विवाहपञ्चमी अन्तर्गत स्वयंम्बर सम्पन्न, महोत्सव हेर्न हजारौंको भीड उर्लियो

नेपाली सेनाको सांगीतिक टोलीले मंगलध्वनी बजाउँदै शोभा यात्रामा सहभागी हुँदा हजारौं श्रद्धालुहरुले जयजयकार गर्दै थिए ।

Dec 6, 2024 - 14:06
 0
विवाहपञ्चमी अन्तर्गत स्वयंम्बर सम्पन्न, महोत्सव हेर्न हजारौंको भीड उर्लियो

जनकपुरधाम । राम जानकी विवाहमहोत्सवको मुख्य दिन स्वयंम्वर सम्पन्न भएको छ । शुक्रबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ ।

मेला, महोत्सव हेर्न जनकपुरधाममा हजारौंको भीड उर्लिएको छ । मेला भर्न नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् । आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंम्बर कार्यक्रमको आयोजना गरिएको हो ।

स्वयंबर हुनु अघि शोभायात्रा निकालिएको छ । जानकी मन्दिरबाट जानकीको तथा राम मन्दिरबाट रामको डोला (डोली) बाजागाजा सहित शोभायात्रा सुरु गरिएको थियो । नेपाली सेनाको सांगीतिक टोलीले मंगलध्वनी बजाउँदै शोभा यात्रामा सहभागी हुँदा हजारौं श्रद्धालुहरुले जयजयकार गर्दै थिए ।

शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाई गरिएको थियो । सर्वसाधारणले सडक पेटी र आ-आफ्ना घरको कौसीबाट शोभायात्रा हेर्न झुम्मिएका थिए । शोभायात्राको भिड नियन्त्रण गर्न सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई हम्मे हम्मे परेको थियो ।

आज राती जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतिकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।  शनिबार रामकलेवा भएसँगै विधिवत रुपमा विवाहपञ्चमी सम्पन्न हुनेछ ।

त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ । तत्कालीन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञा अनुसार अयोध्याका नरेश राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पीनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो ।

धनुषमा प्रत्यञ्चा चढाएपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव सप्ताहव्यापी रुपमा मनाउने चलन रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register