‘टिनएज स्ट्रगल’सँग लड्न मेरी अर्प्सले अपनाएको ‘ठीकै छ’ सुत्र

काठमाडौं । महिला फुटबलको उर्जास्तर नै अलग हुन्छ । महिलाको फुटबल पछ्याउने जो कोही पनि खेलाडीहरूको सीप देखेर छक्क पर्छन् । एलेक्स स्कट, राचेल यांकी र केली स्मिथजस्ता लायोनेसहरू पछि अङ्ग्रेजी फुटबलमा एक महत्वपूर्ण व्यक्तित्वको रूपमा मेरी अलेक्जान्ड्रा अर्प्स  (Mary Alexandra Earps) स्थापित भइन् । कुनै बेला अर्प्स आफ्नो फुटबल करिअर छोड्ने नजिक पुगेकी थिइन् […]

May 31, 2025 - 08:16
 0
‘टिनएज स्ट्रगल’सँग लड्न मेरी अर्प्सले अपनाएको ‘ठीकै छ’ सुत्र

काठमाडौं । महिला फुटबलको उर्जास्तर नै अलग हुन्छ । महिलाको फुटबल पछ्याउने जो कोही पनि खेलाडीहरूको सीप देखेर छक्क पर्छन् ।

एलेक्स स्कट, राचेल यांकी र केली स्मिथजस्ता लायोनेसहरू पछि अङ्ग्रेजी फुटबलमा एक महत्वपूर्ण व्यक्तित्वको रूपमा मेरी अलेक्जान्ड्रा अर्प्स  (Mary Alexandra Earps) स्थापित भइन् ।

कुनै बेला अर्प्स आफ्नो फुटबल करिअर छोड्ने नजिक पुगेकी थिइन् । तर, सबै चुनौतीहरू पार गर्दै उनले आफ्नो सीपले नै चम्किइन् र “मेरी क्वीन अफ स्टप्स” उपनामले पनि सामाजिक सञ्जाल टिकटकमा सक्रिय उपस्थितिका कारण उनी “टिकटक क्वीन”को रुपमा पनि चिनिएकी छन् ।

हालको पुस्ताकी सबैभन्दा उत्कृष्ट अङ्ग्रेजी गोलकिपरमध्ये एक भनेर चिनिने अर्प्सले मङ्गलबार अचानक सन्यास लिने घोषणा गरिन् । यद्यपि, उनले इङ्ल्याण्डको महिला फुटबल टोलीलाई पुर्‍याएको योगदान भने सधैं यादगार रहनेछ ।

अर्प्सका प्रारम्भिक दिन

अर्प्सको जन्म १९९३ को मार्च ७ मा भएको थियो । नटिङ्घममा जन्मेकी अर्प्सले आठ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन्, जहाँ उनले आफ्ना बुवा र दाजुसँग बगैङ्चामा खेल्दै रमाइलो गर्थिन् ।

परिवारसँग फुटबल खेल्न थालेको दुई वर्षपछि उनको स्कूल साथीको बुवाले वेस्ट ब्रिजफोर्ड कोल्ट्स नामक एक स्थानीय क्लब स्थापना गरे । उनी त्यस टोलीमा सामेल भइन् र गोलकिपरको रूपमा खेल्न थालिन् ।

अर्प्सले १४ वर्षसम्म ग्रासरुट्स फुटबल खेलिरहिन् । त्यसपछि उनले सफलतापूर्वक लेस्टर सिटीको सेन्टर अफ एक्सिलेन्समा ट्रायल दिइन् । त्यहाँको प्रदर्शनले उनलाई युवा टोलीमा स्थान दिलायो, जुन उनको फुटबल यात्रामा एक महत्वपूर्ण कदम थियो ।

