एनपीएल : धोनीका कप्तानदेखि आईपीएलका सहायक प्रशिक्षकसम्म

काठमाडौं । यतिबेला नेपालमा फ्रेन्चाइस क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल)को ज्वरोले छोएको छ । यही मंसिर १५ देखि सुरु हुने एनपीएलको ज्वरो छिमेकी भारतसँगै धेरै देशमा पुगिसकेको छ । कारण नेपालसँगै १६ भन्दा बढी देशका खेलाडी यस प्रतियोगितामा सहभागी हुँदैछन् । यी खेलाडीलाई मैदानमा उत्रन तिखार्ने भूमिकामा रहेका मुख्य प्रशिक्षक अहिले तम्तयारी अवस्थामा छन् […]

Nov 28, 2024 - 16:05
 0
एनपीएल : धोनीका कप्तानदेखि आईपीएलका सहायक प्रशिक्षकसम्म

काठमाडौं । यतिबेला नेपालमा फ्रेन्चाइस क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल)को ज्वरोले छोएको छ । यही मंसिर १५ देखि सुरु हुने एनपीएलको ज्वरो छिमेकी भारतसँगै धेरै देशमा पुगिसकेको छ । कारण नेपालसँगै १६ भन्दा बढी देशका खेलाडी यस प्रतियोगितामा सहभागी हुँदैछन् ।

यी खेलाडीलाई मैदानमा उत्रन तिखार्ने भूमिकामा रहेका मुख्य प्रशिक्षक अहिले तम्तयारी अवस्थामा छन् । एनपीएलका आठ प्रशिक्षकमा घरेलु टोली नेपाल र छिमेकी भारतको वर्चश्व छ । नेपाल र भारतका तीन–तीन जना प्रशिक्षक छन् । यस्तै श्रीलंका र आयरल्यान्डका एक–एक जना छन् । अब जानौं ती प्रशिक्षक कस्ता छन् ।

नेपाललाई पहिलोपटक विश्वकपमा पुर्‍याएका दासानायके

श्रीलंकाली मूलका प्रशिक्षक पुबुदु दासानायकेले एनपीएलमा जनकपुर बोल्ट्स सम्हाल्दैछन् । ५४ वर्षीय दासानायके नेपालमा विदेशी प्रशिक्षकमध्ये सबैभन्दा परिचित छन् । किनकि उनले कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०१४ मा पहिलोपटक विश्वकप खेलको थियो ।

नेपालले सो टी–२० विश्वकपमा खेलेका तीनमध्ये दुई खेल जितेको थियो । यद्यपि नेट रनरेटमा पछि परेपछि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।

विकेट किपर–ब्याटर दासानायकेले सन् १९९३ र ९४ मा श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलेका थिए । पछि क्यानडा लागेका उनले त्यहाँको राष्ट्रिय टोलीबाट पनि खेले ।

दासानायकेले ईपीएलमा भैरहवा ग्लाडिएटरलाई प्रशिक्षण दिएका थिए । उनले नेपालसँगै क्यानडा र अमेरिकाको राष्ट्रिय टोलीको प्रशिक्षकको समेत उनले जिम्मेवारी निभाइसकेका छन् ।

दासानायकेले पहिलो चरणमा सन् २०११ देखि १५ सम्म नेपालमा सफल कार्यकाल सम्हालेका थिए । तर दोस्रो पटक सन् २०२१–२२ मा भने उनी अपेक्षित सफल हुन सकेनन् ।

दासानायकेको टोली जनकपुर बोल्ट्समा आसिफ शेख मार्की खेलाडी छन् ।

नेपाललाई ओडीआई मान्यता दिलाउने प्रशिक्षक टमाटा

जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक हुन् । अछाम स्थायी ठेगाना भएका ६० वर्षीय टमाटा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक हुन् । उनले सन् २०१५ देखि १९ सम्म नेपाली टोलीको नेत्तृत्व गरेका थिए ।

