उपनिर्वाचनपछि किन मौन छ एमाले ?

काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनपछि एमाले मौन देखिएको छ । अक्सर हरेक विषयमा प्रतिक्रिया दिन अग्रसर रहने एमाले नेता–कार्यकर्ता उपनिर्वाचन परिणामबारे धेरै बोलिरहेका छैनन् । सामाजिक सञ्जालमा देखा परिरहनेहरूले समेत यो विषयलाई ‘इग्नोर’ गरे । यहाँसम्म कि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खुलेर कुनै प्रतिक्रिया दिएनन् । उपनिर्वाचनको […]

Dec 8, 2024 - 11:15
 0
उपनिर्वाचनपछि किन मौन छ एमाले ?

काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनपछि एमाले मौन देखिएको छ । अक्सर हरेक विषयमा प्रतिक्रिया दिन अग्रसर रहने एमाले नेता–कार्यकर्ता उपनिर्वाचन परिणामबारे धेरै बोलिरहेका छैनन् । सामाजिक सञ्जालमा देखा परिरहनेहरूले समेत यो विषयलाई ‘इग्नोर’ गरे ।

यहाँसम्म कि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खुलेर कुनै प्रतिक्रिया दिएनन् । उपनिर्वाचनको परिणाम प्राप्त भइरहँदा ओली चीन भ्रमणमा थिए । तर, फर्किएर पनि उनले निर्वाचन परिणामबारे कुनै प्रतिक्रिया व्यक्त गरेनन् ।

अधिकांश एमाले नेता कार्यकर्ताले भन्ने गरेका छन्, ‘सोचेजस्तो परिणाम आएन, धेरै भन्नुपर्ने केही छैन, किन यस्तो भयो, गम्भीर समीक्षा गर्दछौँ ।’

निर्वाचन परिणामपछि महासचिव शंकर पोखरेलले फेसबूक स्टाटस लेख्दै ‘एमाले तेस्रो भनेर प्रचार भइरहेको’ भन्दै आपत्ति जनाए । उनको भनाइ थियो, ‘सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ तर, विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले निष्कर्ष त्योभन्दा भिन्न देखिन्छ ।’

उनको भनाइमा गत निर्वाचनमा एमालेले उपनिर्वाचन भएकामध्ये ७ स्थानमा जित हासिल गरेको थियो । अहिलेको उपनिर्वाचनमा ८ स्थान हासिल हुनु १ थप उपलब्धि हो । उनले कोशी प्रदेशको तराई क्षेत्रमा भने माओवादीले जनमतमा केही सुधार गरेको स्वीकार गरेका छन् ।

महासचिव पोखरेलको विश्लेषणमा ‘शहरी क्षेत्रको विशेष गरी राजधानी काठमाडौंमा मतदाता झुकाव मूलधार राजनीतिक दलका पक्षमा आउन’ सकेको देखिँदैन । यसो हुनुको कारण उनले ‘सामाजिक सञ्जालमा भएको नेकपा (एमाले) र त्यसका नेतृत्वविरुद्ध भएको कुप्रचारलाई एक हदसम्म जिम्मेवार’ मानेका छन् ।

महासचिव पोखरेलको स्टाटसमा व्यक्त प्रतिक्रियामा कतिपयले एमालेले अपेक्षित परिणाम प्राप्त गर्न नसक्नुमा स्वयं पोखरेललाई जिम्मेवार ठानेका छन् । यसबीच उनले अनावश्यक रूपमा ‘दुईदलीय प्रणालीको पैरवी गरेको र त्यसले मतदातामा नकारात्मक प्रभाव परेको’ भनेका छन् ।

कतिपयले पोखरेललाई व्यङ्ग्य गरेका छन्, ‘तपाईंको दुईदलीय जनवाद गोलखाडी गयो ।’

कांग्रेस–एमालेको संयुक्त गठबन्धन सरकारपछि जनमतको दुई दलीय ध्रुवीकरण हुने र अन्य दलहरू कमजोर हुँदै जाने एमालेको अपेक्षा थियो । तर, त्यसो भएन, बरु उल्टो भयो । प्रमुख प्रतिपक्षमा धकेलिएको माओवादी केन्द्र उल्लेखनीय जनमत सुधारसहित दोस्रो स्थानमा उक्लिएपछि एमाले नेतृत्वपङ्क्ति चिन्तित भएको हो ।