सानै उमेरदेखि फुटबलको मजा लिँदै मेरी अर्प्स

१६ वर्षको उमेरमा उनी नटिङ्घम फरेस्टमा गइन्, तर त्यहाँ उनको बसाई छोटो रह्यो । त्यसपछि उनी डनकास्टर रोवर्स बेल्समा सामेल भइन् । त्यस समयमा अर्प्सले व्यावसायिक ज्याला पाउँदिन्थिन् । उनले खर्चको क्षतिपूर्ति मात्र पाउँन्थिन् र प्रशिक्षण र खेलका लागि आफैँ गाडी चलाउन पनि सक्दिन्थिन् । त्यसैले उनी प्रायः सहकर्मीसँग लिफ्ट लिन्थिन् ।

उनले एक सहकर्मीको बारेमा पनि बताएकी छिन्, जसले साउथह्याम्प्टनबाट ड्राइभ गरेर उनलाई बाटोमै पिक गर्थे ।

व्यस्त समयमा अर्प्सले आफ्नो ए–लेवल अध्ययन सुरु गरेकी थिइन् र विभिन्न पार्ट–टाइम जागिरसमेत गरिन् । उनले एक सिनेमा हल, बच्चाको खेलौना पसलमा काम गरिन्, दुई फरक प्रशिक्षण भूमिकामा थिइन् र बुवाको व्यापारमा टेलिसेल्सको काममा पनि सघाइरहेकी थिइन् ।

१७ वर्षको उमेरमा उनले डनकास्टरको लागि महिला सुपर लिग (डब्ल्यूएसएल)मा आफ्नो डेब्यू गरिन् । स्कूल सकेपछि उनी लफ्ब्रा विश्वविद्यालयमा भर्ना भइन्, जहाँ सन् २०१२ देखि २०१६ पढेर सूचना व्यवस्थापन र व्यवसाय विषयमा डिग्री लिइन् । पूरा समय पढाइमा व्यस्त रहँदा पनि अर्प्सले फुटबल खेलिरहिन्, बर्मिङ्घम सिटी र पछि ब्रिस्टल सिटीमा पनि खेलिन् ।

सन् २०१६ मा उनी रिडिङमा आबद्ध भइन्, जुन उनको विकासमा एक महत्वपूर्ण मोड थियो । त्यही क्लब पहिलो थियो, जसले उनलाई पूर्णकालीन गोलकिपर प्रशिक्षण दियो ।

दुई वर्षपछि सन् २०१८ मा उनी जर्मनीको फ्राउएन–बुन्डेसलिगाको शीर्ष क्लब भीएलएफ वोल्फ्सबर्गमा पुगिन् । एक वर्षको विदेश बसाईपछि उनी फेरि इङ्गल्याण्ड फर्केर म्यानचेस्टर युनाइटेडमा आबद्ध भइन् र घरेलु लिगमा आफूलाई अझ स्थापित गरिन् ।

अर्प्सको क्लब करिअरमा नटिङ्घम फरेस्ट, डनकास्टर रोवर्स बेल्स, बर्मिङ्घम सिटी, ब्रिस्टल एकेडेमी र रिडिङ, वोल्फ्सबर्ग, म्यानचेस्टर युनाइटेड र हाल पेरिस सेन्ट–जर्मेन एफ.सी. एफसीमा समावेश छन् ।

विगम्यानको प्रवेशसँगै करिअरमा आएको टर्निङ प्वाइन्ट

अर्प्सले आफ्नो अन्तर्राष्ट्रिय यात्रा यूईएफए महिला यू–१९ च्याम्पियनसिप २०१२ मा टर्कीको अन्ताल्याबाट सुरु गरिन्, जहाँ समूह चरणबाट टोली बाहिरिए पनि उनको प्रदर्शनको प्रशंसा भएको थियो । त्यो स्विट्जरल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा ४-० को जित थियो । उनलाई सन् २०१७ को यूईएफए युरोका लागि प्रशिक्षण शिविरमा चौथो रोजाइका गोलकिपरको रूपमा बोलाइएको थियो । अर्प्सलाई २०१९ को फिफा महिला विश्वकपको टोलीमा पनि समावेश गरिएको थियो ।

तर, लायोनेसको लागि आठ खेलमा उपस्थित भए पनि उनी अन्ततः टोलीको योजना बाहिर परिन् र केही समयका लागि राष्ट्रिय टोलीबाट अलगिइन् ।

