१८५ वर्षअघि नेपाल जांदा ल्याइएको विरुवाले अहिले बेलायत आजित

लन्डन । करिब १८५ वर्ष अघि एक ब्रिटिशले सजावटका लागि ल्याएको एउटा विरुवा अहिले बेलायतका लागि टाउको दुखाइ बनेको छ ।  सन् १८३९ तिर एक बेलायती नागरिकले नेपाल जांदा सजावट (अर्नामेन्टल प्लान्ट) का लागि ल्याएको हिमालयन बल्सम (इम्प्याटियन्स ग्लान्डुलिफेरा) नामक विरुवा सर्वत्र फैलंदै गएर अन्य रैथाने विरुवालाई समेत नास गरेपछि बेलायतले यसलाई रोप्न वा आयात […]

Nov 21, 2024 - 11:10
 0
१८५ वर्षअघि नेपाल जांदा ल्याइएको विरुवाले अहिले बेलायत आजित

लन्डन । करिब १८५ वर्ष अघि एक ब्रिटिशले सजावटका लागि ल्याएको एउटा विरुवा अहिले बेलायतका लागि टाउको दुखाइ बनेको छ । 

सन् १८३९ तिर एक बेलायती नागरिकले नेपाल जांदा सजावट (अर्नामेन्टल प्लान्ट) का लागि ल्याएको हिमालयन बल्सम (इम्प्याटियन्स ग्लान्डुलिफेरा) नामक विरुवा सर्वत्र फैलंदै गएर अन्य रैथाने विरुवालाई समेत नास गरेपछि बेलायतले यसलाई रोप्न वा आयात गर्न प्रतिवन्ध नै लगाएको छ । 

‘वाइल्डलाइफ एन्ड कन्ट्रीसाइड एक्ट १९८१’ अनुसार बेलायतमा हिमालयन बल्सम रोप्न वा जंगलमा हुर्काउन निषेध गरिएको छ ।

यो वनस्पति नदी, खोला, नहर, खाडलहरू र ओसिलो क्षेत्रको  किनारमा फैलन्छ। यो संयुक्त अधिराज्यको इङ्गल्याण्ड, वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्डमा समेत फैलिएको जनाइएको छ ।

हिमालयन क्षेत्रको रैथाने ट्युरी (इम्प्याटियन्स) वर्गको यो वनस्पति बेलायतमा समस्याग्रस्त मिचाहा वनस्पतिका रुपमा लिइन्छ । यस वनस्पति मे महिनादेखि  नोभेम्बरसम्म फुल्ने र फल लागेपछि फल फुटेर जताततै फैलने रोयल बोटानिकल गार्डेन, एडिनबरामा कार्यरत वायोडाइभर्सिटी वैज्ञानिक डा. भाष्कर अधिकारीले बताए । 

अधिकारीले यसले रैथाने जैविक विविधतालाई जोखिममा पारेपछि बेलायतले यस विरुवामाथि प्रतिवन्ध लगाएको पनि जनाए । 

हिमालयन बल्समले नदी किनारहरू मेटाउन र तीन मिटरसम्मको उचाइमा बढ्न सक्ने वनस्पतिविदहरुको भनाइ छ । 

बेलायतको हर्ट्स एण्ड मिडलसेक्स वाइल्डलाइफ ट्रष्टले हिमालयमा पाइने प्याथोलजिकल रस्ट फङ्गस प्रयोग गरी यसको वृद्धि रोक्न प्रयास गर्ने बताएको छ ।

नेपालसमेत मिचाहा वनस्पतिको मारमा पर्दै आएको अधिकारी बताउंछन् । नेपालमा वाह्य मिचाहा प्रजातिहरुको फैलावटबाट उत्पन्न प्रभाव एक प्रमुख वातावरणीय समस्या बनेको अधिकारीको बुझाइ छ ।

नेपालमा भेटिने यस्ता धेरैजसो वनस्पति दक्षिण अमेरिकाबाट आएका हुन् । यसले रैथाने र निश्चित भौगोलिक क्षेत्रमा मात्र पाइने प्रजातिहरु लोप भएका उदाहरण समेत छन् ।

वाह्य मिचाहा प्रजातिहरुले नेपालको रैथाने जैविक विविधतालाई जोखिम पुर्‍याउनुका साथै कृषि र वनमा आश्रित समुदायको जिविकोपार्जनमा समेत नकारात्मक असर पारेको वनस्पतिशास्त्रीहरु बताउंछन्। 

यसले माटोको खनिज र पोषक तत्वको उपलब्धता तथा आगलागीको दर र परिणाममा परिवर्तन गराई परिस्थितिकीय प्रणालीमा नै बदलाव ल्याउने, रैथाने प्रजातिसंग प्रजनन गरि वर्ण शंकर जातको विकास गराइ जीवजन्तुहरुको क्रमिक विकासमा असर एवं यिनीहरुको व्यवस्थापनमा ठूलो आर्थिक बोझ बढ्ने गरेको डा. अधिकारीले बताए ।  

मिचाहा प्रजातिका वनस्पतिले सन् २००० मा चीनमा १४.५ अर्ब डलर, सन् २००५ मा अमेरिकामा १२० अर्ब डलर र सन् २०१२ मा अष्ट्रेलियामा १३.४ अर्ब डलर क्षति पुर्‍याएको अनुमान छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register