वर्षासँगै बढ्दैछ डेंगु संक्रमणको जोखिम सतर्कता अपनाउन विज्ञहरूको आग्रह

काठमाडौं । पछिल्ला चार वर्षमा नेपालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । यस वर्ष पनि औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानका कारण डेंगु संक्रमणको जोखिम थप बढ्ने सम्भावना औंल्याउँदै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार लगातारको वर्षाले पानी जम्ने स्थानहरूमा एडिस इजिप्टाई जातको […]

Jun 5, 2025 - 02:57
 0
वर्षासँगै बढ्दैछ डेंगु संक्रमणको जोखिम सतर्कता अपनाउन विज्ञहरूको आग्रह

काठमाडौं ।

पछिल्ला चार वर्षमा नेपालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । यस वर्ष पनि औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानका कारण डेंगु संक्रमणको जोखिम थप बढ्ने सम्भावना औंल्याउँदै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार लगातारको वर्षाले पानी जम्ने स्थानहरूमा एडिस इजिप्टाई जातको डेंगु सार्ने लामखुट्टे वृद्धि हुने सम्भावना अत्यधिक छ । यस्ता लामखुट्टेहरू घर वरिपरिका जमेको पानी, फूलदानी, गमला, टायर, प्लास्टिकका बोतल, वा पानीका ट्याङ्कीहरूमा अण्डा पारेर वंशवृद्धि गर्छन् ।

डेंगु एक प्रकारको भाइरसबाट सर्ने रोग हो जुन संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेपछि सर्छ । त्यसैले संक्रमण फैलिन नदिन लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र सरसफाइ अभियान आवश्यक रहेको महाशाखाले जनाएको छ ।बालबालिकाहरू डेंगुको जोखिममा पर्ने संवेदनशील समूह भएकाले तिनीहरूलाई दिनको समयमा पनि झुलभित्र सुताउने र पूरै शरीर ढाक्ने लुगा लगाइदिने सल्लाह दिइएको छ ।

सरकार र स्थानीय तहले डेंगु नियन्त्रणको प्रयासलाई तीव्र बनाउँदै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, डेंगु रोकथामको सबैभन्दा प्रभावकारी उपाय व्यक्तिगत र सामूहिक सतर्कता नै हो । अतः डेंगुको जोखिमलाई ध्यानमा राख्दै प्रत्येक नागरिकले आफ्नो घर र वरिपरि सफा राख्ने, पानी नजम्ने बनाउने र आवश्यक स्वास्थ्य सावधानी अपनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ छ ।

नेपालमा पहिलोपटक सन् २००६ मा डेंगु चितवनमा देखा परेको थियो । त्यतिखेर ३२ जनालाई डेंगु संक्रमण भएको थियो । त्यसपछि सन् २००७ मा २७ जना, २००८ मा १०, २००९ मा ३०, २०१० मा ९१७, २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६४२ र २०१४ मा ३५६ जनालाई डेंगु संक्रमण भएको थियो । त्यसै गरी सन् २०१५ मा १३४ जना, २०१६ मा १ हजार ५२७, २०१७ मा २ हजार १११ जना र २०१८ मा ८११ जना डेंगु संक्रमित भएका थिए ।

काठमाडौंमा मात्रै यो पाँच महिनाभित्र अर्थात गत जनवरीदेखि हालसम्म ११९मा डेंगु सक्रमण पुष्टि भएको छ । सन् २०२२ मा काठमाडौंमा डेंगुको प्रकोप निकै उच्च रहेको थियो । त्यतिबेला काठमाडौं डेंगु संक्रमितको संख्याको हिसाबले देशकै उच्च १० स्थानभित्र परेको थियो । पछिल्लो समय सन् २०२४ मा काठमाडौंमा ५ हजार ९१९ जनालाई डेंगुले सताएको थियो । सन् २०२३ मा जनवरी १ देखि अक्टुबर २९ सम्म देशैभरिको तथ्यांक हेर्दा कुल २ लाख ६७ हजार ६८० जना डेंगुबाट प्रभावित भएका थिए ।


डेंगु संक्रमणका लक्षणहरू

एक्कासी उच्च ज्वरो आउनु
ज्वरो सामान्यतः पाँचदेखि सात दिनसम्म रहनु
टाउको दुख्ने, आँखाको गेडी वा पछाडि दुख्ने,
जोर्नी तथा मांसपेशी दुख्ने
वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने
शरीरमा विमिरा देखापर्ने र गम्भीर अवस्थामा बेहोस हुने

जोगिने उपाय

लामखुट्टेको टोकाइबाट बच्न सुत्दा झुलको प्रयोग गर्ने
खेतबारी वा बाहिरी काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
घरको झ्याल तथा ढोकामा जाली लगाउने
गमला, फुलदानी, टायर, खाली ड्रम, प्लास्टिकका भाँडाजस्ता पानी जम्न सक्ने सम्भावित स्थानहरूमा पानी जम्न नदिने
पानीका ट्याङ्कीहरूलाई राम्रोसँग छोपेर राख्ने
फुलदानीको पानी हप्तामा कम्तीमा दुईपटक परिवर्तन गर्ने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register