सेप्टेम्बर २०२० मा उनी फिल नेविलको व्यवस्थापनमा इङ्ल्याण्ड टोलीमा पुनः बोलाइने आशामा थिइन् । तर, उनी टोलीमा समावेश हुन सकिनन् र उनको सट्टा कार्ली टेलफोर्ड, एली रोबक, हाना ह्याम्पटन र स्यान्डी म्याकइभर रोजाइमा परे ।

त्यो क्षण सम्झँदै अर्प्सले बताइन् कि टोलीको घोषणा हेर्दा उनी आफ्नो भान्छामा नै भक्कानिइन् । उनले महसुस गरिन् कि आफ्नो फुटबल यात्रा एउटा पर्खालसँग ठोक्कियो । लाग्यो कि उनले सबै दिए पनि पर्याप्त छैन । गृहिणीको जस्तै जिम्मेवारी र बन्धक ऋणको चापले गर्दा उनलाई लाग्न थाल्यो कि अब खेल छोड्ने बेला आयो ।

तर, एक नयाँ प्रशिक्षकको आगमनसँगै उनको फुटबल करिअरमा नयाँ मोड आयो । सेप्टेम्बर १७, २०२१ मा सरीना पेट्रोनेला विगम्यान (Sarina Weigman) ले इङ्ल्याण्डको व्यवस्थापकको रूपमा आफ्नो पहिलो खेलमा अर्प्सलाई सुरुवाती गोलकिपरको रूपमा राखिन् । सो खेलमा इङ्ल्याण्डले उत्तर म्यासेडोनियालाई विश्वकप २०२३ को छनोटको क्रममा हरायो ।

विगम्यानको नेतृत्वमा सुरुवाती गोलकिपरको रूपमा समावेश भएपछि अर्प्सको राष्ट्रिय टोलीमा पुनरागमन सुरु भयो । विगम्यानले उनलाई प्रमुख खेलाडीको रूपमा लिइन् र पहिलो रोजाइको गोलकिपर बनाइन् । अर्प्स विगम्यानको नेतृत्व र समर्थनले आफ्नो करिअर पुनः जागृत गरिदिएको र आत्मविश्वास बढाइदिएको बताउँछिन् । उनी भन्छिन्, “विगम्यान व्यवस्थापक भएपछि उनको जीवन नै पूर्ण रूपमा बदलियो ।”

विगम्यानको नेतृत्वमा पहिलो ११ खेलमध्ये आठमा पहिलो रोजाइको गोलकिपरका रूपमा अर्प्स मैदानमा उत्रिन् । उनी युरो २०२२ को टोलीमा पनि समावेश भइन्, जहाँ इङ्ल्याण्डले पहिलो पटक युरोपको उपाधि जित्यो ।

मेरी अर्प्स युरो जितेपछि टेबलमा नाच्दै अर्प्स

युरो जितेपछि अर्प्स टेबलमाथि चढेर नाचिन् । यो इङ्ल्याण्डले उपाधि जितेको तेस्रो पटक थियो (१९८४, २००९ र २०२२) । र, त्यो निश्चय नै ऐतिहासिक रूपमा जश्न मनाउनै पर्ने कुरा थियो ।

विगम्यानको आगमनअघिका दिन सम्झँदै अर्प्स भन्छिन्, ‘साँचो कुरा भन्नुपर्दा म कहिल्यै यो स्तरमा फर्किन्छु भनेर सोचेको पनि थिइनँ । फेरि ठूलो प्रतियोगिताको टोलीमा परिन्छ भन्ने पनि लागेका थिएन । जर्मनीविरुद्ध वेम्ब्लीमा फाइनल खेल्ने त परको कुरा भयो ।’

