बेलायतमा उत्साहजनक सहभागितामा सम्पन्न भयो आनी छोइङ च्यारिटी कन्सर्ट (तस्विरहरु)

लन्डन- बेलायतमा भइरहने अनगिन्ती कार्यक्रमभन्दा भिन्न थियो त्यो समारोह। क्याम्बर्लीस्थित कन्ट्री क्लवको अन्तर्राष्ट्रिय कन्सर्ट हल । ‘इनर मेलोडी फर इनर पिस लाइभ’ कन्सर्टमा प्रमुख आकर्षण बनेकी थिइन् विश्वभरका बौद्धिष्ट अनुयायीमाझ लोकप्रिय गायिका आनी छोइङ ड्रोल्मा । मानवसेवा आश्रमको सहयोगार्थ गत मे ५ मा एउटा पृथक कन्सर्ट भयो पन्ध्र सय दर्शक सहभागितामा । मानवसेवा आश्रमको भवन […]

May 7, 2024 - 08:53
 0
बेलायतमा उत्साहजनक सहभागितामा सम्पन्न भयो आनी छोइङ च्यारिटी कन्सर्ट (तस्विरहरु)

लन्डन- बेलायतमा भइरहने अनगिन्ती कार्यक्रमभन्दा भिन्न थियो त्यो समारोह। क्याम्बर्लीस्थित कन्ट्री क्लवको अन्तर्राष्ट्रिय कन्सर्ट हल ।

‘इनर मेलोडी फर इनर पिस लाइभ’ कन्सर्टमा प्रमुख आकर्षण बनेकी थिइन् विश्वभरका बौद्धिष्ट अनुयायीमाझ लोकप्रिय गायिका आनी छोइङ ड्रोल्मा ।

मानवसेवा आश्रमको सहयोगार्थ गत मे ५ मा एउटा पृथक कन्सर्ट भयो पन्ध्र सय दर्शक सहभागितामा । मानवसेवा आश्रमको भवन निर्माण परियोजनालाई कोष जुटाउन आश्रमको बेलायत शाखाले गरेको उक्त लाइभ च्यारिटीबाट संकलन भएको कोष विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।

कन्सर्ट अवधिभर गायिका आनी छोइङले आफ्नो प्रेरणादायी प्रवचन दिंदै गीत गाइन्, प्रार्थना गरिन् र मन्त्र सुनाइन् ।

फूलको आंखामा, बुद्धम शरणम गच्छामी, आमा, ओम शान्ति ओम…लगायत दर्जन आध्यात्मिक गीत प्रस्तुत गरेर दर्शकलाई बेलायतको तनावपूर्ण जीन्दगीबाट एकछिन भएपनि टाढा लगिन् ।

विदेशी आयोजकहरुको निमन्त्रणामा प्रस्तुति दिंदा एकै प्रस्तुतिका लागि करोडसम्म पारिश्रमिक लिने गरेकी उनले यो कन्सर्टमा भने नितान्त मानवसेवा आश्रमका लागि स्वयंसेवी भावनाले प्रस्तुति दिइन् । नेपालबाट आएका वाद्यवादकहरुको बेजोड लाइभ सांगीतिक धुनले पनि सहभागी सबैलाई आकर्षित गरेको थियो ।

आनी आफ्नो पारिश्रमिकबाट हरेक वर्ष करोडौं रुपैया सामाजिक सेवामा खर्चिने सम्भवतः एक्ली नेपाली गायिका हुन् । गायिका आनीले मानवसेवा आश्रमलाई निरन्तर सहयोग गर्दै आएकी छन् ।

‘२०-३० लाखका लागि हो भने म आफैं सहयोग गरौंला, मैले गाइदिएर कम्तिमा एक करोड मानवसेवा आश्रमलाई सहयोग पुग्छ भने म तयार छु’, गायिका आनी छोइङ ड्रोल्माले कार्यक्रमअघि आयोजक मानवसेवा आश्रमलाई यस्तो बताएकी थिइन् । यस कारण पनि आयोजक दर्शक जुटाउन र च्यारिटी संकलन गर्न निकै दवावमा थियो ।

गायिका तथा समाजसेवी आनी छोइङ ड्रोल्माले मानवसेवा आश्रमले आयोजना गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्राका लागि त्यस लगत्तै करिब ५६ लाख रुपैंया सहयोग गरेकी थिइन् । ४५ दिनसम्म चलेको उक्त यात्राका क्रममा ३०४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मानव सेवा आश्रमको उद्देश्य निकै अनुकरणीय र प्रशंसनीय रहेको भन्दै संस्थाले गरिरहेको मानव सेवामा सबैलाई साथ दिन आग्रह गरे ।

औपचारिक सत्रमा मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले आफ्नो परोपकारी संस्थाले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्य राखी देशव्यापीरुपमा सेवा प्रवाह गर्दै आइरहेको बताए ।

उनले मानवता प्रवर्धन महाअभियानमा बेलायतवासी नेपालीको सहयोगप्रति आभार व्यक्त गर्दै देशभर निर्माण भइरहेको भवनका लागि सहयोग गर्न सबैलाई अपिल गरे ।

अधिकारीले हाल १९ जिल्लामा २४ केन्द्रहरुबाट मानव सेवा आश्रमको सेवा सञ्चालन भइरहेको जनाउंदै १७०० जना बेसहाराले अहिले खाना, नाना, स्वास्थ्य र शिक्षा पाइरहेको उल्लेख गरे ।

अहिले १६ जिल्लामा संस्थाको आफ्नै सेवा केन्द्र भवन निर्माणाधिन रहेको पनि अधिकारीले जनाए ।

मानव सेवा आश्रम बेलायत अध्यक्ष सुनिलबाबु खड्काले एक वर्ष अगाडि मात्रै यूके शाखा स्थापना गरि केन्द्रको अभियानमा सहयोगी बनेको जनाउंदै मनकारी महान मनहरुलाई आखिर लैजाने त केहि होइन, सबै यहीं यतै छाडेर जाने भएकाले जानु अघि आफूलाई र छाडेर गएपछि परिवारलाई आनन्दित बनाइरहने कर्म गर्न अपिल गरेका थिए ।

कार्यक्रममा मानवसेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । उनले सहयोगी सबैप्रति आभार पनि व्यक्त गरे ।

च्यारिटी कन्सर्टपछि  गायिका आनी र मानवसेवा आश्रमको टीम अबका केही दिन बेलायतस्थित नेपाली समुदायासँग  ‘मिट एन्ड ग्रिट’ मा व्यस्त रहने भएको छ।  आश्रमको बेलायत शाखा कोषाध्यक्ष चन्द्र अर्यालका अनुसार मंगलबार स्कटल्यान्ड जांदै गरेको टीम विहीबार लन्डन फर्किनेछ।  त्यसपछि १० तारिख शिव कल्चरल सेन्टर अल्डरसट, ११ तारिख डायमण्ड बुद्धिष्ट् सेन्टर वुल्लीच,  १२ तारिख बिहान लन्डन दूतावास र बेलुका बुद्धिष्ट गुम्बा रेडिङमा ‘मिट एन्ड ग्रिट’ हुँदैछ भने १३ तारिख बेलुका एभरेष्ट इन रेष्टुरेन्टमा एक च्यारिटी डिनर राखिएको छ।  

मे १४ तारिख गायिका आनी नेपाल फर्किएपछि मानवसेवा आश्रमको टीम वेल्ससम्म पुग्ने कार्यक्रम पनि छ । 

(तस्विरहरु: केके मूभिज् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register