निस्फिक्री नेपाली

जबसम्म हामी वास्तविक समस्याहरूको सामना गर्दैनौँ, हामीलाई यो प्रवृत्ति निरन्तर निराशाजनक परिणाममा पुर्याउन सक्छ । जसका कारण विभिन्न स्वरहरू हामीले सडकमा सुन्न पाइरहेका छौँ । त्यसको मूल कारण भनेको ’डेलिभरी’ नभएर हो ।

Jun 4, 2025 - 06:46
 0
निस्फिक्री नेपाली

पछिल्लो वर्ष म दुईपटक पूर्वी अफ्रिकी देश केन्या पुगेँ । प्रकृतिप्रेमीका लागि यो साँच्चिकै गजब ठाउँ हो । विशाल घाँसे मैदानहरू, ठूल्ठूला संरक्षित निकुञ्जहरू । ‘द बिग फाइभ’ (सिंह, हात्ती, चितुवा, गैंडा, र जंगली भैंसी) को रोमाञ्चक उपस्थिति । आफैँमा प्रशंसायोग्य, जीवन्त र संरक्षित केन्याको वन्यजीवन अहिले पनि मेरो स्मृतिमा ताजै छ ।

यी सबै कुराभन्दा बढी मलाई एक वर्षदेखि ‘हाकुना मटाटा’ भन्ने शब्द मेरो दिमागमा घुमिरहेको छ । यो शब्द पूर्वी अफ्रिका, तान्जानिया र केन्यामा खुब प्रयोग हुँदो रहेछ । ‘हाकुना मटाटा’ एउटा स्वाहिली शब्द हो । जसको अर्थ, ‘कुनै चिन्ता छैन’ भन्ने हुन्छ । यो शब्द १९९४ मा रिलिज भएको डिज्नीको ‘द लायन किंग’ फिल्ममार्फत विश्वभर चर्चित भएको हो । फिल्ममा, यो शब्द एक प्रकारको जीवनदर्शनको रूपमा प्रस्तुत गरिन्छ । जहाँ पात्रहरू समस्यालाई पराजित गर्दै जीवनको रमाइलो र खुसी खोज्छन् । यसमा जीवनका चुनौतीहरूलाई सरल रूपमा लिने र चिन्ता नगरी जिउने विचार प्रस्तुत गरिएको छ ।

‘हाकुना मटाटा’ र नेपाली समाज तथा राज्यको निस्फिक्री सोंचको बारेमा म केही उदाहरण दिएर यो लेख प्रस्तुत गर्न चाहन्छु ।

व्यक्तिगत जीवनमा निस्फिक्रीपन

हाम्रो सामाजिक व्यवहारमा यो प्रवृत्तिको प्रतिविम्ब दिनहुँ देखिन्छ । म प्रायः क्याफेमा गएर काम गर्न रुचाउँछु । क्याफे एक सार्वजनिक स्थल हो, जहाँ मान्छेहरू आउनु, बातचित गर्नु सामान्य कुरा हो । अधिकांश मान्छेहरू क्याफेभित्र अरू पनि मान्छे छन् भन्ने सामान्य ख्यालसमेत नगरी मोबाइलकै ह्यान्ड्स फ्रीमा कुरा गरिरहन्छन् । सायद, अर्को मान्छेलाई थाहा पनि छैन कि म ह्यान्ड्स फ्रीमा कुरा गरिरहेको छु । क्याफेमा भने सबैले उसको दुवैतर्फको कुरा सुनिरहेका हुन्छन्, तर कुरा गर्नेलाई कुनै प्रवाह छैन । बिना इयरफोन अरूलाई आफूले के सुनिरहेको छु भनेर सुनाउनका लागि हो कि के हो, सबैलाई सुन्ने गरी चर्को स्वरमा  बजाउनु त अधिकार नै सम्झन्छन् होला सायद ! यो नेपालीको निस्फिक्रीपन को सामान्य उदाहरण हो ।

यस्ता उदाहरण लेख्ने हो भने नेपाली सबैले एक–एक किताब लेख्न सक्छन् । ‘मैले गरेको कामले अरूलाई असर पारेको पो छ कि’ भनेर नेपालीले किन सोच्दैनन् ? सार्वजनिक स्थानमा मर्यादाहीन व्यवहार गर्नु, पालो मिच्नु वा कानुन पालना नगर्नुजस्ता गतिविधिले हामी कसरी ‘जे गरे पनि हुन्छ’ भन्ने निस्फिक्री मानसिकताबाट ग्रसित छौँ भन्ने स्पष्ट पार्छ ।

समाजको मौनताः न्यायको उपहास

नेपाली समाजमा निस्फिक्रीताको घातक रूप तब देखिन्छ जब सामूहिक बलात्कारजस्ता गम्भीर अपराधहरूलाई पनि पञ्चायती मिलापत्रमार्फत मिलाउने प्रयास हुन्छ । गत माघ २७ गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदा शौच गर्न बाहिर निस्केकी थिइन् । त्यस रात उनी तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताइन् । २९ र ३० गते गाउँमा पञ्चायत बस्यो, घटना मिलाउन लेनदेनको प्रयास भयो । बलात्कार हुनु, छुवाछुतको गाली बेइज्जती हुनु, प्रहरी प्रशासन दुई दिनसम्म नआइपुग्नु अनि तेस्रो दिन उनको शंकास्पद मृत्यु हुनु ।