केन्द्रीय सदस्य विष्णु रिजाल एमाले तेस्रो भएको प्रचार स्वीकार गर्न चाहँदैनन् । उनी भन्छन्, ‘एमालेले १ अध्यक्ष र २ उपाध्यक्ष थपेको छ ।’ तर, उनी निश्चित भने छैनन् । उनले ‘एक्स’ मा लेखेका छन्, ‘विगतमा हामीले जितेका १ बाहेक वडा अरुका हातमा जानुले हाम्रो कार्यशैली र जनतासँगको सम्बन्धका बारेमा प्रश्न खडा गरेको छ ।’

मीनबहादुर गुरुङ जग्गा दान प्रकरणमा पार्टी नेतृत्वको आलोचना गरेर कारबाहीको स्पष्टीकरण खेपेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिना भन्छिन्, ‘प्रश्न खडा गरेको स्वीकार गर्नु नै क्रान्तिकारी कुरा हो ।’

तिम्सिनालाई मात्रै हैन, धेरै एमाले नेता कार्यकर्तालाई उपनिर्वाचन परिणामले पार्टीको भविष्यमाथि प्रश्न खडा गरेको अनुभूति भएको छ ।

तर, ती बोल्न चाहँदैनन् । बोल्दा एकातिर नेतृत्वबाट कारबाही हुन सक्ने भय छ भने अर्कोतिर बोल्नुपर्ने कुनै तर्क नै रहेन । यहाँसम्म कि दैनिक जसो सामाजिक सञ्जालमा कुनै न कुनै पोष्ट गरिरहने उपमहासचिव प्रदीप ज्ञवालीले उपनिर्वाचन परिणामबारे केही भनेका छैनन् ।

कीर्तिपुरको मत परिणाम एमाले पङ्क्तिको चिन्ताको थप कारण हो । गत निर्वाचनमा भन्दा ३७०९ मत गुमाएर पनि कीर्तिपुरको मेयर र दुबै वडामा कांग्रेसले जित्यो । तर, वाम पार्टी वर्चस्वको लडाइँमा एमाले माओवादी केन्द्रभन्दा कमजोर भयो । कांग्रेसले जितेकामा दुबै दलको कुनै दुखमनाउ देखिन्न । बरु माओवादी केन्द्र एमालेले भन्दा धेरै भोट पाएको मा खुसी छ भने माओवादीभन्दा पनि कम मतमा सीमित हुनु परेकोमा एमाले खिन्न छ ।

कीर्तिपुर एमाले र माओवादी केन्द्र दुबै ठूला कम्युनिष्ट घटकबीच विरासत र वर्चस्वको लामो लडाइँ चलेको क्षेत्र हो । २०४८ को आम निर्वाचनमा यहाँबाट एमाले महासचिव मदन भण्डारीले जितेका थिए भने २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने प्रचण्ड यहाँ पराजित भएका थिए ।

उपनिनर्वाचनमा अघिल्लो निर्वाचनमा भन्दा ११७० मत गुमाएर एमाले तेस्रो भयो भने ४६५ मत थपेर माओवादी केन्द्र दोस्रो भयो । यदि स्वतन्त्र उम्मेदवारहरूतिर गएको मतलाई समेत एउटा प्याकेजमा राख्ने हो भने एमालेको स्थान चौथो हुन्छ । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको मत नगन्य ३३८ थियो भने यसपटक ५०९१ पुग्यो । चौथो स्थानमा भएका राजमान महर्जन मानवले एक्लै २०३६ मत प्राप्त गरे ।

कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारहरूप्रति यति बलियो लहर देखा पर्नु सबै ठूला दलका लागि चिन्ताको विषय बनेको हुनु पर्दछ । तर, सबैभन्दा चिन्ताजनक र शोकमग्न अवस्थमा भने एमाले नै छ ।

कोशी प्रदेशमा माओवादीले बढाएको सीट र जनमतले एमालेलाई स्तब्ध पारेको छ । पूर्वी नेपाल देशका अन्य भौगोलिक क्षेत्रभन्दा वाम समूहमध्ये एमाले बलियो र माओवादी केन्द्र कमजोर भएको क्षेत्र मानिन्थ्यो । तर, मोरङ ग्रामथान पालिका अध्यक्ष र उदयपुरका २ वटा वडा अध्यक्षमा जित हात पारेर माओवादी केन्द्रले एमालेलाई थप शोकमा डुबाइदियो ।

कोशीका ८ मध्ये ३ सीट जितेर माओवादी सबैभन्दा ठूलो पार्टी भयो । कांग्रेस/एमालेले २/२ सीट जिते । १ स्वतन्त्रले जित्यो । तर, हारेका स्थानमा पनि माओवादीले एमालेसँग हाराहारी भोट ल्याए । सुनसरीको गढी र ताप्लेजुङको सिरिजङ्घा त्यसका उदाहरण हुन् ।

