शक्ति-विनोदको नजरमा वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिज, विश्वकपका अवसर र चुनौती

काठमाडौं । राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपमा सहभागी हुने तयारीमा छ । १० वर्षपछि दोस्रोपटक खेल्न लागेको विश्वकप नेपाली क्रिकेटको लागि सुनौलो अवसर हो । जुन २ मा सुरु हुने विश्वकपको लागि नेपाली टोली वेस्टइन्डिजमा तालिम गरेर अमेरिका जाँदैछ । विश्वकप अगाडि तयारीस्वरूप नेपालले वेस्टइन्डि ‘ए’ विरुद्ध ५ खेलको टी-२० सिरिज खेल्यो । जुन सिरिज […]

May 8, 2024 - 16:06
 0
शक्ति-विनोदको नजरमा वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिज, विश्वकपका अवसर र चुनौती

काठमाडौं । राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपमा सहभागी हुने तयारीमा छ । १० वर्षपछि दोस्रोपटक खेल्न लागेको विश्वकप नेपाली क्रिकेटको लागि सुनौलो अवसर हो ।

जुन २ मा सुरु हुने विश्वकपको लागि नेपाली टोली वेस्टइन्डिजमा तालिम गरेर अमेरिका जाँदैछ । विश्वकप अगाडि तयारीस्वरूप नेपालले वेस्टइन्डि ‘ए’ विरुद्ध ५ खेलको टी-२० सिरिज खेल्यो । जुन सिरिज नेपालले ३-२ ले गुमायो । यही सिरिजको दौरान नै नेपालले आफ्नो विश्वकप खेल्ने टोली घोषणा पनि गर्‍यो ।

पहिलो ३ खेलमा खेलाडीको चयनका लागि विभिन्न प्रयोग भयो । अन्तिम २ खेलमा भने विश्वकप खेल्ने स्क्वाडले नै प्रतिस्पर्धा गरेको थियो । पाँचौँ खेलको जित नेपाली टोलीको लागि आत्मविश्वास बढाउन सहयोगी भयो ।

२०१४ मा टी-२० विश्वकप खेलेका तथा नेपाली क्रिकेटको ग्रासरुटमा योगदान पुर्‍याउँदै आएका शक्ति गौचन र नेपाल क्रिकेट सङ्घ क्यानका राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक विनोद दाससँग हामीले वेस्टइन्डिजसँगको सिरिज र विश्वकपमा नेपालको प्रदर्शनबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ, दुई पूर्वखेलाडीसँगको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री ।

शक्ति गौचन

वेस्टइन्डिजसँगको खेल 

लेभलको हिसाबले हेर्ने हो भने हामीले धेरै राम्रो गर्‍यौँ । सिरिज ३-२ ले हारे पनि हामीले बलियो रूपमा फाइट गर्‍यौँ । विश्वकप अगाडि जस्तो तयारी पाउनुपर्ने थियो । त्यो पाउन सफल भएका छौँ । एक प्रकारले हाम्रो टोलीले फर्ममा भएको अनुभूति भएको छ ।

विभिन्न ५ खेलमा दिएको फरकपनभन्दा पनि एउटा तयारी देखियो । सबै खेलाडीलाई दिइएको एउटा अवसर थियो । भोलिको दिनमा कोही घाइते भएमा उसको ठाँउ लिन सक्ने खेलाडी पनि त हुनुपर्‍यो ।

यसैगरी अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने एउटा अवसर पनि हो । यो सिरिजले खेलाडीले क्षमता देखाउने अवसर पनि पाए र जस्तो तयारी आवश्यक थियो । त्यही पाएको महसुस पनि गरेँ ।

नेपालको डेथओभरमा प्रदर्शन

नेपालले डेथओभरमा गरेको प्रदर्शन राम्रो भइरहेको छ । अविनाश बोहराले राम्रो गरिरहेको छ । कुन खेलाडी कुन दिनमा क्लिक गर्छ भन्ने कुरा न हो । खेलको एउटा पाटो हो । कहिले विपक्षीको ब्याट्सम्यान स्ट्रङ फर्ममा हुन्छ । कहिले उनीहरूको ब्याटिङ त कहिले बलिङ स्ट्रङ देखिन्छ । पिचको अवस्थाले पनि फरक पार्छ ।

सोमपालले पनि कमब्याक गर्‍यो, अविनाशले पनि राम्रो गर्‍यो । एक्जिक्युशन राईट भयो कि भएन, खेलको अवस्था राम्रो थियो कि थिएन, सबै कुराले फरक पर्छ । त्यही भएर डेथओभरको बलिङमाथि प्रश्न उठाइहाल्न आवश्यक छैन जस्तो लाग्छ ।

