हिज्बुल्लाहले किन स्वीकार गर्याे इजरायलसँग युद्धविराम ?

काठमाडौं । इजरायल सरकारले लेबनानी इस्लामिक लडाकु समूह हिज्बुल्लाहसँग मंगलबार राति युद्धविरामको प्रस्ताव पारित गर्यो । युद्धविराम बुधबार बिहान ४ बजेदेखि लागू भएको छ । यो युद्धविरामसँगै १३ महिना लामो युद्धबाट हिज्बुल्लाह र लेबनान बाहिर निस्कन चाहेको प्रष्ट सन्देश मिल्दछ । अमेरिका र संयुक्त राष्ट्र संघले इजरायल–हिज्बुल्लाह युद्धविराम सम्झौताको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति […]

Nov 28, 2024 - 06:53
 0
हिज्बुल्लाहले किन स्वीकार गर्याे इजरायलसँग युद्धविराम ?

काठमाडौं । इजरायल सरकारले लेबनानी इस्लामिक लडाकु समूह हिज्बुल्लाहसँग मंगलबार राति युद्धविरामको प्रस्ताव पारित गर्यो । युद्धविराम बुधबार बिहान ४ बजेदेखि लागू भएको छ । यो युद्धविरामसँगै १३ महिना लामो युद्धबाट हिज्बुल्लाह र लेबनान बाहिर निस्कन चाहेको प्रष्ट सन्देश मिल्दछ ।

अमेरिका र संयुक्त राष्ट्र संघले इजरायल–हिज्बुल्लाह युद्धविराम सम्झौताको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामलाई आफ्नो करिब २ महिना लामो प्रयासको प्रतिफल भनेका छन् । फ्रान्सलगायत अन्य युरोपेली देशले समेत युद्धविराम सम्झौताको स्वागत गरेका छन् ।

अमेरिकी प्रस्तावमा समर्थन गरेवापत राष्ट्रपति जो बाइडनले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहू र लेबनानी प्रधानमन्त्री नाजिब मिकातीलाई विशेष धन्यवाद दिएका छन् । तर, इरान र हमासको भने प्रतिक्रिया आएको छैन । सम्भवत् उनीहरु यो युद्धविरामसँग असन्तुष्ट छन् ।

अघिल्लो हप्ता राजधानी बेरुत र हिज्बुल्लाह प्रभावित दक्षिणी लेबनान क्षेत्रमा इजरायलले आफ्नो उपस्थिति बलियो बनाएको थियो । यसले समेत हिज्बुल्लाहलाई युद्धविरामका लागि दबाब सृजना गरेको हुन सक्दछ ।

प्रधानमन्त्री नेतन्याहूका अनुसार युद्धविरामले इजरायललाई तीनवटा मुख्य फाइदा पुर्‍याउने छ ।

एक–इजरायललाई युद्धको चपेटा र थकानबाट आराम गर्ने अवसर मिल्ने छ । आफ्नो सैन्य शक्ति र योजनालाई पुन:व्यवस्थित गर्न सहज हुनेछ ।

दुई– हमास एक्लिने छ । हमासको पछाडि बलिया साझेदार रहने छैनन् वा कम हुनेछन् ।

तीन– इजरायलले आफ्नो ध्यान अब इरानमाथि केन्द्रित गर्न सक्ने छ ।

युद्धविरामबाट लेबनानलाई पनि फाइदा हुनेछ । सन् २०२३ अक्टोरबर ७ मा सुरु भएको गाजा युद्धको १३ महिनामा लेबनानमाथि नराम्रो प्रभाव परेको थियो । हिज्बुल्लाह प्रभावित दक्षिणी क्षेत्रमा मात्र हैन, बेरुत सरकार नियन्त्रित क्षेत्रमा समेत अनेक दूष्प्रभाव परेका थिए ।

हमासको समर्थनमा हिज्बुल्लाहले आफ्नो उत्तरी क्षेत्रमा रकेट आक्रमण गरेपछि इजरायल लेबनानमा केन्द्रित भएको थियो । फलतः सेप्टेम्बर १७ मा हिज्बुल्लाह नेता हसन नसरल्लाह इजरायली हवाई आक्रमणमा मारिएका थिए । उनी निरन्तर ३२ वर्षदेखि हिज्बुल्लाहको प्रमुख थिए ।

