प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे ।

Oct 20, 2024 - 06:37
 0
प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

भेटमा चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने स्पष्ट गरे ।

उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरूको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा अञ्जना शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register