अर्प्सले आफ्नो करिअरमा निराशाको समय पनि भोगिन् र आफ्नो सीमासम्म पुगिन् । त्यो मानसिक लडाइँ मात्र थिएन, जिम्मेवारी र बसोबासको लागि आर्थिक संघर्ष पनि थियो । उनीमाथि आफ्नो ऋण तिर्ने जिम्मेवारी थियो । त्यसैले उनले केही वर्ष अझै फुटबललाई समर्पण गर्ने निधो गरिन् ।

फुटबल छोड्न लागेको अनुभव सुनाउँदै अर्प्स

शारीरिक, मानसिक र आर्थिक चुनौतीहरूको बावजुद सन् २०२१ को सेप्टेम्बरमा सरीना विगम्यान इङ्ल्याण्डको महिला टोलीको मुख्य प्रशिक्षक बनेपछि अर्प्सको जीवन चमत्कारिक रूपमा परिवर्तन भयो । उनलाई थाहा थियो, अब उनीसँग आफूलाई चिन्ने एक मार्गदर्शक छन् ।

‘‘मलाई लाग्यो उनले मलाई बुझिन् । एउटा व्यक्ति जसले मलाई मानवको रूपमा महसुस गराइन् । त्यो मैले विगतका वर्षहरूमा फुटबलमा महसुस नगरेको कुरा थियो । उनले मेरो करिअर नै बदलिदिइन्,’ अर्प्सले एक अन्तर्वार्तामा भनिन् । उनलाई विगम्यानको स्पष्टता र इमान्दारी मन पर्‍यो । उच्च आत्मविश्वास र उत्साहका साथ अर्प्सको करिअरले नयाँ चुनौती र अवसर पाउन थाल्यो ।

अर्प्सले ब्राजिलविरुद्धको महिला फाइनलिसिमामा पेनाल्टी सुटआउटमा पेनाल्टी रोक्दै इङ्ल्याण्डलाई उपाधि जिताउन मद्दत गरिन् । उनलाई २०२३ को फिफा महिला विश्वकपको टोलीमा पनि समावेश गरियो, जहाँ उनले स्पेनसँगको फाइनल हार्दासमेत उत्कृष्ट गोलकिपरको ‘गोल्डन ग्लोभ’ पुरस्कारसमेत जितिन् ।

विश्वकप २०२३ को फाइनलमा इङ्ल्याण्डले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्‍यो । टोलीले खेल गुमाएपनि अर्प्सको प्रदर्शनले टोलीलाई योगदान पुर्‍यायो । उनले ६९औं मिनेटमा पेनाल्टी सेभ गरिन् ।

‘टिनएज स्ट्रगल’को संघर्ष – खेलप्रतिको प्रेम

अर्प्सले आफ्नो पहिलो खेलमा पहिलो पेनाल्टी बचाएर गोलकिपिङप्रतिको माया गाँसेकी थिइन् ।

उनलाई आफ्ना आमाबाबुको ठूलो साथ थियो । उनका आमाबाबुले बारम्बार “टिपिकल पेरेंटिङ”का भनाइहरू दोहोर्‍याउँथे, जस्तै – “हेर्नुस्, मेरीबाहेक अरु कोही गोलकिपर भएको भए त्यो पेनाल्टी बचाउन सक्दैन थिए” । त्यो बेला उनी वेस्ट ब्रिज कोल्ट्स भन्ने स्थानीय टोलीमा खेल्दै थिइन् ।

त्यो आइतबार खेलिने खेलले अर्प्सभित्रको आगोलाई थप जिवितै राख्यो । पहिलो खेलको पहिलो बचाउ नै उनलाई सबैभन्दा ठूलो बचाउजस्तै लाग्यो । र त्यो उत्साहले उनलाई खेलमा पूर्ण रूपमा झुकायो ।

बाल्यकाल सम्झिँदै अर्प्सले त्यसलाई रमाइलो पलको रुपमा वर्णन गरेकी थिइन् । तर, उनी माध्यमिक तहमा पुगेपछि भने उनको संघर्ष सुरु भयो । साथी बनाउन, आफूलाई टिकाउन र अरुलाई बुझ्न नै संघर्ष हुन थाल्यो । उनी कहिलेकाहीँ सोच्थिन्, ‘किन यस्तो कुरा भइरहेको छ ?’

