गगन थापालाई प्रश्नको ओइरो, के नयाँ पुस्ताले पनि ‘हावा’ बोल्नै पर्ने हो ?

कीर्तिपुरको डाँडोमा अहिलेसम्म भएको त्यही एउटा विश्वविद्यालय हो । त्यो दलतन्त्रको दलदलबाट मुक्त भइदिए डाँडाभरि मात्र हैन, देशैभरि ल्यापटप लिएर महिनाको २–४ लाख कमाउने युवा आफैँ तयार हुन्थे होलान् ।

Dec 1, 2024 - 08:29
 0
गगन थापालाई प्रश्नको ओइरो, के नयाँ पुस्ताले पनि ‘हावा’ बोल्नै पर्ने हो ?

काठमाडौं । कीर्तिपुर नगरपालिका उपनिर्वाचन प्रचारप्रसारको अन्तिम दिनको सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बोलेका केही विषयले यतिखेर सामाजिक सञ्जाल तताएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा थापाले पनि ‘हावा’ बोल्न थालेको भन्दै आलोचना भइरहेको छ ।

महामन्त्री थापा देशका नयाँ पुस्तामध्ये तुलनात्मक रुपमा भद्र, शालिन र गम्भीर नेता मानिन्छन् । उनका स्रोता पनि धेरै हुन्छन् । समर्थक वा आलोचक– दुबै प्रकारका स्रोताले उनका भाषणलाई महत्त्व दिएर सुन्ने गर्दछन् ।

पुराना दलभित्रबाट नयाँ पुस्ताको सम्भावित् देशकै नेतृत्वको रुपमा सबैभन्दा धेरै उनकै चर्चा हुन्छ। विद्यार्थी राजनीतिकै अवधिदेखि उनी प्रभावशाली वक्ता त हुन् नै, साथै यथार्थको अतिरञ्जना नगर्ने नेताका रुपमा समेत उनको परिचय बनेको थियो । सम्भवत गगनको कीर्तिपुरे भाषण मान्छेका यस्ता अपेक्षासँग नमिलेको हुन सक्दछ ।

‘नेतामा सपना देखाउने क्षमता हुनु पर्दछ’ भन्ने नाममा तत्काल सम्भव नहुने, व्यवस्थित अध्ययन नगरिएका, पर्याप्त गृहकार्य नभएका महत्वाकांक्षी योजना पस्किने प्रचलन २०७४ को स्थानीय र आम निर्वाचनताका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थापित गरेका थिए । त्यसअघि देशको राजनीतिमा यस्तो संस्कृति खासै थिएन ।

२०४८ को आम निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘१० वर्षभित्र मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक धोइदिन्छु’ भन्दा धेरैले हाँसोमा उडाएका थिए । यद्यपि, मेलम्ची गृहकार्य भइरहेकै योजना थियो । तर, ३० वर्षभन्दा बढी समय भइसक्दा पनि अझै सफल भएको छैन ।

एमाले अध्यक्ष ओलीका त्यतिखेरका भाषण आज १ दशकपछि फर्किएर सुन्दा हावादारी सावित भए । त्यसले उनको राजनीतिक साख र प्रतिष्ठालाई घटाएको छ ।

सत्तारुढ दलका, सत्तामा रहिसकेका वा सरकारमा जाने सम्भावना भएको नेताले यसरी बोल्नुको अर्थ त्यो चुनावी भाषण मात्र हुँदैन, ऐतिहासिक रुपमा अभिलेखित हुने सार्वजनिक प्रतिवद्धता पनि बन्दछ । कदाचित ती पूरा भएनन् भने मान्छेले ढाँटेको, भोटका लागि मतदाता र नागरिकको मनोवैज्ञानिक तथा भावनात्मक शोषण गरेको अर्थमा लिन्छन् ।

बोलेका कुरा पूरा गर्न सके राम्रै हो । त्यसले बोल्नेको विश्वासनीयता बढाउँछ । बोल्ने नेताका साथै सम्बन्धित दलको विश्वासनीयता समेत बढ्दछ । नेताहरुले सार्वजनिक रुपमा कबोल गरेका कुरा कार्यान्वयनमा आउँछन् भन्ने भरोसा जाग्दछ । अन्यथा ती बोल्ने व्यक्तिकै लागि प्रतित्युत्पादक हुन्छन् ।

बोलेका कुरा पूरा गर्न सके राम्रै हो । त्यसले बोल्नेको विश्वासनीयता बढाउँछ । बोल्ने नेताका साथै सम्बन्धित दलको विश्वासनीयता समेत बढ्दछ । नेताहरुले सार्वजनिक रुपमा कबोल गरेका कुरा कार्यान्वयनमा आउँछन् भन्ने भरोसा जाग्दछ । अन्यथा ती बोल्ने व्यक्तिकै लागि प्रतित्युत्पादक हुन्छन् ।

