बेलायत नेपाली विद्यार्थीका लागि कष्टकर बन्दै

लन्डन । युनिभर्सिटी अफ वोर्स्टरमा विजनेश म्यानेजमेन्टमा ब्याचलर्स गर्न गत जनवरी इन्टेकमा बेलायत टेकिन् २१ वर्षीया अन्जली (नाम परिवर्तन) । कानूनमा ब्याचलर्स पढ्दा पढ्दै बेलायत आउने रहर जागेपछि परिवारलाई ‘कन्भिन्स’ गरेर उनी यता आइन् । तर, आएदेखि नै उनले धेरै उतारचढाव खेप्नु परेको छ । अन्जलीले पढाइवापत वार्षिक १६ हजार २०० पाउण्ड फि तिर्नुपर्छ । […]

Jan 7, 2025 - 19:20
 0
बेलायत नेपाली विद्यार्थीका लागि कष्टकर बन्दै

लन्डन । युनिभर्सिटी अफ वोर्स्टरमा विजनेश म्यानेजमेन्टमा ब्याचलर्स गर्न गत जनवरी इन्टेकमा बेलायत टेकिन् २१ वर्षीया अन्जली (नाम परिवर्तन) । कानूनमा ब्याचलर्स पढ्दा पढ्दै बेलायत आउने रहर जागेपछि परिवारलाई ‘कन्भिन्स’ गरेर उनी यता आइन् । तर, आएदेखि नै उनले धेरै उतारचढाव खेप्नु परेको छ ।

अन्जलीले पढाइवापत वार्षिक १६ हजार २०० पाउण्ड फि तिर्नुपर्छ । तीन वर्षको कोर्ष पुरा गर्दासम्म फिमात्र ४८ हजार ६ सय (झण्डै ८२ लाख रुपैयां) सकिन्छ । परिवारको आर्थिक अवस्था अनुसार त्यो पैसा न नेपालबाट झिकाएर सम्भव छ, न यहां जागिरको कमाइले तिर्न । कानूनले दिएबमोजिम साताको २० घण्टा काम पाइहाले त्यसबाट आफू बांचिनेमात्र हो, विश्वविद्यालयको किस्ता तिर्ने सम्भावना न्यून छ ।

कामको खोजीमा भौंतारिरहंदा सामाजिक सञ्जालको एउटा ग्रुपमा भेटिएको म्यासेजले उनी उल्टो ठगिइन् ।

‘जागिर खोजिदिन्छु भनेर मेरो सबै डिटेल्स माग्यो । पछि त स्क्यामर पो रहेछ’, उनले व्यथा सुनाइन्, ‘विश्वविद्यालयको फि तिर्न राखेको मेरो झण्डै ७ हजार ५ सय पाउण्ड गायब पारिदिएपछि छांगाबाट खसेजस्तो भएं ।’

पछि उनले १० हजार पाउण्ड नेपालबाट मगाएर पहिलो वर्षको फि तिरिन् ।

‘शुरुमा नयां परिवेशमा त्यसै पनि अलमल हुने रहेछ, त्यो माथि अहिले बेलायतमा कामको एकदम अभाव देखें’, उनी भन्छिन्, ‘बेलायतमा कमाएर पढाइको फि तिर्छु भन्नु त दिवा सपनामात्र हो । त्यसकारण मास्टर्स ठिकै छ, तर तीन वर्षको ब्याचलर्स पढ्न नआएकै राम्रो छ ।’

बीपीपी युनिभर्सिटीमा एमएससी म्यानेजमेन्ट वीथ प्रोजेक्ट म्यानेजमेन्ट (एक्सटेन्डेड) पढ्न अघिल्लो महिना बेलायत उत्रिइन् दाङकी दीपा चौधरी । १५ महिनाको कोर्षका लागि १५,६०० पाउण्ड (नेपाली रुपैयां २६ लाख ५२ हजार) फिमध्ये उनले १० हजार पाउण्ड नेपालमै छंदा बुझाइन् । अब २८०० पाउण्ड किस्ता फेब्रुअरी र बांकी २८०० पाउण्ड कोर्स सकिने बेला बुझाउनुपर्ने शर्त विश्वविद्यालयसंग छ ।