अर्प्सले स्कूलमा ‘Bullying’ बुलिङ ‘दादागिरी’ पनि सहिन् । एक उत्साही स्वभावकी अर्प्सलाई पनि कहिलेकाहीँ साथीसँगै हुर्किएको वातावरणमा दादागिरीको सिकार हुनुपर्ने कुरा पत्यार नलाग्न सक्छ । उनलाई स्कूलभरि दौडाएर सताउँथे । रमाइलोका लागि होइन, बरु उनलाई जिस्क्याइँथ्यो । अन्य बच्चाहरूले उनको कपालमा चुइङ्गम टासिदिनेजस्ता कार्य गरेर पनि मेरीलाई सताउँथे ।

किशोरावस्थाका बेला उनले लाज पनि धेरै महसुस गरिन् । कहिलेकाहीँ त उनलाई स्कूल जानै मन नलाग्ने हुन्थ्यो । तर, उनको पारिवारिक वातावरणले उनलाई सधैं स्कूल जान प्रेरित गर्‍यो । उनी एउटा यस्ता परिवारमा हुर्किइन्, जहाँ स्कूल छुटाउने कुरा सोच्नसमेत पाइँदैन्थ्यो ।

अर्प्सले कहिलेकाहीँ बिरामी भएको नाटक गर्दै स्कूल नजाने बहाना बनाउँथिन् । यो कुरा उनको आमाबाबुसँग पनि छलफलको विषय बन्यो । अन्ततः स्कूल नै परिवर्तन गर्नु नै उत्तम विकल्प ठहरियो । यो एउटा यात्रा जस्तै बन्यो – आफ्नो लागि उपयुक्त स्कूल खोज्ने विषय ।

किशोरकालको संघर्ष सुनाउँदै अर्प्स

स्कूल खोज्ने क्रममा उनले झनै नराम्रो अनुभव भोग्नुपर्‍यो – स्कूल जान मन नै लागेन । तर, त्यही क्रममा केही शिक्षकहरूले उनको अवस्थालाई चिने र साथ दिए ।

तर, अर्प्सले अरूलाई विश्वास गर्न अप्ठ्यारो मान्न थालिन् । उनलाई सजिलैसँग कसैसँग खुल्न, कुरा गर्न र समस्या बाँड्न गाह्रो हुन थाल्यो । यो उनले कम उमेरमै भोग्नुपरेको कुरा थियो ।

‘मलाई खुलेर कुरा गर्न सहज थिएन’ अर्प्स भन्छिन् । आमाबाबुले पनि अर्प्सको स्वभावमा आएको परिवर्तन महसुस गर्न थाले । उनी पहिले स्कूल जान हतार गर्ने बच्चा थिइन् । तर, समयसँगै उनी स्कूल नजान बहाना बनाउँदै थिइन् ।

उनी आफ्नो लागि सही साथीहरू पाउन संघर्ष गर्दै स्कूलहरू बदल्दै हिँडिन् । अहिले फर्केर हेर्दा उनी त्यो समयलाई जीवनको ठूलो पाठ सिकाउने अनुभवको रूपमा लिन्छिन् ।

‘सायद त्यो अलि आघातपूर्ण नै थियो,’ अर्प्स बताउँछिन् । त्यो समयमा उनले धेरै कुरा आफैँ नबुझे पनि गहिरो असर परेको अनुभव गरिन् । यसको असर थियो उनलाई अरूसँग कुरा गर्न निकै गाह्रो भयो । यो अवस्था उनी २७ वर्ष नपुग्दासम्म कायमै रह्यो ।