वेस्टइन्डिज ‘ए’ विरुद्ध कुशलदेखि कप्तान रोहितसम्मको प्रदर्शन

विराट कोहली जस्तो खेलाडीले त १९ खेलबाट १०० रन बनाउन सकेका थिएनन् । कुनै कुनै खेलमा त २० पनि कटाउन सकेका थिएनन् । विराट जस्तो लेजेन्डरी प्लेयरको त कहिले फर्म हराउँछ भने हामी भनेको त उदाउँदै गरेको खेलाडी न हो । त्यही भएर त्यस्तो तनाव लिनुपर्ने र अत्तालिनुपर्ने अवस्था छैन । खेलाडीलाई लिएर चिन्ता मान्नुपर्दैन ।

कुशल भूर्तेल पक्कै पनि ओपनिङका लागि भरपर्दो खेलाडी हुन् । कुशल एक अनुभवी खेलाडी हो । हाम्रो टोलीमा विकल्प पनि नभएको होइन तर, हरेक राष्ट्रमा हरेक ठूलो अवसरमा अनुभवी खेलाडीले नै ब्याट गर्छ । विश्व क्रिकेटमा यस्ता थुप्रै उदाहरण नै छन् ।

विश्वकप नजिक छ । धेरै खेलाडीलाई अवसर दिएर जाँच्ने पनि समय छैन । त्यही भएर पनि हामीले हाम्रो अनुभवी खेलाडीलाई नै निरन्तरता दिनुपर्ने हुन्छ । हाम्रो बलियो खेलाडीले अहिले कमब्याक गरेन भने कहिले गर्छ त भन्ने नै अवस्था छ । प्रशिक्षक, व्यवस्थापन टोलीले पनि त्यही हेरेर निर्णय गरेको छ । एउटा उत्कृष्ट टोली गएको छ । फर्म भनेको अनुभवी खेलाडीको पनि जानसक्छ तर, कमब्याक स्ट्रङ भएमा चिन्ता लिनुपर्ने कुनै ठाँउ छैन ।

क्षमतावान् भए पनि अनिल साह ‘कन्सिस्टेन्ट’ प्रदर्शनमा चुकेका देखिन्छन् । अनिल अनुभवी खेलाडी नै हो । विगत ३-४ वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलिरहेको छ । खेलाडीको प्रदर्शन खेलको अवस्थामा पनि भर पर्छ । अन्तिम खेलमा गरेको प्रदर्शनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने क्षमता अनिलले देखाए । त्यही कारण पनि अनिल टोलीमा परेको होला । अनिल पनि नेपालको लागि राम्रो पक्ष हुन सक्छ ।

दोस्रोपटक विश्वकप खेल्न लागेका सोमपाल कामीलाई नेपाली क्रिकेटमा सबैभन्दा भाग्यशाली व्यक्ति पनि भन्न सकिन्छ । दोस्रो विश्वकप खेल्दैछ । सँगसँगै सोमपालमाथि जिम्मेवारी पनि थपिएको छ । उसले वेस्टइन्डिज ‘ए’सँगको खेलमा पनि बलियो कमब्याक गरेको छ ।  योसँगै उसलाई एउटा मौका पनि छ । नेपाली क्रिकेटलाई लामो समयसम्म योगदान पुर्‍याउन सक्ने खेलाडीको रूपमा सोमपालले आफ्नो छवि बनाएका छन् । उसको उत्कृष्ट प्रदर्शन हुनेमा मेरो आशा मात्र होइन कि विश्वास पनि छ ।

यस्तै रोहित पौडेल ‘कुल क्याप्टेन’ हो । प्रश्न गर्ने ठाउँ नै छैन । विगत ३ वर्षदेखि जसरी नेपाली टोलीलाई ग्रुम गर्दै आफू पनि ग्रुम भइरहेको छ, नाजुक अवस्थामा पनि ब्याटिङ युनिटको प्रतिनिधित्व गर्दै जसरी प्लेयर अफ द सिरिज जित्यो, यसले उसको कप्तानीको भविष्य लामो चल्ने सङ्केत दिन्छ। आगामी दिनमा नेपाली टोलीलाई थप जिम्मेवारीपूर्वक नेतृत्व गर्छ भन्ने महसुस भएको छ ।