४ वर्षकी छोरी र श्रीमान् नेपालमै छाडेर एक्लै आएकी दीपाको दिन अहिले संघर्षपूर्ण छ ।

‘परिवार छाडेर त्यत्रो पैसा खर्चेर बेलायत आएं । अहिले यहांको कष्टकर जीवन देख्दा पछुतो लागिरहेको छ’, उनले गुनासो गरिन्, ‘चारदिन त पढ्नै जानु पर्छ । शनिबार, आइतबार बिदामा कसले दिने पार्टटाइम काम ? ५– ६ महिनाका लागि पुग्ने खर्च जोहो गरेर आएमात्र विद्यार्थीलाई यहां सहज हुने रहेछ नत्र दुःख छ ।’

पढाइ सकिए लगत्तै फर्कने सोच उनले बनाएकी छन् ।

रेभनबर्न युनिभर्सिटीमा मास्टर्स गर्न आएका शिव कंडेलको पीडा पनि उस्तै छ ।

अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीले यहां कष्टकर जीवन बिताइरहेका छन् । यूके टेक्ने बित्तिकै काम शुरु गरेर नेपालमा लिएको ऋण तिर्छु, विश्वविद्यालय फिको बांकी किस्ता पनि मिलाउंछु भन्ने सपना चकनाचुर हुंदा कयौं विद्यार्थी आर्थिक र मानसिक समस्याबाट समेत आक्रान्त छन् । डिप्रेशन, आत्महत्याका घटना पनि बढिरहेका पाइएको छ ।

बढ्दो महंगीको मार

बेलायतमा कमाइ पर्याप्त नहुंदा महंगीको मारमा पनि छन् नेपाली विद्यार्थी । खानबाहेक कोठाभाडा र यातायात खर्चिलो छ ।

लामो समयसम्म काम नपाउंदाको दुःखद भोगाइ त छंदैछ, पाएपनि पार्टटाइम कामबाट आउने कमाइले खान, बस्नै पुग्दैन् । विश्वविद्यालय वा कलेज अध्ययन गर्ने विद्यार्थीहरूले कहाँ र के पढ्दैछन्, उनीहरूको जीवनशैली कस्तो छ र हुन सक्ने कुनै आर्थिक प्रतिवद्धताका आधारमा खर्च निर्धारण हुन्छ ।

आवास, यात्रा, पाठ्यक्रम सामग्री, खाना र पेय, मोबाइल, ग्यास र बिजुली बिल गरि एक जना विद्यार्थीलाई फि बाहेक मासिक कम्तीमा एक हजार पाउन्ड (झन्डै १ लाख सत्तरी हजार रुपियाँ) आवश्यक पर्छ ।

अहिले डबल र सिंगल रुमको मासिक क्रमशः कम्तीमा ८०० र ५०० पाउण्ड भाडा, यातायात, ग्रोसरी र अन्य महंगी छोइ नसक्नु छ ।

त्यसो त बेलायतको मुद्रास्फीति दर लगातार दोस्रो महिना वृद्धि भएर पछिल्लो आठ महिनायताकै उच्च बिन्दुमा पुगेको बुधबारमात्र सार्वजनिक भएको छ ।

‘अफिस फर न्याशनल स्टाटिस्टिक्स’ (ओएनएस) का अनुसार गत नोभेम्बरसम्म एक वर्षको अवधिमा मुद्रास्फीति दर २ दशमलव ६ प्रतिशत पुगेको छ । जुन दर गत मार्चपछिकै सबैभन्दा उच्च हो ।

अक्टोबरसम्मको वार्षिक अवधिमा यो दर २ दशमलव ३ प्रतिशत थियो ।

ओएनएसका अनुसार मुद्रास्फीतिको पछिल्लो वृद्धिका पछाडि इन्धन र कपडामा मूल्यवृद्धि प्रमुख कारक छ । विभिन्न मनोरञ्जनात्मक कन्सर्ट तथा थिएटरहरुको टिकट शुल्कमा भएको वृद्धिले पनि मुद्रास्फीति बढाउन मद्दत गरेको ठानिएको छ ।

