आज विश्व रक्तदाता दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Jun 14, 2023 - 01:19
 0
आज विश्व रक्तदाता दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व रक्तदाता दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ ।  आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । 

यस वर्ष ‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । 

नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमित रूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ । 

यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ । 

यस दिवसका अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । एशोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एशोसिएसनका महासचिव केशव महर्जनले जानकारी दिनुभयो । 

“साइकल र्‍याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम आयोजना गरेका छौँ'', उहाँले भन्नुभयो, “अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तदातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।”

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । 

पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1