बलात्कारजस्तो आपराधिक घटनामा अझै पनि समाज पञ्चायत बसेर मिलाउने प्रयास गर्छ । किन ? के गरिब, दलित, वा न्यायसम्म पहुँच नभएका मानिसहरूमाथि जे गरे पनि हुन्छ भन्ने सोच हाम्रो समाजमा गडिएको छ ? यही हो हाम्रो निस्फिक्री समाज को प्रतिनिधि उदाहरण । नवराज विक र उनका साथीहरूको हत्या, र अहिले रिंकुको मृत्यु– यी सबैले देखाउँछन् कि हाम्रो समाज अझै दमन, अन्याय, र मौनताको चक्रव्यूहमा फसिरहेको छ । नवराज विकको हत्या पाँच वर्षअघि भयो, तर आज पनि उनकी आमा न्यायको खोजीमा छन् । रिंकुकी आमा पनि जेठ १० गते माइतीघर मण्डलामा न्याय माग्न आइपुग्नु परेको छ । उहाँहरू भन्नुहुन्छ ‘अब हामीसँग आशा र आँसु मात्रै छ’ ।

दलित आन्दोलनको सम्मान स्वरूप नेपालको संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो तर छुवाछुत मुक्त राष्ट्र घोषणा भयको १९ बर्ष पश्चात पनि छुवाछुतमुक्त राष्ट्र घोषणाको व्यावहारिक कार्यान्वयन हुन् सकिरहेको छैन तेस्को ज्वलन्त उदाहरण यी घटना लाई नै लिन सकिन्छ। यी घटना प्रतिनिधि उदाहरण हुन्, हामी कस्तो समाज बनाइरहेका छौं ? हामीले के सिकेका छौं ? नेपाली समाजको लागि यी साना तर अहम् प्रश्नहरू हुन् ।

राज्यको लाजमर्दो निस्फिक्रीपन

अब अलिकति राज्यको कुरा गरौँ ।

मानव बेचबिखनजस्तो अन्तर्राष्ट्रिय मुद्दामा, भुटानी शरणार्थी काण्डदेखि भर्खरै एअरपोर्टको बारेमा जुन समाचार आयो, यो आफैँमा नेपाली राज्यको लाजमर्दो स्थिति हो । आफ्नै नागरिकको बेचबिखन गर्नु भनेको मनमानी मात्रै होइन, संसारको सामु नेपालको शिर निहुराउनु हो । तर, पनि राज्य संवेदनशील भएको पटक्कै देखिँदैन । यी विषय खाली विरोध र बचाउको सवाल हुनु आफैँमा दुःखलाग्दो र लाजमर्दो विषय हो ।

भर्खरै बीबीसीमा एउटा समाचार आयो– क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा हिमपातमा परेर एक भारतीय परिवारको मृत्यु भएको घटनामा दुई जनालाई सजाय तोकिएको छ । जगदीश पटेल (३९), उनकी श्रीमती वैशालीबेन (३७) र उनीहरूका दुई छोराछोरी (११ वर्षीया विहंगी र तीन वर्षीय धार्मिक) को शव जनवरी २०२२ मा फेला परेको थियो । शिक्षक दम्पती र उनीहरूका छोराछोरी अमेरिका प्रवेश गर्ने क्रममा हिमपातमा परेका थिए, जहाँ तापक्रम माइनस ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । प्रहरीले अनुसन्धान गर्दा यो घटना मानव बेचबिखनको ठूलो सञ्जालको एउटा पाटो भएको खुल्यो ।

यसरी अवैध बाटो जाने नेपालीहरू बाटोमै बितेको खबर हामीले पनि सुनेका छौँ, तर नेपाली राज्यले न न्यायका लागि पहल गरेको छ न त आफ्नै एअरपोर्टमा आइरहेको यस्तो समाचारको निष्पक्ष छानबिन गरेर जनतालाई आश्वस्त पार्न सकेको छ । यो संसारको अगाडि नेपालको लज्जाको विषय हो । साथै, अपराध पनि हो । यस्तो भएपछि युवाहरूले नेपालमा सम्भावना देख्दैनन् । उच्च शिक्षित युवाहरू विदेश जानुमा गर्व गर्छन्, देशभित्र संघर्ष गर्नुमा रुचि देखाउँदैनन् । जसले गलत देख्छ, उसले बोल्दैन । बोल्ने कोसिस गर्छ, तर सुनिँदैन । समस्या पहिचान हुन्छ, तर समाधानको खोजी छैन । यो अवस्थाले युवाहरूमा व्याप्त निराशा र पलायनको भावलाई संकेत गर्छ । देश निर्माणमा युवाको सक्रिय सहभागिता हुनुपर्नेमा उनीहरूको यो मौनता र पलायनले थप जटिलता सिर्जना गरेको छ, तर हाम्रो राज्य निस्फिक्री छ । अरुलाई दोष थोपरेर आफू चोखो बन्ने प्रयासमा छ ।

