बालेनको दादागिरी : प्रवक्तालाई माफी मागेर स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका प्रवक्ता नविन मानन्धरसँग स्पष्टीकरण सोधेका छन् । बालेनले प्रवक्ता मानन्धरलाई तीन दिनभित्र माफी माग्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् । आफूसँग माफी मागी स्पष्टीकरण पेस गर्न बालेनले मानन्धरलाई निर्देशन दिएका हुन् । प्रवक्ता मानन्धरले सञ्चार माध्यममा बोलेको विषयले आफ्नो मानहानी भएको भन्दै मेयर बालेनले […]

May 25, 2025 - 09:02
 0
बालेनको दादागिरी : प्रवक्तालाई माफी मागेर स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका प्रवक्ता नविन मानन्धरसँग स्पष्टीकरण सोधेका छन् । बालेनले प्रवक्ता मानन्धरलाई तीन दिनभित्र माफी माग्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

आफूसँग माफी मागी स्पष्टीकरण पेस गर्न बालेनले मानन्धरलाई निर्देशन दिएका हुन् । प्रवक्ता मानन्धरले सञ्चार माध्यममा बोलेको विषयले आफ्नो मानहानी भएको भन्दै मेयर बालेनले स्पष्टीकरण सोधेको बताइएको छ ।

पछिल्लो समय मेयर बालेन काठमाडौं महानगरमा एक्लिएका छन् । उनले कार्यपालिका बैठकसमेत बोलाउन सकेका छैनन् । काठमाडौं टावरको नक्साको विषयमा विवाद हुँदा मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बसाएका थिए । तीन महिनापछि उपमेयर सुनिता डंगोल र प्रवक्ता मानन्धरको सक्रियतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गराइएको थियो ।

तर, गुरागाईंलाई हाजिर हुन नदिन मेयर बालेनले महानगर प्रहरी बल खटाएका थिए । नगर प्रहरी प्रमुख राजु पाण्डले सरोज गुरागाईंलाई कार्यालय छिर्न अवरोध गरेपछि गुरागाईंले ६ जेठमा पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । नियमानुसार महानगरको प्रहरी बलको नेतृत्वकर्ता प्रमुख प्रशासकीय अधिकृत हुन्छन् ।

पाण्डेलाई स्पष्टीकरण सोधेको झोँकमा मेयर बालेनले पनि मानन्धरलाई स्पष्टीकरण सोधेका हुन् । पछिल्लो समय प्रवक्ता मानन्धर मेयर बालेनप्रति आलोचनात्मक बनेका थिए । मानन्धर वडा नं १७ का वडा अध्यक्ष हुन् ।

यसअगाडि मेयर बालेनले सूचना प्रविधि समितिको संयोजकबाट नविन मानन्धरलाई हटाएका थिए । माफी मागरे स्पष्टीकरण पेस गर्नुहुन्छ त भन्ने नेपालभ्यूजको प्रश्नमा प्रवक्ता मानन्धरले भने, ‘तीन दिन समय छ । अब साथीभाइहरूसँग सल्लाह गरेर के गर्ने निर्णय गर्छु ।’

प्रवक्ताका रूपमा आफूले जिम्मेवारी पूरा गर्दा स्पष्टीकरण सोधिएको मानन्धरको दाबी छ । उनले भने, ‘मेयर आफू मिडियामा बोल्नुहुन्न । मैले प्रवक्ताका रूपमा बोल्नुपर्छ र मैले मेरो जिम्मेवारी निर्वाह गरेको हुँ । मिडियामा बोल्न नहुने रहेछ भन्ने थाह भयो ।’

मेयर बालेनको सचिवालयले प्रवक्ता मानन्धरले २६ चैतमा यो हो टेलिभिजनमा प्रशारण भएको प्रवक्ता मानन्धरको अन्तर्वार्ताका आधारमा स्पष्टीकरण सोधिएको बताएको छ ।

उक्त अन्तर्वार्तामा मानन्धरले मेयर बालेन र उनको सचिवालयको चर्को आलोचना गरेका छन् । मेयर बालेन र सचिवालयविरुद्ध अख्तियारमा उजुरी परेको कुरा पनि उनले उक्त अन्तर्वार्तामा भनेका छन् ।

वास्तुशास्त्रअनुसार कार्यालय डेकोरोसन गर्न बालेनले करोडौं खर्च गरेको, आफू चढ्नका लागि छुट्टै लिफ्ट जडान गरेको, एम्बुलेन्स खरिदमा अनियमितता गरिएको भन्दै मानन्धरले बालेनको आलोचना गरेका छन् ।

यसबाहेक मेयर बालेनले शेरबहादुर देउवाको बोलीको आलोचना गरेको प्रसंग पनि मानन्धरले उप्काएका छन् । मानन्धर भन्छन्, ‘हाम्रो नेता शेरबहादुर देउवाले सुपारी चपाएर कुरा गर्छ केही पनी बुझ्दैन भनिरहेको अवस्था छ । उहाँ आफैँ (मेयर बालेन) चाहिँ ‘नेपाल हाँस्न चाहेको’गीत गाउने मान्छेको हिजो चैं धुर्मुस सुन्तलीसँग कुरा गर्दे गर्दा हलमा कसरी कुरा गर्नु भएको थियो ? हामीलो बुझेका छौँ त्यो ? अनि सुपारी कसको मुखमा थियो ।’

मानन्धर यत्तिमै रोकिदैँनन्, ‘अनि त्यस्तै गरीकन अहिले भर्खर एउटा केटी जिस्काएको भाइरल भइरहेको छ । त्यसमा पनि उहाँले (बालेन) केही बोल्नु भएको छ, दुई जना केटीहरूले ‘के बोलेको भनेर’ सोधिरहेको अवस्था छ । उहाँले बोलेको हामीले बुझिरहेको अवस्था छैन । अरुलाई चैं सुपारी चपाएर बोलेको कि आफैँ सुपारी चपाएर बोलेको ।’

यसपछि प्रवक्ता मानन्धर मेयर बालेनले एउटी युवतीलाई अँगालो हालेको फोटो देखाउँछन् । अनि प्रवक्ता मानन्धर भन्छन, ‘यस्तो फोटो आउँछ । को हो कोसँग हो हामीलाई के थाह ? कसरी चैं महानगरको प्रमुख चैं आज चाँहि के गर्छ कस्तो गर्छ भनेर हामीले कहिल्यै सोधेको अवस्था छ ?’

मेयर बालेनको सचिवालयका अनुसार प्रवक्ता मानन्धरले अन्तर्वार्तामा बालेनले युवतीलाई अँगालो हालेको फोटो देखाएकै कारण उनलाई स्पष्टीकरण सोधिएको हो ।

तर, एक महिनाअगाडि प्रकाशारित अन्तर्वार्ताको विषयमा अहिले किन स्पष्टीकरण सोधियो भन्ने विषयमा मेयर बालेनको सचिवालय बोल्न चाहेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register