लामिछानेमाथी संगठित अपराधमा पनि अनुसन्धान हुने

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पनि अनुसन्धान हुने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई गरेको पत्राचारमा कृष्णप्रसाद जैसीसमेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण […]

Oct 18, 2024 - 16:41
 0
लामिछानेमाथी संगठित अपराधमा पनि अनुसन्धान हुने

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पनि अनुसन्धान हुने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई गरेको पत्राचारमा कृष्णप्रसाद जैसीसमेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि पोखराका पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानका सिलसिलामा सम्मानित कास्की जिल्ला अदालतबाट आजै पक्राउ अनुमति जारी भएको उल्लेख गर्दै लामिछानेलाई पक्राउ गरी कास्की कार्यालयमा पठाइदिन अनुरोध गरिएको थियो ।

लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ ।
 उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।
राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register