राजनीतिक नेतृत्वमा ‘हाकुना मटाटा’ : निर्लज्जताको पराकाष्ठा

राजनीतिक नेतृत्वमा पनि यस्तै ‘निस्फिक्री मानसिकता’ हावी छ । एउटै नेता पटक–पटक सांसद, मन्त्री, प्रधानमन्त्री बनेका छन्, तर बेरोजगारी, स्वास्थ्य, शिक्षा, सडकमा प्रगति छैन । असमानता बढेको छ, बजेट आउँछ, योजना घोषणा हुन्छ, तर कार्यान्वयन न्यून हुन्छ । जनताको आवाज सुन्नेभन्दा चुनावी रणनीति र पदको लोभ बढी देखिन्छ, तर पद पाएपछि के गर्ने कुनै भिजन छैन । यस्तो अवस्थामा ‘सबै ठीकै छ’ भन्नु हाकुना मटाटा होइन, यो त निर्लज्जता हो । जनताका आधारभूत आवश्यकता र देशको दीर्घकालीन विकासप्रति उदासीन रहँदै आफ्नो स्वार्थ मात्र हेर्ने प्रवृत्तिले मूल विषयमा राजनीतिक नेतृत्वको निस्फिक्रीता अचम्मकै छ ।

मूल काम एकले अर्कोलाई गाली गर्ने होइन, देशको भ्रष्टाचार, अव्यवस्था र सबै खाले विभेदको अन्त्यका लागि काम गर्ने हो भने सोच र व्यवहार कहिले आउने हो ? न कि आफू कसरी फेरि पदमा पुग्ने हो भनेर निस्फिक्री सोचिरहने हो ?

मूल काम एकले अर्कोलाई गाली गर्ने होइन, देशको भ्रष्टाचार, अव्यवस्था र सबै खाले विभेदको अन्त्यका लागि काम गर्ने हो भने सोच र व्यवहार कहिले आउने हो ? न कि आफू कसरी फेरि पदमा पुग्ने हो भनेर निस्फिक्री सोचिरहने हो ?

निष्कर्षः परिवर्तन कहिले ? कसले ?

हामीले अब बुझ्नैपर्छः जनताले प्रश्न गर्नुपर्छ, नेताले उत्तरदायित्व लिनुपर्छ, युवाले संघर्ष गर्नुपर्छ, र समाजले आत्ममूल्यांकन गर्नुपर्छ । ‘हाकुना मटाटा’ भन्ने शब्द प्रेरणा बन्न सक्छ, तर त्यसका लागि नागरिक, समाज र राज्यको सोच र व्यवहार मा रूपान्तरण आवश्यक छ । नत्र, यो शब्द हामी नेपालीका लागि प्रेरणा होइन, व्यंग्य मात्र बन्नेछ ।

जब यो सन्देशको सन्दर्भमा हामी नेपालको समाज र विशेष गरी नेपाली युवाहरूको स्थिति सम्झन्छौं, तब केही गहिरो प्रश्न उठ्छ । के हामी नेपालीहरूले जीवनमा वास्तविक समस्याहरूसँग जुझ्नको सट्टा ‘हाकुना मटाटा’ को मानसिकता अपनाएका छौँ ? के हाम्रो देशको वर्तमान अवस्थामा हामीलाई कुनै चिन्ता छैन, जब नेपालीहरूको भविष्य अनिश्चित छ ? त्यसैले, ‘हाकुना मटाटा’ केवल एक सकारात्मक दृष्टिकोण मात्र होइन, यो हामीलाई हाम्रो जिम्मेवारी र कार्यप्रति सचेत गराउने एउटा चेतावनी पनि हो ।

जबसम्म हामी वास्तविक समस्याहरूको सामना गर्दैनौँ, हामीलाई यो प्रवृत्ति निरन्तर निराशाजनक परिणाममा पुर्‍याउन सक्छ । जसका कारण विभिन्न स्वरहरू हामीले सडकमा सुन्न पाइरहेका छौँ । त्यसको मूल कारण भनेको ’डेलिभरी’ नभएर हो ।

‘हाकुना मटाटा’ भन्नुको मतलब यो होइन कि हामी समस्याबाट भाग्छौँ, बरु यसको अर्थ यो हो कि हामी समस्याको सामना गर्दै समाधान गर्न सक्रिय र सृजनशील उपायहरू खोज्छौँ । यो स्वाहिली शब्द हो, जसको अर्थ हुन्छ– ‘कुनै चिन्ता छैन ।’ यो केवल एउटा अभिव्यक्ति होइन, त्यहाँको जीवनशैलीको प्रतिबिम्ब हो–जहाँ समस्याहरूलाई हल्का ढंगले लिँदै समाधानतर्फ सोच्ने प्रयास गरिन्छ । तर, नेपाल फर्किएपछि मलाई लाग्यो– हामी अझैँ निस्फिक्री छौँ, निस्फिक्री नै रहनेछौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register