सुनुवारको जनसंख्या मानिएको अध्यक्ष प्रल्हाद सुनुवारको भनाई छ । 

सुरेलहरुको ५० घर सुरीमा, ७ घर सुम्नामा र ३ घर खारेखोलामा रहेको अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ । 

सुरेल जाति कसरी रहन गयो भन्ने तथ्यगत प्रमाण नभएपनि एउटा किम्वदन्ति भने प्रचलनमा रहेको छ । किम्वदन्ति अनुसार ससुरा ज्वाइँ बासे (ससुरा) र वीरबल (ज्वाइँ) भोटबाट शिकार खेल्दै सुरी आसपास आईपुगे । सोहि समय एकजना माझिको बच्चा एउटा शेर्पाले अपहरण गरेर लगेको थियो । बासे र वीरबलले शेर्पाबाट उक्त बच्चालाई मुक्त गरी माझिको जिम्मा लगाई दिए । 

ससुरा ज्वाईको उक्त कार्यबाट खुशी भएका माझिहरुले ती दुईलाई सूर्यबंशी भन्दै तेरमुफ (टिम्मुर वारी) दिएर बस्ने व्यवस्था गरे । उनीहरु माझिहरुसंगै बसेकै बेला कोठामा थुनेर राखेको एउटा माझिको छोरी गर्भवती भईन । उक्त गर्भ सूर्यबंशीहरु बाटै रहन गएको माझिहरुले आरोप लगाए । यसरी माझि र सूर्यबंशीको गर्भबाट भएको सन्तान सुरेल भए । 

भोटबाट ससुरा ज्वाइँ बासे र वीरबल कहिले आए भन्ने तथ्यगत प्रमाण नभएपनि जङ्गबहादुर राणाको शासन कालमै सुरेलको नाममा लालमोहर लागेको कागजात रहेको सुरेल जाति उत्थान समाजका पूर्व अध्यक्ष सुवास सुरेल बत्ताउँछन्  । यस तथ्यबाट सुनुवार र सुरेल एउटै हैन भन्ने पुष्टि हुने सुरेल समुदायको भनाई छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register