टमाटाको प्रशिक्षणमा नेपालले सन् २०१८ मा पहिलोपटक एकदिवसीय (ओडीआई) मान्यता पाएको थियो ।

उनी पछिल्लोपटक सन् २०२० मा थाइल्यान्ड भ्रमण दौरान एसीसी इस्टर्न रिजनमा नेपालको मुख्य प्रशिक्षक थिए ।

नेपालका पहिलो राष्ट्रिय टोली बन्दाका खेलाडीसमेत रहेका टमाटाले यू–१९ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पनि बहन गरिसकेका छन् । उनले सन् १९९६ सम्म राष्ट्रिय टोलीका लागि खेलेका थिए । उनी अलराउन्डर थिए ।

उनको प्रशिक्षणमा नेपालले तीन पटक यू–१९ विश्वकप (२०१२, २०१६ र २०२४) मा खेलेको थियो ।

टमाटाले एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा सगरमाथा लिजेन्ट्स टोली सम्हालेका थिए । उनले टोली सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी छन् ।

आईपीएल टोलीको सहायक प्रशिक्षक बनेका पटुवाल

भारतीय प्रशिक्षक उमेश पटुवालले एनपीएलमा चितवन राइनोज सम्हाल्नेछन् । उनी पनि नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक हुन् । नेपाल सन् २०१९–२० मा नेपाली टोली सम्हालेका थिए । तर, त्यति सफल हुन सकेनन् ।

पटुवालले सन् २०११ मा इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोची टक्सार्स केरलाको सहायक प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गरेका थिए । साथै उनले अफगानिस्तान राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् ।

पटुवाल ईपीएलमा पोखरा राइनोजको मुख्य प्रशिक्षक थिए । यस्तै उनी सन् २०१८ मा पोखरा प्रिमियर लिगको प्राविधिक निर्देशक बनेका थिए ।

पटुवालको प्रशिक्षणमा रहेको टोली चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल छन् ।

नेपाल ‘ए’ टोलीबाट अनुभव हासिल गरेका मल्ल

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एनपीएलमा कर्णाली एक्सको मुख्य प्रशिक्षक छन् । नेपाली क्रिकेटमा क्लासिक ब्याटरमा गनिने ३४ वर्षीय मल्ल खेल जीवन छाडेर प्रशिक्षणमा लागेको धेरै भएको छैन । तर, उनले महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै छन् । मल्लले यसै वर्ष नेपाल ‘ए’ टोलीबाट माथिल्लो स्तरको प्रशिक्षण यात्रा सुरु गरेका हुन् । यो क्रममा उनले केही राम्रा नतिजा दिलाएका छन् ।

मल्ल अन्तर्राष्ट्रिय शतक हान्ने सातौँ नेपाली खेलाडी हुन् । विकेटकिपरको पनि भूमिका निर्वाह गर्ने मल्लको ब्याटिङ पारस खड्कासँग जम्ने गर्थ्यो । उनले सन् २०२३ मा खेल जीवनबाट सन्यास लिएका थिए ।

मल्लले नेपालका लागि ३५ ओडीआई तथा ४५ टी–२० आई खेल खेलेका छन् । उनले पार्टटाइम बलरको रुपमा पनि खेल्ने गर्थे ।

मल्ल तिनै भाग्यमानी हुन् जसले चर्चित भारतीय खेलाडी शिखर धवनलाई प्रशिक्षण दिन पाउने भएका छन् । मल्लको टोली कर्णाली याक्सको मार्की खेलाडीमा सोमपाल कामी छन् ।

चाँडै महत्वपूर्ण जिम्मेवारी पाएका ओ ब्रायन

आयरल्यान्डका पूर्वखेलाडी केभिन ओ ब्रायनले विराटनगर किंग्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दैछन् । ४० वर्षीय ओ ब्रायन पाकिस्तानविरुद्ध पहिलो टेस्ट खेल्ने ११ मध्येका एक खेलाडी हुन् । अलराउन्डर रहेका उनले तीन टेस्ट र १५३ ओडीआई खेल खेलेका छन् ।

