‘पूर्णबहादुरको सारङ्गी’को कथा आफ्नो उपन्याससँग मिलेको एक लेखकको दाबी, उल्टै खाँदैछन् गाली

बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार रहिरहँदा ती लेखकले आफ्नो कृतिबाट चोरिएको कथा भन्दै आरोप लगाएका छन् । तर, उनले गरेको फेसबुक पोस्टमा अधिकांशले मिथ्या आरोप भन्दै गाली गरेका छन् ।

Nov 10, 2024 - 06:09
 0
‘पूर्णबहादुरको सारङ्गी’को कथा आफ्नो उपन्याससँग मिलेको एक लेखकको दाबी, उल्टै खाँदैछन् गाली

काठमाडौं । लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेपछि एक लेखकले आफ्नो कृतिसँग मिलेको आरोप लगाएका छन् ।

शो पाउने मामलामा ऐतिहासिक कीर्तिमान रच्न सफल फिल्मको बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार रहिरहँदा ती लेखकले आफ्नो कृतिबाट चोरिएको कथा भन्दै आरोप लगाएका छन् ।

फिल्मको कथा र कलाकारको अभिनयले दर्शकलाई रुवाएपछि डा. शिवशंकर बस्याल नाम गरेका ती लेखकले चलचित्र विकास बोर्डमा उजुरी दिने बताएका छन् ।

लेखक बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ नामको मूल कथा फिल्मसँग मिलेको बताएका छन् ।

उनले शनिबार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको दाबी गरेका छन् ।

फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै उपन्यासमामा रूपमान र समीर छन् । उपन्यासको समीरजस्तै फिल्ममा कमल पनि टप विद्यार्थी हुनु, उपन्यासको समीरले जस्तै फिल्ममा कमल गन्धर्वले मेडिकलमा नाम निकालिएको छ । रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता फिल्मको कथाका मूल प्रसङ्गहरू उपन्याससँग मिलेको लेखक बस्यालको दाबी छ ।

तर, उनले गरेको फेसबुक पोस्टमा अधिकांशले मिथ्या आरोप भन्दै गाली गरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ फिल्म हेर्ने दर्शकहरू सबैले आफ्नो कथासँग मेल पाएको भन्दै भावुक भइरहेका छन् । यसैले यो फिल्म आम नेपाली समाजको चित्र रहेकोले कसैसँग मेल नखाएको कमेन्ट गर्नेहरूको तर्क छ ।

आफ्नो उपन्यासको चर्चाको लागि आरोप लगाइएको भन्दै लेखक बस्याललाई फिल्म हेर्ने दर्शकले गाली गरिरहेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ फिल्म सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा समेत उनकै हो । निर्देशक पौडेलले फिल्मको कथा आफ्नो बुबा निधन भएपछि महसुस भएको विषय बताउँदै आएका छन् ।

‘पूर्णबहादुरको सारङ्गी’ ले छोराका लागि बाबुले देखेको सपनाको कथा भन्छ । फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन् ।

फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको समेत अभिनय छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register