‘सिंगापुरे लाहुरे हुँ’ भन्दै युवतीबाट २८ लाख ठग्ने युवा पक्राउ, यसरी पार्थे प्रेमजालमा !

सिंगापुरको आलिसान महलमा बसेको फोटो पोस्ट गर्ने, समुद्र किनारमा सेल्फी खिचेको देखाउँथे । उनले कयौँ युवतीलाई बिहे गरेर सिंगापुर ल्याउने भन्दै पैसा पनि असुले । तर, उनको ‘सुपरहिट ड्रामा’ नेपालकै प्रहरीले बन्द गरिदियो ।

Nov 18, 2024 - 12:59
 0
‘सिंगापुरे लाहुरे हुँ’ भन्दै युवतीबाट २८ लाख ठग्ने युवा पक्राउ, यसरी पार्थे प्रेमजालमा !

काठमाडौं । तनहुँका रुद्रबहादुर गुरुङले सिंगापुर, फ्रान्सको सपना बाँड्दै फेसबुकमा ‘लाहुरे’ को रूपमा चिनिन थाले ।

‘सिंगापुरको लाहुरे’, ‘फ्रान्सको आर्मी’ भन्दै उनले युवतीहरूको मन जित्न अनेक नयाँ तरिकाहरू निकाले । उनी सफल पनि भए ।

उनले कयौँ युवतीलाई बिहे गरेर सिंगापुर र फ्रान्स ल्याउने भन्दै पैसा पनि असुले । तर, उनको ‘सुपरहिट ड्रामा’ नेपालकै प्रहरीले बन्द गरिदियो ।

सिंगापुर र फ्रान्सको आलिसान महलमा बसेको फोटो पोस्ट गर्ने, समुद्र किनारमा सेल्फी खिचेको देखाउने उनी नेपालमै रहेछन् ।

काठमाडौं चन्द्रागिरिमा बस्ने ती ‘डिजिटल ठग’ पक्राउ परेका परेपछि फेसबुकमा महलबाट वास्तविकतामा जेल (हिरासतमा)मा पुगेका छन् ।

फेसबुकमा ‘सिंगापुरे लाहुरे’ बनेर युवतीहरूलाई प्रेमजालमा पार्ने र विवाहको सपना देखाएर रकम असुल्ने उनी तनहुँ आँबुखैरेनी ५ का रुद्रबहादुर गुरुङ हुन् ।

उनको डिजिटल ठगीको खेल अन्ततः सकिएको छ । विभिन्न युवतीबाट झन्डै २८ लाख ठगी गरिसकेका रहेछन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

सपनाको सिंगापुर, वास्तविकता चन्द्रागिरि

रुद्रबहादुरको दैनिकी रोचक थियो । नक्कली फेसबुक आइडी बनाउने र फोटोमा फोटोसप गरी सिंगापुरका महल र समुन्द्रको पृष्ठभूमि राख्थे ।

गुगलबाट तानेर घुमेको डुलेको रमाइलो गरेको र फौजीमा काम गरेको फोटो राख्थे, जुन फोटोबाट जोकोही प्रभावित हुन्थे ।

खासमा उनी चन्द्रागिरिको कोठामा हुन्थे । त्यहीबाटै बसेर फेसबुकमा सिंगापुरमा भन्दै एडिट गरेका फोटो पोस्ट पोस्ट गर्थे । फोटोसपमा सिंगापुरको महल र समुद्रको दृश्य थप्थे ।

विभिन्न युवतीलाई फेसबुकमा साथी बनाउँथे । विभिन्न युवतीहरूसँग टेक्स्ट, अडिओ, भिडिओे च्याट गर्थे । विवाह र विदेश बसाइको सपना बाँड्दै रकम माग्थे ।

रुद्रबहादुर कसैलाई आफूलाई सिंगापुरे लाहुरे भनेर चिनाउँथे । कसैलाई फ्रान्समा फौजीमामा छु भन्दै गफ दिन्थे ।

पहिला ‘हाइ हेल्लो’ गर्दै परिचय गर्थे । पछि बिस्तारै अरू कुराकानी गर्थे । अनी सुरु हुन्थ्यो रुद्रबहादुरको ‘मिशन सिंगापुर र फ्रान्स’ ।

‘तिमी मेरो मन परेको मान्छे हौ, बिहे गरौँ । सिंगापुरमा सँगै बस्नुपर्छ’ उनी सपना बाँड्थे । युवती सहमत भएमा अर्काे मिसन सुरु हुन्थ्यो, भिसा र कागजातको नाममा पैसा असुल्ने । ‘कागज बनाउन पैसा चाहिन्छ, है ?’ रुद्रबहादुरको डिमान्ड सुरु हुन्थ्यो ।

सिंगापुरे लाहुरेले बिहे गर्ने भनेपछि युवतीहरूले सोच्ने नै के थियो ! बेरोजगार मानिसहरू को सिंगापुर जान चाहँदैन र ?

सपनाको देश सिंगापुर जान पाउने भनेपछि युवतीहरू पनि ऋण काढेरै भए पनि पैसा पठाउन तयार हुन्थे ।

अनि सुरु हुन्थ्यो, पैसाको लेनदेन । प्रहरीका अनुसार विभिन्न युवतीबाट उनले कुल २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेका रहेछन् ।

रुद्रबहादुरले चितवनदेखि काठमाडौंसम्मका युवतीबाट पैसा असुलेका थिए । कतिपयलाई लाहुरे भन्थे, कतिपयलाई सिंगापुरको रेस्टुरेन्टमा काम गर्ने ‘शेफ’ भन्दै परिचय दिन्थे, कहिले फ्रान्समा पढ्दै गरेको ‘पाइलट’ बताउँथे ।

युवतीहरूका २८ लाखको प्रेम धरापमा

अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेपछि ‘सिंगापुरे राजकुमार’ रुद्रहादुरको भेष फेरिएर ‘चन्द्रागिरिको ठग’मा परिणत भएको छ ।

अहिले उनी काठमाडौं प्रहरी परिसरको हिरासत भद्रकालीमा छन् । सिंगापुरको महल होइन, नेपालकै जेलको खोरमा पुगेका छन् ।

अब रुद्रबहादुरले सिंगापुर होइन, अदालतको चक्कर लगाउनुपर्नेछ । रुद्रबहादुरको ठगी गरेको पैसाले घर घडेरी किन्ने सपना पनि सिंगापुरको समुद्रको छाल जस्तै भत्किएको छ ।

हाल उनीमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register