लन्डनस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी बेलायतमा ‘वर्ल्ड क्लास’ युनिभर्सिटीहरु रहेकाले गुणस्तरिय शिक्षा लिने सोचका साथ आउनु सकारात्मक विषय भएपनि कमाउने वा पिआर लिने ठूलो अपेक्षासहित आउने विद्यार्थीका हकमा त्यो सम्भव नभएको बताउंछन् ।

‘लन्डन आफैंमा खर्चिलो शहर हो । विद्यार्थीले पार्टटाइम काम गरेर जिविकोपार्जन गर्न धौधौ छ । काठमाडौंबाट ऋण जोरजाम गरेर विश्वविद्यालयको आधा फि तिरेर बांकी किस्ता बेलायतमै कमाएर तिर्छु भन्ने अवस्था छैन’, उनले भने ।

काम खोज्न सहयोगका लागि दूतावासमा आफन्तजन, साथीभाईको अनुरोध आइरहने गरेको उनी सुनाउंछन् । ‘नेपालबाट फोनमार्फत अभिभावकहरुले पनि आग्रह गर्नुहुन्छ । तर, हामीले जागिर खोजिदिन व्यवहारिक रुपमा सम्भव छैन’, उनले कान्तिपुरसंग भने ।

बेलायत सरकारले अहिले भिजा ‘डिजिटलाइज’ गरिरहेकाले कन्भर्ट हुने इभिजामा शेयर कोडसहित काम गर्न पाउने नपाउने, कति घण्टा गर्न पाउने जस्ता अधिकार खुल्ने हुंदा विद्यार्थीलाई क्यास इन ह्याण्ड (नगद) पाइने जागिर वा गैर कानूनी काम गरेर जोखिम नलिन उनको सल्लाह छ ।

नेपालमा लिएको ऋण तिर्नुपर्ने बोझले गर्दा कतिपय विद्यार्थीहरु मानसिक दवावमा रहेको पनि उनले बताए । उनले अगाडि भने, ‘आर्थिक बोझ थेग्न नसकेर समस्या भएपछि साथीभाई, परिवारले दूतावासलाई अप्रोच गरेको अवस्था पनि छ । धेरै ठूलो अपेक्षा लिएर नआउनु, आउनुअघि परिपक्व जानकारी लिएरमात्र आउन विद्यार्थी र अभिभावकहरुलाई हाम्रो सल्लाह छ ।’

बेलायत आएर पढ्दा भविष्य के हुन्छ ? खर्च जुटाउन सक्छु कि सक्दिन, स्कोप के छ त्यो पनि बुझ्नु पर्ने उनको सुझाव छ । अहिले नक्कली बिहे (पेपर म्यारिज) गरेर आउने र सम्बन्ध विच्छेदको क्रम समेत बढेको सुनिएको जनाउंदै कार्यवाहक राजदूत दुवाडीले यसले समाजमा नकारात्मक सन्देशमात्र जाने होइन, विद्यार्थी स्वयंको मानसिक स्वास्थ्यमा पनि असर गर्न सक्ने बताए ।

यस्तै गैर कानूनी क्रियाकलाप गरेर विद्यार्थीहरु डिपोर्टेसन भइरहेको पनि उनले बताए । कानूनले दिएको भन्दा बढी काम गरेर वा भिजा सकिएपछि पनि ‘ओभर स्टे’ बसेका कारण डिपोर्टेसन गरिएको जानकारी आइरहेको उनी बताउंछन् ।

बेलायतस्थित नेपाली विद्यार्थी र युवा प्रोफेसनल्सहरुको छाता संगठन मर्जिङ नेप्सक्ससंग अहिले यूकेका १०० बढी युनिभर्सिटीका नेपाली विद्यार्थीसंग सम्पर्क छ । सो संगठनका अध्यक्ष पवन कंडेल अहिले नेपाली विद्यार्थीलाई बेलायत निकै गाह्रो भएको बताउंछन् ।