टेस्ट राष्ट्रलाई पावर प्लेमा दबाब सृजना गर्ने चुनौती

टेस्ट प्लेइिङ राष्ट्रसामु गाह्रो त हुन्छ नै। अब कुकुरलाई बाघको अगाडि राख्यो भने त पक्कै पनि बाघ नै माथि हुन्छ । कुन अवस्थामा कसरी खेल्ने भन्ने कुरा हो । विगत केही महिनामा नेपाली खेलाडीले कुन अवस्थामा कुन निर्णय लिने कसरी खेल्ने भन्ने क्षमताको विकास गरेको पाएको छु ।

अब एक रुपैयाँ लिएर एक करोड नै कमाउँछु भनेर सोचेर मात्र पनि त भएन । हरेक समर्थकले नेपालले जित्छ भनेर नै हेर्छ। म पनि त्यही नै चाहन्छु । त्यो राम्रो पनि हो । तर, यथार्थ के हो त्यो पनि त बुझ्न आवश्यक छ ।

हामी पनि चाहन्छौँ, नेपालले वर्ल्डकप जितोस् भनेर तर यथार्थ पनि त बुझ्नुपर्‍यो । वर्ल्डकप जित्ने हार्ने आफ्नो ठाँउमा छ । खेल जित्ने हार्ने आफ्नो ठाउँमा छ । तर, सन् १९९६ देखि २०२४ सम्म हेर्ने हो भने जुन नतिजा हामीले दिएको छ, त्योभन्दा राम्रो नतिजा दियो भने त्यो हाम्रो उपलब्धि हुनेछ । त्यो सोच लिएर अगाडि बढ्नुपर्छ ।

सबै पक्षमा राम्रो नै हुँदै गइरहेको छ । ब्याटिङ समस्या देखिरहन्थ्यो । तर, त्यसमा पनि बलियो कमब्याक गरेको देखि नै रहेको छ । अनुभवी बलिङ अट्याक पनि छ । त्यस्तो धेरै सुधार नै नदेखिने भन्ने छैन । सबै राम्रो भइरहेको छ ।

जस्तै, भारतको टोली पनि त कहिलेकाहीँ १०० मा आउट हुन्छ, त्यो भन्दैमा भारतको ब्याटिङ फितलो देखियो भनेर टिपण्णी गरी हाल्नुपर्ने आवश्यक छैन । कहिलेकाहीँ अप्रत्यासित नतिजा आउन सक्छ तर, कन्सिस्टेन्सी ल्याउनु भने आवश्यक छ ।

विश्वकप नेपालको ‘बेस्ट एक्स्पोजर’

योबीचमा कता-कता क्रिकेट हरायो कि भन्ने अवस्था पनि थियो । तर, सन् २०२१ पछि एकदिवसीय मान्यता जोगायौँ । एसिया कप खेल्यौँ । यस्तो अवस्थामा टी-२० विश्वकपले एउटा थप उचाइ प्रदान गर्नेछ ।

सन् १९९६ देखि अहिलेसम्म जस्तो उपलब्धि पायौँ, त्योभन्दा पनि राम्रो उपलब्धि लिएर आओस् भन्ने नै चाहना हो । जित्ने-हार्ने आफ्नो ठाउँमा छ । कुनै पनि टेस्ट प्लेइिङ राष्ट्र जस्तै दक्षिण अफ्रिका, श्रीलङ्कालाई हराउन सक्यौँ, टप १२ मा जान्छौँ भने क्वालिफाइ गर्छ भने पनि त्यो हाम्रो उपलब्धि हुनेछ । यो अवसर नेपाली क्रिकेटको लागि बेस्ट एक्स्पोजर हो । त्यहीअनुरूप भएको बेस्ट भिजन पनि दर्शाउन सक्नुपर्‍यो ।

‘नेपाली समर्थक’ लाई सन्देश

धीरता कायम गर्नु सक्नुपर्‍यो । आफ्नो टोलीले जित्दा उत्साहित भइन्छ, त्यो स्वाभाविक हो । तर, हार्दा अलिकति नरम भएर पनि टिपणी गर्नु आवश्यक देखिन्छ । हुन त खेलाडी यस्तो कुरा हेर्दैनन् ।

पहिलेदेखि समर्थकको सामाजिक सञ्जालमा हुने वाहवाही र निराशाजनक कमेन्ट हेर्‍यो भने खेल्न सकिँदैन भनेर नै हामीलाई सिकाइएको हुन्छ । मैले अहिले कमेन्ट पढ्न थालेको छु । कसै-कसैले अति नै कठोर शब्द प्रयोग गरेका हुन्छन् । त्यो पढ्दा दुःख लाग्छ । त्यसकारण एउटा रिजनेबल कमेन्ट दिनुहोला भन्न चाहन्छु ।