‘मलाई आफ्नो कुरा राख्न पनि गर्न गाह्रो हुन्थ्यो,’ अर्प्स भन्छिन् ।

तर, समय कत्तिको कठिन भए पनि अर्प्सले खेललाई माया गरिरहिन् । जे जस्तो परिस्थितिमा भए पनि उनलाई खेल सधैं रमाइलो लाग्थ्यो । ‘म जुनसुकै खेलपछि उत्साहित हुन्थेँ – फुटबल, ब्याडमिन्टन, पौडी, सडकमा साथीहरूसँग खेल्न या भाइसँग केर्बी खेल्न । जे जस्तो शारीरिक क्रियाकलाप थियो, म त्यसमा रमाइरहेको हुन्थेँ,’ उनी बताउँछिन् ।

बीबीसीसँगको अन्तर्वार्तामा अर्प्स भन्छिन्, ‘खेल नै त्यो कुरा थियो जसले मलाई साँच्चिकै खुसी बनाउँथ्यो ।’

यी सबै वर्ष फुटबलमा बिताएपछि अर्प्सले अहिले खुलेर कुरा गर्न सिकेकी छन् । उनी भन्छिन्, ‘अहिले मलाई लाग्छ म खुलेर आफ्ना कुरा र भावनाहरू व्यक्त गर्ने पक्षमा छु । र, त्यो पनि सकारात्मक संवादको लागि ।’

“ठीकै छ” सूत्र

अर्प्सका लागि कुराकानी गर्न सिक्नु सजिलो कुरा थिएन । उनले २७ वर्षको उमेरसम्म कुराकानीको कलामा संघर्ष गरिरहिन् । आफैँलाई खोल्न उनीसँग ठूलो चुनौती थियो ।

तर, उनले आफैँलाई अगाडि बढाउन सिकिन् । अरूको प्रतिक्रिया आफ्नो नियन्त्रणमा नहुने बुझेर अर्प्सले सकेसम्म सकारात्मक ढंगले प्रस्तुत हुन सिकिन् । उनले वर्षौंसम्म नबोलेका भावना र कुरा थुपारेर राखिन् । तर, पछि उनी आफैँले ती थुप्रिएका भावनालाई फुकाउन थालिन् ।

अर्प्सको विश्वास छ कि सामाजिक सञ्जालको विकासले यो संसारलाई धेरै फरक बनाइदिएको छ । उनी अहिलेको पुस्तालाई आफ्ना दिनहरूसँग तुलना गर्छिन् ।

अर्प्सले अहिलेको पुस्ता आफूलाई अरूसँग तुलना गर्दै अघि बढेको बताउँछिन् । तुलना गर्ने सोचको चुनौतीबारे अर्प्स भन्छिन्, ‘मलाई लाग्छ, जब तिमी को हो भन्ने कुरा पत्ता लगाइरहेको हुन्छौ, त्यो साँच्चै नै गाह्रो हुनुपर्छ । ’

अर्प्सले अरूको सफलतासँग आफूलाई तुलना गर्दै आफ्नो स्तरमापन गर्ने बानीबारे पनि चर्चा गरिन् । र, कसरी नयाँ पुस्ता यसकै जालमा परिरहेको छ भनेर पनि सुनाइन् ।

‘जब तिमी यति सानो छौं र तिमीले आफ्नो जीवन बुझ्ने कोसिस गर्दैछौ र यो संसारमा आफ्नो लागि के महत्वपूर्ण छ र के तिमीले महत्व दिन्छौ र तिमी को हौ भन्ने कुरा बुझ्ने कोसिस गर्दैछौ,’ किशोर अवस्थामा अनियन्त्रित रुपले तुलनाको शिकार हुनेबारे एर्प्स भन्छिन्, ‘र तिम्रो वरिपरिका सबैले के गर्दैछन् र अरुको जीवन कति उत्कृष्ट छ भन्ने कुरा हेर्दैछौ ।’

बीबीसी चिल्ड्रेन इन नीडसँगको अन्तर्वार्तामा आफ्नो अनुभव सुनाउँदै अर्प्स

तर, यस्तो प्रवृत्तिमा किशोरकालमा नअल्झेर आफूलाई स्वीकार्न अर्प्स सुझाव दिन्छिन् । आफ्नो किशोरकालका आफूलाई सम्झिन्दैँ र अहिलेको पुस्तालाई उनी भन्छिन्, ‘ठीकै छ (It’s alright) । सबै ठीकै हुन्छ । तिमी जे छौँ, जस्तो छौ, त्यसलाई स्वीकार्न कुनै समस्या छैन । आफू हुन डराउनुपर्दैन । यदि तिमी अरूसँग घुलमिल हुन सकेनौँ भने पनि ठीकै छ ।’