सिटमा मात्र हैन, कोशीमा लोकप्रिय मतमा समेत माओवादी केन्द्र पहिलो दल बन्न पुग्यो । माओवादीले ९८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ८०६४ ल्यायो । एमाले ७५३० मत प्राप्त गरेर तेस्रोमा सीमित भयो ।

कोशीको यस्तो परिणामले माओवादीलाई निकै उत्साहित बनाएको छ भने एमाले निराश छ । कोशीको यस्तो मत परिणामबारे एमाले कोशी प्रदेशका जिम्मेवार नेताहरू इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा र मुख्यमन्त्री हिक्मत कार्की बोलेका छैनन् । प्रदेशका अन्य मुख्य नेताहरू पनि मौन छन् ।

एमाले केन्द्रले जस्तै प्रदेशले पनि मतदातालाई धन्यवाद ज्ञापन गर्दै प्रेस विज्ञप्ति निकालेन । यसबाट पनि एमालेको मनोदशा बुझ्न सकिन्छ । निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलले यस्तो विज्ञप्ति प्रकाशित गर्नु राजनीतिक औपचारिकता र शिष्टाचार मानिन्छ । त्यो पूरा गर्ने जाँगर समेत एमालेमा देखिएन् ।

उपनिर्वाचनपछिको एमाले मनोदशाबारे एक केन्द्रीय सदस्य भन्छन्, ‘मतदाता के चाहन्छन् भन्ने बुझ्न गाह्रो भइरहेको छ । युवा पुस्ता र सामाजिक सञ्जालीय प्रभावको यो युगमा एमाले हिजोको कार्यशैलीबाट मात्र सायद अघि बढ्न सक्दैन । एमालेको सोच र जनताको अपेक्षाबीच कहीँ न कहिँनेर खाडल छ । तर, त्यो के हो र कसरी पूरा गर्ने भन्ने विषयमा नेतृत्व गम्भीर हुनु पर्नेछ ।’

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको सोच र कार्यशैलीबाट पार्टी यसभन्दा अघि जान नसक्ने निष्कर्षमा पुगेका पनि एमालेभित्र थुप्रै छन् । यस्ता नेता/कार्यकर्ताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गुरुङलाई एक ठाउँ बनाएर अगामी महाधिवेशनसम्म अर्को गुट खडा गर्ने प्रयत्न गर्दैछन् । तर, ‘गोप्य’ भनिएको यो प्रयास अझै ठोस नभइसकेको बताइन्छ ।

एकीकृत समाजवादी पार्टी विभाजित भई एउटा समूह एमालेमा फर्किने चर्चा पनि यस बीच कार्यान्वयनमा आएन । एमालेसँग हाराहारीको टक्कर गर्न नसके पनि एकीकृत समाजवादीले एमालेलाई कमजोर पार्न र पछाडि धकेल्न राम्रै भूमिका गर्न सक्ने रहेछ । काठमाडौं १६ र कीर्तिपुरले त्यही देखायो । काठमाडौं १६ मा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरले १ हजार बढी मत ल्याए, त्यो थपिन पाएको भए एमालेले रास्वपालाई जित्न सक्थ्यो ।

यता कीर्तिपुरमा माओवादी दोस्रो हुनुमा एकीकृत समाजवादीले थपेको मतको पनि भूमिका रहेको विश्लेषण गरिँदैछ । मधेस प्रदेशको गढीमाईमा १ वडाध्यक्षमा जीत हासिल गरेर एकीकृत समाजवादीले एमालेको मनमा घन्टी बजाइदियो ।

यस्ता अनेक कारणले एमाले मौन छ । दुई ठूला पार्टीको गठबन्धन सरकार बने भोट दुई ठूला दलमै केन्द्रित हुनेछ भन्ने एमालेको सोच भ्रामक सिद्ध भएको छ । उपनिर्वाचनमा ७ दलले परिणाम निकालेका छन् ।

विश्लेषक हरि रोका भन्छन्, ‘दुई दलीय व्यवस्थालाई जनताले हावा ठान्दिए । एक्लाएक्लै चुनाव लड्ने हुङ्कार गरेका कांग्रेस–एमाले आफ्नो अडानमा अडिएनन् । दुबै नमिलेका भए माओवादी यो पटक पहिलो हुने रहेछ । माओवादीको यो परिणाम उसको लोकप्रियताभन्दा गठबन्धन राजप्रतिको वितृष्णा बढी हुन सक्दछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register