२०७४ को आम र स्थानीय निर्वाचनमा एमाले अध्यक्ष ओलीले बोलेका थुप्रै कुरा अहिले उनैलाई घाँडो भएका छन् । घरघरमा ग्यास पाइप, हनुमाननगर–कलकत्ता पानी जहाजको टिकट, हिन्द–प्रशान्त महासागरमा नेपालको ध्वजाबाहक पानी जहाज सेवा, केरुङको चिनियाँ रेल ५ वर्षभित्रै काठमाडौं – पोखरा हुँदै मुस्ताङ र लुम्बिनी, काठमाडौंमा ५ वर्षभित्र मोनो र मेट्रो दुबै रेल निर्माण, प्रतिव्यक्ति आय ५ वर्षभित्र ५ हजार डलर, हरेक असक्षम नागरिकलाई मासिक १० हजार पकेट खर्च, यस्ता दर्जनौं भाषण ओलीले गरेका थिए, जो पूरा हुन सम्भव थिएन र भएनन् पनि ।

उनका यी दृष्टान्तले आम नागरिकलाई ‘नेताहरु झुटो बोल्छन्, यिनको बोलीको कुनै विश्वास हुँदैन’ भन्ने भान परेको छ । ‘देशलाई १० वर्षभित्र सिंगापुर र स्वीट्जरल्याण्डजस्तो बनाइने छ’ भन्ने भाषण त्यो बेला रोचक र रोमाञ्चक लाग्थे, आज धेरैले हाँसोमा उडाउँछन् ।

सपना देखाउने, निराशा चिर्ने र युवा पुस्तालाई उत्साहित बनाउने नाममा गरिने अतिरञ्जनापूर्ण भाषणले गगन–पुस्ताको उचाइ बढाउँदैन, झन् कमजोर बनाउँछ । किनकि, त्यो आफैँमा बदनाम र कमजोर भइसकेको भद्दा राजनीतिक संस्कृति हो । त्यसले अघिल्लो पुस्ताकै नेताहरुको प्रवृतिको पुनरावृत्ति मात्र गर्दछ, नयाँ पुस्ताबाट अपेक्षित नयाँपनको आभाष दिँदैन ।

५–७ वर्षभित्र कीर्तिपुरका डाँडालाई नेपाली युवाले एउटा ल्यापटपको भरमा महिनाको २–४ लाखसम्म कमाउन सक्ने बनाउने थापाको भाषण नराम्रो हैन । नराम्रो त ओलीका पनि कुनै भाषण हैनन् । सैद्धान्तिक रुपमा ती असम्भव पनि थिएनन् ।

तर, देश अहिले कुन हालतबाट गुज्रिरहेको छ ? त्यस्ता योजना कुन निकायले कहिले, कुन बजेटले कसरी कार्यान्वयनमा ल्याउँछ ? के यस्ता सवाल र योजना कुनै अमूक दलको मेयर उम्मेदवारको हारजितसँग जोडिएको हुन्छ ? जस्ता प्रश्नको प्रष्टता बिना चुनावी भाषण हावादारी गफ नै सिद्ध हुन्छ ।

नेताहरुले बोल्नु अघि त्यसको कुनै न कुनै गृहकार्य, सम्भाव्यता अध्ययन र योजना निर्माण भएको हुनु पर्दछ । त्यसो नगरिकन हचुवाका भरमा बोल्नु मतदातालाई ढाँट्नु हो । सार्वभौम नागरिकको अपमान गर्नु हो । जनता ढाँट्ने अधिकार नेता र दललाई हुँदैन । नेताहरुका सस्ता भाषण र दलहरुका ढाँट कुराबाट जनता त्यसै हैरान छन् ।

नेताहरुको बोलीको विश्वासनीयताबारे अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको एक उदाहरण संसारभरि स्मरण गरिन्छ । सन् १९६१ को मेमा केनेडीले १० वर्षभित्र अमेरिकाले मानव यात्रुसहितको यान चन्द्रमा पठाउने भाषण गरेका थिए । १० वर्ष नपुग्दै सन् १९६९ जुलाई २० मा एपोलो–११ मिसन सफल भएको थियो । नील आर्मस्ट्रोङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बनेका थिए ।

यसको अर्थ हो कि नेताहरुले बोल्नु अघि त्यसको कुनै न कुनै गृहकार्य, सम्भाव्यता अध्ययन र योजना निर्माण भएको हुनु पर्दछ । त्यसो नगरिकन हचुवाका भरमा बोल्नु मतदातालाई ढाँट्नु हो । सार्वभौम नागरिकको अपमान गर्नु हो । जनता ढाँट्ने अधिकार नेता र दललाई हुँदैन । नेताहरुका सस्ता भाषण र दलहरुका ढाँट कुराबाट जनता त्यसै हैरान छन् ।