‘पहिला पहिला पढाइ गर्न नसके वर्क परमिटमा जान मिल्ने थियो । तर, अहिले पढाइ नसकी स्टाटस परिवर्तन गर्न मिल्दैन, काम गरौं सहजै पाइन्न’, उनी भन्छन्, ‘नेपाली विद्यार्थीको चाप बढेकाले स्थानीय नेपाली समुदायले सहयोग गर्ने अवस्था पनि छैन । नेपालबाट नबुझिकन ओइरिंदा धेरै दुःख पाएको अवस्था छ । हामीले मानसिक अस्पताल र बाटोबाट कयौं विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाएका छौं ।’

कंडेलले सामाजिक सञ्जालमा काम लगाइदिन्छु भनेर ‘स्क्याम’ बढेको पनि सुनाए । जागिरको लोभमा विद्यार्थीले उल्टो हजारौं पाउण्ड गुमाएको घट्ना उनले स्मरण गरे । तोकिएको अवधि भित्र फि नतिर्दा विश्वविद्यालयले होम अफिस (ब्रिटिश गृह मन्त्रालय) मा भन्दिएर खेप्नु परेको सास्ती पनि उस्तै रहेको उनको भनाइ छ ।

बेलायत टेकेपछि त कमाइन्छ, पिआर बन्छ भन्ने सोच लिएर एकै चोटी हजारौं विद्यार्थी ओइरिंदा यहां काम र बास व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । काम पाएपनि न्यूनतम ज्याला नदिने, धेरै घण्टा काम लगाउने र विशेषगरि महिलाहरुमाथि आर्थिक तथा शारीरिक शोषण जस्ता घट्ना समेत सुनिएको उनी बताउंछन् ।

यहां आउने विदेशी विद्यार्थीहरुमध्ये कतिपयले असाइन्मेन्ट किन्ने गरेको आरोप लाग्ने गरेको छ । यसले गर्दा कतिपय विश्वविद्यालयको क्वालिटी कण्ट्रोलमाथि सरकारले शंका गरेको समेत उनले बताए ।

बेलायत आएका विद्यार्थीले सास्ती खेप्नुमा नेपालका शैक्षिक कन्सल्टेन्सीहरुको गलत जानकारी र आश्वासन प्रमुख रहेको भन्ने आरोप पनि छ । कन्सल्टेन्सीहरुले बेलायत पुगेपछि काम सजिलै पाइन्छ, कमाएर ऋण तिर्न पनि सकिन्छ र पछि पिआर हुने अनेक उपाय छन् जस्ता आश्वासन दिएर आफ्नो व्यापार केन्द्रित सल्लाह दिने गरेको प्रायः विद्यार्थीको गुनासो छ ।

तर, बेलायत र नेपालबाट सञ्चालित एक शैक्षिक परामर्शदाता कम्पनी युनी ल्याडरका निर्देशक गणेश खड्का त्यो मान्न तयार छैनन् । सांच्चिकै पढ्ने उद्देश्यले बेलायत आएका विद्यार्थीले उत्कृष्ट नतिजासहित प्रगति गरेका कयौं उदाहरण रहेको उनले सुनाए । पर्याप्त आर्थिक व्यवस्था नगरेका तथा अध्ययन भन्दा कमाउने सोचमात्र भएका विद्यार्थीले भने सास्ती खेप्नु परेको खड्काको भनाइ छ ।

नेपालबाट यूके पढ्न गत वर्षभन्दा अहिले ३६ प्रतिशत बढी भर्ना दर वृद्धि र बेलायतको भिजा सफल हुने दर करिब ९९ प्रतिशत रहेको दावी गर्दै खड्काले यदि विद्यार्थीले आर्थिक बोझ सामना गर्न सक्दैनन् भने बेलायत उनीहरुका लागि सही गन्तव्य नहुने स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय विद्यार्थीमा गिरावट