विनोद दास

नेपाल र वेस्टइन्डिज ‘ए’ सिरिज लाई हेर्दा

सफल भयो । खेल पनि राम्रो । खेलाडीको पाहुना टोलीको प्रतिक्रिया पनि राम्रो पायौँ । केही कुरामा पाठ पनि सिकाएको छ । सुरुवातको दिनमा वेस्टइन्डिज एको स्वागतको विषयमा उठेका प्रश्नप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अन्य थुप्रै कुरा सिकाएको पनि छ । यसले अर्को पाहुना टोलीलाई कसरी स्वागत गर्ने तयारी गर्ने भन्ने पाठ पनि सिकाएको छ । जस्तै अन्य धैरै पक्षको समीक्षा गर्नेछौँ । वेस्टइन्डिज ‘ए’ को व्यवस्थापकसँग पनि मैले निरन्तर कुरा गरेँ । प्रतिक्रिया मागेँ । उनीहरू एकदमै खुसी भएर गएका छन् । क्रिकेटको हिसाब तथा व्यवस्थापन हेर्दा पनि उनीहरूले फेरि आउने वातावरण मिलाउने प्रयास गर्छौँ भनेका छन् ।

वेस्टइन्डिज ‘ए’ विरुद्धको सिरिजले आईसीसीमा पुर्‍याउन सक्ने सन्देश

यो सिरिज आईसीसीको क्यालेन्डरको भाग थिएन । यो आईसीसीको चासोको विषय होइन । यो त दुईपक्षीय राष्ट्रको सम्बन्धित क्रिकेट निकायको आपसी समझदारीमा आयोजना भएको सिरिज न हो ।

अन्तर्राष्ट्रिय तालिका भएपनि आईसीसीको आधिकारिक ईभेन्ट नहुँदा डोमेस्टिक ईभेन्टमा नै काउन्ट हुन्छ । तर, यस सिरिजले नेपालले ठूलो राष्ट्रको टोलीलाई होस्ट गर्न सक्षम छ भन्ने सन्देश आईसीसीमा पक्कै पुग्ने आशा राखेका छौँ ।

वेस्टइन्डिज ‘ए’ बोलाउँदाका चुनौती

वेस्टइन्डिजसँगको यो प्रक्रिया लगभग एकवर्ष अगाडिदेखि सुरु गरेका थियौँ । हामीले कोर टीमलाई नै अप्रोच गरेका थियौँ । समय त लाग्यो नै । पहिलेदेखि नै तयार भएको पाहुन टोलीको फिक्सरमा आफ्नो खेल समावेश गराएर लगाउन गाह्रो काम त पक्कै पनि हो । अन्य राष्ट्रसँग पनि प्रस्ताव राखेका थियौँ । अझैँ पनि पाइपलाइनमा छ कति प्रस्ताव । सकेसम्म राम्रो टोली नेपाल आओस् । राम्रो खेल आयोजना गर्न पाउँ ।

यसपटक वेस्टइन्डिज ‘ए’सँगको चाँजोपाँजो मिल्यो। राम्रो टोली पनि आयो । खेलाडीले पनि राम्रो खेले । ईभेन्ट पनि राम्रो भयो । यसले हाम्रो लागि अगाडिको ढोका पनि खोलिदिएको छ ।

हाम्रो उद्देश्य भनेको नै राम्रो टोली ल्याएर खेलाउन पाउँ भन्ने हो । मैदानको स्तरोन्नति नहुँदासम्म सोचेअनुरूपको टोलीलाई बोलाएर आतिथ्यता देखाउन पनि समस्या छ । तर, त्यस्तो नहुनेगरी राम्रो टोलीलाई बोलाएर अन्य टोली आउन पनि झर्को नमानोस् भन्ने वातावरण सृजना गर्न खोज्दै छौँ ।

राम्रो राष्ट्रलाई निम्त्याउन के चुनौती छ ? 

पर्याप्त पूर्वधार नहुनु नै सबैभन्दा ठूलो चुनौती हो । एउटा हाई-प्रोफाईल टोली, उदाहरणका लागि भारत नै लिनुस् । भारतीय टोली नेपाल आएर खेल्न मान्छ त ? सुरक्षाको हिसाबले पनि, मैदानको अवस्था, दर्शक बस्ने सुविधा आदि यस्तो अवस्थाले हाम्रो प्रस्ताव स्वीकार गर्न उनीहरूलाई गाह्रो नै हुन्छ ।

