गुन्डा नाइकेको अन्तिम ठेगाना : डिल्लीबजार कारागारको चार दिवार !

एक समय थियो, काठमाडौंमा नयाँ व्यवसाय खोल्न चाहनेले सरकारी कागजात मिलाउनुअघि नै मनाङेलगायत नाइकेहरूलाई मोटो रकम बुझाउनुपर्थ्यो । पछि मनाङे गुन्डागर्दीबाट हात झिकेर राजनीतिमा लागे । सांसद हुँदै सातपटक मन्त्री बनेर उचाइमा पुगे । उनी अन्ततः जेलको चार दिवारभित्र खुम्चन पुगेका छन् ।

Nov 12, 2024 - 10:23
 0
गुन्डा नाइकेको अन्तिम ठेगाना : डिल्लीबजार कारागारको चार दिवार !

काठमाडौं । २०६० को दशकतिर काठमाडौंको सङ्गठित अपराधमा ‘कहलिएका’ नाम हुन्— दीपक मनाङे, चक्रे मिलन ।

अरू पनि थिए, राजु गोर्खाली, गणेश लामा, कुमार घैँटे, दिनेश अधिकारी ‘चरी’लगायत । तर, उनीहरूको नाम मनाङे र मिलनको पछि आउँथ्यो । जो, खुलेआम ‘गुन्डाराज’मा रमाउँथे ।

कतिपय व्यापारीहरू उनीहरूको नाम सुन्नेबित्तिकै झस्किन्थे । किनकि, महिनैपिच्छे उनीहरूलाई हप्ता बुझाउनु अनिवार्य हुन्थ्यो । उनीहरूले व्यापारी-व्यवसायीमाथि लुटपाट र हप्ता असुली गर्दै कानुनी राजको धज्जी उडाइरहेका मात्रै थिएनन्, समाजको सन्तुलनलाई समेत खलल पुर्‍याइरहेका थिए ।

उनीहरूका आ-आफ्नै आधार क्षेत्र थिए । मनाङबाट काठमाडौं झरेका मनाङे ठमेलमा गुन्डागर्दी गर्थे भने धादिङबाट काठमाडौं उक्लिएका चक्रे मिलनको आधार क्षेत्र महाराजगञ्ज (चक्रपथ) थियो । अवस्था यस्तो कि उनीहरूको क्षेत्रमा प्रहरी प्रशासन हुँदाहुँदै अनुमति बिना न कसैले कुनै व्यापार-व्यवसाय सुरु गर्न पाउँथ्यो, न केही नयाँ काम ।

उनीहरूको ‘गुन्डा सत्ता’ यति धेरै बलियो थियो कि कुनै नयाँ व्यवसाय खोल्न चाहनेलाई सरकारी कागजात मिलाउनुअघि नै यी नाइकेहरूलाई मोटो रकम बुझाउनु बाध्यता पर्थ्यो ।

विशेष गरी रातमा चल्ने क्लब, डान्स बारहरूमा त यिनीहरूको आम्दानी टन्न हुन्थ्यो । उनीहरू आफ्नो सत्तामा खुलेआम नाच्दै हुन्थे, कानुनी राजलाई ठाडो चुनौती दिँदै !

उनीहरू आफ्नो इलाकाबाट अर्काे इलाकामा आफ्नो क्षेत्र विस्तार गर्न चाहन्थे । लोभ थियो, बढी असुल गर्न पाइने । यही क्रममा उनीहरूबीच कहिलेकाहीँ ‘ग्याङ फाइट’ पर्थ्यो ।

चक्रपथमा हालीमुहाली चलाएका चक्रे मिलनका केटाहरू ठमेल छिर्ने प्रयासमा थिए । चक्रे मिलनका गुन्डाहरू ठमेल क्षेत्र छिरेमा आफ्नो धन्दामा क्षति पुग्ने भन्दै मनाङेको समूह आक्रोशित भयो । दुस्मनी हुने नै भइहाल्यो । त्यही सिलसिलामा उनीहरूका समूहका केटाहरूबीच ग्याङ फाइट भई नै रहन्थ्यो । समयमा-समयमा यी समूहहरूका बीचमा हात हालाहाल हुने, गोली चल्ने र झगडा चर्किने क्रम चलिरहन्थ्यो ।

***

२०६० को अन्त्यतिर काठमाडौंको ठमेल क्षेत्रमा आफ्नो प्रभाव जमाउने प्रयासमा ‘चक्रे मिलन’को समूहले ‘मनाङे’ समूहमाथि आक्रमण गरेको थियो ।

ठमेललाई आफ्नो ‘आधार क्षेत्र’ मान्ने मनाङे समूहले यसलाई गम्भीर चुनौतीको रूपमा लियो । उनी गणेश लामा र कुमार घैँटेको समूहलाई जुटाएर चक्रे मिलनको समूहविरुद्ध प्रतिआक्रमणमा उत्रिए ।

२०६१ साउन १० गते चक्रे मिलन पानीपोखरीस्थित चुफाङ नामको रेस्टुरेन्टमा बसिरहेका थिए । मनाङे समूहले त्यहाँ पुगेर आक्रमण गर्‍यो ।