ओ ब्रायनको प्रशिक्षण सुरु गरेको भने धेरै भएको छैन । उनको प्रोफाइलमा यसअघि कुनै टोलीको पनि प्रशिक्षण गरेको भेटिँदैन । तर, एनपीएलको ठूलो जिम्मेवारी सम्हाल्दैछन् ।

उनले मार्टिन गुप्तिलजस्ता खेलाडीलाई प्रशिक्षण दिन पाउने पाउने छन् । ओ ब्रायन प्रशिक्षक रहेको विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने छन् ।

उमुक्त चन्दलाई क्रिकेट सिकाएका फाडनिस

भारतीय प्रशिक्षक नन्दन फाडनिसले एनपीएलमा लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकको जिम्मेवारी बहन गर्दैछन् । पूर्वक्रिकेटर भाडनिसले रणजित ट्रफीलगायत प्रतियोगिता खेलेका छन् । उनी विकेटकिपर तथा ब्याटर थिए ।

गोवा क्रिकेट संघमा खेलाडीलाई प्रशिक्षण दिएका फाडनिसले यो भन्दाअगाडि नेपालको राष्ट्रिय टोलीमा पनि भूमिका निभाएका छन् । उनी सन् २०२१ मा नेपालको कन्सल्टिङ कोच थिए । उनी उन्मुक्त चन्दका प्रशिक्षक हुन् । भारतीय खेलाडी चन्द अहिले लुम्बिनी लायन्समै आबद्ध छन् ।

उनले मुम्बई क्रिकेट टोलीको प्रमुख प्रशिक्षक बन्नका लागि प्रतिस्पर्धा गरेका थिए । तर, अमोल मजुमदारसँगको प्रतिस्पर्धामा उनी पछि परेका थिए ।

फाडनिस अम्पायर तथा क्रिकेट कमेन्टेटरसमेत हुन् । उनको प्रशिक्षणमा रहेको लुम्बिनी लायन्समा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी छन् ।

धोनीको कप्तानी गरेका राजीव कुमार

भारतको बिहारमा राजीव कुमार एनपीएल टोली पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक छन् । बिहार र झारखण्डबाट फस्ट क्लास क्रिकेट खेलेका कुमार कुनैबेला भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी खेलाडी रहँदा कप्तानको जिम्मेवारीमा थिए ।

उनले पछि झारखण्ड र आइपीएल टोली चेन्नाई सुपरकिंग्सको फिल्डिङ प्रशिक्षक भएर पनि काम गरे ।

यस्तै कुमारले सुरुमा झारखण्ड यू–१९ टोलीको प्रशिक्षक भएर काम गरे । पछि उनले सिनियर टोलीको जिम्मेवारी पाएका थिए । कुमारको प्रशिक्षणमा रहेको पोखरा एभेन्जर्समा कुशल भुर्तेल मार्की खेलाडी छन् ।

राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको अनुभव भएका शाही

नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले एनपीएलमा काठमाडौं गुर्खाजको जिम्मेवारी सम्हाल्दैछन् ।

शाहीसँग सिनियर क्रिकेट टोलीसँगै यू–१६ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । नेपालले ओमान र अमेरिकासँग घरेलु मैदानमा क्रिकोणात्मक शृङ्खला खेल्दा उनी सहायक प्रशिक्षक थिए । यसै अनुभवलाई उनले अब एनपीएलमा लगाउनुपर्ने छ ।

शाही नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनी ब्याटरका रुपमा मैदानमा उत्रने गर्थे । शाहीले प्रशिक्षण दिने काठमाडौं गुर्खाजको मार्की खेलाडी करण केसी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register