बेलायत अध्ययनका लागि भिसा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सङ्ख्या यो समर सिजनमा घटेको नयाँ तथ्यांकले देखाएको छ । गृह मन्त्रालय (होम अफिस) को तथ्यांकमा सन् २०२३ को सोही अवधिको तुलनामा जुलाई र सेप्टेम्बरबीचमा १६ प्रतिशत कम भिसा आवेदन परेको छ ।

गृह मन्त्रालयका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा २,६३,४०० अध्ययन भिसा आवेदनहरू आएका थिए, जुन २०२३ को समरमा ३, १२, ५०० थियो । सोही अवधिमा विदेशी विद्यार्थीका डिपेन्डेन्ट (आश्रित) ले ६ हजार ७ सय मात्र आवेदन दिएका थिए, जुन अघिल्लो वर्ष ५९ हजार ९ सय थियो ।

गत जनवरीदेखि अनुसन्धानमा आधारित पाठ्यक्रमहरू वा सरकारी छात्रवृत्तिमा रहेका बाहेक अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवारका सदस्यहरु बेलायत ल्याउन प्रतिवन्ध लगाइएको छ । अघिल्लो कन्जरभेटिभ सरकारले लागू गरेको यस नियमपछि विद्यार्थीका डिपेन्डेन्टहरुको भिसा आवेदन संख्या ८९ प्रतिशतले घटेको छ।

तथ्यांकहरूले अन्तर्राष्ट्रिय विद्यार्थीबाट प्राप्त शुल्कमा निर्भर रहेका बेलायती विश्वविद्यालयहरूको वित्तीय अवस्थामा चिन्ता थपिएको देखाएको छ ।

यस क्षेत्रका विज्ञले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको यूके आगमन घट्दा विश्वविद्यालयको वित्तीय संरचनालाई थप नोक्सान पुर्‍याउने चेतावनी दिएका छन् ।

१४१ संस्थाहरुको प्रतिनिधित्व गर्ने युनिभर्सिटी यूकेले खस्कंदो विद्यार्थी भर्ना ‘धेरै चुनौतीपूर्ण’ रहेको र शीर्ष अध्ययन गन्तव्यका रुपमा बेलायतको स्थिति खतरामा रहेको देखाएको बताएको छ ।

उच्च शिक्षा नीति संस्थान (हेपी) थिंक ट्यांकका निर्देशक निक हिलम्यानले बीबीसीसंग भनेका छन्, ‘पूर्ववर्ती सरकारको नियम परिवर्तनका कारण बेलायतलाई कम आकर्षक अध्ययन गन्तव्य बनाएको छ ।’

नेपाली विद्यार्थी भने घटेनन्

बेलायतको इमिग्रेसनसम्बन्धी हालै सार्वजनिक एक तथ्यांकले अन्य मुलुकको तुलनामा नेपालबाट बेलायत आउने विद्यार्थीको संख्या भने अझै उच्च रहेको देखाएको छ ।

इमिग्रेसन कडाइपछि बेलायत भित्रिने अन्य मुलुकबाट बेलायत आउन विद्यार्थीहरुको संख्या जति धेरै घटेको छ, त्यही अनुपातमा नेपाली विद्यार्थीको संख्या भने नघटेको पाइएको छ ।

‘अप्लाई बोर्ड’ नामक समूहले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को पहिलो त्रैमासिक अवधिमा २ हजार २ सय नेपालीले बेलायतको विद्यार्थी भिसा पाए । जुन संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

बेलायतमा सबैभन्दा धेरै विदेशी विद्यार्थी आउने भारत, नाइजेरियालगायत मुलुकबाट अध्यागमन कडाइपछि विद्यार्थीहरु घटेपनि नेपालबाट भने झन् बढेको तथ्यांकले देखाएको हो ।

यसअघि सन् २०२३ मा नेपालबाट जम्मा ८ हजार ५ सय विद्यार्थीले बेलायतको विद्यार्थी भिसा प्राप्त गरेको तथ्यांकमा छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी थियो । लन्डनस्थित नेपाली दूतावासले बेलायतमा नेपाली विद्यार्थी कति छन् यकीन तथ्यांक नरहेको बताएको छ । तर, मर्जिङ नेप्सक्सका अध्यक्ष कंडेलको अनुमानमा यहाँ करिब १५ देखि १८ हजार नेपाली विद्यार्थी छन् ।

