पूर्वकांग्रेसी विरासतका नेतासँग खुसी छैनन् रवि ! 

स्वर्णिम, मनीष, विराजभक्त, शिशिरलगायत पूर्वकांग्रेसी विरासत भएका नेताहरू हुन् । उनीहरूको खटाइबाट रवि त्यति खुसी नभएको रास्वपाकै कतिपय नेताले बताउन थालेका छन् ।

Nov 14, 2024 - 05:05
 0
पूर्वकांग्रेसी विरासतका नेतासँग खुसी छैनन् रवि ! 

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन नेतालाई हिरासतमा नै बोलाएर छलफल गरे ।

कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रवि त्यसयता जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा २५ दिन बसे । २७ गते अपराह्न उनलाई रुपन्देही लगिएको छ ।

रुपन्देही लगिनुभन्दा एक दिन पहिले अर्थात् कात्तिक २६ गते रविले पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले तथा कार्यवाहक प्रवक्ता मनीष झालाई हिरासतमै बोलाएर छलफल गरे ।

उनीहरूले उपनिर्वाचन, आगामी आन्दोलनको स्वरूपलगायतका विषयमा छलफल गरे । अन्तिममा रविले निर्देशन गरे— म पक्राउलाई प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउने गरी खट्नुस् ।

हिरासतमा रविसँग छलफलका लागि जाँदै उपसभापतिद्वय स्वर्णिम-डीपी ।

अहिले रास्वपाले पार्टी सभापति रवि पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेर निरन्तर विरोध प्रदर्शन गरिरहेको छ । त्यसमा स्वर्णिम वाग्ले, मनीष झा, विराजभक्त श्रेष्ठ, शिशिर खनाललगायतका नेताको खटाइसँग रवि खुसी छैनन् ।

त्यसो त स्वर्णिम, मनीष, विराजभक्त, शिशिरलगायत पूर्वकांग्रेसी विरासत भएका नेताहरू हुन् । उनीहरूको खटाइबाट रवि त्यति खुसी नभएको रास्वपाकै कतिपय नेताले बताउन थालेका छन् ।

रास्वपाका एक नेता सङ्केत गर्छन्, “सभापति सबै नेताको खटाइसँग खुसी हुनुहुन्न । त्यो स्वाभाविक नै पनि हो । पार्टीभित्र धेरै कुराहरू छन् ।”

उसो त स्वर्णिम-मनीषहरू कांग्रेसको चुनावी घोषणापत्र लेख्ने कार्यमा समेत संलग्न भइसकेका नेता हुन् । कांग्रेसमा राम्रो भूमिका नपाइरहेको समयमा रविले रास्वपा गठन गर्दा उनीहरू त्यतै हाम फाले ।

गत वैशाख १० को उपनिर्वाचनमा स्वर्णिम तनहुँ १ बाट निर्वाचित भए । २०८० चैत १८ गते मात्रै रास्वपा प्रवेश गरेका स्वर्णिम सांसद त भए नै, पछि पार्टी उपसभापतिसमेत बने ।

मनीष भने सुरुमै समानुपातिक कोटाबाट सांसद बनेका हुन् । १२ लाख भोट ल्याएको रास्वपाले १३ समानुपातिक सांसद पाएको थियो, त्यसमध्ये एक मनीष हुन् ।

रास्वपामा स्वर्णिम-मनीषहरू तुलनात्मक रूपमा परिपक्व नेता मानिन्छन् । तर, रवि पक्राउ परेयता त्यसविरुद्ध गरिएका प्रदर्शनमा उनीहरूको संलग्नतालाई लिएर रविसँगै उनीनिकटका नेताहरू त्यति असन्तुष्ट रहेको बताइन्छ ।

अझ कतिपयको बुझाइ त रविमाथि जे भइरहेको छ, त्यो स्वर्णिम, मनीष र शिशिरहरूकै कारण भएको त होइन भन्ने पनि छ । रास्वपाका नेताहरूले रविलाई थुन्ने मात्रै तर, बयान लिने काममा निकै ढिलाइ गरेको आरोप लगाउने गरेका छन् ।

यही पृष्ठभूमिमा कतिपय नेताहरूले यसो हुनुमा कहीँ स्वर्णिम-मनीष-शिशिरहरूकै कारण त होइन भन्ने शङ्का व्यक्त गर्न थालेका छन् ।

ती नेता सङ्केत गर्छन्, “कहीँ पार्टीकै कतिपय नेताका कारण त यस्तो भइरहेको छैन भन्ने आशङ्का पनि उठिरहेका छन्, कतिपय साथीहरूले यसमाथि समीक्षा हुनुपर्ने बताउन थाल्नुभएको छ । तर, यो एक्स्पोज गरिहाल्नुपर्ने कुरा होइन । जे भए पनि सबै नेताहरू सबैको खटाइबाट खुसी हुनुहुन्न ।”

कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी भने पार्टीभित्र सबै ठीकठाक रहेको दाबी गर्दै राज्यले पार्टी र सभापतिविरुद्ध साँधेको प्रतिशोधका विरुद्ध एकजुट भएर लाग्ने बताउँछन् ।

“पार्टीभित्र सबै कुरा ठीकठाक छ । हामी प्रदर्शनका स्वरूपहरूबारे छलफल गर्दैछौँ, हामी एकताबद्ध रूपमा लाग्छौँ,” उनले भने ।

प्रदर्शनले औचित्य पुष्टि गर्न सकेन, आलोचना मात्रै बढी

झन्डै एक महिनायताको रास्वपाको विरोध प्रदर्शनको औचित्य स्थापित हुन सङ्कट परिरहेको छ ।

कात्तिक २ गते पार्टी सभापति रवि पक्राउ परेलगत्तैदेखि सुरु भएको विरोध प्रदर्शन एक हप्तासम्म पोखराकेन्द्रित भयो । त्यसपछि काठमाडौं सरेको प्रदर्शन औचित्यहीन हुँदै गएको छ ।

बरु रविको मुद्दाले न्यायालय प्रवेश गरिसकेको तर, रास्वपा नेता/कार्यकर्ताले भने त्यसलाई प्रभावित गर्नेगरी प्रदर्शन गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

पछिल्लो समय त अझ रास्वपा प्रदर्शन थप ‘अराजक’ बन्दै गएको बताउँछन् वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी । प्रदर्शनका क्रममा ‘रविमाथि अनुसन्धान गर्नै हुन्न’ भन्ने आशयका माग र नारा लगाइएको उल्लेख गर्दै उनले भने, “त्यो प्रदर्शनको औचित्य छैन । न्यायालयलाई प्रभावित गर्न खोजिएको मात्रै हो यो । बरु अब रास्वपाले संसद्को माग गर्न सक्छ र त्यहीँबाट आफ्ना कुरा राख्न सक्छ ।”

विगतमा आफ्ना नेता पक्राउ पर्दा कुनै पनि दलले यसरी प्रदर्शन नगरेको भन्दै रास्वपा प्रदर्शनको आलोचना भइरहेको हो ।

यसबीचमा रास्वपा नेताहरूले बोली पनि फेरे । सुरुवाती चरणदेखि नै पार्टीका प्रति राजनीतिक प्रतिशोध साँधिएको, रवि दोषी नभएको र उनी बिनासर्त रिहा हुनुपर्ने माग गर्दै प्रदर्शनमा जुटेका रास्वपा नेताहरूले पोखरा हुँदै काठमाडौं आइपुगेपछि ‘हाम्रो प्रदर्शन रविका लागि होइन, सहकारी पीडितका लागि हो’ भन्न भ्याए ।

रास्वपाको विरोध प्रदर्शन ।

धेरै नसोचि निर्णय लिएर सुरु गरेको प्रदर्शन अहिले औचित्यहीन हुँदै गएको छ । हुन पनि रास्वपा प्रदर्शनमा पहिलेजस्तो अहिले नागरिक सहभागिता पनि छैन । सुरुमा एक जिल्ला बराबर सयजना पोखरा झिकाएको रास्वपाको प्रदर्शन अहिले घट्दै गएको छ ।

प्रदर्शनको औचित्य यसकारण पनि घट्यो कि जहाँ रवि बिनासर्त रिहाइ हुनुपर्ने माग हुन थाल्यो, त्यहीँ नजिकै वास्तविक सहकारी पीडितको पनि प्रदर्शन हुन्थ्यो । यो प्रदर्शनपछि ‘हाम्रो प्रदर्शन रविका लागि होइन, सहकारी पीडितका लागि हो’ भन्न सकेका रास्वपा नेताहरू अहिले आ-आफ्नै तरिकाले हिँडेका छन् ।

स्वर्णिम त पोखराबाट काठमाडौं सरेको पहिलो प्रदर्शनमै सहभागी थिएनन् । त्यसबेला उनी विपक्षी दलका नेतासँग व्यस्त रहेको भनिएको थियो । त्यसयता भइरहेका शृङ्खलाबद्ध प्रदर्शनमा कहिले को, कहिले को नेताहरू उपस्थित छैनन् ।

यी पृष्ठभूमिमा रास्वपाभित्र के भइरहेको यसै भन्न सकिने अवस्था छैन तर, स्थिति सामान्य छ भन्न गाह्रो छ । तर, स्वर्णिम-मनीषहरू आकाङ्क्षी भने पक्कै हुन् । यसकै परिणाम हो कि—कांग्रेसबाट रास्वपामा हाम फाल्ने उनीहरूको कदम !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register