यस आक्रमणमा चक्रेको एउटा हात काटिएर लगभग छुट्नै लागेको अवस्थामा थियो । उनी दोस्रो हातले छिन्नै लागेको हात समातेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जसम्म पुगे । अस्पताल नजिकै भएका कारणले उनी बाँचे । भाग्यवश्, उनको हात जोडियो । अहिले चक्रेको उक्त हात राम्रोसँग चल्दैन ।

आफैँ आपराधिक गिरोहको नाइके भएका कारण चक्रेले मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएनन् । किनकि, प्रहरीमा जाँदा आफूविरुद्धका पनि अरू मुद्दा थिए । बरु उनले मनाङेसँग बदला लिने योजना बनाए ।

तर, चक्रेकी पत्नी इन्दिरा गुरुङले २०६१ साउन ११ गते तत्कालीन जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाडौंमा मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिइन् ।

जाहेरी परेपछि फरार रहेका मनाङे २०६१ चैतमा पक्राउ परे । त्यसपछि हत्या प्रयासको अभियोगमा मनाङेसहित पाँच जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरियो ।

उनको समूहमा समूहमा रहेर गुन्डागर्दीमा संलग्न काभ्रेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामा पनि पक्राउ परेका थिए ।

अदालतको आदेशमा मनाङे २०६२ वैशाख १३ मा पुर्पक्ष थुनाअन्तर्गत कारागार चलान भए । पछि फैसलामा जिल्ला अदालतले घटनालाई ज्यान मार्ने उद्योग नभएको र कुटपिट भएको ठहर गर्दै जेल मुक्त गर्न आदेश दियो ।

अदालतले हात छिनेको घटनालाई हत्या प्रयास भने स्वीकार नगरी कुटपिट ठहर गर्दै दुई वर्ष कैद सजाय तोकेको थियो । त्यो सजाय पूरा भएपछि मनाङे २०६३ माघमा जेलमुक्त भए । फेरि उनी गुन्डाराजमै फर्किए ।

जिल्ला अदालतको फैसलाबाट मनाङेलाई सजाय कम भएको भन्दै सरकारी वकिल कार्यालय तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन निवेदन दिएको थियो ।

त्यसपछि तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ मा जिल्लाको फैसलामा केही उल्टी गर्दै मनाङे र सहयोगीलाई पाँच वर्ष जेल सजाय हुने ठहर गरेको थियो । त्यो फैसला मनाङे र अरू प्रतिवादीलाई चित्त बुझेन ।

मनाङेबाहेक अरू तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुगेका थिए । उनीहरूलाई सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ माघ २ गते सफाइ दिएको थियो । सफाइ पाएपछि कांग्रेस केन्द्रीय सदस्य भएका गणेश लामाले काभ्रेबाट चुनावसमेत लडेका थिए ।

मनाङे पनि पुनरावेदन गर्दै सर्वोच्च गए । पुनरावेदन अदालतबाट भएको फैसलाको ६ वर्षपछि मनाङेले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । सोही फैसलालाई अहिले २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले सदर गरेको हो ।

सोही फैसलापछि फरार रहेका मनाङे मंगलबार पक्राउ परेका हुन् । २०७४ सालमा पनि एक पटक उनी पक्राउ परेका थिए । पछि छुटे । उनले मुद्दाको पुनरावेदन दिएर राजनीतिमा आएका थिए ।

यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।

सर्वोच्चबाट लिखित फैसला भने जारी हुन बाँकी छ । फैसलामा लेखिने बेहोराले मनाङेको सांसद पद के हुन्छ भन्ने तय गर्ने सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

२०७४ पछि मनाङे अपराधबाट हात झिकेर राजनीतिमा लागे । मनाङे स्वतन्त्र रूपमा २०७४ र २०७९ सालको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा मनाङबाट निर्वाचित भए ।

२०७४ सालमा मनाङेले एमालेको समर्थनमा प्रदेशसभा सदस्य जितेका थिए । मनाङे राजनीति आएपछि गण्डकी प्रदेशको सरकार गिराउन र बनाउन निर्णायक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा पटकपटक मन्त्री बने ।

उनी गण्डकी प्रदेश सरकारमा सात पटक मन्त्री भइसकेका छन् । ६ पल्ट मन्त्रालय सम्हालेका उनले पछिल्लो पटक वन मन्त्रालय पाए पनि सम्हालेनन् । पछिल्लो पटक आफूले रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।

विगतमा कानून हातमा लिएर अपराध गरेका उनले पछि सांसद बनेर कानून बनाउने ठाउँमा पुगे । अहिले पक्राउ परेपछि आफूले गरेको अपराधको सजायसहित कानून कार्यान्वयन गर्न पुगेका छन् ।

गुन्डागर्दीबाट राजनीतिसम्मको यात्रा गरेका मनाङे अब फेरि कानूनकै कठघरामा पुगेका छन्, पटकपटक कानूनको अवज्ञा गरेका ‘मनाङे’ २१ वर्षपछि कानुनी दायरामा आएका छन् ।

आलोचक भन्छन्, “अपराधको बाटोले क्षणिक रूपमा चाहे जहाँ पुर्‍याओस्, अन्ततः सबैलाई ठेगानमा पुर्‍याउनेरहेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register