बेलायत सहज छैन्, तर असम्भव पनि होइन

निरुता

म निरुता रिजाल, लन्डन बस्ने एक अन्तर्राष्ट्रिय विद्यार्थी हुं । वेष्ट लन्डन विश्वविद्यालयमा कम्प्युटर विज्ञान पढ्नका लागि गत फेब्रुअरी २०२१ मा मैले आफ्नो देश छोडें । धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू जस्तै म पनि यहाँ आशा र ठूलो सपना लिएर आएको थिएं । तीन वर्षमा, मैले मेरो शिक्षाका लागि वार्षिक रूपमा १२ हजार ५०० पाउण्ड तिरेको छु आफूलाई उज्ज्वल भविष्यतिर डोर्‍याउने आशामा । अब, स्नातकपछि म बेरोजगारीको वास्तविक पीडा सामना गर्दैछु। अपत्यारिलो छ तर खैर, यो म जस्तै धेरै विद्यार्थीहरूका लागि वास्तविकता पनि हो।

म २० वर्षको कलिलो उमेरमा ठूलो शहर, नयां परिवेशमा जेलिएं । जब म पहिलो पटक यूके टेकें, कुहिरोको काग जस्तै कता जाने के गर्ने भन्ने भयो । मलाई सबैतिरबाट यति धेरै बोझ महसुस भयो कि त्यो कल्पनामात्र गर्न सक्छु ।

मैले पूर्णकालिन अध्ययन र पार्टटाइम काम कसरी व्यवस्थापन गर्ने भनेर अलमिलनु परेको थियो। मेरो वीकडेज लेक्चर र असाइनमेन्टले भरिपूर्ण हुन्थ्यो, सांझ रेस्टुरेन्टमा काम गरेर बित्थ्यो। सप्ताहन्तमा आराम गर्न पनि समय मिल्दैनथ्यो । मैले बाँच्नका लागि रिटेलमा पनि काम गरें। पहिले कहिल्यै काम नगरेको मान्छे, यहाँ छिटो गतिमा काम गर्ने संस्कृतिमा घुलमिल गर्नु एक वास्तविक चुनौती थियो ।

यसबाहेक मेरा लागि सबैभन्दा गाह्रो कुरा साथी बनाउनु थियो। तीन वर्षमा मैले मुश्किलले तीन घनिष्ठ साथीहरू बनाएँ। विदेशमा बस्दा साथीहरु बनाउन कत्तिको गाह्रो हुन सक्छ भनेर कसैले पनि कुरा गर्दैनन्, तर यो पनि जटिल हुने रहेछ। यदि मैले नयाँ विद्यार्थीहरूलाई कुनै सल्लाह दिन सक्छु भने त्यो हो विश्वविद्यालयमा धेरैजनासँग जोडिने प्रयास गर्नुहोस्। सोसाइटीमा सामेल हुनुहोस्, कार्यक्रमहरूमा जानुहोस्, सहपाठीहरूसँग कुरा गर्नुहोस् । यसले यहाँ तपाईंको समय सुखःद बनाउनेछ र पछि जागिर खोज्न मद्दत पनि ।

चुनौतीका बाबजुद पनि मैले यो यात्राबाट धेरै कुरा सिकेको छु। एक्लै बस्नु र सबै कुरा आफैंले सम्हाल्नुले मलाई बलियो र आत्मनिर्भर बनाएको छ। यो सधैं सजिलो छैन, तर मैले हरेक संघर्षलाई अंगाल्ने र आनन्द लिने प्रयास गरेको छु।

यो एक कठिन संसार हो, तर म अझै पनि मैले पाएका अवसर र बाँचेका क्षणहरूको कदर गर्छु। मलाई आशा छ कि हरेक अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँ आउनुअघि देखेका सपना हासिल गर्न पाउँछन् । यो सजिलो बाटो होइन, तर असम्भव पनि छैन। (कुराकानीमा आधारित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register