कुनै पनि ठूलो टोलीले कतै जानु अगाडि सुरक्षाको व्यवस्था बुझ्न उनको टोली नै पहिला पठाउँछ । कति सुरक्षित छ बुझ्नु आउँछ । यस्तो धेरै मापदण्डहरू हुन्छन् । हाम्रो दर्शक त बुझ्नेछन्, उहाँहरूले अभद्र व्यवहार गर्न मैदानमा हुँदैन ।

तर, कसैले खराब मनसायले त्यस्तो गरे त हुन पनि सक्छ । यसकारण पनि त्यो लेभलको जोखिम लिनु अहिलेलाई ठीक छैन । त्यस्तो जोखिम लिनै हुँदैन । त्यही भएर भविष्यमा हुन सक्ने सम्भावित नराम्रो घटनाहरूको कल्पना नै गर्न नदिने गरी वातावरण तयार गर्नुपर्छ ।

यसकारण पनि पूर्वाधारलाई लिएर धेरै काम गर्नुपर्ने आवश्यकता छ । चाहे त्यो फ्लडलाइटलाई लिएर होस्, दर्शकको सेवा सुविधालाई लिएर होस्, सुरक्षाको हिसाबले पनि धैरै काम गर्नुपर्ने हुन्छ । यदि ठूलो राष्ट्रको टिमलाई बोलाउने हो भने ।

हामीले पूर्वाधारका लागि बारम्बार घच्घचाइनै रहेका छौँ । तर, राज्य तथा सम्बन्धित निकायले यसमा आफैँले चासो नदेखाएसम्म गाह्रो नै छ किनभने यो निकै खर्चको विषय हो । अहिलेको अवस्थामा क्यानको बजेटले यो धान्न सक्दैन ।

राज्यले साथ दिएको खण्डमा मात्र सम्भव छ । राज्यसँग पटक-पटक कुरा भएको छ । हाम्रो टोलीले निरन्तर छलफल गरेको छ । आशा गरौँ, क्रिकेटको क्रेज बढ्दै गएसँगै सम्बन्धित निकायको यसमा ध्यानाकर्षण बढ्दै जानेछ ।

टी-२० विश्वकपको तयारी 

साधन र स्रोतको हिसाबले सक्दो दिएको जस्तो लाग्छ । खेलाडीको लागि जति गरे पनि पर्याप्त भने पक्कै हुँदैन । पुग्यो भन्ने मानसिकता पनि हुनु हुँदैन । थप हामीले गर्न सक्ने केही सुधार अझै पनि छन् । यस्तो गर्न पाएको भए हुन्थ्यो भन्ने प्रकारको पनि छन् ।

जस्तै अमेरिकामा अन्य सहभागी राष्ट्रसँग थप तयारी खेल आयोजना गर्न सकिन्थ्यो । नेपालमा नै अन्डरलाइटको सुविधा दिन सकिने पक्ष अझै राम्रो छ । यसको बाबजुद सीमित स्रोत र साधन परिचालन गरेर गर्न सकिने कार्य गरेका छौँ ।

सम्भवतः विश्वकपका लागि अमेरिकामा पाइला टेक्ने छौँ। ३ फरक स्थानमा तालिम गर्दै मैत्रीपूर्ण खेल पनि खेल्दै छौँ । फ्लोरिडा, वेस्टइन्डिज र ह्युसटनमा तालिम गर्दैछौँ । विभिन्न क्याम्प गरेका छौँ । यसले अझै राम्रो तरिकाले प्रदर्शन गर्न सहयोग गर्नेछ । नेपालले सुन्दर खेल प्रस्तुत गर्छ भन्ने हामीले अपेक्षा राखेका छौँ ।

सन् २०१४ को विश्वकपले क्रिकेट गाउँ-गाउँमा पुग्यो, सन् २०२४ को विश्वकपले भने सम्बन्धित निकाय, कर्पोरेट सेक्टर तथा अन्य सरोकारवालाहरूलाई क्रिकेटमा लगानी गर्ने ठीक समय भएको सन्देश प्रवाह गर्ने अपेक्षा लिएका छौँ ।

नेपाली समर्थकलाई सन्देश

एसोसिएट राष्ट्रमध्ये नेपाल नै त्यस्तो राष्ट्र होला जसको खेलका लागि अमेरिकामा टिकट सोल्ड आउट भइसक्यो । त्यसैले पक्कै पनि अमेरिकामा पनि नेपालको ठूलो जमात हुने अपेक्षा गरेका छौँ । नेपाल तथा विभिन्न स्थानबाट टिभीमा हेर्ने मान्छेले पनि दशैँ जसरी नै विश्वकपलाई मनाएर नेपाली टोलीलाई समर्थन गर्दिनुहोस् भन्न चाहन्छु ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register