‘जागरणसभा’बाट एमालेको सन्देश : सरकार बलियो छ, सत्ता समीकरण टुट्दैन !

सडक आन्दोलनमार्फत निराशा र भ्रम चिर्ने प्रयास गरेको दाबीकर्ता एमालेप्रति अब नागरिक तहमा राजनीतिप्रति जागेको वितृष्णा हटाउन र विश्वास पुनःस्थापित गर्न सक्ला त भन्ने प्रश्न पेचिलो बनेको छ । ‘सामाजिक सञ्जालमा भइरहेका तीव्र आलोचना र प्रश्नहरूले नेतृत्व आत्तिएको हो की ? होइन भने, सत्तारुढ दलले यसरी जनपरिचालन गर्नुपर्ने अवस्था किन आयो ?’ भन्ने अर्को संशय उत्पन्न भएको छ ।

Nov 22, 2024 - 13:11
 0
‘जागरणसभा’बाट एमालेको सन्देश : सरकार बलियो छ, सत्ता समीकरण टुट्दैन !

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा उक्त पार्टी सडक प्रदर्शनमा रहेको समयमा शुक्रबार एउटा फरक खालको प्रदर्शन भयो, त्यो थियो सत्तारुढ दल नेकपा एमालेको ।

सरकार र प्रधानमन्त्रीमाथि भइरहेका ‘प्रहार’को प्रतिकारका लागि भन्दै शुक्रबार ‘जागरणसभा’को नाममा सडक प्रदर्शन भएको हो ।

प्रतिनिधि सभाका दुई तिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले सभाका प्रमुख वक्ता थिए ।

सरकारको आलोचना गर्ने पक्षमाथि सत्ताधारी दल नै सडकमा उत्रिएर विरोध गर्ने नौलो अभ्यास भने पहिलो पटक एमालेले गर्‍यो ।

‘समाजमा निराशा पैदा गर्नेले फैलाएका भ्रम चिर्ने’ उद्देश्यले जागरण सभा गरिएको एमालेले दाबी गरेको छ ।

एमालेको सभाले नागरिक तप्कामा राजनीतिप्रति जागेको वितृष्णा हटाएर विश्वास पुनःस्थापना गर्न सक्ला त भन्ने पेचिलो प्रश्न उठेको छ ।

सामाजिक सञ्जालमा उठिरहेका प्रश्न र आलोचनाले नेतृत्व आत्तिएको हो कि नत्र भए जनपरिचालन गरिहाल्नुपर्ने स्थिति कसरी आयो भन्ने प्रश्न पनि जन्मिएको छ ।

सत्तारुढ दल नै सडकमा !

पछिल्लो समय विषेशगरी सामाजिक सञ्जालमा सरकारप्रति गालीगलौज देखिँदै आएको छ । ओलीले यसअघि दुई कार्यकाल सरकार चलाउँदा पनि यति चर्को आलोचना खेप्नु परेको थिएन ।

सार्वजनिक अपिल गरेर यी कुरा झुटो हुन् र यी कुरा सत्य हुन् भन्न सडकमा आएको एमालेको सामा मुख्य बत्ता थिए, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली ।

झन्डै पौने घण्टा भाषण गरेका ओलीले विषेशगरी सरकार र आफूप्रति लागेको आरोपको खण्डन गरे । सार्वजनिक रुपमा उठेका प्रश्नको समेत जवाफ दिने क्रममा उनले सरकार सञ्चालन, सत्ता समीकरण, चीन भ्रमणलगायतका विषयमा समेत प्रष्टिकरण दिन प्रयास गरे ।

अराजकतावादीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशा पैदा गर्ने, समाजमा विखण्डन ल्याउने काम गरेको भन्दै ओलीले असन्तुष्टि जनाए ।

३० असारमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा नरम भावमा प्रस्तुत थिए । चौथो कार्यकाल नरम शैलीमा बिताउने संकेत गरेका ओली चार महिनापछिको शुक्रबारको कार्यक्रममा आक्रामक देखिए ।

चीन भ्रमणको सन्दर्भमा प्रश्न उठाउने नेकपा माओवादी अध्यक्ष पुष्पकाल दाहाल प्रचण्ड र सहकारी प्रकरण पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेप्रति उनी कडा रुपमा पेश भए ।