एक राजनीतिक, सैन्य र धार्मिक जिहादी समूहका रुपमा दक्षिणी लेबनानको सिया मुस्लिम क्षेत्रमा हिज्जबुल्लाहको यद्यपि जबर्जस्त प्रभाव छ । यसले बेरुतको संसदमा समेत प्रतिनिधित्व गर्दछ । तर, हमासको समर्थनमा गाजा युद्ध संलग्नताले हिज्बुल्लाहलाई कमजोर बनायो ।

यो युद्धमा लेबनानमा करिब ३ हजार ८०० को मृत्यु भयो । करिब १ लाख घर क्षतिग्रस्त भए । करिब ५ लाख मानिसले युद्धको कारण पेशा र रोजगार गुमाए ।

हिज्बुल्लाहको संगठन संरचना र लडाकु दस्तामा समेत यसले धेरै ठूलो क्षति पुर्‍यायो । सम्भवत् युद्धविरामले हिज्बुल्लाहले समेत आफूलाई पुनर्संगठित गर्ने अवसर पाउने छ ।

इजरायल ठान्दछ कि लेबनानमा उसले आफ्नो लक्ष्य पूरा गरेको छ । तसर्थ,अब हिज्बुल्लाहमाथि हैन, गाजा र इरानमा केन्द्रित हुन चाहन्छ ।

हिज्बुल्लाह इरानको सहयोग र समर्थन प्राप्त संगठन हो । तसर्थ, हिज्जबुल्लाहको युद्धविराम स्वीकार गर्ने नीतिले इरान र हमासमाथि दबाब पर्नु स्वाभाविक हुन्छ ।

सन् २००६ मा पनि हिज्बुल्लाह र इजरायलबीच ३४ दिन लामो युद्ध भएको थियो । यो युद्धमा लेबनानमा १ हजारभन्दा बढी र इजरायलतर्फ १५० को मृत्यु भएको थियो । तर, युद्धपछि लेबनानमा हिज्बुल्लाहको राजनीतिक लोकप्रियता भने बढेको थियो ।

यसपटक पनि युद्धविरामपछि दक्षिणी लेबनानका गाउँ सहरमा ठूलो संख्यामा मानिस हिज्बुल्लाहको झण्डा बोकेर सार्वजनिक स्थलमा भेला भएको समाचार छ । उनीहरुले हिज्बुल्लाहको समर्थनमा नाराबाजी गर्ने गरेका छन् । तिनले भन्ने गरेका छन्– कुनै दिन हामी इजरायलसँग फेरि लड्ने छौं र हराउने छौं, हामी जित्ने छौं ।

हिज्बुल्लाहको गठन सन् १९८० मा भएको थियो । यो संगठन मूलतः इजरायल–प्यालेस्टाइन संकटकै कारण जन्मिएको थियो । इजरायल–प्यालेस्टाइन युद्धबाट विस्थापित लेबनान स्थित प्यालेस्टाइनी शरणार्थी शिविरमा इजरायलको आक्रमणपछि लेबनानी प्रतिरोधको भावनाले हिज्बुल्लाह जन्मिएको थियो ।

हिज्बुल्लाहले इजरायललाई आफ्नो जन्मजात शत्रु ठान्दछ । यद्यपि इजरायलको दुस्मनी भने लेबनानसँग नभएर प्यालेस्टाइनसँगको हो ।

हिज्बुल्लाहले प्यालेस्टाइनी हमासलाई मात्र हैन, सिरियाको गृहयुद्धमा राष्ट्रपति बसर अल असद र यमनी हुथी विद्रोहीलाई समेत समर्थन र सहयोग गर्ने गरेको छ । हिज्बुल्लाह इरान नेतृत्वको सिया मुस्लिम केन्द्रित राजनीतिक तथा सैन्य अक्षको एक महत्वपूर्ण अङ्ग हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register