केही मानिसले आइटी क्षेत्रबाट महिनाको २-४ लाख त अहिले पनि कमाइरहेका छन् । आइटी क्षेत्र र सफ्टवेयरमा नेपाली युवाले राज्यको सहयोग र भरथेग बिनै राम्रो काम गरिरहेका छन् । त्यसका लागि नेपाली कांग्रेसको उम्मेदवारले कीर्तिपुरमा चुनाव जित्न आवश्यक नै छैन । कम्प्युटर सफ्टवेयर र आइटी प्याकेज सेवा केही वर्ष यता देशकै मुख्य निर्यातमध्ये एक बन्न थालेको छ ।
तर, त्यसको हब बन्नका लागि कीर्तिपुर उपयुक्त स्थान हो भनेर कुनै अध्ययन भएको छ कि छैन, प्रश्न त्यहाँनेर हो ।

नेपालमा अहिले मासिक १ लाख माथिको जागिर वा त्यतिको आय गर्ने साना–मझौला स्वरोजगारको संख्या असाध्यै कम छ । अपवादका रुपमा केही हजारले यस्तो रोजगार पाएका होलान । देशको औसत ज्याला अहिले १७, ६०० मासिक छ । प्रतिवर्ष श्रमबजारमा आउने करिब ५ लाख युवा मध्ये १ लाखले मात्र देशभित्र रोजगार पाउँछन् ।

वैदेशिक रोजगारमा गएका छोडेर देशभित्रको युवा वेरोजगारी दर १२ प्रतिशतभन्दा बढी छ । औसत युवायुवतीले स्नातक तहको शिक्षापछि २५–३५ हजार मासिकबाट जब–करिअर सुरु गर्दछन् । यी तथ्यहरु कांग्रेस महामन्त्री गगन थापालाई अवश्य थाहा होला ।

केही महिना अघि प्रधानमन्त्री ओलीले देशमा इञ्जिनियरको तलब मासिक ३५ हजार छ भन्ने गुनासो सुन्न पर्दा एक कार्यक्रममै अचम्म मानेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनले ‘शिक्षकको मासिक तलब ८० हजार छ’ भन्दा व्यापक आलोचना भएको थियो । यथार्थमा देशमा शिक्षकको तलब अपवाद छोडेर मासिक ५० हजार माथि छैन ।

रोजगार, ज्याला, तलब र आयस्तरको यो अवस्था देश चलाउने नेताहरुलाई थाहा छैन भने त्यो आफैँमा अस्वाभाविक हो । न्यूनतम् ज्याला मासिक ३० हजार र औसत आमदानी मासिक ५० हजार माथि पुर्‍याउन सके मात्रै पनि अहिले देश र जनताको ठूलो कल्याण हुने थियो । तर, पछिल्लो आर्थिक संकट, वित्तिय अनुशासनहीनता र मन्दीको कारण त्यसो हुन सकेको छैन ।

दूर्लभ उद्यमशीलता र नवप्रवर्तन क्षेत्रको उच्च आय कसैले भाषण गरिरहनु पर्ने विषय नै हैन । त्यो संसारभरि नै स्वीकार्य छ । नेपालमा पनि ३ प्रतिशतसम्म मानिस त्यस्तो आयस्तरमा हुन सक्दछन् । तर, राजनीतिज्ञका नीति, विचार र सोच मूलतः आम मानिसका लागि हुनु पर्दछ । केही प्रतिशत मान्छे त अर्थतन्त्रको प्राकृतिक नियम अनुसार आफैँ अहिले नै राम्रो कमाई रहेका छन्, अहिले नै धनी छन् ।

गगनले कीर्तिपुरमा गरेको भाषण कार्यान्वयनमा आउन सक्दछ भने त्यो राम्रो कुरा हो । तर, चुनावी सभामा एक क्षण मतदातालाई भावनामा बगाउन र मनोवैज्ञानिक शोषण गर्न बोलिएको हो भने त्यो किमार्थ राम्रो प्रचलन हैन ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका घटकहरु विगत ३ दशकदेखि यो देशका शासक दल हुन् । देशमा केही राम्रो भएको जस पनि उनीहरुले लिए हुन्छ तर, अपजसको नैतिक उत्तरदायित्व लिने साहस पनि हुनु पर्दछ ।

कीर्तिपुरको डाँडोमा अहिलेसम्म भएको त्यही एउटा विश्वविद्यालय हो । त्यो दलतन्त्रको दलदलबाट मुक्त भइदिए डाँडाभरि मात्र हैन, देशैभरि ल्यापटप लिएर महिनाको २–४ लाख कमाउने युवा आफैँ तयार हुन्थे होलान् । कम्तीमा विश्वविद्यालयमा चरम राजनीतिकरण नगरेर बर्बाद मात्र नगर्दिने हो भने देशको ठूलै कल्याण हुन्थ्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register