प्रधानमन्त्री ओलीले कार्यक्रमको सुरुमै ‘सरकारमा भएको पार्टीले प्रदर्शन किन गर्यो‍ ?’ भन्ने प्रश्नको जवाफ दिए ।

उनले भने, ‘यो सरकारको होइन, पार्टीको जागरण सभा हो । एमालेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कमिटीहरूले सभा आयोजना गरेका हुन् । सरकारका कामबारे जनतामा उठेका प्रश्नको उत्तर दिन यो प्रदर्शन आवश्यक थियो ।’

समीकरण ८४ मंसिरसम्मै

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भए पनि देशलाई अप्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको जिकिर गरे ।

०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी समेत गरे । विरोधीहरूले षड्यन्त्र गरे पनि समीकरण तलमाथि नहुने उनको तर्क थियो ।

उनले भने, ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ ।’

कम्बोडियाको लगानीबारे

प्रधमानमन्त्रीको भाषणमा प्राथमिकता थियो, आफूविरुद्धको हल्ला । मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको भन्दै उनले आपत्ति जनाए ।

कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिए ।

‘म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु । तपाईंहरू नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएको छ । के तपाईंहरू साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भयो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यत्ति हजार ? तपाईंहरू त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुरा गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउन यस्ता कुरा भएका हुन्’ उनले भने ।

कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै ओलीविरुद्ध विभिन्न नक्कली दस्तावेज सार्वजनिक गरेका दुर्गा प्रसाईं अहिले हिरासतमा छन् ।

ओलीले तीनै विषयप्रति लक्षित गर्दै भने, ‘चार घण्टाभित्र कम्बोडिया पुग्न सकिन्छ । बैंककबाट ४५ मिनेटको उडानमै त्यहाँ पुगिन्छ। त्यहाँ गएर हेर्दा सबै स्पष्ट हुन्छ । तर, यहाँ अनावश्यक भ्रम फैलाएर जनतालाई अलमल्याउन खोजिएको छ ।’

‘ढाँटवाद’ टिक्दैन !

भाइरल शब्द पहिला पहिला संक्रमण फैलिँदा ‘भाइरल ज्वरो’ भनेर जानिन्थ्यो । अहिले सो शब्द सामाजिक सञ्जालमा कुनै विषय छिटो र व्यापक रूपमा फैलिने कार्यलाई ‘भाइरल’ भनेर चिनिन्छ ।

त्यही भाइरल शब्द अहिले भाइरल ज्वरोको सङ्क्रमणको खतराभन्दा सयौँ गुणा बढीको तीब्रतामा फैलिँदो छ । भाइरल हुनको लागि सामाजिक सञ्जालमा देखाउनुपर्छ । देखाउनै लागि लोकरिझ्याइका गतिविधि भइरहेको देखिन्छ । त्यसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अहिले लोकप्रियतावाद नभएर ‘ढाँटवाद’ मौलाइरहेको टिप्पणी गरे ।

‘मान्छेलाई ढाँटेर, अल्मल्याएर, झुटो कुरा गरेर हुन्छ, अहिले लोकप्रियतावाद नभएर अहिले ढाँटवाद चलिरहेको छ, देशमा नभएको हुन नसक्ने कुरा गरेर हुन्छ ?’ रास्वपातर्फ लक्षित गर्दै उनले भने । वास्तविक कुरा गरेर जनताको मन जित्न उनले चुनौती दिए ।

प्रधानमन्त्री ओलीले रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दाबी गरे ।

उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा ठगी गर्ने, अरूलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

‘आफैँ सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ? अरूलाई गाली गर्ने ? कुनै पनि प्रकारको भ्रष्टाचार सह्य हुनेछैन । कुनै पनि प्रकारको ठगी सह्य हुनेछैन । कुनै पनि प्रकारको मानव तस्करी सह्य हुनेछैन । एमाले र अहिलेको सरकारले जोसोकै होस्–अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ । त्यो मैले पहिलेदेखि नै भनेको छु’ प्रधानमन्त्री ओलीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register