आत्मविश्वासको कमी र आत्मसम्मानको कमी भएको जाीवनको त्यो क्षण सम्झिँदै अर्प्स थप्छिन्, ‘म सबैभन्दा राम्री केटी होइन भन्ने कुरा, या सबैभन्दा लोकप्रिय केटी होइन भन्ने कुरा दिमागभरी घुमिरहन्थ्यो ।’

तर, वयस्क भएपछि उनले बुझिन्, ‘जहाँसम्म म आफै हुन्छु र म जस्तो छु त्यस्तै छु, मैले आफ्ना मानिसहरू भेट्नेछु । र कहिलेकाहीं एक्लै हुनु गाह्रो हुन्छ । यदि तिमी आफैं प्रति साँचो हुन्छौ भने, एक्लै हुनु ठीक छ ।’

अर्प्सका उपनाम

फिफा महिला विश्वकप २०२३ को फाइनल खेलमा स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शन र पेनाल्टी बचाउँदै गोल्डेन ग्लोभ जितेपछि अर्प्सलाई “मेरी क्विन अफ स्टप्स” भनिन थालियो ।

यद्यपि, भिडिओ रेफ्री जाँच, उत्सव र फिफाको निर्णयले पनि पेनाल्टी बचाउमा भूमिका खेलेका थिए । तर, अर्प्सले आफ्नो क्षमताले नै पेनाल्टी बचाएकी थिइन् । त्यहीँबाट उनलाई ‘मेरी क्विन अफ स्टप्स’ भनियो ।

अर्प्सले यो उपनाम पाउँदा दिएको प्रतिक्रिया यस्तो थियो – ‘मलाई थाहा छैन त्यो उपनाम युरोबाट आएको हो कि विश्वकपबाट, तर यो अहिलेसम्मको सबैभन्दा नराम्रो उपनाम होइन, त्यसैले म यो लिन्छु ।’

टिकटकमा १५ लाखभन्दा बढी फलोअर्स भएकी अर्प्स ‘टिकटक क्विन’को नामले पनि परिचित छिन् । उनी आफ्ना टिममेट्ससँग रमाइला भिडियोहरू, खेलका रमाइला पलहरू र अन्तर्वार्ताहरू पोस्ट गर्न मन पराउँछिन् ।

अर्प्सको पुरस्कारको झलक

सन् २०२३ को विश्वकपमा ‘गोल्डेन ग्लोभ’ उठाउँदै अर्प्स
  •  विश्वकप २०२३ मा “गोल्डेन ग्लोभ”
  • बेस्ट फिफा महिला गोलरक्षक २०२२-२३
  •  महिला सुपर लिग गोल्डेन ग्लोभ २०२२-२३
  •  फिफा महिला विश्वकप गोल्डेन ग्लोभ २०२३
  • इङ्गल्याण्ड महिला खेलाडी अफ द इयर २०२२-२३
  •  बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर २०२३
  •  बीबीसी महिला फुटबलर अफ द इयर २०२३
  •  सन्डे टाइम्स स्पोर्ट्सवुमन अफ द इयर २०२३
  •  आईएफएफएचएस (इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्ट्याटिस्टिक्स) वर्ल्ड्स बेस्ट गोलकिपर २०२३
  • फिफा फिफप्रो महिला वर्ल्ड ११ २०२३
  •  महिला फुटबल अवार्ड्स २०२३ वर्ल्डकप हिरो
  • लन्डनको म्याडम टुसाड्समा मोमको प्रतिमा राखिने पहिलो महिला फुटबलर

मेरी अलेक्जान्ड्रा अर्प्सको संघर्षको अंग्रेजी अनुवाद

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register