बिचौलियाले रकम माग गरेमा नदिनुस्

–नेपालको विमानस्थलबाट मात्र यात्रा गर्नुहोस्–एनओसी लिएरमात्र यात्रा गर्नुहोस्–भिजिट र पर्यटन भिसामा काम गर्न नजानुहोस् काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश यात्रा गर्दा पालना गर्नुपर्ने ७ बुँदे आग्रह गरेको छ । कार्यालयले भिजिट र पर्यटन भिसामा हुने गरेको अनियमितता र सेटिङ रोक्न सो अनुरोध गरेको हो । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद […]

Jun 25, 2025 - 02:20
 0
बिचौलियाले रकम माग गरेमा नदिनुस्

–नेपालको विमानस्थलबाट मात्र यात्रा गर्नुहोस्
–एनओसी लिएरमात्र यात्रा गर्नुहोस्
–भिजिट र पर्यटन भिसामा काम गर्न नजानुहोस्

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश यात्रा गर्दा पालना गर्नुपर्ने ७ बुँदे आग्रह गरेको छ । कार्यालयले भिजिट र पर्यटन भिसामा हुने गरेको अनियमितता र सेटिङ रोक्न सो अनुरोध गरेको हो । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले विमानस्थल कार्यालयको सुधार र भिजिट भिसालाई व्यवस्थित गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

कार्यालयले भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाने यात्रुलाई विदेश यात्रा गर्दा आफन्त भेट्ने र घुम्नेलगायत भिसाको उद्देश्यअनुसारका काममात्र गर्न र भिसाको अवधिभित्रै स्वदेश फर्कन आग्रह गरेको छ । भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकाले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा बिचौलियाले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन आग्रह गरेको छ ।

भिजिट वा पर्यटक भिसामा यात्रा गर्दा नक्कली कागजात पेस गर्ने, झुठ्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्यअनुरूप मात्र कार्य गरी आफूलाई पूर्ण रूपमा सुरक्षित राख्न थप सजगता अपनाउन आग्रह गरेको छ । काम गर्ने मनसायले विदेश जाँदै हुनुहुन्छ भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएरमात्र प्रस्थान गर्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयमा नपढी गलत ढङ्गबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनहरूमा अध्ययन भिसामा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिने सपना देखेर बिचौलियामार्फत विदेशी विश्वविद्यालयमा भर्ना भई काम गर्ने मनसायले भ्रमण गर्ने गरेको जानकारी पाएपछि सतर्क रहन आग्रह गरेको छ । ‘काम गर्ने र पढ्ने’ विषय अलग–अलग भएकोले यसमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी एनओसी कार्यालयबाट नक्कली कागजातको आधारमा भिसा लिने र सोही आधारमा विदेश जाने गरेपछि कार्यालयले थप कडाइ गर्दै निर्देशन जारी गरेको हो । कार्यालयले मन्त्रालयअन्तर्गतको कार्यालय बाटमात्र एनओसी लेटर लिन आग्रह गरेको छ ।

विदेश यात्रा गर्दा नेपालको विमानस्थलबाट मात्र यात्रा गर्न अनुरोध गरेको छ । भारत वा अन्य तेस्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्नुपरेमा नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन सर्टिफिकेट लिएरमात्र यात्रा गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा पठाउन इजाजत प्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा गोप्य सूचना दिनसमेत आग्रह गरेको छ ।
भिजिट र पर्यटक भिसाबाट विदेश जाने यात्रुका लागि व्यवस्थित यात्रा गराउने हेतुले कार्यालयले अनुरोधपत्र जारी गरेको छ । कार्यालय प्रमुख कोइरालाले अनुरोधपत्र जारी गरे पनि अनियमित तबरले विदेशयात्रा गर्नेको संख्या घट्दो क्रममा रहेको जानकारी गराउनुभयो ।


उच्चस्तरीय छानबिन समितिलाई ९ बुँदे कार्यजिम्मेवारी


भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बनाएको उच्चस्तरीय छानबिन समितिलाई बनाएको ९ बुँदे कार्यजिम्मेवार दिएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबारको प्रतिनिधिसभामा बोल्दै समिति बनाएको जानकारी दिनुभएको हो । समितिले ३ महिनाभित्र छानबिन प्रतिवेदन बुझाउनेछ । समितिलाई ९ बुँदे कार्यादेश दिएको हो ।

समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रदीप कोइराला रहनुभएको छ । समितिको सदस्यसचिवमा गृह मन्त्रालयबाट आनन्द काफ्ले रहने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register